गायिका एन्जेलाको प्रसव पीडा र खुसी : पौने दुई केजीको बच्चाले आधा घन्टासम्म घटघटी दूध खाँदा नर्स त ट्वाँ ! 

गायिका एन्जेलाको प्रसव पीडा र खुसी : पौने दुई केजीको बच्चाले  आधा घन्टासम्म घटघटी दूध खाँदा नर्स त ट्वाँ ! 

कुनै समय निकै चर्चा बटुल्न सफल गायिका हुन् एन्जेला श्रेष्ठ। रेडियो नेपालमा बालगीत गाएर गायन यात्रा सुरु गरेकी एन्जेला ११ वर्षकै उमेरमा गायिका बनिन्।

संगीतकार मदन परियार उनका बुबाका साथी थिए। साथै छिमेकी पनि। उनै परियारले एन्जेलालाई रेडियो नेपालमा गीत आउने वातावरण बनाइदिएका थिए।

सुरुमा बाल कार्यक्रमको बालगीत प्रतियोगितामा सहभागी भइन् उनी। विस्तारै बालगीतहरु रेकर्ड हुन थाले। त्यो समयमा धेरै बालबालिका उनैको आवाजमा रहेको बालगीत रेडियो नेपालमा सुनेर हुर्किए।

जीवनजल, गोरखकाली टायर लगायतका जिंगलमा एन्जेलाको आवाज रेडियोबाट खुब बज्यो। नयाँ पुस्ताका स्रोताले भने उनलाई खासै चिन्दैनन्। तर गायनमा भने सक्रिय छिन्।

जोरपाटीका रविन्द्रकुमार श्रेष्ठसँग विवाह गरेकी एन्जेला दुई सन्तानकी आमा हुन्। एन्जेलाले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग साँटेकी छिन्:

मेरो जन्म काठमाडौंको वीर अस्पताल नजिकै महाबौद्धस्थित घरमै जन्मिएँ। त्यो समयसम्म ममी उमा सिंह श्रेष्ठ गृहणी हुनुहुन्थ्यो। तर पछि उहाँ रोयल नेपाल एयरलाइन्समा काम गर्न थाल्नुभयो। बुबा अनन्दराम सिंह पनि ड्युटी फ्रिमा काम गर्नुहुन्थ्यो।

११ वर्षको उमेरदेखि गीत गाउन सुरु गरें
भारतबाट प्रसारण हुने जिटिभीको इन्टरनेसनल सारेगमका लागि नेपालबाट ६ जना कलाकार लण्डन लगिएको थियो। जसमा म पनि छनोटमा परेकी थिएँ।

त्यो समयमा आनन्द कार्की, नरेन्द्र प्यासी, सुरेश मानन्धर, शर्मिला बर्देवा, सुनिता बुर्लाकोटी र मलाई लण्डन लगिएको थियो। हामी ६ महिना लण्डनका वभिन्न कार्यक्रममा गीत गाउने, नेपाल आएर केही समय बस्ने, फेरि भिसा थपेर लण्डन जाने गर्थ्यौं। यसरी मैले जिटिभीमा अनुबन्धित भएर केही वर्ष काम गरें।

२५ वर्ष पुगिसकेको थिएँ। विवाहका लागि आमा-बुबा र समाजको प्रेसर थेग्नै नसक्ने भएको थियो।

ठूलो बुवाको छोरीको विवाहमा गएकी थिएँ। त्यहाँ मेरो खटाइ, काम गराइ देखेर दिदीका मामाको परिवारलाई म मन परेछ। त्यही विवाहमा उहाँहरुको छोरा रवीन्द्रकुमार श्रेष्ठसँग मेरो भेट भएको थियो। र, त्यहीँ सामान्य परिचय भएको थियो।

पछि उहाँहरु मलाई माग्न घरमा आउनुभएछ। विवाह गर्यो भने गीत गाउन पाइँदैन, घरमै बस्नुपर्छ भन्ने डरकै कारण म डराइरहेकी थिएँ। यो कुरा राजेन्द्रलाई सुनाएँ। उहाँले विवाहपछि पनि गीत गाउन नरोक्ने भनेपछि मात्रै मैले सहमति जनाएँ। उहाँले मेरो सिंगिङ देखेरै विवाह गर्न राजी भएको समेत बताउनुभएको थियो।

६ महिनाको कन्ट्याक्ट सकेर २०५६ साल नेपाल आएको समयमा उहाँसँगै मेरो मागी विवाह भयो। मेरो हजुरआमा निकै बुढो भइसक्नुभएको थियो। पहिलो नातिनी भएकाले उहाँलाई मेरो विवाह हेरेर मात्रै मर्ने इच्छा भएछ। त्यसैले पनि मैले विवाह गर्नैपर्ने भयो।

