सन्दीपलाई टी-२० विश्वकप खेल्न दिने/नदिने विषयमा निर्णय गर्न क्यानको बैठक बस्दै

सन्दीपलाई टी-२० विश्वकप खेल्न दिने/नदिने विषयमा निर्णय गर्न क्यानको बैठक बस्दै

काठमाडौं : उच्च अदालत, पाटनबाट बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टोलीमा समावेश टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने भन्ने बारे निर्णय लिन क्यानको बैठक बस्दैछ। 

नेपाल क्रिकेट संघ (क्यान) ले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने जनाएको छ। 

संघका केन्द्रीय सदस्य दुर्गा पाठकले भने, ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो। हामी आज नै बोर्ड बैठक राख्छौँ। साँझसम्म यसबारे निर्णय गर्छौँ।’

आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ। विश्वकप खेल्न क्यानले नेपाली टोलीको घोषणा गरिसकेको छ। 

घोषित १५ सदस्यीय नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ। सोही अनुरुप अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ। 

जेठ २, २०८१ बुधबार १७:४१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।