अनलाइन जुवा खेलाउने कम्पनीको ‘सहयोगी’ चौधरी समूहकी सदस्य, क्रिकेटमा जस्तै म्याच फिक्सको जोखिममा फुटबल लिग

अनलाइन जुवा खेलाउने कम्पनीको ‘सहयोगी’ चौधरी समूहकी सदस्य, क्रिकेटमा जस्तै म्याच फिक्सको जोखिममा फुटबल लिग

काठमाडौँ : औधौगिक घराना चौधरी ग्रुपको सदस्य नेपालमा खेलको आवरणमा अनलाइन जुवा प्रवर्धन गर्ने कम्पनीको सहयोगी देखिएको छ। दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको आवरणमा चौधरी समूहकी सदस्य आश्रयता कार्की चौधरी अध्यक्ष रहेको कम्पनी अनलाइन जुवा खेलाउने वानएक्सबेटको प्रवर्धनमा संलग्न देखिएको हो।

दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिग दोस्रो संस्करणको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) हो। कम्पनीको अध्यक्ष रहेकी कार्की चौधरी समूहका उपाध्यक्ष निर्वाण चौधरीको श्रीमती हुन्। सो कम्पनीको निर्देशकमा श्रीयंश कार्की छन् भने सिइओ सुदीप शर्मा हुन्।

अखिल नेपाल फुटबल एसोसिएसन(एन्फा)सँग आठ वर्षका लागि सम्झौता गरेर कम्पनीले लिगको आयोजना गरिरहेको छ जसको अन्तर्राष्ट्रिय मिडिया पाट्नर हो नेपालको कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवा खेलाउने वानएक्सबेटको सरोगेट साइट वनएक्सन्युज। लिगले सार्वजनिक गरेको विवरणमा वनएक्सडटन्युज लिगको अन्तर्राष्ट्रिय मिडिया पाट्नर भनेर उल्लेख गरिएको छ।

सो वेब पोर्टलमा जाँदा नै यो नेपालमा प्रतिबन्ध वनएक्सवेट नै हो भन्ने प्रमाणित हुन्छ। वानएसक्सडटन्युज सर्च गर्दा सिधै वानएस्सबेटको युआरएलमा रिडाइरेक्ट हुन्छ अनि भारतीय क्रिकेट सम्बन्धी समाचार रहेको पोर्टल खुल्छ।

नेपाल सुपर लिग आयोजना गरिरहेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको टिमआइतबार लिग सुरु भएको तेस्रो दिनसम्म अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनाएको वनएक्सन्युजमा प्रतियोगिताबारे कुनै समाचार छैन। वेब पोर्टलमा जाँदा यसको मुख्य समाचार झन्डै दुई वर्ष अगाडिको छ त्यो पनि भारतको कबड्डी च्याम्पियनसिपमा बेङलरु बुल्सको मुख्य प्रायोजक वनएक्सन्युज भएको। यो प्रकाशित भएको थियो हो सन् २०२१ डिसेम्बर २२ मा।

साइटमा रहेका ताजा समाचार हेर्दा २०२३ नोभेम्बर १९ मा प्रकाशित छ त्यो पनि भारतीय क्रिकेट सम्बन्धी हो। अन्तर्राष्ट्रिय मिडिया पाट्नर भएको पोर्टले कतै फुटबल सेक्सनमा पो एनएलएको समाचार प्रकाशित गरेको छ कि? फुटबल सम्बन्धी समाचारको लिंकमा सबैभन्दा माथि नै प्रेडिक्सन राखिएको छ अनि विभिन्न अन्तर्राष्ट्रिय लिग प्रतियोगिता सम्बन्धी लिंक राखिएको छ। तर नेपाल सुपर लिगबारे केही पनि उल्लेख छैन। बरु वानएक्सवेटको एप डाउनलोड गर्ने लिंकलाई हाइलाइट गरेर राखिएको छ।

यसले वनएक्सवेटले वानएक्सन्युज नामको सेरोगेट कम्पनीमार्फत नेपालमा अनलाइन जुवाको प्रचार गर्न लिगको प्रयोग गरेको प्रस्टै हुन्छ। अनि लिग आयोजक जुवा कम्पनीबाट पाइने पैसाका आधारमा जुवा प्रवर्धनको सहयोगी बनेको देखिन्छ।

जुवा प्रवर्धनमा क्यान र एन्फा नै सहयोगी

चौधरी समूहले नेपालमा क्रिकेट फ्रेन्चाइज समेत आफ्नै कम्पनीबाट आयोजना गर्ने प्रयास गरेको थियो। क्रिकेटमा विवादित भारतीय कम्पनीको प्रवेश भयो। एनएसईएमले क्रिकेटको फ्रेन्चाइज नपाए पनि उसले फुटबलको फ्रेन्चाइज भने पायो। पहिलो संस्करण आयोजना पनि गर्यो।