माघको १ गते मेरो जन्मदिन। त्यही दिन म लण्डनबाट नेपाल आएकी थिएँ। नेपाल आएको १० दिनमै इन्गेजमेन्ट भयो, त्यसको १६ दिनमा विवाह। 

मेरो विवाह हुँदा हामी महाबौद्धबाट सिनामंगल सरिसकेका थियौं। म सिनामंगलबाट विवाह गरेर जोरपाटी पुगें। 

नयाँ घरमा जाँदा सबै मानिस अर्कै, श्रीमान् मात्रै आफ्नो जस्तो लाग्दोरहेछ। त्यसैले जे-जस्तो समस्या आए पनि अरुलाई भन्न डर लाग्थ्यो, श्रीमानलाई नै भन्थें।

विवाह गर्दा भर्खर महिनावारी भएकी थिएँ। घरमा गएपछि एक पटक महिनावारी नभएरै म गर्भवती भएँ।

विवाह गर्ने बित्तिकै अस्थायी साधनका कुरा गर्न पनि भएन। लण्डन बसेकी के हो कसो हो भनेर शंका गर्लान् भन्ने डरले मैले फ्यामिली प्लानिङको कुरा श्रीमानसँग गर्नै सकिनँ। उहाँले पनि वास्ता गर्नुभएन। 

त्यो समयमा अहिलेजस्तो प्रेग्नेसी टेष्ट किट पाइन्थेन। श्रीमानलाई लिएर क्लिनिकमा जाँच गर्न गएँ। नभन्दै परीक्षण सकारात्मक आयो। माइतीमा ममीलाई सबैभन्दा पहिले सुनाएँ, उहाँले जेको डर थियो, त्यही भयो भन्नुभयो।

घरमा भन्ने जिम्मा भने श्रीमानलाई नै दिएँ। बच्चा पेटमा आएपछि खाना खान मन लागेन। वाकवाकी लाग्यो। अचार पाए थोरै दालभात भने खान्थें। तर सक्रिय भने थिएँ। बच्चा पेटमा हुँदैमा मेरो फेरि लण्डन जाने दिन आयो। हामी श्रीमान्-श्रीमती नै लण्डन गयौं।

मलाई लण्डनमै बच्चा जन्माउन भने मन लागेन। नेपालमा भए सबैले हेरचाह गर्छन्, उता हेर्ने मान्छे हुँदैन भन्ने लाग्यो। डाक्टरले ८ महिना लागेपछि यात्रा गर्न हुँदैन भन्दाभन्दै हामी नेपाल आयौं। 

बाटोमा दुई ठाउँमा ट्रान्जिट परेको थियो। फ्याङ्कफर्ट एयरपोर्ट र दुबई एयरपोर्ट। फ्याङ्कफर्ट विमानस्थलसम्म केही समस्या भएको थिएन तर दुबई आउने समयमा भने अक्सिजन लेबल नपुगेको जस्तो भयो। मलाई मेरोभन्दा बच्चाको धेरै चिन्ता लाग्यो।

नेपाल आउने बित्तिकै टिचिङमा मैले चिनेको चिकित्सकलाई नियमित देखायौं। त्यो समयमा चिकित्सकले पाठेघरको मुख सानो भएको बताए। चिकित्सकले नर्मल डेलिभरी गर्न नमिल्ने बताए। सिएस नै गर्नुपर्ने भयो।

पेट सानो थियो। हिँड्ने, डुल्ने, घरको काम गर्ने सबै भइरहेको थियो।

डेट आउन १८ दिन बाँकी थियो। खाना खान मन लागेन। अलि गाह्रो भएजस्तो भयो। त्यही राति वाटर ब्रेक भएछ। मैले भने पिरियड भएको बेलामा जस्तै होला भन्ठानें। बसेको ठाउँबाट उठ्नै नसक्ने भएँ। तीन वटा कपडा ओछ्याउँदा पनि नधान्ने गरी पानी आयो। सासुलाई यो कुरा भन्नै सकिनँ। ममीलाई फोन गरेर सुनाएँ। उहाँले अस्पताल जान भन्नुभयो।

अस्पताल जाँदा कति समय लाग्ने हो, खाना खाएर जाउ भनेर सासुले भन्नुभयो। तातो भात हतार-हतार खाएर अस्पताल गएँ। 

अस्पतालमा भात खाने बित्तिकै चेकअप गर्न नमिल्ने रहेछ। दुई घण्टा बाहिर राखिदियो। दुई घण्टापछि सिधै भर्ना गरिदियो।

