अघि बढ्यो सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने पक्रिया

अघि बढ्यो सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने पक्रिया

काठमाडौं : उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरू गरेको छ। 

बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेस टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

‘हामीले सन्दीपको निलम्बन फुकुवा गरिसकेपछि उनलाई विश्वकपमा कसरी सहभागी गराउन सकिन्छ भनेर लागिरहेका छौं। यसका लागि आईसीसीसँग अनुमति माग्न पत्र पठाउनेबारे छलफल भइरहेको छ। उनको फिटनेस टेस्ट पनि हुँदैछ। केही दिनभित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउँछौँ।’

नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्। टोली अहिले अमेरिकामा अभ्यास खेलहरू खेलिरहेको छ। 

स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो। १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन्। अनुभवी सोमपाल कामी र करण केसी पहिलो रोजाइका बलर हुन्।

१० जना रिजर्भ खेलाडी समेत अमेरिका पठाइसकेको नेपालले सन्दीपलाई टोलीमा समावेश गर्न एक जना आउट गर्नुपर्ने हुन्छ। कसलाई बाहिर गर्ने भन्नेबारे कोच र कप्तानसहितले निर्णय गर्ने चन्दले बताए।  

जेठ ३, २०८१ बिहीबार १५:०३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।