के महावीर पुन साँच्चै ‘कवाडी वैज्ञानिक’ हुन्?

के महावीर पुन साँच्चै ‘कवाडी वैज्ञानिक’ हुन्?

नवप्रवर्तन र विज्ञान तथा प्रविधिको पक्षमा निरन्तर वकालत गर्दै आएका स्वतन्त्र सांसद महावीर पुनले नीति तथा कार्यक्रममा यसले प्राथमिकता नपाएको भन्दै विरोध गरे। उनले विज्ञान र प्रविधिप्रति वालेन्द्र शाह नेतृत्वको सरकार पनि नकारात्मक भएको भन्दै सदनमा प्रश्न उठाएपछि मन्त्रालयहरूको नाम बदल्दा एउटाको नाम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय राखियो। अनि उनी खुसी भए।

नेपाल आविष्कार केन्द्र खोलेका पुन जेनजी आन्दोलनपछिको सरकारमा शिक्षा मन्त्रिहुँदा नै विज्ञान तथा नवप्रवर्तन क्षेत्रका लागि अध्यादेश ल्याउन चाहन्थे। तर अध्यादेश ल्याउन नपाएको झोकमा मन्त्री पदबाट राजीनामा दिएर उनी फागुन २१ को चुनावमा उम्मेदवार बने र एक्लो स्वतन्त्र सांसदको रूपमा संसदमा पनि पुगे। उनी अहिले अब बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनका लागि छुट्टाउनु पर्ने पक्षमा छन्।

पुन आविष्कार केन्द्रमार्फत विभिन्न सामग्री आविष्कार गरेको भन्दै प्रचार गरिरहन्छन्। तर अधिकांशले नक्कल गरेको, सामान्य उपकरण बनाएर आविष्कार गरेको भनेको भन्दै उनलाई उडाउँछन्। 

उनले कृषि औजार कारखानाबाट कहिले खेत जोत्ने मेसिन बनाएको सार्वजनिक गर्छन् त कहिले नयाँ शैलीको कोदालो र झार उखेल्ने औजार देखाउँछन्। भारतको उत्पादनको नक्कल गरेको भनेर त्यसलाई पनि उडाइन्छ। टिनहरू जम्मा पारेर कवाडी सामान बनाएको भन्दै व्यङ्ग्य गरेपछि उनी आफूलाई कवाडी वैज्ञानिक भनेर परिचय दिन्छन्।

आखिर पुनले गरिरहेको काम नव प्रवर्तनमा कामै नलाग्ने हो त ?, के उनी कवाडी वैज्ञानिकै हुन् त?

सन् २०२५  को अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सह-विजेता फ्रान्सेली अर्थशास्त्री फिलिप, सेलिन एन्टोनिन र सुमोन बुनेलले लेखेको ‘द पावर अफ क्रिएटिभ डिस्ट्रक्सन-इकोनोमिक अपहिल एन्ड वेल्थ अफ नेसन’ नामक पुस्तकमा उनीहरूले नवप्रवर्तनबारे विस्तृत व्याख्या र विश्लेषण गरेका छन्। 

त्यसकै आधारमा हेर्दा पुनले जे गरिरहेका छन् त्यो केवल कवाडी वा काम देखाउने बहाना मात्र देखिन्छ त? नेपालले कहाँ- कहाँ ‘सिर्जनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) गर्न सक्छ ? नेपालमा किन र कस्ता किसिमका नवप्रवर्तनहरू आवश्यक छन् ? यही किताबको व्याख्या र विश्लेषणको आधार र सरकारले हालसालै ल्याएको नीति तथा कार्यक्रमले कसरी नवप्रवर्तनको गन्तव्य पहिल्याउन सकेको छ या  छैन भन्ने पक्ष यहाँ उल्लेख गर्ने छौँ।

नवप्रवर्तनले बदलेको विश्व 

१७ औँ शताब्दीमा २५ देखि ३० प्रतिशत बच्चाको मृत्यु एक वर्ष नहुँदै हुन्थ्यो। ५० प्रतिशत २० वर्षसम्म मात्रै बाँच्थे। तर, आज युरोपियन देशहरूमा अहिले यो उमेरमध्ये प्रतिहजारमा ४ जनाको मात्रै अकाल मृत्यु हुने गरेको छ।

अर्कोतर्फ सन् १००० देखि १८२० सम्म विश्वको प्रतिवर्ष आर्थिक वृद्धिदर  ०.०५ प्रतिशत मात्रै थियो। १८२० बाट १८७० सम्ममा ०.५ प्रतिशत पुग्यो। त्यसपछि आर्थिक वृद्धिदर बढ्दै गएर सन् १९५० देखि १९७३  सम्ममा ३ देखि ४ प्रतिशत भयो। 

