उच्च अदालतको सफाइपछि सन्दीपले भने- 'नेपाललाई जहाँ पुर्याएको थिएँ, अब त्योभन्दा माथि पुर्याउन कोसिस गर्छु'

उच्च अदालतको सफाइपछि सन्दीपले भने- 'नेपाललाई जहाँ पुर्याएको थिएँ, अब त्योभन्दा माथि पुर्याउन कोसिस गर्छु'

काठमाडौं : बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन्। 

बुधबार सफाइपछि उच्च अदालत, पाटन पुगेका सन्दीपले आजसम्म आफूलाई साथ दिनेहरू सबैलाई धन्यवाद भनेका हुन्। 

पाटनमा सन्दीपका तर्फबाट बहस गरेका वकिलहरूले सन्दीप समर्थक भीडलाई सम्बोधन गरे। त्यसपछि सन्दीपलाई उनका समर्थकले झण्डा ओड्न लगाए। सन्दीपले पनि सोही अनुरुप नेपालको झण्डा ओड्दै आफ्ना कुरा राखे। 

'साढे एक वर्षदेखि नै म आफूलाई निर्दोष छु भनेर भनिराखेको थिए। धेरै नै तरिकाले फसाएर मलाई नभएको अपराधको दोषी करार गरिएको थियो,' सन्दीपले भने।  

उनले आफू अदालतको फैसलालाई मानेर अघि बढ्ने बताए। 

'मैले पहिला पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ र अहिले पनि उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्नेछु', उनले भनेका छन्।  

त्यस्तै, उनले समर्थकहरूलाई आभार व्यक्त गर्दै नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउने गरी टेवा पुर्याउने प्रतिबद्धतासमेत जनाए।  

'यो समयमा जतिपनि मान्छेहरूले मलाई साथ दिनुभएको छ, त्यसको लागि आभारी छु। आगामी दिनहरूमा जति हुनसक्छ आफ्नो प्रयास गर्नेछु, नेपाली क्रिकेटलाई जहाँ मैले पुर्याएको थिएँ, त्यो भन्दा माथि पुर्याउन', सन्दीपले भने।  

जेठ २, २०८१ बुधबार १८:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।