प्रकाशको हिजोको कुरा : डिआइजीका छोरा भए पनि इन्स्पेक्टरको छनोटमा परेनन्, फिल्म खेल्न छुट थिएन

प्रकाशको हिजोको कुरा : डिआइजीका छोरा भए पनि इन्स्पेक्टरको छनोटमा परेनन्, फिल्म खेल्न छुट थिएन

काठमाडौं : नेपाली फिल्म क्षेत्रका एक कलाकारको यस्तो संयोग, जहाँ एक जना शिक्षित युवकले आफ्नो वास्तविक जीवनमा जे बन्न सकेनन्, पर्दामा त्यही भूमिकाबाट आफ्नो पहिचान स्थापित गरे। ती हुन्- प्रकाशकुमार अधिकारी। एमएसम्म पढाइ गरेको पहिलो हिरोको रूपमा चिनिने प्रकाशको यात्रा जति रङ्गीन देखिन्छ, यसको पृष्ठभूमि उत्तिकै अनुशासित र चुनौतीपूर्ण छ।

काठमाडौंको बत्तिसपुतलीमा जन्मिएका प्रकाशका बुबा नेपाल प्रहरीका डिआइजी थिए। घरमा फौजी अनुशासन थियो र बुबाको एउटै चाहना थियो- 'छोरो पनि सरकारी सेवाको बर्दीमै देखियोस्।' तर, प्रकाशको मन भने कला र सिर्जनामा भुलिरहेको थियो। बुबाको इच्छा बमोजिम उनले प्रहरी इन्स्पेक्टरका लागि परीक्षा त दिए, तर पहुँच, दरबारको कोटा र राजनीतिक दलको चपेटामा परेर उनी छनोट हुन सकेनन्।

यहीँबाट उनको जीवनले नयाँ मोड लियो। जुन बर्दी उनले वास्तविक जीवनमा लगाउन पाएनन्, सन् १९८९ मा निर्माण भएको आफ्नो पहिलो फिल्म ‘अन्याय’मा त्यही इन्स्पेक्टरको भूमिका निभाउने मौका पाए। घरमा थाहा नदिई, लुकिछिपी अभिनय र नृत्य सिक्दै सुरु भएको उनको यो यात्रा ‘बेहुली’ र ‘फेरि भेटौँला’सम्म आइपुग्दा सफलताको उचाइमा पुग्यो। 

मनिषा कोइरालासँगको पहिलो सहकार्यदेखि उदितनारायण झासँगको साङ्गीतिक सम्बन्धसम्मले उनलाई एउटा बहुआयामिक कलाकारका रूपमा उभ्यायो। तर, सफलताको यो बाटो सिधा रेखामा मात्र बगेन। फिल्मको पर्दामा नायक बनेर छाएका प्रकाशले व्यक्तिगत जीवनमा जापानको कठोर श्रमदेखि नेपाल फर्किएपछिको व्यावसायिक क्षतिसम्म बेहोर्नुपर्यो। 

बागमतीमा पौडी खेलेको त्यो बाल्यकाल
मेरो जन्म वि.सं. २०१७ सालमा काठमाडौंको बत्तिसपुतलीमा भएको हो। संयोग, म जन्मिएको वर्ष नै देशमा पञ्चायती व्यवस्था लागू भएको रहेछ। मेरो प्रारम्भिक शिक्षा डिल्लीबजारस्थित विजय मेमोरियल हाइस्कुलबाट सुरु भयो, जहाँबाट मैले एसएलसी उत्तीर्ण गरेँ। त्यसपछि पाटन क्याम्पसबाट आइए, त्रिचन्द्र कलेजबाट स्नातक (डिप्लोमा) र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) पूरा गरेँ।

मैले स्नातकोत्तर पढ्दासम्म पनि काठमाडौं अहिलेको तुलनामा निकै फरक र सुन्दर थियो। जताततै हरियाली, धानखेत र फाट्टफुट्ट मात्र घरहरू देखिन्थे। हामी पौडी खेल्न बागमती नदीमा जान्थ्यौं। घर नजिकै धोबीखोला भए पनि पानी थोरै र अलि धमिलो हुने भएकाले मानिसहरू त्यहाँ खासै नुहाउँदैनथे। बागमती भने निकै ठूलो र फराकिलो थियो। 

हामी धोबीखोलामा झिँगे माछा मार्न जान्थ्यौं। त्यो बेलाको विशाल खोला अहिले साँघुरिएर कुलो जस्तो भएको देख्दा उदेक लाग्छ। त्यतिबेलाको काठमाडौंको त्यो छुट्टै सुन्दरता अहिले सपना जस्तै भइसकेको छ।

