एक्सन फिल्म लगातार फ्लप भएपछि कथा परिवर्तनको संकेत, शैक्षिक र सामाजिक कथामा ‘मेकर’को ध्यान
काठमाडौं : अघिल्लो वर्ष नेपाली चलचित्र बजारमा एक्सन विधाका केही फिल्महरूलाई दर्शकमाझ परीक्षण भयो।
सन्तोष सेनको ‘बलिदान’, विराज भट्ट अभिनीत ‘राम नाम सत्य’ र सुशील श्रेष्ठको ‘परिवर्तन’ जस्ता फिल्म प्रदर्शनमा आए पनि दर्शकले एक्सन विधाका यी फिल्मलाई साथ दिएनन्।
यस अवधिमा न त स्थापित स्टार कलाकारहरूले नै दर्शकलाई हलमा अड्याउन सके, न त उनीहरूका फिल्मले व्यावसायिक सफलता नै पाए।
त्यस विपरीत, सामाजिक र सरल कथावस्तुमा निर्माण गरिएका ‘परान’ र ‘आ बाट आमा’ जस्ता फिल्मलाई दर्शकले केही हदसम्म मन पराए। यद्यपि, सोचेजस्तो दर्शक हलमा गएनन्।
नेपाली फिल्मको यो अवस्था हेर्दा १२ वर्षअघि ‘लुट’ प्रदर्शनमा आउनुपूर्वको जस्तै संकट हलहरूमा सिर्जना भएको देखिन्छ।
यही कारणले गर्दा केही फिल्मकर्मीले आफ्ना फिल्मका कथावस्तु परिवर्तन गर्न थालेका छन्। दर्शकको रुचि घटिरहेको अवस्थामा पनि जोखिम मोलेर उनीहरू शिक्षामूलक फिल्म निर्माणतर्फ आकर्षित भएका देखिन्छन्।
यसै क्रममा ‘मास्टर्नी’, ‘रोल नम्बर १’ र ‘गुरुआमा’ जस्ता शैक्षिक परिवेशका फिल्महरू निर्माण भइरहेका छन्।
स्कुले विद्यार्थी र शैक्षिक गतिविधिलाई लक्षित गरी निर्माण गरिएका यी फिल्ममध्ये ‘गुरुआमा’ हलमा प्रदर्शन भएर उत्रिइसकेको छ। कतै-कतै मात्र हलमा बाँकी रहेको यो फिल्मको पोस्टर अहिले हलहरूमा देखिन छाडिसकेको छ।
वरिष्ठ अभिनेत्री मिथिला शर्माको मुख्य भूमिका रहेको यो फिल्म दर्शकको रोजाइमा पर्न सकेन। यस वर्षको वैशाखमा प्रदर्शनमा आएका फिल्महरूमध्ये ‘परालको आगो’ बाहेक अन्य कुनै पनि फिल्मले लगानी उठाउन सकेनन्।
नेपाली फिल्मको बक्स अफिस सेलाउँदै गइरहेको अवस्थामा अब प्रदर्शनको तयारीमा रहेका प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ र ‘रोल नम्बर १’ को कथाले दर्शकलाई कत्तिको तान्छ, त्यो भने हेर्न बाँकी नै छ।
गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गुरुआमा’ ले विद्यालयका गतिविधिलाई बढी केन्द्रित गरेको छ। यसमा एक शिक्षिका (गुरुआमा) लाई केन्द्रबिन्दु बनाएर कथा प्रस्तुत गरिएको छ। प्रेम सोनी सुनारले निर्देशन गरेको फिल्ममा उनकै लगानी छ।
फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के.सी र गिरी बहादुर पुन लगायतको अभिनय छ। यस फिल्ममा निर्देशक आफैँले पनि अभिनय गरेका छन्।
यसैगरी, जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’ मा पनि नाम चलेकै कलाकारहरूको अभिनय रहेको छ। एउटा बुबाको चाहना आफ्नो छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने वरिपरि यसको कथा केन्द्रित छ।
बालमनोविज्ञानलाई कथावस्तु बनाइएको यस फिल्मले बालबालिकालाई उनीहरूको रुचिअनुसारको शिक्षा दिनुपर्छ भन्ने सन्देश दिन खोजेको ट्रेलरबाट बुझिन्छ।
घोकन्ते शिक्षाले समाजमा पारेको प्रभाव र त्यसकै पछाडि लाग्ने अभिभावकलाई लक्षित गरिएको यस फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माताद्वय विनोद पौडेल र जान्वी पौडेलको निर्माण रहेको यस फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईंको सह-लगानी छ।
