व्यवसायी सरिताको प्रसव पीडा र खुसी : पहिलो पटक छोरो देख्दा सानो, कुखुराको चल्ला जस्तै देखेँ, हात पनि सानो, नाक चुच्चो !

व्यवसायी सरिताको प्रसव पीडा र खुसी : पहिलो पटक छोरो देख्दा सानो, कुखुराको चल्ला जस्तै देखेँ, हात पनि सानो, नाक चुच्चो !

लामो समय गृहिणी  भएकी सरिता श्रेष्ठ श्रीमानको ह्याण्डी क्राफ्ट पसलमा सहयोग गर्थिन्। भुकम्पपछि त्यो काम चौपट भयो। उनले आफ्नो नयाँ व्यवसायी सुरू गरिन्। एक वर्षदेखि सरिताले साथीसँग मिलेर ‘फ्रोजन’ म:म खोलिन्। अहिले उनको व्यवसायमा श्रीमानले साथ दिइरहेका छन्।

ठूला सुपर मार्केटलाई ग्राहक बनाउने टार्गेट भए पनि लेनदेनको समस्या थाहा पाएपछि अहिले उनी सानो मार्केटमै चित्त बुझाइरहेकी छिन्। केही पार्टी प्यालेसहरूमा उनले निरन्तर आपूर्ति गरिरहेकी छिन्। चार वटा आउटलेट खोल्ने योजना अनुसार कुपन्डोलमा एउटा खुलिसकेको छ।

काठमाडौंको नेवार परिवारमा जन्मिएकी उनलाई सानैदेखि त्यस्तो ठूलो इच्छा जागेन। ठूली भएपछि घर परिवार बसाउने र खुसीसँग बस्ने नै उनको प्राथमिकता थियो। तर समय बित्दै जाँदा उनले धेरै जिम्मेवारीहरू बहन गर्नुपर्यो। नेवार भित्रै अन्तर्जातीय विवाह गरेपछि त झन जीवन उनले भनेको जस्तो पटक्कै सहज भएन। 

सरिता एक सन्तानकी आमा पनि हुन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन् :

०००

मेरो दिदीबहिनी, दाजुभाइ सबै छन्। कहिल्यै पनि यो भइदिएको भए हुन्थ्यो भन्ने नै भएन। त्यै भएर म अलि सौखिन वातावरणमा हुर्किए। मलाई त परिवारसँग खुसीसाथ बस्न पाए पुग्थ्यो भन्ने लाग्ने।  खासै धेरै केही गर्ने आकांक्षा पनि थिएन।

पढिरहेकै बेला मेरो लभ पर्यो। विवाहसम्म गर्ने कुरा भयो। तर घरमा मान्नु भएन। कारण थियो- म श्रेष्ठ अनि उहाँ सिंह।

समुदायका आधारमा त हामी दुवै नेवार समुदायकै हौँ। तर नेवारभित्र पनि विविध जात हुन्छ नि। नेवार भित्रकै विविधतालाई स्विकार्न घरमा गाह्रो भयो। नेवारै भए पनि हाम्रो विवाह अन्तर्जातीय विवाह भयो। घरमा नमानेपछि भागेर विवाह गर्नुपर्यो। 

दुई वर्षसम्म त कसैसँग पनि बोलचाल भएन। म घरमा उस्तो काम गर्न रुचाउने पनि होइन। त्यसो हुँदा मलाई कर्म घरमा पनि त्यति सहज भने भएन। बेला बेला टन्ट धेरै सुन्न पर्यो। 

दुई वर्षपछि एउटा भोजमा हामी घरपक्ष र माइतीपक्ष सबै सँगै भएका थियौँ। त्यही बेलादेखि माइतीतिरका सबैसँग बोलचाल सुरू भयो। त्यो बेला अलिकति इख पनि हुने रहेछ।

त्यसबेला म अलि अल्लारे नै थिएँ। बच्चा जन्माउने भनेर योजना त बनाएको थिएन। तर योजना नहुँदैमा बच्चा नहुने हैन क्यार! मलाई पहिलैदेखि नै पहिलो बच्चा त जे जस्तो अवस्था आए पनि जन्माउने भन्ने थियो, नभन्दै गर्भ पनि रह्यो। म खुसी थिएँ। घरमा पनि सब खुसी हुनुभयो।

बिहेपछि त मेरो पढाइ पनि रोकिइसकेको थियो। त्यो गर्भावस्थाको नौ महिना एकदम अर्कै खालको अनुभूति भयो। खानाको बास्नाले गर्दा खाना नै खाइँन भन्दा पनि हुन्छ। गर्भवती भएको अन्तिम महिनातिर मात्र खान थालेँ। साधारणतया गर्भवती महिलाहरूलाई दुई-तीन महिना त्यस्तो हुन्छ भन्ने सुनेकी थिएँ। तर मेरोमा खै के भयो! लामो समयसम्म त्यस्तो भयो।