मेरो बाल्यकाल निकै कडा अनुशासनमा बित्यो। मेरा बुबा नेपाल प्रहरीको डिआइजी पदबाट अवकाश प्राप्त हुनुभएको हो। उहाँ निकै कडा स्वभावको हुनुहुन्थ्यो। हामीले केही दायाँबायाँ गर्ने बित्तिकै बुबाले सजाय दिइहाल्नुहुन्थ्यो। 

हामी पाँच दाजुभाइ र सात दिदीबहिनी थियौं, जसमा म माइलो छोरा हुँ। त्यो जमानामा पनि हाम्रो परिवारमा सबै छोराछोरीले पढ्नुपर्छ भन्ने चेतना थियो। बुबा आफैँ प्रहरी अधिकृत भएकाले अनुशासन र कडा मिहिनेतप्रति उहाँको विशेष जोड थियो। त्यही सोचका साथ उहाँले हामी सबैलाई उच्च शिक्षा पढाउनुभयो।

प्रहरीको छोरा फिल्म ‘अन्याय’मा
हरेक युवकलाई जस्तै मलाई पनि कुनै समय हिरो बन्ने रहर थियो। त्यसबेला म कीर्तिपुरमा एमए पढ्दै थिएँ। मेरो साथी उज्ज्वल घिमिरे (निर्देशक)ले मेरो जिउडाल हेरेर अभिनय सिक्न र फिल्म क्षेत्रमा आउन बारम्बार प्रोत्साहन दिन्थे। उज्ज्वलको कुराले मनमा रहर त जगायो, तर घरपरिवारको भने निकै डर थियो। 

बुबाआमा मलाई फिल्ममा लागेको देख्न चाहनुहुन्नथ्यो; उहाँहरूको इच्छा म कुनै सरकारी जागिरमा लागेको हेर्ने थियो। यदि मैले फिल्ममा अभिनय गरेको थाहा पाउनुभयो भने के होला भन्ने डर थियो। 

यसैबीच, मलाई अन्याय फिल्मबाट अभिनयको प्रस्ताव आयो। सन् १९८९ तिर निर्माण भएको यस फिल्ममा विश्व बस्नेत मुख्य भूमिकामा हुनुहुन्थ्यो भने मैले प्रहरी इन्स्पेक्टरको भूमिका निभाउने मौका पाएँ। तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्ममा मैले काम त गरेँ, तर यो प्रदर्शन हुन भने बाँकी नै थियो।

त्यही समयमा निर्देशक शम्भु प्रधान आफ्नो फिल्म बेहुलीका लागि नयाँ अनुहार (फ्रेस हिरो)को खोजीमा हुनुहुँदो रहेछ। अन्यायमा मैले काम गरेको चर्चा सुनेपछि उहाँले मलाई बेहुलीको मुख्य भूमिकाका लागि प्रस्ताव गर्नुभयो। मैले उहाँलाई अन्यायमा काम गरिसकेकाले म फ्रेस अनुहार नरहेको कुरा सुनाएँ। तर, उहाँले  अन्यायभन्दा पहिले नै आफ्नो फिल्म प्रदर्शन गर्ने आश्वासन दिनुभयो। नभन्दै, बेहुली नै पहिले प्रदर्शनमा आयो।

त्यसबेला फिल्मको छायाङ्कन फुटेज (रिल) प्रणालीमा हुन्थ्यो। एउटै संवादका लागि विभिन्न कोणबाट दृश्यहरू खिच्नुपर्थ्यो। रिल महँगो हुने भएकाले खेर नजाओस् भनेर कलाकारले गल्ती नगर्ने सुनिश्चित भएपछि मात्र क्यामरा रोल गरिन्थ्यो। यदि कसैले धेरै रिटेक लियो भने उसलाई फुटेज आर्टिस भनिन्थ्यो। 

त्यसैले हामी निकै धेरै रिहर्सल गरेर मात्र टेक दिन्थ्यौं ताकि कुनै गल्ती नहोस्। अहिले डिजिटल प्रविधिले गर्दा जति खिचे पनि रिलको चिन्ता हुँदैन, तर त्यसबेला एक-एक फिट रिलको हिसाब हुन्थ्यो।

अभिनयमा छैन ब्रेक 
पछिल्लो समय मैले केही फिल्महरूमा पिताको भूमिका निर्वाह गरेँ। भुवन केसीको निर्माण रहेको ‘क्याप्टेन’का साथै ‘जानी नजानी’, ‘यात्रा’ र ‘बैजनी रङ’ जस्ता फिल्ममा मैले हिरोको बुबाको भूमिका निभाएको छु। त्यसयता भने म पर्दामा देखिएको छैन।

