निर्मलाको प्रसव पीडा र खुसी : पहिलो सन्तान गुमाउँदा छ महिनासम्म होसमै थिइनँ, दोस्रोमा चोर्लान् भनेर हेरेको हेर्यै गरेँ

निर्मलाको प्रसव पीडा र खुसी : पहिलो सन्तान गुमाउँदा छ महिनासम्म होसमै थिइनँ, दोस्रोमा चोर्लान् भनेर हेरेको हेर्यै गरेँ

निर्मला ढकाल त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र विषय पढाउँछिन्। कुनै समय एनजिओ, आइएनजीओमा काम गर्ने लहड चलेको बेला उनी त्यही काम गर्ने सपना देखेर समाजशास्त्र विषय पढ्न थालेकी थिइन्। उनले केही एनजिओमा काम पनि गरिन्। तर त्यसमा बढी समय दिन सकिनन्।

विवाह र सन्तानपछि आफ्नो जीवनमा आएको उतारचढावले गर्दा उनी पूर्ण रूपमा कामदार महिला हुन सकिनन्। छोराको लागि सकेसम्म बढी समय दिने वातावरण बनाइराखिन्। अहिले छोरा १६ वर्षका भइसके तर पनि उनले पहिला जसरी नै भरपुर समय दिइरहेकी छिन्। जतिखेर पनि वरपर रहनुपर्ने उनको बानी छोराले झिँजो मान्न थालिसके। तर उनको मन मानेको छैन।

तनहुँ जिल्ला, घरकी एक्ली छोरी भएर हुर्किएकी उनको बाल्यकाल निकै रमणीय रूपमा बित्यो। तर हुर्किँदै जाँदा बिहेको दबाब अत्यधिक आउन थाल्यो। अनि नचाहँदा नचाहँदै पनि उनले मागी विवाह गरिन्। वैवाहिक जीवनमा भने कुनै पनि समस्या आएन।

स्नातक पढ्दा पढ्दै विवाह गरेकी उनले पछि पनि आफ्नो पढाइलाई निरन्तरता दिइन्। उनै निर्मलाले पहिलो सन्तान गुमाउनु परेको पीडासँगै त्यसले ल्याइदिएको एक किसिमको डर सहितको अनुभव उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा यसरी साटिन् :

OOO

मेरो अलि छिट्टै बिहे भयो। स्नातकमा पढ्दा मागी विवाह गर्नुपरे पनि हाम्रो वैवाहिक जीवन राम्रो रह्यो।

विवाह भएको केही महिनामै गर्भ रह्यो। त्यसबेला के गर्ने, कसरी गर्ने भन्ने नै थाहा थिएन। हामी तयार नभएको कारण सुरुमा त गर्भपतन गराउने कि भन्ने सोच पनि आएको  थियो। तर श्रीमानसँग सल्लाह गरेर जे भए पनि गर्भपतन नगर्ने भन्ने निर्णय भयो। त्यसपछि खुसी थियौँ।

तर, गर्भवती भएको छैटौँ महिनादेखि मलाई एकदम उच्च ज्वरो आयो। पछि ब्लड इन्फेक्सन समेत भएछ। औषधी कति खाएँ त्यसको कुनै गणनै छैन। हरेक दुई घण्टाको अन्तरमा औषधी खाइसक्नु पर्ने थियो।

सायद त्यसैको असर भयो जस्तो कि, सातौँ महिनामा मेरो बच्चा खेर गयो। म आफै धेरै कमजोर भएकी थिएँ। त्यसबेला चितवनमा थियौँ। तत्काल काठमाडौँ आयौँ। बाटोमै मैले बच्चाको धड्कन महसुस गरेको थिइन।

अस्पतालमा गयौँ। मलाई ट्वाइलेट जान पर्ने भएर गएको थिएँ। त्यही समय केही खसेको जस्तो महसुस गरेँ। त्यो बच्चा रहेछ। मैले त पेटिकोटमा समातेर बाहिर ल्याएको थिएँ। त्यसबेला पुरै होसमा पनि थिइन। बेहोस पनि भइसकेको थिइन।