यो यही फ्रेन्चाइजको दोस्रो संस्करण हो। एन्फाले एनएसईएमलाई नेपाल सुपर लिगको नाममा फ्रेन्जाइज फुटबल लिग सञ्चालन गर्न आठ वर्षको अनुमति दिएको छ। एन्फा र एनएसईएमविच भएको सम्झौतामा क्लबहरू असन्तुष्ट भए पनि एन्फा पदाधिकारीहरूले एक अर्ब ७२ करोड तिर्नेगरी सोही कम्पनीसँग सम्झौता गरिसकेको छ।

कम्पनीले सम्झौता बापतको एक करोड ५० लाख तिरेको छ। एन्फाबाट अनुमति पाएपछि कम्पनीले दोस्रो संस्करणका लागि तीन नयाँ टोली थप्दै १० टिम पुर्याएको छ।

एन्फाको अनुमतिमा लिग आयोजना भइरहेकाले लिगमा हुने गैर कानुनी गतिविधिको भागिदार एन्फा पनि हुने भइहाल्यो। अनलाइन बेटिङ गर्ने कम्पनीलाई अन्तर्राष्ट्रिय मिडियाको जिम्मा दिएकोबारे एन्फा जानकार छ?

एन्फाका प्रवक्ता सुरेश शाहले लिग आयोजना गर्ने अनुमतीदिँदा नेपालको प्रचलित कानुनको अधीनमा रहनेगरी सम्झौता गरिएको बताउँदै आयोजकले कानुन विपरीत काम गरे एन्फाले कारबाही गर्नेसक्ने बताए।

उनले लिग आयोजकले कसलाई कुन आधारमा अन्तर्राष्ट्रिय न्युज पाट्नर बनाएको हो त्योबारे जानकारी नभएको बताउँदै नेपालको कानुन अनुसार गर्न नहुने गतिविधिमा संलग्न कम्पनीलाई यस्तो जिम्मा दिएको प्रमाणित भए एन्फाले सम्बन्धित आयोजकसँग जानकारी मागेर प्रमाणित भए लिगबारे पुनर्विचार गर्न सक्ने बताए।

‘हामीले अनुमति दिएको कानुनको अधीनमा रहेर लिग सञ्चालन गर्न हो। कानुनले गर्न नपाइने भनेको काम गरेको हो भने पहिला बुझ्छौँ। प्रमाणित भयो भने आवश्यक कारबाही हुन्छ।‘

यसबारे उकेराले राष्ट्रिय खेलकुद परिषद्का सूचना अधिकारी खुसराज दाहालसँग पनि जानकारी लिएका थियौँ। उनले सो लिग राखेपले नभई एन्फाको अनुमतिमा भएको तर लिगको नाममा कुनै गैर कानुनी काम भएको भए राखेपले अनुगमन गरेर एन्फासँग जानकारी माग्न सक्ने उनले बताए।

‘योबारे मलाई नि जानकारी भएन। के भएको त्यसबारे हामी बुझ्छौँ’ उनले भने।

प्रहरीले वानएक्सबेटको नाममा जुवा खेलाएको र वानएक्सबेटलाई नेपालमा प्रवर्धन गरेको भन्दै कलाकारहरूलाई समेत पक्राउ गरेको थियो। एक राष्ट्रियस्तरकै लिगले नै सेरोगेट कम्पनीको आवरणमा जुवा खेलाउने कम्पनीलाई प्रवर्धन गरिरहेकोबारे के गर्छ?

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले स्वीकृति दिएको विषय भन्दा फरक र नेपालको कानुन बाहिर गएर कसैले काम गरेको विषयमा प्रहरीले छानबिन गरेर कानुनी दायरामा ल्याउने बताए।

अनलाइन जुवा खेलाउने कम्पनीको सेरोगेट कम्पनी जसले लिगको प्रचारमा कुनै कामै गरेको छैन त्यस्तो कम्पनीसँग केको आधारमा सम्झौता गरिएको हो भनेर लिग आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का सिइओ सुदिप शर्मासँग सम्पर्क गर्दा उनले कल उठाएनन्। प्रयोजन खुलाएर गरेको एसएमएसको जवाफमा अर्को नम्बर पठाएर सम्पर्क गर्न भनियो। सो नम्बरमा फोन गर्दा उठेन। सम्पर्कको प्रयोजन खुलाएर एसएमएस गर्दा न कल उठ्यो न कुनै जवाफ नै।

समाचारको आवरण, उद्देश्य जुवा प्रवर्धन

वानएक्सबेटको उद्देश्य नै खेल सम्बन्धी प्रतियोगिताबारे डेटा लिएर जुवा खेलाउने नै हो। यसले लिग सम्बन्धी तथ्याङ्कहरू लिन आफू मिडिया पाट्नर बनेको प्रस्टै देखिन्छ। मिडियाको प्रयोजनको लागि भनेर लिइएको डेटा नेपालभित्रै रहेका आफ्ना सदस्यहरूलाई पूर्वानुमान लगाउने लगायतको जुवामा प्रयोग गर्छन्।