खाना नखाए पनि मेरो तौलमा खासै असर त गरेन। तर बाबु चैँ जम्मा दुई केजीको जति मात्र जन्मियो। पहिलो पटक उसलाई देख्दा त एकदम दुब्लो थियो। दह्रो भए पनि दुब्लो, सानो, कुखुराको चल्ला जस्तो देखे मैले त। हात पनि सानो, नाक पनि कति चुच्चो! सुत्केरीमा पनि मैले त्यति धेरै खाना खाएको होइन। बाबु जन्मियो भनेपछि हस्पिटलमै टन्न मासुभात ल्याएर दिनु भएको थियो। तर मलाई खान मन नलागेर आँखाबाट आँसु आयो। खानै सकिँन।

त्यो बेलामा पनि ग्लुकोज पानी मात्र खाएँ। पानी धेरै खाएको भएर बच्चालाई रूघा लागेको भन्ने भयो। बुवा आमाहरूले ग्लुकोज पानी धेरै नखानु भन्नुभएको थियो। पछि त ग्लुकोज पानी समेत लुकाइदिनु भयो।

म त्यसबेला धेरै रोएँ। एकछिन त बच्चा पाएपछि हाम्रो त केही महत्व नै छैन रहेछ भन्ने लाग्यो। उसकै लागि मात्र सबैले सोचेको जस्तो लाग्थ्यो। हुन त मैले पनि उसैको लागि मात्र सोचेको हो। तर सुत्केरी अवस्थामा परिवारको सदस्यले बाबुसँगै मलाई पनि हेरिदियोस् भन्ने लाग्ने रहेछ। 

मलाई घिउभात, चाकुभात असाध्यै मन पर्छ। सुत्केरी हुँदा त्यही मात्र खाएँ। हाम्रो नेवारहरूमा फेरि जे पायो त्यही खान दिँदैनथे। साग पनि घाममा सुकाएर खानु पर्ने। सुकाएको साग कस्तो हुन्छ! त्यो मलाई फिटिक्कै मन परेन। अनि किमा र मौसम पनि खुब खाएँ। 

सुत्केरी भएपछि शारीरिक रूपमा धेरै भिन्नता पाएँ। म मोट्टाएछु भन्ने नै मलाई थाहा भएन। कुर्था लगाएर हेर्छु भनेको त ठिक नै भएन। गर्भवतीको समयमा त बरू मोटाएकी थिइँन तर बच्चा जन्मिएपछी पो मोटाएछु।

त्यो बेला नाक मोट्टो-मोट्टो भएको थियो। अनुहार पनि कस्तो रँग उडेको जस्तो भएको। बाबु जन्माए पछि पो म त जिउ लागेर राम्री हुँदै गएँ। त्यो नौ महिना त्यति धेरै सकस भएन। बरु अन्तिमको केही दिन चैं पेट ठूलो भएकाले सुत्न धेरै गाह्रो भएको थियो।

मलाई फेरि घोप्टो परेर सुत्ने बानी छ। पेट ठूलो हुँदा त काँ त्यसरी सुत्न पाउनु! अन्तिमको केही दिन त राम्रोसँग सुत्न पनि पाइँन। त्यो बेला त सिजर गरेर छिटो निकाल्न पाए पनि हुन्थ्यो भन्ने लाग्यो। 

अनि केही दिन पछि पानी बग्न थालिहाल्यो। दशैँको समय थियो। म त व्यथा लागे पनि टिका लगाएरै हस्पिटल गएको नि! त्यसबेला पेट पनि खासै ठूलो देखिएको थिएन।

हस्पिटलको माहोल मेरो लागि एकदम राम्रो थियो। हस्पिटल गएपछि पनि करिब एक दिनभर मलाई व्यथा लाग्यो। सकेसम्म नर्मल नै होस् भन्ने हुने रहेछ। २४ घण्टा सम्म जन्मिन सकेन। बाबु पनि खाल्डोमा बसेको थियो रे! मैले धेरै खाना नखाएको भएर त्यस्तो गाह्रो भएको होला। अप्रेशन गर्नुभन्दा अगाडि साइन गर्न ल्याउँदा त मर्न लागेको मान्छेलाई साइन गर्न ल्याएको जस्तो महसुस भयो। त्यो बेला श्रीमान पनि अलि भावुक हुनुभएको थियो।

अनि पछि ढाडमा दुई/तीन वटा सुई लगाइदिहाल्यो। लठ्ठै हुने रहेछ। 'केही फिल भइरहेको छ?' भनेर सोधिरहेको थियो। मैले केही फिल गरिनँ। होस आएपछि स्वास्थ्यकर्मीले छोरा भएको छ भनेर देखाइदिए।

हेर्दा त नाक चुच्चो मात्र देखेँ। तौल कम भएको भएर उसलाई आइसीयुमा लगिहाले। एकदिन पुरै अब्जर्भेसनमा राखियो। मलाई चैं बाबु जन्मिए पछि एकदम हल्का महसुस भएको थियो। पेट त पूरा खाली भएर हल्लिएको जस्तो अनुभूति गरेँ।