मलाई अभिनयका लागि प्रस्तावहरू नआउने त होइनन्, तर समयको अभावले गर्दा काम गर्न सकिरहेको छैन। हाल म हाइड्रोपावर क्षेत्रमा लगानी गरिरहेको छु। यताको व्यस्तताकै कारण अहिले अभिनयका लागि पर्याप्त समय निकाल्न नपाएको हुँ।

'फेरि भेटौँला'मा मनिषा कोइरालाको इन्ट्री
त्यतिबेला फिल्म बेहुली र अन्यायको सफलताले फिल्म उद्योगमा मेरो चर्चा थियो। मेरो अर्को फिल्म फेरि भेटौँलामा मनिषा कोइराला हिरोइनको रूपमा आउनुभयो। यो उहाँको पहिलो नेपाली फिल्म थियो। यसअघि उहाँलाई तीन-चार वटा फिल्मबाट प्रस्ताव आए पनि सायद कुरा नमिलेर वा मन नपरेर काम गर्नुभएको रहेनछ। तर यो फिल्मको कथाले उहाँलाई आकर्षित गरेछ।

कथा सुन्ने बित्तिकै उहाँले तुरुन्तै निर्णय भने दिनुभएको थिएन। उहाँको एउटा किचेन क्याबिनेट थियो, उहाँहरूसँगको परामर्शपछि मात्र उहाँले अभिनय गर्ने पक्का भयो। यस फिल्मको छायाङ्कनका लागि हामी ५२ दिनसम्म पोखरामा रह्यौं। काम सकिए लगत्तै मनिषा मुम्बई जानुभयो। उहाँको भाग्य र मिहिनेतले साथ दियो र उहाँ बलिउडको स्थापित कलाकार बन्न सफल हुनुभयो।

छायाङ्कनका क्रममा उहाँसँग बिताएको समयमा मैले उहाँको हाउभाउ र स्वभावलाई नजिकबाट नियाल्ने मौका पाएँ। उहाँको प्रतिभा देखेर यो मान्छेले भविष्यमा केही ठूलो गर्छ भन्ने मलाई त्यतिबेलै लागेको थियो। मैले एक कार्यक्रममा त 'मनिषा बलिउडमा मात्र होइन, हलिउडसम्म पुग्न सक्ने क्षमता भएकी कलाकार हुन्' समेत भनेको थिएँ। 

विपी कोइरालाकी नातिनी भएकाले होला, उहाँमा राजनीतिप्रति पनि उत्तिकै रुचि र ज्ञान थियो। बनारस र दिल्ली जस्ता शहरहरूमा हुर्किएकाले उहाँको व्यक्तित्व निकै परिष्कृत र प्रभावशाली थियो।

आफूले सँगै काम गरेको कलाकारले अन्तर्राष्ट्रिय स्तरमा नाम र ख्याति कमाउँदा मलाई निकै गौरव महसुस हुन्छ। पछिल्लो समय हामीबीच खासै कुराकानी त भएको छैन, तर उहाँको विवाह र उहाँको भाइको व्रतबन्धमा मलाई निमन्त्रणा थियो र म सहभागी पनि भएको थिएँ। उहाँसँग मेरो चिनजान अहिले पनि उत्तिकै सुमधुर छ।

तीन जना डिआइजीमध्ये एक मेरा बुबा
मेरा बुबाको चाहना म पनि उहाँजस्तै फौजी सेवामै लागूँ भन्ने थियो। त्यतिबेला नेपाल प्रहरीमा जम्मा तीन जना डिआइजी हुने गर्थे। डिआइजीबाट एकै पटकमा आइजी हुन्थ्यो। अहिलेको जस्तो धेरै दरबन्दी त्यतिबेला थिएन। बुबा आफैँ सरकारी उच्च ओहोदामा भएकाले मैले पनि सरकारी जागिर नै खानुपर्छ भन्ने परिवारको मान्यता थियो। फिल्म क्षेत्रमा लाग्न मलाई कसैको समर्थन थिएन, त्यसैले मैले घरमा थाहा नदिई लुकिछिपी काम गर्नुपर्थ्यो।

मैले वसन्त श्रेष्ठसँग नृत्य पनि लुकेरै सिकेको हुँ। त्यसैगरी फाइटको सामान्य तालिम र अभ्यास साथीहरूसँग मिलेर पशुपतिको भण्डारखाल जङ्गलमा गर्ने गर्थेँ। पछि मेरा यी गतिविधिबारे बुबाले थाहा पाउनुभयो। त्यही समयमा एक जना साथीले मलाई जापान आउन भन्यो। म जापान जाने तयारीमा लाग्दा बुबाले मेरो पासपोर्टसमेत लुकाइदिनुभएको थियो। तर पछि, जापान गएपछि कम्तीमा फिल्म खेल्न त छाड्छ भन्ने सोचेर होला, उहाँले पासपोर्ट फिर्ता दिनुभयो। म करिब ४०-४१ महिना जापान बसेर नेपाल फर्किएँ र त्यसपछि फेरि उता गइनँ।