सात महिनाको बच्चा त राम्रै विकसित भइसकेको रहेछ। तर पेट भित्रै मरेको कारण त्यसरी अचानक गर्भपात भएजस्तै गरेर निस्किएको हो कि जस्तो लाग्छ।

डाक्टरले यस्तो केसमा आमा नरहेर बच्चा रहन पनि सक्थ्यो भन्नुभएको थियो। लगभग एक महिनासम्म अस्पतालमै बस्नु परेको थियो। मेरो बच्चा नभए पनि सुत्केरी त थिएँ नै। त्यही भएर अन्य सुत्केरीसँगै मलाई राखिएको थियो।

त्यस बेलासम्म अन्य बच्चाहरू रोएको, आमाहरूले स्तनपान गराएको सबै देखिरहेकी थिएँ। त्यो सब देख्दा मेरो मन स्थिर हुनै सकेन। मेरै बच्चा रोएको जस्तो लाग्थ्यो।

मेरो मनस्थिति क्षत विच्छेद भएको थियो। त्यसबेला मेरो दूध पनि आइरहेको थियो। तर खुवाउनु कसलाई! दूध सुकाउने औषधी समेत खाएँ। मलाई यति धेरै गाह्रो भयो कि त्यसबेला पहिलो पटक 'एञ्जाइटी' भनेको के हो महसुस गरेँ।

अस्पतालबाट घर लाग्दा मेरो शरीर नै सबै कालोकालो धब्बाहरूले ढाकेको थियो। सुईले खोपेको ठाउँमा पुरै नीलडाम थियो।  एकदम टाटेपाटे देखेर त मलाई क्यान्सर नै भएछ कि क्या हो भन्ने लागेको थियो। आँखाको नसा पनि पुरै रातो भएको थियो। आफैलाई कस्तो कुरूप लाग्थ्यो। धेरै समय त मैले ऐना पनि हेरिन। 

शारीरिक रूपमा त कमजोर थिएँ नै मानसिक रूपमा पनि नराम्रोसँग हान्यो। लगभग छ महिनासम्म त म होस हवासमै थिइन। डिप्रेसनकै औषधी समेत खाएँ।

त्यसबेला पढाइ सबै डामाडोल भयो। म फेरी पहिलाको जस्तै ठिक हुन्छु भनेर त सोचेको पनि थिइन। श्रीमान् र परिवारले साथ नदिनु भएको भए सायद अझै केही वर्ष म त्यस्तै चिन्ता गरेर बस्थेँ होला। 

त्यस्तो बेलामा बच्चा बाँचेर आमालाई केही भएको भए बच्चालाई झन् गाह्रो हुन्थ्यो भनेर मन बुझाउने बाहेक अर्को विकल्प नै थिएन।

त्यो घटनाले अलि फरक रूपले सोच्ने पनि बनायो। अनि बिस्तारै पढाइलाई निरन्तरता दिन थालेँ। श्रीमानसँग नजिक हुन समेत मलाई त्यसबेला धेरै समय लाग्यो। उहाँले सधैँ केही छैन, हामी बच्चा 'एडप्ट गरौँला' भन्नुहुन्थ्यो। नत्र परिवारमा त अलि अगाडि देखिनै अब अर्कोको तयारी गर्न दबाब आइसकेको थियो।

पहिलो सन्तान त्यस्तो नराम्रोसँग गुमाएपछि अर्को सन्तानको बारेमा सोच्न मेरो आँट नै आएको थिएन। मलाई त डर लाग्नु स्वाभाविक नै थियो। मेरो श्रीमानलाई समेत डर लागेको रहेछ।

पछि हामीले डाक्टरसँग सल्लाह गरेर फेरि एक पटक सन्तानको चाह राख्यौँ। लगभग दुई वर्षपछि हामीले सन्तानको बारेमा सोच्ने निर्णय गरे पनि मेरो मन भने आक्रान्त थियो।

योजना अनुसारै फेरि गर्भ रह्यो। त्यसबेला पनि मेरो डर कम भएको थिएन। यति धेरै सतर्क भएँ कि म त मोटरसाइकलमा मात्र हैन, त्यत्तिकै हिँडिराख्न पनि डर लाग्यो। खान हुन्न भन्ने चिज खाँदै खाएनौ। पहिलो पनि सात महिना जति अनुभव गरिसकेको हुँदा धेरै कुरा अगाडि नै भइसक्यो भन्ने लागिरहन्थ्यो।