यी दुई तथ्यले आर्थिक वृद्धिदर र व्यक्तिको औसत आयुको वृद्धिबिच सम्बन्ध देखाउँछ। यो बिचमा भएको परिवर्तनको कारणबारे यी तीन अर्थशास्त्रीले आफ्नो पुस्तकमा आर्थिक वृद्धिदरलाई कारण देखाए-नवप्रवर्तन।

नवप्रवर्तन भनेको नयाँ विचार र ज्ञान वा प्रविधिलाई सफलतापूर्वक व्यवहारमा उतार्नु हो। यो बिचमा नयाँ औषधीको निर्माण र उत्पादन, खोपको निर्माण र उत्पादन र खाद्यान्नको सही उपयोगले नै मृत्यु दर घटाएको हो। गर्भवती महिला र बच्चालाई दिने खोपले उनीहरूको औसत आयु बढायो भने मातृ मृत्युदर र शिशु मृत्यु दर घट्दै गयो।

तर खोप भनौँ या अन्य, नवप्रवर्तन यसै हुँदैन। यसले संस्थागत वातावरण खोज्छ, सम्पत्तिमाथिको पूर्ण अधिकार खोज्छ। भइरहेको कुरालाई परिवर्तन गर्छ र निरन्तर नयाँ उत्पादनमा जोड दिन्छ।

उदाहरणका लागि, हामीले प्रयोग गर्ने स्मार्ट फोन पहिलो उत्पादनमै अहिलेको आकार आएको हैन। यो पहिले टेलिफोन, पेजर, ठ्याब्रे फोन, टुकटुके फोन हुँदै, सानो क्यामेरासहितको पकेटमा राख्न मिल्ने छरितो आकारमा आयो।

त्यसपछि केही गेम थपिए। लामो आकारलाई छरितो बनाउन फोल्डिङ गर्न मिल्ने मोबाइल सेट बन्न थाले। त्यहीक्रममा भोइस रेकर्ड, क्यामरादेखि अधिकांश काम मोबाइल सेटबाटै गर्न सकिने बन्यो।

अब यसैमा टाइपै गर्न नपर्ने, बोलीबाटै सबै काम हुने लगायतका नयाँ सुविधाहरू थपिने क्रम जारी छ। यसले नै नवप्रवर्तन भनेको एकै पटक विकसित हुने प्रक्रिया हैन र यो निरन्तर विकास र परिमार्जन हुने प्रक्रिया हो भन्ने देखाउँछ। 

विश्वमा अनेक प्रविधिको विकास भइरहेको छ। तर हाम्रो अवस्था भने उपभोगबाट बदलिन सकेको छैन। हामी अहिले पनि सियो समेत आफैँ बनाउन नसक्ने देशकै अवस्थामा छौँ। यसको कारण के हो त?

प्रस्ट छ, नवप्रवर्तनका लागि इच्छा भएर मात्रै हुन्न। त्यसका लागि ज्ञान, लगानी र काम गर्ने वातावरणसमेत आवश्यक पर्छ। यी सबै नभई नवप्रवर्तन सम्भव हुन्। नेपालमा नवप्रवर्तनको विकास हुन नसक्नुमा यही कारण नै प्रमुख देखिन्छन्।

अब ज्ञानलाई हेर्ने हो भने यो सैद्धान्तिक र व्यवहारिक ज्ञानका रूपमा विभाजन छ। सैद्धान्तिक ज्ञानलाई वैज्ञानिक ज्ञानको रूपमा लिन सकिन्छ,  जसले प्राकृतिक कुराको व्याख्या गर्छ। व्यवहारिक ज्ञानले ज्ञानको उत्पादन गर्ने काम गर्छ।

विज्ञानले ज्वरो आएमा सिटामोल खाँदा ठिक हुने तथ्य पत्ता लगाउँछ। सिटामोल कसरी बनाउने के-के मिसाएर बनाउने भन्ने ज्ञान विज्ञानसँग जोडियो। कति मात्रामा खाने भन्ने ज्ञान प्रयोग गरेपछि मात्रै थाहा हुने भयो। 

नेपाल नवप्रवर्तनमा पछि पर्नुको मुख्य कारण हेर्ने हो भने यही आवश्यक तत्त्वको अभाव नै देखिन्छ। यहाँ सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञानको अभाव देखिन्छ। विश्वको आर्थिक विकास र नेपालको अवस्था दाँज्ने हो भने धेरै हदसम्म यो बुझ्न सकिन्छ।

१९ औँ शताब्दीमा अभूतपूर्व धन सञ्चय मात्र भएन, धेरै अविष्कारहरु पनि भयो। त्यति बेलाका प्रिन्टिङ प्रेस र हुलाकहरूले ज्ञानको उत्पादन र प्रसारलाई सहज बनाए। पेटेन्ट राइटसँगै सम्पत्तिमाथिको अधिकारले वैज्ञानिक खोजमा संलग्न हुनेहरू बढे। त्यसपछि औद्योगिक क्रान्ति भयो। 

