सजनाको प्रसव पीडा र खुसी : चिकित्सकको परामर्शमा बस्दा पनि दुई पटक मातृत्वको खुसी पीडामा बदलियो

सजनाको प्रसव पीडा र खुसी : चिकित्सकको परामर्शमा बस्दा पनि दुई पटक मातृत्वको खुसी पीडामा बदलियो

कान्तिपुर टेक्निकल इन्स्टिट्यूट र नेपाल एजुकेसन इन्स्टिट्यूटको प्रबन्ध निर्देशक हुन्, सजना श्रेष्ठ । लामो समय अकाउन्टिंगमा काम गरेकी उनले यस इन्स्टिच्युटमा  विभिन्न तालिम, सीप लगायत डिप्लोमा समेत पढाउने गर्छिन्। कामदारको रूपमा अनुभव बटुलेकी उनले आफ्नै इन्स्टिट्यूट चलाउन थालेको ११ वर्ष भयो।

काभ्रेपलान्चोकमा जन्मिएकी उनी १२ कक्षा पढे पछि काठमाडौँ आइन्। स्नातक पढ्दै गर्दा उनको माया बस्यो। अन्तर्जातीय भएको कारण बिहेको लागि घरमा मनाउन नै लामो समय लाग्यो। आफू नेवार भए पनि ब्राह्मण परिवारमा घुलमिल हुन उनलाई धेरै समय भने लागेन।

उनको श्रीमानले इन्स्टिट्यूट चलाउँछन्। अहिले उनीहरूको इन्स्टिट्यूटको काठमाडौँमा तीन वटा शाखा छ। बुझ्ने भए पछि र परिवारले मन्जुरी दिए पछि विवाह गरेका उनीहरूलाई सन्तानको लागि धेरै योजना बनाइराख्न परेन। बिहे हुने बित्तिकै तयारीमा जुटे। तर, आफ्नो सँगै अस्पताल र डाक्टरको लापरबाहीले एक सन्तान गुमाउनु पर्यो।

दुइटा सन्तान हुर्काइ राखेकी सजनाले एक सन्तान गुमाउनु पर्दाको पीडासँगै आफ्नो  मातृत्व अनुभव उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा साटिन् :

000

यहाँ(काठमाडौँमा) मेरो श्रीमान्, म अनि नानीहरू मात्र बस्छौँ। हामी एकल परिवार भएर बस्न थालेको सुरु देखि नै हो। बिहे पछि नै हामी सन्तानको तयारीमा थियौँ। त्यही अनुसार म गर्भवती पनि भएँ। पहिलो पटक गर्भवती हुँदा अलग्गै खालको उत्साह हुने रहेछ। म निकै खुसी थिएँ। त्यसबेला घरमा पूजा थियो। हामी पुजाको लागि नवलपरासी गयौँ।

साढे दुई महिनाको गर्भवती थिएँ, त्यतिखेर। तीन महिना नभएसम्म लामो दुरीको यात्रा गर्न नहुने रहेछ। हामीलाई थाहा भएन। डाक्टरसँग सल्लाह गरेको पनि हो। केही फरक पर्दैन भन्नुभएको थियो। त्यसमाथि मुग्लिनको बाटो भर्खर बन्दै थियो। गाडीमै मेरो त रक्तस्राव हुन थाल्यो। तुरुन्तै अस्पताल जाँदा गर्भपात भएछ।

अनि त जति उत्साहित थिएँ, त्यति नै विक्षिप्त भएँ। मलाई शारीरिक भन्दा पनि मानसिक पीडा अत्यधिक भयो त्यसबेला। अर्को सन्तानको बारेमा सोच्न अलि समय लाग्यो। तर केही महिना पछि म फेरी गर्भवती भएछु। त्यसबेला भने पहिलो जति उत्साहित हुन सकिन। अब पनि केही भयो भने ? भन्ने खालको डर भइरहन्थ्यो । त्यै भएर लामो समय मैले गाडी पनि चढिन । अलि सतर्क हुन थालेँ।

तीन महिनासम्म निरन्तर बान्ता हुने रहेछ। पुरै गर्भावस्थामा मैले काम गरिनै राखेँ। तर गर्भावस्थाकै कारण थाईराइड देखा पर्यो। केही महिलाहरूलाई हर्मोनको कारण गर्भवतीको समयमा यस्तो केके देखिने रहेछ। तौल धेरै बढेको थियो। परामर्श अनुसार थाईराइडको औषधि खाएँ। त्यसबेला मलाई मासु फिटिक्कै खान मन लाग्दैन थियो। साग र काँक्रो खुब खान्थेँ। छोरी पाउने बेला काँक्रो खान मन लाग्छ भन्थे, हो जस्तै लाग्छ।