शारीरिक परिवर्तनमा पनि त्यति धेरै आत्तिने कुरा भएन।  तर मन आत्तिएको थियो। दोस्रो पटकको सात महिना सम्म त एक हिसाबले अनुभवी नै भैसकेको महसुस गरिराखेँ।

डाक्टरले अगाडि नै एउटा अप्रिय घटना भइसकेको हुँदा डेलिभरीको समय दिनु भन्दा अलि अगाडी नै अप्रेसन गर्ने कुरा गर्नुभयो। तर मलाई चैँ नर्मल जन्माउनु थियो।

त्यसबेला मानसिक रूपमा अलि डराइ राखेको भए पनि शारीरिक रूपमा त पूर्ण स्वस्थ थिएँ। त्यै भएर पनि मलाई नर्मल नै जन्माउन सक्छु भन्ने लागिरहेको थियो। अर्को हप्ता जस्तो अस्पताल जान पर्ने मेरो त आजै पानी बग्न थालिसकेको थियो।

अब चैँ जन्म दिने समय भयो भनेर म त नुहाई धुवाइ गरेर कपडा फेरेर तयार भएर बसेको थिएँ। श्रीमानले पत्याउनु नै भएको थिएन। पछि सासूआमालाई देखाएपछि जाऊँ भन्नुभयो।

मलाई हल्का व्यथा पनि त्यतिखेर नै लागिसकेको थियो। त्यस बेलाको दुखाइ अर्कै हुने रहेछ। मलाई डेढ घण्टा भन्दा बढी व्यथा लागेन। तीन दिनसम्म सुत्केरी हुन नसकेको कुरा त सुन्दै आएको थिएँ। आफूले त्यति धेरै गाह्रो महसुस गर्न परेन भनेर खुसी पनि भएँ।

केही समय पछि मैले एकदम नर्मल ढङ्गबाट बाबुलाई जन्म दिएँ। टाँका समेत लगाउन परेन।

त्यसबेला फिल्ममा बच्चा चोरेको घटनाहरू पनि धेरै देखेको थिएँ। मेरो बाबुलाई पनि त्यस्तै हुन्छ कि भनेर हस्पिटलमा खुब सतर्क भएँ। बाबुलाई  हेरेको हेर्यै गरेँ। उसलाई कहाँ-कहाँ राखे, के गरे, उ नै हो कि होइन भन्ने सब हेरिरहेँ। पछि यो कुरा श्रीमानलाई पनि भनेको छु।

माया मोह भनेको कुरा चैँ देखेपछि हुने रहेछ। व्यथा लाग्दा त मलाई मैले किन पाउन लागेको रहेछु, शरीरलाई यति दुख दिएर पाएको बच्चालाई कसरी माया गर्न सक्छु भन्ने लागेको थियो। तर, बाबुलाई देखेपछि त त्यो सब दुखाइ क्षणभरमा बिर्सिएँ। काखमा राखेपछि त उसको गन्ध पनि कस्तो मीठो लागेको! उ रुँदा त बरु मेरो कोख नै उसको लागि सबै भन्दा सुरक्षित हो जस्तो लागेको थियो।

बाबु भएपछि पनि उसलाई गुमाउँछु कि भन्ने डरले मलाई छोडेन। म उसलाई लिएर बढी प्रोटेक्टिभ भएको थिएँ। अझ भन्न पर्दा म इन्सिक्योर हुन थालेको थिएँ।

अलि धेरै समय सुत्यो भने पनि किन सुत्यो भन्ने डर पो हुन्थ्यो। अरूले उसलाई हेर्यो भने पनि मन नपर्ने। उसलाई सासुआमा र अरूले तेल लगाएको मन पर्दैन थियो। फेरि आफैँले पनि तेल लगाउँदा केही भइहाल्ने हो कि भनेर डर लाग्थ्यो।

अरू कसैसँग भन्दा पनि श्रीमानसँग अलि सुरक्षित महसुस गर्थेँ। त्यै भएर पनि बाबु अहिले पनि मसँग भन्दा उसको बाबासँग बढी नजिक छ।

