खेलको आवरणमा जुवा प्रवर्धन : लिग आयोजकले प्रचार सामग्रीबाट वानएक्सन्युजको लोगो हटायो

खेलको आवरणमा जुवा प्रवर्धन : लिग आयोजकले प्रचार सामग्रीबाट वानएक्सन्युजको लोगो हटायो

काठमाडौं : दशरथ रङ्गशालामा जारी नेपाल सुपर लिगमा अन्तर्राष्ट्रिय मिडिया पाट्नरको आवरणमा अनलाइन जुवा खुलाउने कम्पनी वनएक्सबेटको प्रवर्धक गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आफ्नो प्रचार सामग्रीबाट वानएक्सन्युजको लोगो हटाएको छ।

अखिल नेपाल फुटबल संघसँग सम्झौता अनुसार लिग सञ्चालन गरिरहेको कम्पनीले वानएक्सबेटको सेरोगेट कम्पनी वनएक्सन्युजलाई इन्टरनेशनल मिडिया पाट्नर बनाउँदै रङ्गशालादेखि टेलिभिजन लाइभबाट यसको प्रचार गर्दै आएको थियो।

लिग सञ्चालन गर्ने कम्पनीले गरेको बदमासीबारे उकेराले निरन्तर समाचार सम्प्रेषण गरिरहेको छ। उकेरामा लिग सञ्चालकको बदमासीबारे समाचार प्रकाशित गरेपछि उसले रङ्गशालामा राखेको डिजिटल डिस्प्ले बोर्ड र फ्लेक्सहरूमा राखेको वनएक्सन्युजको लोगो हटाएको छ।

लिग आयोजक कम्पनीले रङ्गशालामा लिगका प्रायोजकहरूको प्रचार गर्न डिजिटल डिस्प्ले प्रविधिको प्रयोग गर्दै आएको थियो। खेलकोक्रममा पुरस्कार लगायतका गतिविधिका लागि प्रयोग गरिने फ्लेक्समा समेत वानएक्सन्युजको लोगो राखेकोमा अहिले सो हटाएर हिमालयन टिभीको लोगो राखेको छ। हिमालय टिभीले लिगको प्रत्यक्ष प्रसारण गरिरहेको छ।

सो टेलिभिजनले समेत प्रत्यक्ष प्रशारणको क्रममा प्रतियोगिताको स्कोरसँगै वानएक्सन्युजको लोगो राख्ने गरेको थियो। उकेरामा समाचार आएपछि टेलिभिजनले लोगो हटाएको थियो।

वानएक्सन्युज वानएक्सबेटको सेरोगेट कम्पनी हो। जुन देशमा जुवा प्रतिबन्धित छ त्यहाँ आफ्नो प्रचार गर्न र अनलाइन जुवा प्रवर्धन गर्न यसले समाचारको आवरणमा चोर बाटोबाट छिर्ने गरेको छ। लिगमा वानएक्सन्युज इन्टरनेशनल मिडिया पाट्नर बनेर छिरेको थियो।  तर वानएक्सन्युजले लिगबारे कुनै सामाग्री प्रसारण/प्रकाशन गरेको छैन।

अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनेर खेलको दौरानमा रङ्गशालामा सहज पहुँच र डेटा लिएर नेपालीहरूलाई लिगमा बाजी खेलाउन प्रयोग हुने गरेको थियो।

लिग आयोजकले वाएक्सन्युजलाई कस्ता शर्तहरूमा अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनाएको हो, सो भने खुल्न सकेको छैन। सम्बन्धित कम्पनीका आधिकारिक व्यक्तिहरूसँग उकेराले पटक-पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरू सम्पर्कमा आएका छैनन्।

लिगको अनुमति दिने अखिल नेपाल फुटबल संघ एन्फाले यसबारे कम्पनीसँग बुझ्ने काम भइरहेको दाबी गरेको छ। राष्ट्रिय खेलकुद परिषद्, खेल मन्त्रालय मौन देखिएका छन्।

अनलाइन जुवासम्बन्धी अनुसन्धानको जिम्मेवारी रहेको प्रहरीले अनुसन्धान सुरु भएको दाबी गरेको थियो। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई यसको जिम्मा दिएको उकेरालाई जानकारी दिएका थिए।

सम्बन्धित समाचार

१५ मंसिर, २०८०, १०:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।