बाबु जन्मेपछि झन् कमजोर भएको महसुस गरेँ। दस दिन जति मैले आँखा पनि राम्रोसँग देखिँन। बच्चा पायो भनेर धेरै जना मलाई र बच्चालाई हेर्न आउनु भएको थियो। मैले  उहाँहरू कसैलाई पनि राम्रोसँग देखिँन।

सुत्केरीमा केही काम गर्न नपरे पनि गाह्रो भइरह्यो। घाउ पनि एकदम दुखेको थियो। डेढ महिनासम्म त हिँड्न पनि सकिँन। त्यसपछि मात्र हल्का हिँड्न थालेको।

बाबुलाई पहिलो पटक हातमा लिन पाउँदा त एकदम रमाइलो लाग्यो। मेरो पहिलो बच्चा जे भए पनि माया गरेर राख्छु भन्ने भयो। अलिकति उ हुर्केपछि अर्को जन्माउँछु भनेर सोच्दा-सोच्दै उ हुर्केको नै थाहा भएन। नत्र दुई जना पाउने  सोच थियो। ऊ हुर्केपछि  पाउने सोच नै भएन। समय पनि मिलेन।

सुत्केरी स्याहार एकदम राम्रो भयो। सासुले पनि एकदम स्याहार गर्नुभयो। आमाले पनि स्याहार्नु भयो। जाडो महिना भएको कारण अलि गाह्रो भयो। नत्र तेल लगाउने, घाममा बस्ने त सबै भयो। स्तनपान खासै समस्या भएको त होइन तर दूध नै आएन। बाबुलाई त एक हप्तादेखि नै स्यार्लेक्स खुवाउन थालेको। दूधको स्वाद पाइने भए पनि त बाबुले त्यो पनि लिन मानेन। सबै थुकेर निकाल्थ्यो। स्यार्लेक्स खान नमान्ने, मेरो दूध नआउने।

त्यसपछि मैले त १५ दिन देखि नै उसलाई लिटो खुवाइदिएँ। दूधमा लिटो बनाउने पिठो राखेर पातलो गरेर खुवाएँ। थोरै आए पनि दुई वर्षसम्म त बाबुलाई आएको जति सबै दूध खुवाएँ। अनि बाबु साढे दुई वर्ष भएपछि मैले श्रीमानसँग ह्याण्डीक्राफ्टमा काम गर्न थालेँ। जे होस्, बाबुलाई भरपूर समय दिन सकेँ।

घरमा पनि उसले घुलमिल हुने राम्रो माहोल पायो। त्यो बेलामा नन्दहरूको बिहे भएको थिएन। उहाँहरूले त झन् भुइँमै नराख्ने। सासुले पनि खूब माया गर्ने। उसले त त्यो बेलादेखि आजसम्म नै सबैबाट राम्रो स्याहार पाएको छ।

आफ्नो बच्चाले त बान्ता गर्दा पनि घिन नलाग्ने रहेछ। ऊ सबै जनासँग घुलमिल हुन्थ्यो। मसँग पनि राम्रै झुम्मिन्थ्यो। त्यही भएर मैले उसँग उसँग बाल्यकालको हरेक पल बिताउन पाएँ। उसले माया पनि मज्जाले पायो । त्यसैले पनि होला उ छिट्टै बोल्न थाल्यो। उसलाई स्कुल पनि छिट्टै हालेको हो। सानोमा उ एकदम छुच्चो स्वभावको थियो। अहिले त पूरै आकाश जमिनको फरक छ। शान्त स्वभावको छ।

छोरा हो, बीचमा कुलतमा फस्ला कि भन्ने डर लागेको  थियो। तर धन्न त्यस्तो भएन। अहिले पर्यटन सम्बन्धी कोर्स पढिरहेको छ। अझै पनि सबै कुरा मसँग भनिरहेको हुन्छ। परिवार भएर पनि होला, काममा जाँदा त्यति धेरै गार्हो भएन।

पहिला त मेरो बाबुले यस्तो गरोस्, उ यस्तो होस् भन्ने लाग्थ्यो। डाक्टर होस् भन्ने सोच्थेँ। तर अहिले त्यस्तो लाग्दैन। ०७२ सालको भुकम्पले हाम्रो त सोच्ने तरिका पनि बदलिदियो। जीवन भनेको सधैं हामीले सोचेको जस्तो नहुने रहेछ। त्यही भएर अब उसले जे बन्न चाहन्छ त्यही बनोस्। ऊ खुसी होस्। उसको राम्रो होस्। हामी साथ त दिने नै छौँ।

आफ्नो सन्तान जतिसुकै ठूलो भए पनि आमाबालाई सानै लाग्छ भनेको सुनेकी थिएँ। त्यसैले पनि होला, अझै पनि मलाई त मेरो बाबु सानो नै लाग्छ। जसले जे भने पनि बच्चा कम्तीमा दुई वटा त हुनैपर्ने रहेछ जस्तो लाग्छ अहिले पनि। धेरै साथीहरूलाई त त्यही सुझाव पनि दिने गरेकी छु।

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

१ पुस, २०८०, २१:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।