बाबु अहिले १६ वर्षको भइसक्यो। एसइई दिएर बसेको छ। तर, अहिले पनि एक छिन ढिलो घर आयो भने केही भयो कि भन्ने चिन्ता लागिरहन्छ। उसकै उमेरको अन्य बच्चाहरू धेरै कुलतमा फसेको देख्छु। मेरो बाबु पनि यस्तै हुने हो कि, भन्ने डर लाग्छ। त्यै भएर मैले उसलाई पढाइमा त्यति धेरै दबाब पनि दिएको छैन। कुलतमा नफसोस् भन्नेमा म बढी सतर्क हुन्छु।

अहिले पनि अरूको बच्चा बिरामी देख्यो भने मेरो बाबुको याद आइहाल्छ। उसलाई गुमाउँछु कि भन्ने एक खालको डर अहिले पनि हुन्छ। यति धेरै चिन्तित भएको देख्दा बाबुले पनि कति धेरै चिन्ता गरेको भन्ने गर्छ। मलाई केही भइहाल्यो भने पनि उसको बुवा छ, उसले बुवालाई सबै कुरा भनोस् भनेर पनि मैले उसको बुवालाई नजिक बनाएको छु।

अहिले छोराको व्रतबन्ध पनि भइसक्यो। तर, अहिले पनि एक प्रकारको डर, चिन्ता कम भएको छैन। श्रीमान् र बाबुले नै पनि यति धेरै नगर्नु, अब म बच्चा होइन भन्न थालिसके। तर मनले नमान्ने रहेछ। त्यै भएर मातृत्व भनेको सुख भन्दा धेरै अलग रहेछ भन्ने लाग्छ।

बाउआमाको लागि छोराछोरी भनेको कहिले पनि ठूलो हुँदो रहेनछन्। पहिलो गर्भवती र त्यसपछि भएको घटनाले धेरै कुरा सिकायो। कति कुराहरू आफैँले गर्न हुने र गर्न नहुने रहेछ भन्ने कुरा सिकायो। अनि सबै भन्दा त आफैँलाई पनि ध्यान दिनु पर्ने रहेछ भन्ने कुरा सिकेँ।

यति धेरै कुराहरू भोगेपछि मेरो बच्चालाई म सुरक्षितसँग राख्न सक्छु भनेर एउटा आत्मविश्वास पनि दियो। पहिलोमा जति कमजोर महसुस गरे, दोस्रोमा त्यो भन्दा धेरै बलियो भएछु भन्ने लाग्छ। अहिले पनि मलाई अरूले के भन्छ भनेर खासै फरक पर्दैन। बाँच्ने हो। गर्न मन लागेको, इच्छा लागेको कुरा गरिहाल्ने हो।

बाबु पनि अब बुझ्ने भइसक्यो। कहिलेकहीँ के लाग्छ कुन्नि उ आफैले धेरै चिन्ता नगर्नु, त्यसबेला त्यस्तो नभएको भएँ म हुन्न थिए होला नि भन्छ। उ मसँग त्यति धेरै  खुल्दैन। उसले बरु मलाई धेरै प्रोटेक्टिभ भएँ भनेर गुनासो गरिराखेको हुन्छ।

मेरो ओभर प्रोटेक्टिभ व्यवहार उसको लागि बोझ भइरहेको छ, ठिक होइन भनेर थाहा पनि छ। तर के गर्नु उसलाई गुमाउनु पर्छ भनेर म सोच्न पनि सक्दिन।

सन्तानलाई जन्म दिनु भनेको माया मात्र होइन नि। एउटा ठुलो जिम्मेवारी पनि हो। यो जिम्मेवारीले अझ कति धेरै कुरा सिकाउँछ भनेर त हेर्न बाँकी नै छ। सन्तानले जिन्दगीको धेरै कुरा निर्धारण गर्दो रहेछ। नगरोस् पनि किन, यसले परिवारलाई बाँधेर राख्ने सामर्थ्य जो राख्छ।

अझै त बाबुलाई धेरै पढाउनु छ। आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु छ। त्यतिन्जेल सम्म मेरो डर पो झन् बढ्दै जाने हो कि जस्तो लाग्छ। 

९ बैशाख, २०८१, २३:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।