नेपाल फर्केपछि मैले व्यावसायिक क्षेत्रमा हात हालेँ। मैले पोल्ट्री फार्म र दाना उद्योग सुरु गरेँ। तर दुर्भाग्यवश, त्यतिबेला बर्ड फ्लुको प्रकोप फैलियो। फार्मका कुखुराहरू मरेपछि मैले ठूलो घाटा बेहोर्नुपर्यो।

उदितनारायण झासँगको सहकार्य
मेरो शब्द रचनामा उदितनारायण झाले २०३२ सालमा रेडियो नेपालमा एउटा गीत गाउनुभएको थियो- ‘आँसु लुकाई हाँसिरहेछु’। त्यो समयमा रेडियो नेपालको स्टुडियोसम्म पुग्न पाउनु नै एउटा ठूलो युद्ध जिते जस्तै हुन्थ्यो। 

गायकको भ्वाइस टेस्टदेखि शब्द रचना छनोटसम्मको प्रक्रिया निकै कडा थियो। नातिकाजी र शिवशंकर दाइजस्ता लगायतको टोलीले भाषाविज्ञको रोहवरमा रचना बोर्डबाट स्वीकृत गरेपछि मात्र गीत रेकर्डिङका लागि योग्य हुन्थ्यो।

गीतमा सीके रसाइलीको सङ्गीत, उदितनारायण झाको स्वर र मेरो शब्द थियो। त्यतिबेला सीके रसाइली निकै स्थापित सङ्गीतकार हुनुहुन्थ्यो। रेडियोमा जब मेरो नाम लिएर ‘गीतकार प्रकाश अधिकारी’ भनेर गीत बज्थ्यो, तब मनमा लाग्ने खुसीको कुनै सीमा हुँदैनथ्यो। 

त्यसपछि मैले शक्ति बल्लभको सङ्गीत र रविन शर्माको स्वरमा ‘आफैँलाई भार भो आज आफ्नै जिन्दगी’ बोलको गीत रेकर्ड गराएँ। त्यो गीत निकै चर्चित भयो र मलाई गीतकारका रूपमा चिनाउन ठूलो मद्दत गर्यो।

अभिनय यात्रा सुरु गर्नुअघिको एउटा रोचक प्रसङ्ग छ। एक पटक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दाइसहितको टोलीमा म पनि पर्यटन प्रवर्द्धनका लागि पोखरा गएको थिएँ। मदन दाइ आफैँमा मधुर स्वरका धनी हुनुहुन्छ। मैले उहाँको छेउमा बसेर ‘दाइ, म पनि गीत लेख्छु नि’ भनेँ। सुरुमा उहाँले खासै ध्यान दिनुभएन र आफ्नै गीतमा मग्न हुनुभयो। केही समयपछि उहाँले सोध्नुभयो, ‘भाइले कुन गीत लेख्नुभएको छ र?’

मैले उहाँलाई केही जिस्क्याउँदै सोधेँ, ‘दाइ, हजुरलाई नारायण गोपाल, दीप श्रेष्ठ वा रविन शर्माको स्वर कस्तो लाग्छ?’ उहाँले आश्चर्य मान्दै स्वरसम्राट र अन्य प्रिय कलाकारहरूको तारिफ गर्नुभयो। त्यसपछि मैले सुनाएँ- ‘रविन शर्माले गाउनुभएको त्यो चर्चित गीत ‘आफैँलाई भार भो आज आफ्नै जिन्दगी’ मेरो शब्द रचना हो।’ यो सुनेपछि मदन दाइले मलाई हेर्ने दृष्टिकोण नै बदल्नुभयो र भन्नुभयो, ‘भाइ, आजदेखि तिमीलाई हेर्ने मेरो नजर नै फेरियो।’

उदितनारायण झाको कुरा गर्दा उहाँ असाध्यै सरल र शालीन व्यक्तित्व हुनुहुन्छ। बलिउडजस्तो विशाल क्षेत्रमा त्यत्रो उचाइ बनाउँदा पनि उहाँमा घमण्ड अलिकति छैन। म भारत जाँदा उहाँले मलाई आफ्नै घरमा बोलाएर आदरपूर्वक चिया खुवाउँदै गफिनुभएको थियो। उहाँले ‘प्रकाशजी, अर्को चलचित्रमा पनि तपाईंसँगै काम गर्छु’ भन्नुहुन्थ्यो। दीपा भाउजू पनि उत्तिकै मिलनसार र सरल हुनुहुन्छ।

जेठ ७, २०८३ बिहीबार २१:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।