यसले आर्थिक वृद्धिदर मात्रै भएन मातृ मृत्युदर घट्यो, शिशु मृत्युदर घट्यो, अस्थायी रोगले मृत्यु हुने संख्या घट्यो। पोषणयुक्त खाना सहज हुँदा शिक्षा र स्वास्थ्यमा धेरै परिवर्तन भए। 

विश्वमा यी सबै परिवर्तन भइरहँदा नेपालमा भने एकात्मक शासन थियो। राजा-राणाहरूले नेपालको सम्पत्ति आफूमा केन्द्रित गरेका थिए। सन् १८२० मा विश्वमा आर्थिक क्रान्ति सुरु हुँदा नेपालले १८१६ मा आफ्नो भूमि कति हो भन्ने थाहा पाएको थियो। त्यसपछि राजा अनि भारदारबीच सत्ताका लागि हानथाप सुरु भयो।

सन् १९३० को विश्वमा आर्थिक मन्दी हुँदा नेपालमा बल्ल उद्योग खोल्ने बहस सुरु भयो। विश्व नवप्रवर्तनमा लम्किसक्दा यता नेपालको साक्षरता दर २००७ सम्म २ प्रतिशत पनि थिएन। पढ्न र पुस्तकालय खोल्न खोज्नेहरू जेल पर्ने अवस्था थियो। 

राणाहरूले  आफ्ना भाइभारदाहरू पढाउन कलेज खोले। देव शमशेरले शिक्षामा क्रान्ति नै ल्याउन खोजे। तर तीन महिना पनि प्रधानमन्त्रीमा टिकेनन्। वैज्ञानिक गेहेन्द्र शमशेरले नवप्रवर्तनको काम गर्न सकेनन्। 

सामग्री बोक्ने सवारीसाधनको निर्माणमा भन्दा राणाहरू व्यक्तिलाई भरिया बनाउनमै रमाए। शिक्षामा सबैको पहुँच भएन। त्यसले ज्ञानको अभाव भयो। ज्ञान भएकामाथि दमन भयो। जहाँ ज्ञानै हुन्न अनि ज्ञानमाथि दमन हुन्छ त्यहाँ कसरी नयाँ सिर्जना सम्भव हुन्छ?

प्रविधिमा आएको क्रान्ति 

तीन अर्थशास्त्रीले आफ्नो पुस्तकमा प्रविधिमा आएको क्रान्तिले कसरी औद्योगिक क्रान्ति भयो भन्ने व्याख्या समेत गरेका छन्। पुस्तकको व्याख्याले आविष्कारको आकार कुन रूपमा हुनसक्छ र त्यसको परिष्कार कसरी सम्भव हुन्छ भन्ने पक्ष खुलाएका छन्।

जस्तो, न्यूकोमनस्टिमले सन् १७१२ मा तलमाथि गरेर चल्ने स्टिम इन्जिनको आविष्कार गरे। सन् १७७० को दशकमा यसैको निरन्तर अनुसन्धान गरेर जेम्स वाटले घुम्न मिल्ने इन्जिन बनाएर यसलाई परिष्कार गरे। त्यसपछि कारखानाहरू चलाउन सम्भव भयो। कारखाना बढे, उत्पादन बढ्यो। मानिसहरू गाउँबाट शहर आउन थाले र औद्योगिकीकरण युग सुरु भयो। 

सन् १८६६ मा थोमसइडिसनले लाइट बल्ब बनाएपछि विद्युत् विकासले अर्को छलाङ मार्यो। यसैको जगमा जापान, बेलायत र अमेरिकामा आर्थिक वृद्धिदर बढ्न थाल्यो। 

यसले उत्पादनका लागि भूमि,श्रमिक र पुँजी भए हुन्छ भन्ने अवधारणा बदलेर प्रविधिको प्रयोग बढ्न थाल्यो। द्वितीय नवप्रवर्तन हुन थाले अर्थात्, पहिले नै अविकार भइसकेका प्रविधि नक्कल गरेर त्यसलाई थप परिष्कृत गर्ने क्रम पनि सुरु भयो।

उत्पादनमा प्रविधि अनिवार्य  हुन थालेपछि क्षमता भएका कामदारहरूको माग बढ्दै गयो, कम क्षमता भएकाहरू बेरोजगार हुन थाले। प्रविधिको ज्ञान भएका र नभएकाबीच ज्यालामा असमानता हुन थाल्यो। तर यसले रोजगारी घटाएन, बढाउँदै गयो।

साना देश जो आफ्नै अनुसन्धानमा आधारित भएर नवप्रवर्तन गर्न सक्दैनन् उनीहरूले द्वितीय नवप्रवर्तन गर्न थाले। यसले आर्थिक वृद्धिदर र रोजगार सिर्जना बढायो। प्रतिस्पर्धा बढायो।

प्रतिस्पर्धा विकासका लागि राम्रो हो?

