समाजसेवी बिनिताको प्रसव पीडा र खुसी : बच्चा जन्माउने बेला मर्छु होला’ भनेर खुब रोएँ
समाजसेवामा सक्रिय विनीता अर्याल अहिले ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’की संस्थापक अध्यक्ष छिन्। उनको संस्थाले बालबालिकाको हकहितको लागि काम गर्छ। सुरुमा बाग्लुंग जिल्लाको पाँच जना बालबालिकाको उद्धार गरेकी उनले पछि भने संस्थागत रूपमै गएर यसमा लागिन्।
झापामा जन्मिएकी उनी एसएलसीपछि बिरामी परिन्। अनि उपचार र घुम्नको लागि काठमाडौँमै बसिन्। त्यही समयमा उनले एउटा पत्रिकामा बाग्लुंगको मिसी भन्ने ठाउँका पाँचै जना बालबालिका अनाथ भएको र बालबालिका मध्येकै ठुलो उमेरकाले मागेर आफ्नो भाइबहिनीको गुजारा गरिरहेको समाचार पढिन्। एक जना त कुपोषणले ग्रसित नै भइसकेका रहेछन्।
उनले ती बालबालिकाको उद्धार गरेर आफूसँग राख्ने योजना बनाइन्। सुरुमा कसैले उनलाई पत्याएनन्। तर कुपोषणले अरू बालबालिकालाई पनि छुन लागेसँगै उनले ती पाँच जनालाई राख्ने अनुमति पाइन्। अनि सबैलाई स्याहार्दास्याहार्दै अन्य बालबालिका पनि बढ्न थाले पछि उनी संस्थागत रूपमा जान पर्यो।
प्राकृतिक रूपमा आमा बन्नु भन्दा अगाडि नै धेरै बालबालिकाको आमा बनेकी उनले गर्भवती होस् या सुत्केरीको उत्सव मनाउनै पाइनन्। उनै विनीताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन् :
OOO
पाँच जना बालबालिकाको माया लागेर ल्याएँ। पछि अन्य बालबालिकाहरू पनि हेरिदिनु भन्दै आउन थाले। पुलमुनि फ्याँकेकादेखि जङ्गलमा भेटिएकासम्म राख्नु भन्दै आएपछि नाइँ भन्न पनि सकिँन। त्यहीबेला मेरो हजुरआमा पनि बिरामी हुनुहुन्थ्यो। उहाँले मेरो विवाह चाँडो भएको हेर्ने इच्छा रहेको बताउनुभयो।
उहाँकै लागि भए पनि बिहे गर्नुपर्ने भयो। अहिलेको जस्तो हो भने त बालविवाह भित्रै पर्ने रहेछ नि! मेरो विवाह भएको करिब एक वर्षमा हजुरआमा पनि बित्नुभयो। बिहे पछि मलाई अरूलाई जस्तो गाह्रो भएको अनुभव भएन। सायद श्रीमानले सपोर्ट गर्नु भएकाले होला।
बिचमा श्रीमान् वैदेशिक रोजगारीमा जानुभयो। आर्थिक रूपमा पुरा सहयोग गर्नुभयो। दुवै परिवारलाई सँगै लैजान चुनौती भए पनि हामीले मिलाएर लग्यौँ।
बिहे गरेको अर्को वर्ष नै हाम्रो पहिलो सन्तान भइहाल्यो। आफू सानो भए पनि म त आमा भइसकेकी थिएँ। पाँच जना बालबालिका हुँदै थपिँदै जाँदा सबैलाई आमा भएरै हेरिरहेको न हो।
सबैसँगै उति नै आत्मीयता जोडिसकेको रहेछ। त्यै भएर पनि मलाई त आफूलाई केही हुनु हुँदैन भन्ने परेछ।
मलाई केही भयो भने मेरो बच्चाहरूको बिचल्ली हुन्छ भन्ने लाग्थ्यो। अहिले पनि यसो सोच्दा त लाग्छ नै। पहिलो पटक गर्भवती हुँदा त ‘बच्चा जन्माउने बेला मर्छु होला’ भनेर खुब रोएकी थिएँ। डाक्टरसँग पनि कुरा गर्दा मलाई बचाउनु भन्थेँ।