आधा भाग लठ्याइएको थियो। सबै कुरा थाहा पाइरहेको थिएँ। पेट काट्दैछ, कस्तो हुने होला भन्ने उत्सुकता पनि थियो। हामी अत्तालिन्छौं भनेर चिकित्सकहरु गफ गरिरहने रहेछन्।

कुरै-कुरामा चिकित्सकले के गर्नुहुन्छ भनेर सोधे। मैले सिंगर हो भनें। त्यो समयमा मेरो प्रेम स्पर्स भन्ने एल्बमका दुई गीत 'किन किन किन तिम्रो माया' र 'तिमी नै मेरो जीवन साथी' निकै चलेका थिए।

मैले त्यो कुरा सुनाउने बित्तिकै सर्जु रञ्जित त मेरो दाइ हो नि भनेर चिकित्सकले भन्नुभयो। सर्जु रञ्जितसँगै मैले ती गीतहरुमा ड्वेट गरेकी थिएँ। त्यो गीतको कुरा गर्दागर्दै मैले छोरी जन्माएँ। सुरुमा छोरीले मलाई टुलुटुलु हेरिरहिन्। अनि केही समयपछि मात्रै 'ह्वाँ' गरेर रोइन्। त्यो क्षण अहिलेसम्म पनि सम्झना आउँछ। 

नानी सफा गरेर जब छातीमा राखिदिनुभयो, सबै पीडा गायब भयो। छोरी जन्मेपछि परिवारमा खुसी छायो।

सिएस गरे पनि जम्मा चार दिन मात्रै अस्पताल बसें। म उठेर यताउति गरिरहें। जति चलमलायो, घाउ उति छिटो निको हुने रहेछ।

दूध राम्रोसँग आयो। बाहिरको दूध खुवाउनुपरेन। बच्चालाई मैले सकेजति समय दिएँ।

न्वारनको काम सक्ने बित्तिकै माइती गएँ। माइतीमा आमाको स्याहार-सुसारले तगडा भइहालें। चिपिक्क पारेर तीन पटक तेल लागाउने, पटुकी बाँध्ने, टाउकोमा हावा छिर्न नदिने लगायतका सबै काम गरें। त्यसैले होला, मेरो शरीर छिट्टै फर्ममा आइहाल्यो।

बच्चा जन्मेको ६ महिनापछि नै फेरि गीत रेकर्डिङ गर्न थालें। बच्चालाई ममीकहाँ छाड्थें, मनमा भने कतै रोयो कि भन्ने भइरहन्थ्यो। छिटो सकेर घर गइहालौं कि भन्ने हुन्थ्यो। तर व्यावसायिक भएपछि यस्ता कुरा अरुको अगाडि भन्न पनि नमिल्ने।

नानी सात महिनाको हुँदा हामी तीनै जना लण्डन गयौं। श्रीमान् काम गर्नुहुन्थ्यो। म भने नानी मात्रै हेरेर बस्थें। सबैले बच्चा यतै छाडेर जान भनेका थिए तर मैले छाड्नै सकिनँ। बच्चा हुर्काउँदा मैले कम्प्युटर ट्रेनिङ र चाइल्ड केयरको कोर्स गरें। 

छोरी अलि ठूलो भएपछि दुई दिन बिदाको मौका पारेर सांगीतिक कार्यक्रममा व्यस्त हुन थालें।

छोरी ढेड बर्षको भएपछि नन्नी राखेका थियौं। तर बच्चा हेर्ने त्यो नन्नीले चुरोट खाने रहेछ। मैले सोध्दा खान्न भन्ने तर छोरीको टाउकोबाट भने चुरोटको गन्ध आउने भयो। त्यसपछि बाहिरी मानिसको भरै लागेन। म आफैंले उसलाई हेरें।

०००
छोरी १० वर्षको भइसकेकी थिइन्। हामी नेपाल फर्कियौं। नेपाल आएपछि फेरि सबैले अर्को बच्चा जन्माउनैपर्ने दबाब भयो। छोरी आफैंले पनि भाइ या बहिनी चाहियो भनेर जिद्धि गर्न थाली।

छोरी छँदैछ, अब छोरा जन्माउने योजना भयो। चाइनिज क्यालेन्डर अनुसार छोरा जन्माउन सकिन्छ भन्ने उहाँले नै भन्नुभयो। योजना अनुसार नै हामीले छोरा जन्मायौं।