उदार अर्थतन्त्रका हिमायतीहरूले प्रतिस्पर्धाले नवप्रवर्तन हुने कुराको वकालत गर्छन्। तीन अर्थशास्त्रीले आफ्नो किताबको चौथो अध्यायमा ‘इज कम्पिटिसन गुड थिङ्स?’ शीर्षकमा प्रतिस्पर्धाले नवप्रवर्तन कसरी हुन्छ भन्ने व्याख्या गरेका छन्। 

सम्पेटेरियनदेखि हालसम्म आउँदा आर्थिक वृद्धिदर र नवप्रवर्तनको सकारात्मक सम्बन्ध हुने देखाउँछ। यसमा प्रश्न उठ्छ पनि आखिर नवप्रवर्तन कसले गर्छ? 

किताबमा गरिएको व्याख्या अनुसार नवप्रवर्तनका लागि उद्यमीहरूले लगानी गर्छन्। जसले लगानी गर्छन् उनीहरूको कम्पनीको वृद्धिदर पनि बढ्दै जान्छ। जसले गरेनन् उनीहरूको वृद्धिदर घट्दै गयो।

यसलाई नेपालको सन्दर्भमा हेरौँ, 

सन् २००४ सम्म नेपालमा २ हजार भन्दा बढी साना-ठुला गार्मेन्ट फ्याक्ट्री थिए। ती फ्याक्ट्रीहरूले अमेरिका, बेलायत, जापान जस्ता देशमा कपडा निर्यात गर्थे। सन् १९८० देखि सन् २००५ सम्म फस्टाउँदै गएको गार्मेन्ट फ्याक्ट्री डुब्यो। त्यसको कारण अमेरिकाको कोटा प्रणाली, श्रमिकहरूको अत्याधिक हडताल र प्रविधिमैत्री नहुनु कारण देखियो।

नेपालका उद्योगहरूले नवप्रवर्तनका लागि लगानी गरेको भए अनि राज्यले व्यवसायीको व्यवसायलाई सुरक्षा दिएको भए गार्मेन्ट फ्याक्ट्री यसरी नडुब्न सक्थ्यो। उद्योगहरू प्रतिस्पर्धा गरेर अघि बढ्न सक्थे। तर यसमा नवप्रवर्तन पनि भएन र राज्यले सुरक्षा पनि दिन सकेन। अनि डुब्यो।

अब प्रश्न उठ्छ, के प्रतिस्पर्धा ठिक हो त ? 

यसका लागि पनि नेपालका दुई टेलिफोन सेवा प्रदायकलाई हेरौँ। नेपाल टेलिकमको मात्र एकाधिकार हुँदा मोबाइलको सिम कार्ड पाउनै सकस थियो। इन्टरनेट र डेटाका सुविधा थिएन। जब एनसेल आयो सिम कार्ड सहज हुनु थाल्यो। प्रतिस्पर्धा गर्न इन्टरनेट कलका धेरै सुविधा दिन नेपाल टेलिकम पनि बाध्य भयो। 

अहिले ३ करोड जनसङ्ख्या रहेको नेपालमा झन्डै दुई तिहाइले फोन चलाउँछन्। सिम त जनसङ्ख्या भन्दा धेरै विक्री भएको छ। यसले प्रतिस्पर्धाले गुणस्तर बढाउने र सेवा र सुविधा सस्तो बनाउने दुवै काम गर्ने देखाउँछ। 

के नवप्रवर्तनले असमानता बढ्छ  ?

किताबको पाँचौँ  अध्यायमा लेखकत्रयले ‘इनोभेसन, इनइक्वालीटी र ट्याकसेसन’का बारेमा लेखेका  छन्। त्यसमा उनीहरूले नवप्रवर्तनले व्यक्तिको आयमा असमानता ल्याउने तर बृहत् अर्थशास्त्रमा भने असमानता नल्याउने व्याख्या गरेका छन्।

उनीहरूले यसले सामाजिक गतिशीलता बढ्दै जाने र उत्पादन पनि बढ्ने हुँदा आय स्तर पनि बढ्ने तर्क गरे। नवप्रवर्तन मैत्री कम्पनीका कारण अदक्ष कामदारको समेत दक्षता बढेर उनीहरूको तलब पनि बढ्दै जाने पक्ष औँल्याए। 