यता, अभिनेत्री प्रियंका कार्कीले नेपाली निर्देशकहरूको सट्टा भारतीय निर्देशक लिएर फिल्म ‘मास्टर्नी’ निर्माण गरेकी छन्। भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा निर्माण गरिएको यो फिल्मले पनि शिक्षक र विद्यार्थीबीचको सम्बन्धको कथा प्रस्तुत गर्ने बुझिन्छ।
नाम र शीर्षकका आधारमा यो फिल्मले शिक्षिका (मास्टर्नी) को कथा बोल्ने अनुमान गरिएको छ। यद्यपि निर्माण पक्षले कथावस्तुबारे सारमा जानकारी दिएको छैन।
भदौ १२ गतेबाट रिलिज हुने यस फिल्ममार्फत अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी निर्माताका रूपमा आएका छन्। साथै, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की पनि यसमा निर्माताको रूपमा रहेका छन्।
फिल्ममा प्रियंकाका अलावा सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी र दिनेश काफ्लेले अभिनय गरेका छन्। प्रियंका स्वयम्को कथा रहेको यस फिल्ममा सान बस्न्यातको पटकथा लेखन छ।
ट्रेन्ड चेन्जको लहर वा जोखिमको लडाइँ?
‘गुरुआमा’ का निर्देशक तथा निर्माता प्रेम सोनी सुनारले आफूले फिल्मको ट्रेन्ड चेन्ज गर्न नखोजेको बताए। उनले शैक्षिक मुद्दालाई चलचित्रमार्फत उठाउने प्रयास मात्र गरेको स्पष्ट पारे।
सुनार भन्छन्, ‘यो नितान्त स्कुल तथा अभिभावक लक्षित गरी निर्माण गरिएकाले यसमा जोखिम छ। व्यापारभन्दा पनि शैक्षिक हिसाबले यो फिल्म बनाएको हुँ। शैक्षिक क्षेत्रका व्यक्तिहरूले यसको मर्म बुझिदिनुभयो भने ठिकै छ, नत्र त यसमा ठूलो जोखिम छ।’
सबै फिल्मले शिक्षा दिन्छ भन्ने नभए पनि शिक्षा नभएको फिल्म कमै हुने उनको तर्क छ।
फिल्म ‘गुरुआमा’ हाल केही सीमित हलबाहेक अधिकांशबाट उत्रिसकेको छ। गत शनिबार रातिसम्म चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार यो फिल्मले जम्मा २८ लाख ४४ हजार ४ सय ५१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
मिथिला शर्मा, बुद्धि तामाङ र एउटा गीतमा पूजा शर्माको समेत अभिनय रहेको यो फिल्मको लगानी १ करोड रुपैयाँ मात्रै मान्ने हो भने पनि निर्माताको दाबीअनुसार यो व्यापार सुरक्षित देखिँदैन।
यता, ‘रोल नं १’ का निर्माता विनोद पौडेलले आफूहरूले कथा परिवर्तन गर्ने नाममा जोखिम नलिएको बताए। फिल्मको नाम शैक्षिक भए पनि यसले समाजकै कथा बोल्ने उनको दाबी छ।
अघिल्लो वर्ष आफ्नो टिमले निर्माण गरेको ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कै सूत्र (फर्मुला) मा यो फिल्म बनेको तर पूर्ण रूपमा शैक्षिक विषय मात्र नराखिएको उनले स्पष्ट पारे।
पौडेल भन्छन्, ‘यो फिल्म शिक्षासँग मात्र सम्बन्धित छैन, यसले बुबाआमा र बच्चाको सम्बन्धलाई पनि प्रस्तुत गर्छ। समग्र विद्यार्थीको कथा मात्र होइन यो। विद्यार्थीलाई मात्र लक्षित बनाएको भए जोखिम हुन्थ्यो होला, तर हामीले समाजलाई नै झकझकाउने फिल्म बनाएका छौँ। हामीले ट्रेन्ड नै परिवर्तन गर्ने जोखिम लिएका छैनौँ, ट्रेलरमा हेर्दा मात्र त्यस्तो देखिएको हो।’
जेठ ९, २०८३ शनिबार १२:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।