डा. ऐश्वर्यको उपचार अनुभव : जब २० मिलिलिटर दुबोको रसले नै ती महिलाको रक्तस्राव रोकियो

डा. ऐश्वर्यको उपचार अनुभव : जब २० मिलिलिटर दुबोको रसले नै ती महिलाको रक्तस्राव रोकियो

डा. ऐश्वर्य श्रेष्ठ आयुर्वेद चिकित्सक हुन्। करिब १६ वर्ष उपत्यकाबाहिर बसेर काम गरेकी उनले दुर्गम र ग्रामीण क्षेत्रका बिरामीले भोग्नुपरेको दुःख तथा पीडालाई लामो समयसम्म नजिकबाट नियालेकी छन्।

तनहुँमा रहँदा हुलाकबाट आउने एक बक्सा औषधिले महिनाभरिको उपचार धान्नुपरेको तीतो अनुभव पनि उनीसँग छ।

हाल नरदेवी आयुर्वेद चिकित्सालयमा कार्यरत डा. ऐश्वर्यले चिकित्सा पेसाका सिलसिलामा भोगेका केही अविस्मरणीय अनुभवहरू यसरी साटेकी छन्:

२० मिलिलिटर दुबोको रसले रक्तस्राव रोकियो
रगतसम्बन्धी समस्या भएकी करिब ४० वर्षकी एक महिलालाई आयुर्वेदिक उपचार विधिबाट निको बनाएको प्रसङ्ग डा. ऐश्वर्य कहिल्यै भुल्दिनन्।

यो प्रसङ्ग उनी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तनहुँमा कार्यरत रहँदाको हो। ती महिला अत्यधिक रक्तस्रावको समस्याले पीडित थिइन्। आर्थिक अवस्था निकै कमजोर भएका कारण उनी महँगो अस्पतालमा गएर उपचार गर्न सक्ने स्थितिमा थिइनन्।

त्यो समयमा स्वास्थ्य केन्द्रमा पनि नियमित रूपमा आयुर्वेदिक औषधि उपलब्ध हुँदैनथ्यो। त्यसैले डा. ऐश्वर्यले ती महिलाको अवस्था र रोगको प्रकृति हेरेर एउटा सहज विकल्प सुझाइन्- दैनिक करिब २० मिलिलिटर दुबोको ताजा रस पिउने। 

सल्लाहअनुसार ती महिलाले घरवरिपरि सहजै पाइने दुबो टिपेर, पखालेर र कुटेर दैनिक रूपमा रस पिउन थालिन्। नभन्दै दुबोको रस नियमित सेवन गर्न थालेपछि उनको रक्तस्रावको समस्या पूर्ण रूपमा निको भयो। निको भएपछि ती बिरामीले प्रकट गरेको कृतज्ञता डा. ऐश्वर्य अझै याद गर्छिन्।

दुबोमा रक्तस्राव रोक्ने विशेष औषधीय गुण हुने डा. ऐश्वर्य बताउँछिन्। यसले चोटपटक, घाउ र गर्भाशयबाट हुने रक्तस्राव रोक्न ठूलो मद्दत गर्छ। आयुर्वेदअनुसार शरीरमा ‘पित्त दोष’ बढ्दा रक्तविकार र रक्तस्राव हुने गर्छ।

दुबो प्राकृतिक रूपमा नै चिसो हुने भएकाले यसले बढेको पित्तलाई शान्त पारी रगतलाई सन्तुलनमा ल्याउँछ। यसमा पाइने तत्वले रगतलाई सफा र स्वस्थ बनाउने भएकाले रक्तविकारजन्य समस्याहरू बिस्तारै निको हुँदै जान्छन्।

औषधिको अभावमा निकालिएको त्यो जुक्ति
डा. ऐश्वर्य करिब १५ वर्षअघिको अर्को एउटा उपचार प्रसङ्ग पनि सुनाउँछिन्, जुन उनका लागि निकै विशेष छ।

एक दिन खुट्टाको बूढीऔँला अत्यधिक सुन्निएर समस्यामा परेकी करिब ५० वर्षकी महिला स्वास्थ्य केन्द्रमा आइपुगिन्। औँला के कारणले सुन्निएको हो भनी पत्ता लगाउन त्यहाँ न त कुनै प्रयोगशाला (ल्याब) थियो, न त उपचारका लागि आवश्यक औषधि नै।

बिरामी लामो समयदेखि पीडाले छटपटिएकी थिइन् र उनलाई अन्यत्र रिफर गरेर पठाउन पनि सहज थिएन। त्यसपछि डा. ऐश्वर्यले एक घरेलु उपचार विधि अपनाउने निर्णय गरिन्।

उपयुक्त औषधिको अभाव भएपछि उनले ती महिलाको सुन्निएको औँलालाई आयुर्वेदको ‘स्नेहन-स्वेदन’ विधिबाट उपचार गर्ने योजना बनाइन्। आयुर्वेदमा स्नेहन (जडीबुटीयुक्त तेलले मालिस गर्ने) र स्वेदन (बाफ दिने प्रक्रिया) एक-अर्काका परिपूरक हुन्।

यी दुवै प्रक्रिया सँगसँगै वा एकपछि अर्को गरी गरिने भएकाले यसलाई ‘स्नेहन-स्वेदन’ भनिन्छ। यो पञ्चकर्म चिकित्सा सुरू गर्नुअघि गरिने ‘पूर्वकर्म’ अर्थात् पूर्व-तयारीको प्रक्रिया पनि हो।