तर असमानता नहुने नै भन्ने हैन। यसमा आमा/बा र सन्तानबीचको आयले पनि सम्बन्ध राख्छ। यसमा सामाजिक गतिशीलता पनि जोडिन्छ। जस्तो डेनमार्क नर्वे स्विडेन तथा फिनल्यान्डमा असमानता कम छ किनभने उनीहरूको सामाजिक गतिशीलता बढी छ। 

तर लबिङ गर्ने समूहहरूले राजनीतिक नेतृत्वलाई प्रभाव पारेमा नवप्रवर्तन हराउँछ। उनीहरूले बजारमा आफ्नो एकाधिकार स्थापित गर्न सक्छन्। त्यसको प्रभावले नयाँ आविष्कार सम्भव हुन्न। यसले असमानता बढाउन सक्छ। करको दरले समेत यसमा प्रभाव पार्ने देखिन्छ।

इनोभेसनका लागि चाहिने नीति कस्ता ?

यो पक्षमा तीनै जना अर्थशास्त्रीले उच्च शिक्षाको लगानीलाई जोड दिएका छन्। दोस्रोमा, श्रमिक-उत्पादकत्व बढाउने, तेस्रोमा भेन्चर क्यापिटल स्थापनामा उनीहरूको जोड देखिन्छ।

यसलाई नेपालको सन्दर्शनमा जोड्ने हो भने सिपमा भन्दा पनि सैद्धान्तिक ज्ञानमा बढी लगानी देखिन्छ। यसको प्रभावले इन्जिनियर र चिकित्सक जस्तो प्राविधिक क्षेत्रमा थोरै विद्यार्थी र एकेडेमिक क्षेत्रमा धेरै विद्यार्थी हुने गरेका छन्।

नेपालको १७ वटा विश्वविद्यालयको लगानी हेर्ने हो भने यही देखिन्छ। तर नवप्रवर्तनको क्षेत्रमा १ प्रतिशत रकम समेत छुट्टिएको देखिन्न। यसले नै हामी नवप्रवर्तनमा निकै पछि छौँ भन्ने प्रस्ट पार्छ। 

र यो सबै निजी क्षेत्रले मात्रै गर्न पनि सक्दैन। दिगो रोजगार र मानव पुँजी संकलनमा सरकारको आवश्यकता पर्छ नै। सरकारले कर लिएपछि शिक्षा, स्वास्थ्य, अनुसन्धान र पूर्वाधारमा लगानी बढाउनु उसको जिम्मेवारी हो।

उही गतिमा नवप्रवर्तन सम्भव हुन्छ ?

 किताबमा ‘द सेकुलर स्टेगनेशन’मा तीन अर्थशास्त्रीले दीर्घकालीन आर्थिक स्थिरताबारे व्याख्या गरेका छन्। जसमा प्रविधि समय अनुसार बद्लिँदै जाने पक्षमा जोड दिइएको छ। जस्तै पहिला रिलवाला क्यामेराबाट डिजिटल क्यामेरा हुँदै अहिलेको स्मार्टफोनको युग नै यसको उत्तम उदाहरण हो।

अहिले संसारमा सेमिकण्डक्टर कम्पनीहरूले चिप मात्रै बनाउँदैनन्, सफ्टवेयरको विकास पनि गर्छन्। उनीहरूले कम्प्युटर बनाउँछन् र डेटा सेन्टर सञ्चालन गर्छन्। 

सन् १९७१ मा ७५ प्रतिशत पेटेन्ट सेमिकण्डक्टरमा थियो। सन् २०१० सम्म आइपुग्दा ८ प्रतिशत मात्रै भयो। धेरै अनुसन्धानकर्ताहरू धेरै उत्पादन गर्न केन्द्रित पनि हुँदैनन्। उनीहरूले छिटो र सस्तो काम गर्न सक्ने प्रविधि पनि विकास गर्दै जान्छन्। यसका लागि कम्पनीहरूले अनुसन्धान र विकासमा धेरै खर्च गर्छन्। 

तर सबै देशमा एकै चरणको विकास भने भइरहँदैन। उदाहरणका लागि जापानमा नवप्रवर्तन सन् १९८० सम्म निकै धेरै थियो। त्यसपछि वृद्धिदर कमजोर देखिन्छ। यसको कारणमा बुढा जनसङ्ख्या बढ्दै जानु, ठूला व्यापारी समूहको प्रभुत्वले घट्ने प्रतिस्पर्धा मुख्य देखिन्छन्।

यो बिचमा नेपाल कहाँ छ त ? 