खुट्टाहरू निकै समय सुन्नियो। हरेक हप्ता जस्तो नयाँ जुत्ता किनेँ। काममा गइराखेको भएर खाली खुट्टै बसौँ भन्ने पनि भएन। थाईराइड भएकाले अलि अगाडि नै बच्चा निकाल्ने भनियो। मलाई झन् नर्मल नै जन्माउने इच्छा थियो। त्यै भएर मैले अन्तिम समयसम्म पनि काम नछाडेको।

डाक्टरले व्यथा लगाउने औषधि दिएपछि नर्मल नै हुन्छ, भर्ना गरिहाल्नु भन्नुभयो। तर डेट पुगेकै थिएन।

हामीले भर्ना गर्यौँ। औषधि पनि चढाई हाल्नुभयो। तर, मलाई व्यथा नै लागेन। त्यो औषधी चढाएपछि २४ घण्टा सम्म व्यथा लागेन भने बच्चालाई असर गर्न सक्छ भन्नुभयो। मलाई व्यथा लाग्ने कुनै सङ्केत देखिएन।  म त एकदम आत्तिए। नर्मल नै जन्माउने भनेर टन्न खाना खाएर बसेको थिएँ। तर डाक्टरले तुरुन्त अप्रेसन गर्नुपर्छ भन्नुभयो।

अप्रेसन गर्दा १२ घण्टासम्म केही खानु हुँदैन भन्छन् नि। तीन बजे तिर खाजा खाएको, चार बजे त अप्रेसन पो गर्ने भन्यो। त्यसबेला खुब डर लागेको थियो।

कुनै पनि हालतमा अप्रेसन गर्दिन भनेर डाक्टरलाई पनि भनेँ। उहाँहरूले त 'व्यथा नलागी कसरी नर्मल हुन्छ ?' पो भन्नुभयो।

औषधि चढाए पछि कसरी व्यथा लाग्छ त भनेर बाझेको पनि हो। तर ढिला गर्यो भने बच्चालाई असर गर्छ भनेको भन्यै गरे। त्यसबेला म बेस्सरी रोएको थिएँ, डर लागेर।

अप्रेसन कक्षमा लग्दा त मुर्दालाई लगेको जस्तो पो अनुभव गरेँ। त्यहाँ गएपछि झन् बढी डर लाग्यो।

अप्रेसन कक्षमा मलाई राख्ने बित्तिकै अर्को महिलाको अगाडि अप्रेसन गर्ने भनेर ल्याउनुभयो। बच्चाको धड्कन कम भयो भनेर तुरुन्तै अप्रेसन गर्ने भनेर ल्याउनु भएको रहेछ।

मेरो भन्दा अगाडी ती महिलाको अप्रेसन भयो। सबै अप्रेसन गरेको प्रत्यक्ष देखेँ। बच्चाको साल निकालेको रहेछ, मलाई त आन्द्रा नै निकालेको जस्तो लाग्यो। मेरो डरको त सिमानै रहेन। त्यसबेला अब मलाई मार्ने भयो भन्ने लागेको थियो।

ढाडमा सुई लगाएर मलाई लट्ठाई हाले। मलाई अप्रेसन गरेको सबै ऐनामा देखेँ। पहिला नै धेरै रोएको भएर त्यसबेला त मेरो आँसु पनि आएन। त्यसबेला के भइरहेको छ भनेर अन्दाज पनि गर्न सकिन। पछि छोरी भयो भनेर देखाउनुभयो। मलाई थाईराइड भएको कारण नानीलाई पनि भएको छ कि भनेर चेक गर्नुपर्ने रहेछ। नानीको रिपोर्ट नर्मल आयो। त्यसपछि मेरो पनि रिपोर्ट पनि नर्मल आयो।

नानी धेरै सानी थिई। मलाई त कसरी समात्ने होला भनेर डर लाग्यो। सासू हुनुभएको भएर सजिलो भयो। सबै उहाँले नै हेर्नु भयो। तर ११ दिनसम्म उसले दूध खानै मानिन। अप्रेसन गरेको भएर स्तनपान गराउन गाह्रो भइरहेको थियो। त्यहिबेला नानीलाई ल्याक्टोजिन खुवाई सक्नु भएको रहेछ। त्यो खाएपछि त नानीले मेरो दूध चुस्न नै मानिरहेको थिइन।