उनले जडीबुटीयुक्त मनतातो तेलले ती महिलाको सुन्निएको औँलामा हल्का मालिस गरिन् र बाफ दिइन्। यसले औँलाको छाला र जोर्नीलाई लचिलो बनाउनुका साथै त्यहाँ जम्मा भएको विषाक्त तत्व (आम दोष) लाई पग्याएर बाहिर निकालिदियो।

त्यसपछि ती महिलालाई भोलिपल्ट फेरि आउन भन्दै घर पठाइयो। भोलिपल्ट जब उनी स्वास्थ्य केन्द्र आइपुगिन्, उनको सुन्निएको औँला निकै ठीक भइसकेको थियो।

केवल एक दिनको उपचारले नै उनलाई निकै राहत मिलेको थियो र उनलाई थप औषधिको आवश्यकता नै परेन। औँला ठीक भएपछि ती बिरामीको अनुहारमा छाएको खुसी र व्यक्त गरेको कृतज्ञता डा. ऐश्वर्यका लागि आज पनि प्रेरणाको स्रोत बनेको छ।

डाक्टरी रहर
तनहुँको धरमपानीमा २०३४ सालमा जन्मिएकी डा. ऐश्वर्य श्रेष्ठको बाल्यकाल दमौलीमा बित्यो। उनी सानैदेखि अध्ययनमा अब्बल थिइन्।

स्थानीय कन्काई आवासीय माविबाट उनले २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट उत्कृष्ट अङ्कका साथ आईएस्सी पूरा गरिन्।

विज्ञान विषयको अध्ययनपछि उनलाई आयुर्वेद चिकित्सातर्फ विशेष रुचि जाग्यो र उनले यसै क्षेत्रमा अगाडि बढ्ने निर्णय गरिन्।

सोहीअनुसार उनी २०५४ सालमा कीर्तिपुर अन्तर्गतको आयुर्वेद क्याम्पस (हालको नरदेवी चिकित्सालय)मा स्नातक तह अध्ययनका लागि भर्ना भइन्। इन्टर्नसिपसहित २०६० सालमा उनले ‘ब्याचलर अफ आयुर्वेद मेडिसिन एन्ड सर्जरी’को अध्ययन पूरा गरिन्।

एक बक्सा औषधिको भरमा सरकारी सेवा
अध्ययन पूरा गरेलगत्तै डा. ऐश्वर्य सरकारी सेवामा प्रवेश गरिन्। २०६० सालमा लोकसेवा उत्तीर्ण गरी उनी सातौं तहको अधिकृत (आयुर्वेद चिकित्सक/कविराज) पदमा स्थायी नियुक्त भइन्।

सरकारी सेवामा प्रवेश गरेपछि उनको पहिलो पोस्टिङ गृहजिल्ला तनहुँकै आयुर्वेद स्वास्थ्य केन्द्रमा भयो। आफ्नै जिल्लाका नागरिकको सेवा गर्न पाउँदा उनी निकै उत्साहित थिइन्। सेवा प्रवेशको तीन वर्षपछि उनी स्वतः आठौं तहको चिकित्सकमा बढुवा भइन्।

त्यो समयमा आयुर्वेद स्वास्थ्य संस्थाहरूको अवस्था निकै दयनीय थियो। बजेटको चरम अभावका कारण सामान्य औषधिसमेत उपलब्ध गराउन कठिन हुन्थ्यो।

डा. ऐश्वर्यका अनुसार, त्यतिबेला सरकारले महिनामा जम्मा एक बक्सा औषधि हुलाकमार्फत पठाउँथ्यो। त्यही सीमित औषधिले महिनाभरिका बिरामी धान्नुपर्ने चुनौतीपूर्ण बाध्यता उनीसामु थियो।

केन्द्रमा औषधि आएको थाहा पाएपछि बिरामीको लाइन लाग्थ्यो। तर, एक बक्सा औषधिले कसैलाई पुग्दैनथ्यो। त्यसैले औषधिको अभाव टार्न उनी आफैँ स्थानीय जडीबुटीहरू संकलन गर्थिन् र बिरामीको उपचारमा जुट्थिन्।

स्रोत र जनशक्तिको चरम अभावका बाबजुद आफूले सिकेको ज्ञान र सीप प्रयोग गरी सेवा प्रवाह गरेको उनी सम्झिन्छिन्। त्यो बेलाको तुलनामा अहिले आयुर्वेद क्षेत्रमा औषधिको उपलब्धता र सेवा विस्तारमा निकै सुधार आएको उनको अनुभव छ।

डा. ऐश्वर्यले तनहुँमा लगातार १६ वर्ष सेवा गरिन् र थुप्रै उतारचढावपूर्ण अनुभवहरू बटुलिन्।

२०७६ सालको कर्मचारी समायोजनका क्रममा उनी सङ्घीय दरबन्दीमा रहिन् र काठमाडौंको नरदेवी आयुर्वेद चिकित्सालयमा सरुवा भइन्। हाल उनी नरदेवीमा प्रसूति तन्त्र तथा स्त्रीरोग विभागमा खटिएर बिरामीको सेवा गरिरहेकी छन्।

तनहुँमा रहँदा उनले उपचारका साथै व्यवस्थापकीय जिम्मेवारी पनि सम्हाल्नुपर्थ्यो। तर, अहिले उनी नरदेवीमा पूर्ण रूपमा बिरामीको उपचारमा मात्र केन्द्रित छिन् र आफ्नो यो चिकित्सकीय कार्यमा निकै सन्तुष्ट र खुसी छन्।

जेठ ९, २०८३ शनिबार १३:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।