छोराको समयमा मलाई झनै धेरै कम्प्लिकेसन आयो। वाकवाकी लाग्ने, पानी खाँदा समेत पेटमा नअड्ने समस्या छोराको पालोमा पनि देखियो। छोरीको पालोमा भन्दा छोराको पालोमा धेरै समस्या भयो। अगाडि खानेकुरा ल्याउनै नहुने भयो। 

केएमसी अस्पताल खुलिसकेको थियो। डा. उर्मिलालाई देखायौं। एज ग्यापको समस्या त छँदै थियो, त्यसैमाथि बच्चाले साल-नाल थिचेर उल्टो बसेको रहेछ। त्यसैले पहिलो बच्चाको समयमा भन्दा धेरै गाह्रो भयो। 

पहिलो बच्चा जस्तै, दोस्रो बच्चाको समयमा झनै छिटो अस्पताल जानुपर्ने अवस्था आयो। सात महिनामै वाटर ब्याग फुट्यो। 

अर्लि प्रेग्नेन्सी गर्नुपर्ने भयो। तपाईंको बच्चा हुन पनि सक्छ, नहुन पनि सक्छ भनेर अस्पताल जाने बित्तिकै चिकित्सकले भने। म त त्यहीँ रुन थालें।

मैले १.७५ केजीको छोरा जन्माएँ। सुरुमा चिकित्सकलाई मेरो बच्चा ठिक छ कि छैन भनेर सोधें। चिकित्सकले ठिक छ भने, तर मैले रोएको सुनेकै थिइनँ। खै त रोएकै छैन भनेपछि चिकित्सकले पछाडि थपथप्याए। अनि बल्ल रोयो।

बच्चा सानो भएकाले एनआसियुमा राख्नुपर्यो। बच्चालाई जण्डिज पनि देखिएछ। त्यो लटमा १५ जना महिलाले २ केजीभन्दा कमका बच्चा जन्माएका रहेछन्। तर सबैभन्दा एक्टिभ बच्चा भने मेरो रहेछ। ऊ त एनआसियुको बक्समा घडी जस्तै घुम्दोरहेछ।

बच्चालाई दूध बाहिरबाट नर्सले पम्प गरेर खुवाउँथे। मेरो दूध भने खेर गइरहेको थियो। केही दिनपछि आमालाई नै दूध खुवाउन दिने भन्ने भएछ। पहिलो पटक दूध खुवाउँदा आधा घण्टा ननस्टप दूध खायो। मैले यो कुरा चिकित्सकलाई भन्दा पत्याउनुभएन। 

अर्को पटक नर्सलाई हेर्न राख्नुभएको थियो, त्यो पटक पनि बच्चाले श्वासै नफेरी आधा घण्टासम्म दूध खाइदियो। सानो बोटलमा दूध खुवाएकाहरु १ दशमलव ७५ केजीको बच्चाले आधा घण्टासम्म दूध खाएको देखेर ट्वाँ परे।

त्यो समयमा भर्खर कंगारु हग भन्ने नेपालमा चलेको रहेछ। त्यसैले बच्चा मेरो छातीमा बाँधेर राखिदिन्थे। 

संयोग के भइदियो भने, मेरो भाइकी श्रीमती पनि गर्भवती थिइन्। ममीलाई बुहारी हेर्ने कि छोरी भन्ने समस्या भइरहेको थियो। तर मैले अगाडि नै बच्चा जन्माउँदा ममीले स्याहार्न पाउनुभयो। दुई हप्ता मलाई हेरेर फुपु दिदीको जिम्मा लगाएर उहाँ बुहारी स्याहार्न लण्डन जानुभयो।

फुपु दिदीलाई बच्चा निकै मनपर्ने। धेरै बच्चा स्याहारिसकेको अनुभव पनि भएको। हातमा लिन समेत डर लाग्ने सानो बच्चालाई उहाँले एकदम राम्रोसँग स्याहार्नुभयो। एक महिनामा त सात महिनामा जन्मेको बच्चा जस्तै नलाग्ने, ठूलो भइसकेको थियो छोरा। 

मेरा दुवै बच्चा सानैदेखि पट्टी ट्रेन भए। उनीहरु दिसा-पिसाब गर्ने समयमा हलचल गर्ने रहेछन्। यो कुरा थाहा पाउने बित्तिकै मैले उनीहरुलाई शौचालय लगिहाल्थें। सानैदेखि यी कुराहरुमा ट्रेन गराउँदा मेरो कोठा बच्चा भएजस्तो हुँदै भएन। 

अहिले छोरी रागिनी २२ वर्षकी भइन्। बिएचएम पढ्दैछिन्। छोरा राघव १२ वर्षको भयो, पाँच कक्षामा पढ्छ।

यो पनि

२९ साउन, २०७९, २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।