‘मेरो बच्चाहरू छ, मलाई नमार्दिनु है’ भन्थे। उहाँहरूले चैँ फेरि मलाई किन यति छिटो बच्चा पाएको त भन्नुहुन्थ्यो। कुपोषण भएको बालबालिकालाई धेरै स्याहार्न पर्ने, समय दिनुपर्ने भयो।
म त आफू गर्भवती छु भन्ने समेत बिर्सिएर उनीहरूलाई खुवाउने, सफा गरिदिनेमै व्यस्त हुन्थेँ। सकेसम्म केही पनि कमी नहोस् भन्ने मै मेरो ध्यान हुन्थ्यो।
उनीहरूलाई स्याहार्दा स्याहार्दा मैले त छ महिनासम्म खासै खाना खाइन। एक त खाना रुचेन। त्यसमाथि बालबालिकाहरूलाई हुर्काउनु ठुलै चुनौती रहेछ।
म कमजोर भएछु त्यसबेला त। दाताहरू समक्ष पनि आफै जानुपर्ने हुँदा घामपानीमा घन्टौँ हिँड्थे। त्यसबेला मेरो तौल पनि त्यति धेरै बढेको थिएन। धपेडी भएछ कि जस्तो लाग्छ।
मानसिकरुपमा धेरै सोच्न फुर्सद पनि पाइन। एक दिन दिनभर न्युरोड तिर हिँडेर गएकी थिएँ। राति खुट्टा बेस्कन दुख्यो। तेल लगाएर सुतेको थिएँ। राति नै पानी फुटेछ। धेरै नै पानी आएको देखेपछि आत्तिएर ममीसँग कुरा गरेँ। उहाँले तुरुन्त हस्पिटल जाऊ भन्नुभयो।
हस्पिटल जाँदा त पानी धेरै बगेको कारण बच्चालाई अक्सिजनको कमी भएछ। अनि तुरुन्त अप्रेसन गर्नुपर्छ भन्ने कुरा आयो। मलाई निकै डर लागेको थियो।
डरले रोएर म त अप्रेसन कक्षमा समेत जान मानिरहेको थिइन। मेरो यति धेरै बच्चाहरू छ, सबलाई छोडेर कसरी जानु होला भन्ने दिमागमा आयो। अनि मैले डाक्टरलाई पनि प्लिज मलाई बचाइदिनु होला भनेछु।
त्यही बेला हो मैले जन्म दिनुभन्दा अगाडि नै मातृत्व अनुभव गरेछु भन्ने लागेको। रुँदै अप्रेसन कक्षमा गएँ। एनेस्थेसिया पछि के भयो भन्ने याद समेत छैन।
अप्रेसनपछि गाह्रो भएको थियो। तीन दिनपछि आफूले जन्माएको सन्तान देखेँ। तर घाउले गर्दा बोक्न पनि सकिन। अप्रेसन गरेर आमा बन्नुपर्दाको अर्को ठुलो पीडा त्यो पो लाग्यो।
घाउको त कुरै छोडौँ। सानो नयाँ अनुहार देख्दा म एकदम खुसी थिएँ। तर त्यसबेला आफ्नो खुसी व्यक्त गर्न मलाई अप्ठ्यारो भइरहेको थियो। मरेर बाँचेको भनेको त्यही हो जस्तो लाग्छ।
त्यसबेला म सुत्केरी भएर बस्न पनि पाइन। १५ दिनको सुत्केरी, आलो घाउ बोकेर दाताकहाँ पुग्थेँ। नयाँ जन्मिएको भन्दा अरू सन्तानहरू वरपर टन्न भए।
श्रीमान् र घरपरिवारले आफूलाई नस्याहारेको भन्दै नानीलाई समय दिन भन्नुहुन्थ्यो। आफ्नै जिद्दीले आफूलाई गाह्रो पार्यो भन्नुहुन्थ्यो।