वानएक्सन्युज एनएसएल लिगको अन्तर्राष्ट्रिय मिडिया पाट्नर बन्नुको अर्को उद्देश्य देखिन्न। किनकि समाचारका लागी अन्तर्राष्ट्रिय मिडियाका लागि नेपालमा भइरहेको फुटबल लिग त्यति आकर्षक समाचार बनेको देखिन्न।

वनएक्सडटन्युज कुन कम्पनी अन्तर्गत सञ्चालित न्युज पोर्टल हो भन्ने पनि खुल्दैन। कम्पनीबारे वेब साइटमा यो खेल सम्बन्धी वेबसाइट भएको मात्र उल्लेख छ। यसको युआरएल पनि वनएक्सन्युज हैन वनएक्सवेटडटक्रिकेट देखिन्छ।

लिगमा वाएक्सको प्रचार। वनएक्स-वेट डटकमलाई मुख्य डोमेनको रूपमा प्रयोग गरेको देखिन्छ। यो कुरकाओसोमा दर्ता भएको जुवा खेलाउने कम्पनी हो। त्यहीको कानुन अनुसार दर्ता भएको यो कम्पनीको मूल उद्देश्य नै खेल सम्बन्धी जुवा खेलाउने नै हो।

अन्त पनि यही शैली

अनलाइन जुवा प्रतिबन्ध भएको नेपाल, श्रीलङ्का, भारत अनि पाकिस्तानजस्ता देशमा सिधै वानएक्सवेटको नाममा कम्पनीको प्रवर्धन गर्न नसक्ने भएपछि उनीहरूले वानएस्सन्युज, वनएक्सबेट जस्ता उस्ताउस्तै नाम राखेर पैसा भए अन्य पक्ष नहेर्ने कम्पनीसँग सम्झौता गर्छन्।

वानएक्सन्युज भारतमा समेत विवादमा परिरहन्छ। खेलाडीहरूले यसको प्रवर्धन गरेपछि जुवा खेलाउने कम्पनीको प्रवर्धन गरेको भन्दै खेलाडीहरूको तीव्र आलोचना भएको थियो। उसले भारतमा कबड्डी लिगको एक क्लबलाई नै स्पन्सर गरेको थियो।

यसको कतिसम्म प्रभाव छ भन्ने टी- २० एसिया क्रिकेट कपमा समेत देखिएको थियो। श्रीलङ्काका खेलाडीको जर्सीमा वानएक्सब्याटको लोगो थियो। श्रीलङ्कामा अनलाइन जुवा प्रतिबन्धित छ। यसले श्रीलङ्कामा ठुलै विवाद निम्तिएको थियो।

वानएक्सवेट लगायतका जुवा खेलाउने कम्पनीहरू सरोगेट कम्पनीको नाममा खेलाडी र प्रतियोगिता आयोजकलाई प्रभावमा पार्ने क्रम बढेपछि आलोचना भइरहेको छ।

म्याच फिक्सिङहुँदा पनि चेतेनन्

गत पुस ९ गतेदेखि २७ गतेसम्म नेपालमा नेपाल टी–२० क्रिकेट लिग भएको थियो। प्रारम्भमा यो लिग लिन चौधरीकै नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट सक्रिय थियो। तर स्थानीय सहयोगीमार्फत क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष चतुरबहादुर चन्दलाई प्रभावमा पारेर भारतमै बदनाम सेभन थ्री स्पोर्ट्सलाई क्यानले नेपाल भित्र्याएको थियो।

यो प्रतियोगिताको मिडिया पाट्नर वानएक्सब्याट थियो। प्रतियोगिता अगाडि बढ्दैजाँदा म्याच र स्पट फिक्सिङ भएको समाचार बाहिरियो। थ्री स्फर्टस्का प्रमुख जतिन अलुवाहलिया नेपालबाट भागे।

पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० लिगमा स्पष्ट फिक्सिङ भएको हो हैन अनुसन्धान गरेर स्पट फिक्सिङ भएको पुष्टि गर्यो।

नेपाल टी-२० घोषणा कार्यक्रममा क्यान अध्यक्ष चन्दसहित सहभागी टिमका प्रमुख।जनकपुर रोयल्सका खेलाडी मोहम्मद आदिल आलम, पूर्व खेलाडी महबुब आलम, नितेश गुप्ता, नविक कँडेल र रवि माझीविरुद्ध मुद्दा दायर भयो। सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समीर शेख, वीरेन्द्र साह, नवीन कँडेल र विकास ध्यानी प्रतिवादी बनेका थिए।

स्पट फिक्सिङबारे क्यान अनि राखेपले पनि अनुसन्धान गरिरहेको दाबी गरेका थिए। तर दुवै निकायले यसबारे केही उल्लेख गरेनन्। थ्री स्पोर्ट्सलाई नेपाल ल्याउन संलग्न, चतुरबहादुर भूमिका, लिगमा संलग्न टिमका शङ्कास्पद लगानीकर्ताहरूबारे विस्तृत अनुसन्धानै हुन सकेन। अहिले त्यही रोग फुटबलको लिगमा सर्ने जोखिम देखिन्छ वानएक्सबेटमार्फत नै।

१० मंसिर, २०८०, २०:३७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।