लगभग तीन महिनासम्म सासूले नै हेर्नुभयो। सुत्केरी स्याहार पनि राम्रो भयो। तीन महिनापछि म काममा लागिसकेको थिएँ।

नानी भएको लगभग सात महिना पछि नै फेरी गर्भ भएछ। त्यै पनि दुई महिना पछि थाहा भयो। १४/१५ महिना हुँदा त अर्को सन्तान जन्मी सकेको थियो। त्यसबेला बान्ता हुने, गाह्रो हुने त केही भएन। रेगुलर चेकअप भइरहेको थियो।

आइसकेको बच्चालाई किन नराख्ने भन्ने भयो। डाक्टरले पनि बसिसकेकोलाई किन फाल्ने भन्ने भयो। कम्तीमा १८ महिना समय दिन पर्ने रहेछ। डाक्टरसँग सल्लाह गर्दा पनि त्यसबेला त नर्मल नै मान्नुभयो।

पछि अप्रेसन गरेको अगाडिको घाउ फाट्ने हो कि भन्ने भयो। त्यतिबेला त मेरो गर्भमा अर्को सन्तान छ भनेर समेत भेउ पाएको थिइन। सब एकदम राम्रोसँग भइरहेको थियो। पेट बढ्न थाल्दा पनि मलाई केही अप्ठ्यारो भएको थिएन।

तर डाक्टरले एक महिना अगाडि नै अस्पतालमा भर्ना हुनुपर्छ भन्नुभयो। ३४ हप्ता भएपछि डाक्टरले अब चैँ घाउ कुनै पनि बेला फाट्न सक्छ पो भन्नुभयो। यदि घाउ फाट्न लागेको भए त मलाई पनि दुख्थ्यो होला। केही न केही त हुन्थ्यो होला नि। मलाई त केही भएको थिएन।

हुन त पहिला देखिनै गल्ती भएर, पछिसम्म गल्तीमाथि गल्ती भयो। मैले म घरमै बस्छु भनेँ। नानी पनि सानै थिई । तर बिचमा केही भयो भने के गर्नुहुन्छ भनेर मलाई डर देखाउनुभयो।

डाक्टरको कुरा मानेर भर्ना भएँ। त्यस बेलासम्म सब ठिकथ्यो । एक महिना अवलोकनको लागि राख्ने भनिए पनि त्यही बेला बच्चाको फोक्सो बढाउने भनेर नर्स सुई लगाउन आउनुभयो। पछि थाहा भयो, जब त्यो सुई दिन्छ बच्चालाई केही न केही हुन्छ रे!

मैले डाक्टरलाई प्रश्न पनि गरेको हुँ। विश्व भरिनै मान्यता प्राप्त सुई हो केही हुँदैन भन्नुभयो। भर्ना गर्दा अगाडि नै सबै चेक पनि गर्छन् नै। त्यसमा पनि राम्रो थियो। दश बजे राति बच्चाको फोक्सो बढाउने सुई लगाइदिनु भयो। मलाई त एकदम गाह्रो भयो। फेरी १२ बजे त बच्चाको धड्कन कम भयो पो भन्नुभयो। बिहान पाँच बजे त धड्कन धेरै कम भयो भन्दै तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेर तयारी गर्नुभयो। मलाई त्यसबेला निकै डर लाग्यो। म त बस्ने पक्षमा पनि थिइन।

'तपाईँहरूले जबरजस्ती गर्नु भएको कारण यहाँ बस्न आएको हो। म घरमै बसेको भए यस्तो हुँदैन थियो होला। सुई लगाएपछि यस्तो भएको हो' पनि भनेँ। मलाई अहिले पनि लाग्छ, त्यो बेला म अटेर गरेर घरमै बसको भए वा त्यो सुई लगाउन नमानेको भए यस्तो हुँदैन थियो होला। ६ बजे कोही पनि नभएको बेला हामीलाई नै हस्ताक्षर गराउन लगाएर अप्रेसन कक्षमा लागियो। त्यो सुई नलाउनु पर्ने रहेछ भन्ने अहिले पनि लागिरहन्छ। सुई दिएको केही घण्टापछि गाह्रो हुनु भनेको त त्यसको साइड इफेक्ट हो नि।

