नेपालगन्ज सीमा क्षेत्रबाट साढे ५ किलो अफिम र चरेससहित एक जना पक्राउ
नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको नेपालगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्रबाट अवैध लागूऔषध अफिम र चरेस बरामद गरेको छ। सीमा सुरक्षा जाँचका क्रममा लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई समेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा चेकजाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।
बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बागेश्वरीको विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दको भनाइ छ।
सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो। सो लागूऔषधसहित नियन्त्रणमा लिइएका व्यक्ति र बरामद गरिएको लागूऔषधलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल ३० नं गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ। पछिल्ला दिनमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिले सङ्गठनको प्रतिबद्धता र कार्यकुशलता पुष्टि गरेको उनको विश्वास छ।
जेठ ९, २०८३ शनिबार १८:१४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।