कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो ‘जुरी प्राइज’

कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो ‘जुरी प्राइज’

काठमाडौं : फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले प्रतिष्ठित ‘जुरी प्राइज’ जितेको छ।

फिल्मले कान्सको महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’अन्तर्गत यो पुरस्कार प्राप्त गरेको हो।

शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसअघि पनि कान्समा स्पेसल मेन्सन पुरस्कार जितेको थियो।

यस विधाको मुख्य ‘अन सर्टेन रिगार्ड प्राइज’ अस्ट्रियाली निर्देशक सान्द्रा वोल्नरको फिल्म ‘एभ्रिटाइम’ले जित्यो। ‘स्पेशल जुरी प्राइज’ फ्रान्सेली निर्देशक लुइस क्लिसीको फिल्म ‘आइरन ब्वाय’लाई प्रदान गरियो।

उत्कृष्ट अभिनेतातर्फ ‘कंगो ब्वाय’का अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेट पुरस्कृत भए । उक्त फिल्मका निर्देशक राफिकी फारियाला हुन्।

उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘सिएम्प्रे सोय तु एनिमल मातेर्नो’का कलाकार मरिना डे टाभिरा, डानिएला मारिन नाभारो र मारिएन्जेल भिलेगासलाई संयुक्त रूपमा प्रदान गरिएको हो। फिल्मको निर्देशन भालेन्टिना माउरेलले गरेकी हुन्।

यसवर्षको कान्स फेस्टिभल आज सकिँदैछ र सोही क्रममा मुख्य विधाको विजेता समेत घोषणा हुनेछ।

जेठ ९, २०८३ शनिबार ११:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।