बच्चा निकाल्दा साढे दुई केजीको थियो। बाबु भएको थियो। तौल पनि राम्रै रहेछ। सबै नर्मल रहेछ भन्यो। जन्मिने बित्तिकै रोयो, सब राम्रो थियो। पछि अक्सिजन कम भयो भनेर आइसियुमा लगे। म उठ्न सक्ने अवस्थामा पनि थिइन। १३ दिन पछि डिस्चार्ज गर्यो। बाबुलाई केके भनेर सुईले खोपेको देखेर त मेरो प्रेसर पनि बढेको थियो।

पछि घर आयौँ। तेल लगाउने दिदीले बाबुलाई तेल लगाइरहनु भएको थियो। नानी पनि साथमै थिई। म उसलाई हेर्दै थिएँ। त्यहाँ तताई राखेको तेल दिदीले बाबुको नाइटोमा हालिदिनु भएछ। बाबु त बेस्कन रोयो। 'के भयो दिदी' भने, त्यस्तो तातो तेल त थिएन भन्नुभयो। एक घण्टासम्म नराम्रोसँग रोयो। तत्काल जँचाउन जानुपर्ने रहेछ। पछि बच्चा चुप लागेपछि हामी पनि त्यत्तिकै बस्यौँ।

बच्चालाई तातो तेल लगाउन नहुने रहेछ। दुई/तीन दिनपछि त बाबुको पेट फुल्यो। हामीले पाटन अस्पताल लग्यौँ। पेट धेरै नै फुलिसकेको रहेछ। डाक्टरले अप्रेसन गर्नुपर्छ भन्नुभयो। तर, पाटन अस्पतालमा बच्चाको लागि आइसियु रहेनछ। अरू अस्पतालमा लानु भन्नुभयो। श्रीमान्ले फेरी जहाँ लगे पनि हुन्छ, बच्चा ठिक हुन पर्यो भनिदिनु भएछ। अस्पतालमा त्यस्तो भन्न नहुने रहेछ भन्ने लाग्यो। त्यहाँबाट हामीलाई मेडीसिटी पठाइदिनुभयो।

त्यहाँको डाक्टरले अप्रेसन गर्नुपर्छ, अहिले ठिक देखे पनि गाह्रो हुन सक्छ भन्नुहुन्थ्यो। म बच्चा हेर्छु भने। ४५ दिनको बच्चा राम्रोसँग खेलिरहेको थियो। फुलेको पेट पनि बसिसकेको थियो। प्राइभेट अस्पतालले अनावश्यक खर्च बढाउने रहेछन् भनेर त्यो बेलामा अनुभव गरेँ।

मैले त्यसबेला नै डाक्टर पेट त ठिक भएको जस्तो छ, अप्रेसन नगरौँ कि भनेँ। उहाँहरूले यही बच्चाको लागि भनेर हामी यहाँसम्म आएको हो भन्नुभयो। 'पाटन अस्पतालबाट पहिला पनि यसरी ल्याएको थियो। उहाँहरूले पनि अप्रेसन गर्न दिनु भएन, भोलिपल्ट बच्चाको मृत्यु भएको थियो। त्यो जोखिम लिनुहुन्छ भने हामी केही गर्दैनौ। पछि हामीलाई दोष दिनु पाउनु हुन्न' पो भन्नुभयो।

त्यति भनेपछि डर नलाग्ने कुरै भएन। त्यतिबेला अप्रेसन गर्न नदिनु पर्ने रहेछ भनेर अहिले पनि लाग्छ। बाबुको पालोमा गल्ती माथि गल्ती भयो। पेट चिरेर, आन्द्रा काटेर, त्यहाँबाट दिसा आउने बनाइदिए। त्यसपछि बाबुलाई सन्चो हुनै सकेन।त्यति सानो बच्चाको निरन्तर पेटकै पाँच वटा अप्रेसन गर्नुपर्यो। आन्द्रा घरीघरी ब्लक हुने रहेछ।

उहाँहरूले के भएको हो भन्ने निर्क्योल नभई उपचार सुरु गरेको हो कि भन्ने शङ्का लाग्न थाल्यो। उहाँहरूले त्यसपछि पो लगातार परामर्श गर्नुभयो। अप्रेसन गर्दा सबैसँग अगाडि नै सल्लाह गर्नुपर्ने रहेछ। हामीले डाक्टरलाई विश्वास गरेर गल्ती गरेछौँ भन्ने लाग्यो।