नेपालमा आफ्नै उत्पादन भनेर बेच्ने परम्परागत बस्तु भन्दा थप केही छैनन्। हामी अहिले पनि प्रविधिमा भएको परिवर्तनको उपभोक्तामै सीमित छौँ। हामीले नयाँ उत्पादन त गर्न सकेनौ नै त्यसलाई सेकेण्डरी उत्पादन पनि गर्न सकेनौ।

राष्ट्रिय अविकार केन्द्रका सञ्चालक महावीर पुनको कृषि औजार कारखानाबाट उत्पादन गर्ने सामग्रीको प्राथमिकता हेर्ने हो भने अहिले पनि दैनिक उपभोगका लागि चाहिने कोदालोदेखि ट्याक्टरसम्म देखिन्छ। अर्थात् यति पनि उत्पादन गर्न नसक्नु भनेको विकास तर्फको गति निकै सुस्त हुनु नै हो।

मध्यम आयको जालो

किताबमा ‘कन्भरजेन्स, डाइभर्जेन्स एन्ड द मिडिल इनकमट्रयाप’ उपशीर्षक छ। यसमा प्रवेश गर्नु अगाडि सुरुमा कन्भरजेन्स भनेको बुझौँ। यो भनेको गरिब देशले पनि छिटो विकास गर्ने,  नयाँ प्रविधि अपनाउने, लगानी बढाउने र शिक्षा र सिपमा सुधार गर्नु हो। डाइभरजेन्स भनेको धनी देश धनी हुँदै जानु र गरिब देश पछि पर्नु हो। 

सन् १८९० सम्ममा अर्जेन्टिनाको कुल ग्राहस्थ उत्पादन अमेरिकाको ४० प्रतिशत थियो। ब्राजिल र कोलम्बिया भन्दा तीन गुणा ठूलो थियो। तर कृषिमा आधारित अर्थतन्त्र रहेको अर्जेन्टिनामा योक्रम धेरै समय टिकेन। सन् १९३० मा भएको आर्थिक मन्दीको असरमा पर्यो। अर्जेन्टिनाले कृषिमा आधारित अर्थतन्त्रलाई नवप्रवर्तनमा आधारित बनाउन नसक्दा  पछि पर्दै गयो।

जसलेगर्दा उ मध्यम आयको जालोमा पर्यो। मध्यम आयको जालोमा पर्नु भनेको गरिब देशबाट मध्यआयतिर लम्कनु तर उच्च आयतिर जान नसक्नु हो। यहाँ ज्याला बढ्दैन, नवप्रवर्तन कम हुन्छ, शिक्षा कमजोर हुन्छ, शासन व्यवस्था कमजोर हुन्छ र सीमित क्षेत्रमा निर्भरता बढ्छ। 

कम विकसित मुलुकले कुन विधि अपनाउने ?

यसमा प्रविधिमा आधारित विकासै देखिन्छ। सबैभन्दा सहज पहिले देखि नै विकसित देशमा भएका प्रविधि र तरीका अपनाउनु हो। चीनको तीव्र आर्थिक विकासको कारण हेर्ने हो भने उसले यही विधि अपनाएको देखिन्छ। 

चीनले सन् १९८० बाट यसै गरेको थियो। यसले प्रारम्भमा उसलाई नक्कल गर्ने देशको रूपमा चिनाए पनि अहिले उ नवप्रवर्धनमा सबैभन्दा अगाडि देखिन्छ। नयाँ अविष्कार गर्नु भन्दा पहिले नै भएको विकासलाई अनुकुलन गर्दा खर्च जोगिन्छ र वृद्धिदर पनि बढ्दै जान्छ। चीनको तीव्र आर्थिक वृद्धिको कारणहरूमध्ये यो पनि एक हो। 

तर केही देशहरू यसले मध्य आयको पासोमा पनि पर्छन्। त्यसको कारण नक्कलमा संस्थागत सुधार हुन नसक्नु र गर्न प्रतिस्पर्धामा कमजोर हुनु हो।

नेपालकै उदाहरण, वीरगन्ज चिनी कारखाना २०२१ सालमा स्थापना हुँदा त्यहाँका मेसिनहरू रसिया सरकारले दिएको थियो। मेसिनहरू पुराना प्रविधिका थिए। कतिपय सामान बिग्रियो, नेपालमा बनाउन सकिएन। बन्द हुनुको कारण राजनीतिक र आर्थिक कारण देखाइए पनि  समय सुहाउँदो प्रविधि मैत्री बनाउन नसक्नु पनि मुख्य कारण देखिन्छ।

नेपालमा १९९४ सालबाट नेपाल बैंक लिमिटेड, चिनी, सुती कपडा, जुट मिल, खानी खोज्ने कम्पनी, कागज बनाउने कम्पनी, धन्वन्तरि निकेतन, साबुन र तेल प्लाइउड र बबिन,फ्रेमर फर्निचर  काष्ठ कार्यालय जस्ता २९ वटा लिमिटेड कम्पनी खुल्दै गएको देखिन्छ। 

पञ्चायतकालमा राजा महेन्द्रले पनि राज्यबाट नियन्त्रित उद्योगलाई नै प्राथमिकता दिए। उनले धागो, कागज, टायर,कपडा, चिनी,चुरोट जस्ता कारखानाहरू खोले। तर ती अधिकांश बन्द भए। किन? कारण समय अनुसार नवप्रवर्तनमा ध्यान दिन नसक्नु नै देखिन्छ।

किन सबै देशले नवप्रवर्तन गर्न सक्तैनन्?