नानी त प्राय श्रीमानकै काखमा हुन्थ्यो। आम्दानीको लागि केही समय ब्युटी पार्लर पनि खोलेँ। तर बच्चाहरू संस्थामा थपिँदै गएपछि अर्को ठाउँमा काम गर्ने सकिन। सामाजिक काममा लाग्दा हरेक प्रकारका व्यक्तिसँग ठोकिनु पर्ने रहेछ। बच्चाहरू बढेको देख्दा केहीले त ‘बच्चा बेच्छ होला’ समेत भनेको सुनेको छु।
पहिलो सन्तान जन्माए पछि नै मलाई अब पुग्यो भन्ने लागिसकेको थियो। घरमा त केही समय पछि नै अर्को पनि चाहिन्छ भन्न थालिसकेका थिए। तर मलाई चैँ घरभरि बच्चा छ, समाजसेवामा लागेको मान्छे धेरै बच्चा जन्माउनु हुँदैन भन्ने लाग्थ्यो।
मैले घरमा अब अर्को बच्चा हुँदैन भन्थेँ। तर त्यसो भन्दाभन्दै अर्को गर्भ रहिसकेछ। धेरै उमेर अन्तर छ दुवैबिच। लकडाउनको समयमा दोस्रोलाई जन्म दिएकी हुँ।
घरमा धेरै छोराछोरी भएकाले दोस्रो गर्भको अवस्थामा मलाई धेरै सहज भयो। सबैले मलाई एकदम माया गरेर स्याहार गरे। उनीहरूले नै चेकअपको लागि साथमा जानेदेखि घरमा पनि आराम गर्न लगाउने उनीहरू नै हो।
त्यसबेला एक त म आफै अलि परिपक्व अनि अनुभवी भइसकेकी थिएँ। त्यसमाथि सबैको साथ पाएपछि सब सहज हुने रहेछ। पहिलो अप्रेसन भएपछि दोस्रो पनि अप्रेसन नै हुन्छ भनेर समेत म तयार भेसकैकी थिएँ।
अप्रेसन पनि राम्रोसँग भयो। तर पाँच दिन पछि अप्रेसनको घाउ नराम्रोसँग दुख्यो।
दोस्रो सुत्केरीको सुरुवाती दिन त नराम्रोसँग रोएरै बित्यो। त्यसबेला नि मेरो अरू सब छोराछोरीले नै साथ दिएको हो। सकेसम्म बच्चालाई केही नहोस् भनेर नै बढी सोच आउने रहेछ त्यसबेला। म त्यो बेलामा जम्मा ४५ केजीको मात्र थिएँ। नानी भएको धेरै समय पछि मात्र मेरो तौल बढ्न थालेको हो।
जे होस् आमा बन्ने भने कुरा सजिलो चैँ हैन रहेछ। प्राकृतिक रूपमा जन्म दिएको मेरो दुइटा छोरी पनि सबै सन्तानहरूसँगै हुर्किए। उनीहरू सबले बहिनी भन्दै माया गर्छन्। मेरो संस्थामा कोही नयाँ मान्छे आयो भने कुन प्राकृतिक रूपमा जन्माएको सन्तान, कुन अर्को भनेर कसैले पनि छुट्टाउन सक्दैनन्।
मैले पनि उ आफ्नो, उ अर्को भन्ने नहोस् भनेर धेरै ध्यान दिइरहेको हुन्छु। जन्म दिएको सन्तान भए पनि मेरो धेरै सन्तान छन्। उनीहरूलाई सक्षम बनाउन सहयोग मात्र गर्ने हो मैले त। सब आफै सक्षम भएर आफूलाई आफैले नै हेरोस् भन्ने लाग्छ।
त्यै भएर पनि मैले उनीहरूलाई यही गर्नुपर्छ, यही बन्नुपर्छ भनेको छैन। सबलाई अहिले त शिक्षाकै आवश्यकता छ। राम्रो शिक्षा पायो भने उनीहरू कसैको बारेमा पनि म आफैले समेत धेरै सोच्न पर्दैन जस्तो लाग्छ।
आमा भनेको सायद यहिनै होला। सक्षम भएको हेर्न पनि चाहने अनि सधैँ आफ्नो सन्तान सानै देखिरहने।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
मंसिर २३, २०८१ आइतबार १८:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।