अनलाइन जुवा प्रवर्धनमा मिडिया पनि !, लाइभमा बल्ल हट्यो वानएक्सन्युजको लोगो, लिगको अनुसन्धानमा प्रहरी

अनलाइन जुवा प्रवर्धनमा मिडिया पनि !, लाइभमा बल्ल हट्यो वानएक्सन्युजको लोगो, लिगको अनुसन्धानमा प्रहरी

काठमाडौँ : अनलाइन जुवा प्रतिबन्ध रहेको नेपाल लगायतका देशमा प्रचारका लागि समाचारको आवरणमा खेलकुद प्रतियोगितामा छिर्ने गरेको वानएक्सबेटको प्रचार हिमालय टेलिभिजनबाट समेत भइरहेको थियो।

हिमालयनले दशरथ रङ्गशालामा भइरहेको नेपाल सुपर लिगको खेलको प्रत्यक्ष प्रसारण गर्ने गरेको छ। प्रत्यक्ष प्रशारणकोक्रममा उसले स्कोर अगाडि वानएक्सबेटको सेरोगेट कम्पनी वानएक्सन्युजको लोगो राख्ने गरेको थियो।

टेलिभिजनले किन जुवा खेलाउने कम्पनीको सेरोगेट कम्पनीको प्रचार गरेको भनेर

हिमालयन टिभीका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसँग उकेराले जिज्ञासा राखेको थियो। उनले आयोजकको कारण लोगो सहितको खेल प्रसारण भएको तर्क गर्दै आयोजकलाई यसबारे जानकारी गराएर आज (मङ्गलवार)बाट लोगो हालेर खेल प्रसारित नगर्ने बताएका थिए।

‘आज हेर्नुहोला सो कम्पनीको नाममा हामीले लोगो प्रयोग गर्ने छैनौ।’

उनले दाबी गरेअनुसार मङ्गलवारको लाइभ प्रसारणमा हिमालयन टेलिभिजनले वनएक्सन्युजको लोगो प्रयोग गरेन।

नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले वानएक्सबेटले जुवा प्रवर्धन गर्न प्रयोग गरिरहेको वानएक्सन्युजलाई लिगको अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनाएको छ। यसबारे उकेराले विस्तृत सामाग्री प्रकाशन गरिरहेको छ।

मिडिया पाट्नरको मुख्य दायित्व प्रतियोगिता सम्बन्धी सामाग्री प्रकाशन अनि प्रसारण हो। तर वनएक्सन्युजको साइटमा लिग सम्बन्धी कुनै सामाग्री छैन। यसले वनएक्सबेटले नेपालमा गैर कानुनी अनलाइन जुवा प्रवर्धन गर्न लिगको दुरुपयोग गरेको प्रस्ट हुन्छ।

वानएक्सन्युजलाई कुन कुन आधारमा अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनाएको हो भन्नेबारे आयोजकसँग जानकारी लिन उकेराले पटक-पटक गरेको प्रयास सफल भएको छैन। लिग आयोजकले निरन्तर अनलाइन जुवा खेलाउने कम्पनीलाई लिगको मञ्चबाट प्रमोसन गरिरहेकै छ।

दशरथ रङ्गशालामा भइरहेको नेपाल सुपर लिगको दोस्रो संस्करणको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को अध्यक्ष आश्रयता कार्की चौधरी छिन्।

सो कम्पनीले अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) सँग आठ वर्षका लागि सम्झौता गरेर लिगको आयोजना गरिरहेको छ।

राष्ट्र बैङ्कको निर्देशन उल्लङ्घन

नेपाल राष्ट्र बैङ्कले २०७९ मङ्सिर २८ गते नै अनलाइन जुवा खेलाउने नगर्न नगराउन निर्देशन दिएको थियो।

‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह, संस्थालाई कानुनी कारबाही हुने तथा निजहरूको बैङ्क खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरू रोक्का गरिनेछ' राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ।

राष्ट्र बैङ्कले जुवा तथा बाजीजन्य कार्यहरू गैर कानुनी रहेको र यस्ता प्रकृतिका कारोबारहरूमा सहभागी नहुन सर्वसाधारणमा सूचित गर्दै विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह र संस्थालाई कानुनी कारबाही हुने र निजहरूको बैङ्क खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरू रोक्का गरिनेछ’ उल्लेख छ।

अनुसन्धानको जिम्मा उपत्यका अपराध कार्यालयलाई

अनलाइन जुवा खेलाउने कम्पनीलाई विभिन्न आवरणमा प्रवर्धन गरेको भन्दै प्रहरीले कलाकार लगायतकाहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ। केही महिना अगाडि वानएक्सबेटको प्रोमोकोड प्रयोग गरेको भन्दै हास्य कलाकारहरू नै पक्राउ परेका थिए। अहिले केही कलाकारहरूले वानएक्सबेटको साटो त्यही कम्पनीको वानएक्सन्युज अनि वानएक्सब्याटको प्रोमो राख्ने गरेका छन्। 

वानएक्सन्युज र वानएक्सब्याट मिडियाको आवरणमा जुवा प्रवर्धन गर्ने साइट हुन्। यी दुवै साइटमा जाँदा वानएक्सबेट नै खुल्छ। वानएक्सबेटको एप राखिएको छ भने जुवामा आधारित अनलाइन गेमहरू सम्बन्धी सामाग्री राखिएको छ।

उकेराले यसबारे समाचार प्रकाशित गरेपछि उपत्यका प्रहरी कार्यालयले यसबारे अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयलाई निर्देशन दिएको खुलेको छ।

'यसबारेमा अनुसन्धान गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई भनिसकेको छु,' उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाले उकेरासँग भने।

सम्बन्धित समाचार

१२ मंसिर, २०८०, १८:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।