अमेरिकाले आइफोन बनाउन सक्ने, नेपालले किन नसक्ने? चीनले विकास गर्न सकेको इलेक्ट्रिक भेहिकल नेपाल आफैँ किन उत्पादन गर्न सक्तैन? यसको जवाफका लागि संरचनागत पक्ष बुझ्न जरुरी छ। 

यसका लागि तीन अर्थशास्त्रीको किताबको १० औँ अध्यायमा रहेको “इनोभेसन: विह्याइन्ड दि सिन”ले सहयोग पुर्याउन सक्छ। उनीहरूले प्रत्येक व्यक्तिले उस्तै खाले अवसर पाउन नसकेका कारण सबै देशले नवप्रवर्तन गर्न नसकेको व्याख्या गरेका छन्। 

 उनीहरूका अनुसार देशको आर्थिक अवस्था, सामाजिक वातावरण, परिवारको आम्दानी, शिक्षाको स्तर जस्ता पक्षले नवप्रवर्तनमा प्रभाव त पार्छ नै, सँगै आन्तरिक क्षमता जस्तै काम गर्न सक्ने खुबी र चलाखीपन कति छ भन्नेमा पनि भर पार्छ। यसमा लगानीको पक्ष त हुने नै भयो।

यसको आधारमा सबै नवप्रवर्तन बन्न नसक्नुका कारण वित्तीय अभाव, ज्ञानको अभाव, संस्कृतिको अभाव, अभिभावकको क्षमता र आइक्युको प्रत्यक्ष प्रभाव देखिन्छ। शिक्षामा सार्वजनिक लगानी र अन्वेषणमा अनुदानले पनि इनोभेसनमा प्रभाव पर्छ। 

त्यसैले अमेरिकाले आइफोन बनाउँदैमा नेपालले पनि बनाउन सम्भव छैन। किनकि यो केवल रहर र इच्छाशक्तिले मात्र सम्भव हुन्न। यसका लागि विद्यालय तहदेखिको वातावरणदेखि राज्यले लिने नीति र सामाजिक वातावरण सबै पक्ष अनुकूल हुनु पर्छ।

नवप्रवर्तनका लागि कसले गर्छ लगानी ?

सन् १९६० मा अमेरिकाले फरक -फरक उद्देश्यका अनुसन्धान केन्द्रमा लगानी गर्यो जसबाट उसले वैज्ञानिक, स्वास्थ्य लगायतका क्षेत्रमा आविष्कार गर्यो र आफू अगाडि बढ्यो। अनि अन्य देशहरूले पनि अनुसन्धान केन्द्रहरू खोल्न थाले। 

तर इनोभेसनका लागि राज्यले मात्रै लगानी गरेर सक्दैन। तीन अर्थशास्त्रीको पुस्तकको ‘फाइनान्सिङ क्रिएटिभ डिस्ट्रक्सन’ अध्यायमा यो समस्या समाधान गर्न कम्पनी र परियोजनाहरूसँग मिलेर अनुसन्धानमा खर्च गर्नु पर्ने उल्लेख गरेका छन्। उनीहरूका अनुसार अनुसन्धानकर्तालाई मेन्टर र गाइडेन्स् तथा प्राविधिक सहयोग गर्नु पर्छ। त्यसबाट सोचलाई उत्पादनमा बदल्न सघाउ पुग्छ। यसमा भेन्चर क्यापिटलहरूले लगानी गर्न सक्छन्। 

यसमा राज्यको भूमिका नै नहुने हैन। सकारले यसमा नीतिगत काम गर्ने र अनुसन्धानका लागि चाहिने रकम भेन्चरहरूबाट लिने गर्न सकिन्छ।

संरक्षण की नवप्रवर्तन !

