भारतले नेपाली चिया निर्यातमा गरेको कडाइलाई बनायो खुकुलो
काठमाडौं : भारतले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ।
भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो।
यसअघि टी बोर्ड इन्डियाले मे १ देखि सबै आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो। उक्त व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध उत्पन्न हुने चिन्ता व्यवसायीहरूले व्यक्त गर्दै आएका थिए।
नयाँ संशोधित निर्देशनअनुसार भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात हुने चियाको परीक्षण तत्कालका लागि टी बोर्डले नगर्ने भएको छ। यस्तो चियाको नमुना परीक्षण भने भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण र भन्सार विभागले जोखिम व्यवस्थापन प्रणालीअनुसार गर्ने जनाइएको छ।
टी बोर्डले जारी गरेको सूचनामा पुनः निर्यातका लागि ल्याइने चियाको गुणस्तर परीक्षण भने यथावत रहने उल्लेख गरिएको छ। साथै, सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो निर्णयपछि यससँगै दुई सातादेखि लगभग ठप्प बनेको नेपाली चिया निर्यात पुनः सहज हुने अपेक्षा गरिएको छ।
जेठ ६, २०८३ बुधबार १८:००:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।