गण्डकी प्रदेशस्तरीय भेलामा शशाङ्कले भने: 'पद चाहिँदैन, पार्टी एक हुनुपर्यो'
कास्की : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस बृहत एकता र भावी कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भने, “पार्टी बलियो भयो भने हामी बच्छौं, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौं।”
पदभन्दा पार्टी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए। “मलाई कुनै पद चाहिँदैन, पार्टी एक हुनुपर्यो,” कोइरालाले भने, “पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ।"
विपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको उदाहरण दिँदै कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा थियो एक्कासि विशेष महाधिवेशन गर्नु गलत भएको बताए।
पूर्वकेन्द्रीय सदस्य एवं पूर्व मन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गरिन्।
जेठ ९, २०८३ शनिबार २०:२४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।