नेपालमा उद्योगहरूको केही साझा समस्या छन्। यसमा क्षमता  भन्दा कम उत्पादन हुनु, अन्य देशको उत्पादन भन्दा महँगो हुनु लगायत देखिन्छ। यस किताबले ‘हाउ टु म्यानेज ग्लोबलाइजेशनमा’ यस्तो अवस्थामा आयतमा कर बढाउने र घरेलु कम्पनीहरूलाई अझ बढी इनोभेटिभ बनाउन प्रोत्साहित गर्ने उपाय सुझाएका छन्। यसमा पनि विशेष गरी अनुसन्धान र विकासमा हुने लगानीलाई अनुदान दिन सुझाउँछन्। 

सबै प्रकारका कच्चा पदार्थमा आयत कर लगाउँदा उत्पादनको लागत बढ्छ नै। उपभोक्ताको क्रयशक्ति घट्छ र बजारको आकार सानो बनाउँछ। उदाहरणका लागि नेपालले भारतबाट ल्याउने तयारी कपडामा कर लगाउन सक्छ तर कपडा, टाँक अनि धागो सबैमा कर लगाउँदा त्यसको असर त नेपालकै उत्पादनमा पर्छ नै। यसको समाधान तयारी कपडा आयातमा उच्च कर तर कपडाको थानको आयतमा न्यून कर लगाउन सकिन्छ।

तर तीन अर्थशास्त्रीले संरक्षण भन्दा नवप्रवर्तनलाई जोड दिएका छन्।  उदाहरणका लागि कोभिड १९ का बेला जर्मनीमा भेन्टिलेटर परीक्षण सामाग्री आयात र निर्यात बराबर नै थियो। तर केही समयमा नै जर्मनीले यी बस्तुहरूको उत्पादक बढाएर निर्यातकर्ता देश बन्यो। अर्थात् स्वास्थ्य उपकरण उत्पादनलाई आफ्नो नियन्त्रणमा राख्न सफल भयो। जर्मन सरकारले ल्याएको नवप्रवर्तन औद्योगिक नीति र सामाजिक संवादबाट यो सफल भएको देखिन्छ।

मन्टेसक्युले १७४८ मा नै शक्ति पृथकीकरणको सिद्धान्त प्रतिवादन गरेका थिए। त्यसपछि संविधानवादका धारणाहरू विकसित हुँदै आए। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र राख्दा नै नवप्रवर्तन हुने उनको तर्क छ। 

बलियो सरकार तर हस्तक्षेपकारी भने हुनुहुँदैन।  पूर्ण प्रेस स्वतन्त्रता, गैरनाफामुलक संस्थाहरू, नागरिक समाज र राज्यका अंगहरूको आपसी काम र खबरदारीले नै नवप्रवर्तनमा टेवा पुग्ने उनको तर्क छ। 

सरकारले हालै ल्याएको नीति तथा कार्यक्रमले प्रविधि मैत्री संरचनाहरूमा निकै जोड दिएको छ। तर त्यो प्रविधि इनोभेसनमा आधारित हो या इमिटेशनमा आधारित के हो भन्ने खुलेको छैन। सरकारले कुन हिसाबको अर्थतन्त्र बनाउन खोजेको हो त्यो पनि प्रस्ट छैन। के मा आधारित अर्थतन्त्र हो त्यो पनि खुल्दैन।

यसलाई आगामी बजेटमा प्रस्ट पार्ने मुख्य चुनौती अर्थमन्त्री स्वर्णिम वाग्लेकै हो। त्यसैले केवल परम्परागत प्रविधिको उपभोक्ता मात्र बनिरहने कि 'सिर्जनात्मक विनाश' को आँधी आत्मसात गर्दै नेपाललाई रैथाने नवप्रवर्तनको मार्गमा डोर्याउने? आगामी बजेटले यसको प्रस्ट मार्गचित्र कोर्नै पर्छ।

सन्दर्भ सामग्री

https://ukeraa.com/news/detail/163160/
https://ukeraa.com/news/detail/153273/
https://ukeraa.com/news/detail/170703/
https://nepallive.com/story/225664
Dahal, M. P., & Rai, H. (2019). Employment intensity of economic growth: Evidence from Nepal. Economic Journal of Development Issues, 28(1-2), 34–47.
Dhakal, C. P. (2022). A glimpse of industrialization in Nepal: Reality and challenges. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 37–46.
Joshi, B., & Adhikari, G. M. (2024). Navigating Nepal’s economic landscape in South Asia. Journal of Business and Social Sciences.
Khatri, M. B. (2018). Industrial development in Nepal: Problems and prospects. Economic Journal of Nepal, 41(3-4), 25–40.
Khatri, M. B. (2020). Impact of industries on economic growth in Nepal. Economic Journal of Nepal, 43(1-2), 63–79.
Mainali, P. K. (2018). Productivity and growth of manufacturing industries in Nepal. Economic Journal of Nepal.
Nepal, G. (2024). Industrial development in Nepal: Challenges and opportunities. State, Society and Development, 2(1), 73–83.
Paudel, M. N. (2016). Prospects of agriculture industrialization in Nepal. Agronomy Journal of Nepal.

जेठ ८, २०८३ शुक्रबार १५:५०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।