आन्द्रा बाहिर निकालेपछि त्यो ठुलो हुने रहेछ। बाबु जति रुन्थ्यो त्यति आन्द्रा पुरै बाहिर निस्किन्थ्यो । त्यो पनि मैले पुरै स्याहारेँ। दिसाले गर्दा इन्फेक्सन हुन्छ भनेर पुरै ध्यान दिएँ। सबै डाक्टरलाई नराम्रो भन्न खोजेको त होइन। तर डाक्टरलाई पनि शङ्का त गर्नुपर्ने रहेछ जस्तो लाग्छ।

अप्रेसनपछि केही दिन घर ल्याएको थिएँ। बाबु त रुने बित्तिकै आन्द्रा बाहिर निस्किन्थ्यो। पछि घचेटेर डाक्टरले भित्र त हालिदियो। त्यसपछि पो उहाँहरूले आन्द्रा सानो भएको कारण जोड्न गाह्रो भयो, इन्डिया लानु भने। अगाडि नै यहाँ सकिँदैन, इन्डिया लानु भनेको भए त त्यस्तो हुँदैनथ्यो होला।

त्यसबेला त म होसमै थिइन। त्यो बेला पैसा कति सकियो भनेर थाहा पनि छैन। त्यस्तो बेला बच्चा महत्त्वपूर्ण हुने रहेछ। पैसाको त केही ध्यान नै भएन।

त्यहाँको सिस्टरले इसान अस्पताल लानु भन्नुभयो। इसानमा फेरी इन्डिया लग्नु पर्दैन, भनेर त्यहाँ पनि अप्रेसन गरिदियो। आन्द्रामा इन्फेक्सन भएको छ भनेर केही त काटेर पनि फालिदिनु भयो।

तर बाबुलाई ठिकै भएन। बच्चा एकदम कमजोर भयो। म आफै सुत्केरी थिएँ। बच्चालाई गाह्रो भएपछि के को सुत्केरी ! सुत्केरी भएको छ महिना नभए रगत दिन मिल्दैन रे। तर मैले बाबुलाई तीन पटक रगत दिएँ।

त्यस अस्पताल पनि महिनौँ त्यसरी नै बाबुलाई राख्यो। चार महिना पछि इन्डिया लानु भन्यो। बाबुको त नसा नभेटेर टाउकोबाट स्लाइन दिन थालेको थियो। हामीले अब पनि गल्ती गर्नु हुँदैन भनेर इन्डिया लाने तयारी गर्यौँ। तर, इन्डिया जाने दुई दिन अघि नै बाबु हामीसँग रहेन।

धेरैले अस्पताललाई केस गरिदिनु भन्नुभयो पनि। उनीहरूको लागि सयमा एउटा गयो भन्ने भयो होला। तर मेरो त सर्वस्व गयो नि। डाक्टरहरूले मेरो बच्चालाई एउटा एक्सपेरिमेंटको लागि प्रयोग गरे भन्ने लाग्यो।

केस गर्न सक्ने अवस्थामा समेत हामी थिएनौ। मलाई धेरै समयसम्म बच्चा अस्पतालमै छ कि, हेर्न जाऊ कि भन्ने लाग्थ्यो। मेरो पहिलो बच्चा नभएको भए त पागल नै हुन्थेँ होला। उसको लागि भए पनि आफैलाई सम्हालेँ। घर आएपछि उसलाई दूध खुवाउँथे। लकडाउनको हल्लाको समयमा नानीको लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो। न्वारन गरिसकेको भएर ससुरा बुवाले पाँच दिन बार्नु पनि भयो।

लामो समय त हामी शोकमा नै भयौँ। लकडाउनको समयमा घरमै एक अर्कालाई समय दियौँ। अहिले पनि याद आइरहन्छ। उ हाँसेको, रोएको सब याद आउँछ।

लगभग चार वर्षपछि फेरी हाम्रो छोरी भयो। दुइटा अप्रेसनपछि फेरी जोखिम हुन्छ भन्ने त भएको थियो। लामो यात्रामा जाँदा डर भयो। फेरी अर्को बच्चा पाउने भनेर डर त लाग्ने रहेछ। तर नानीको लागि भए पनि एउटा साथी चाहिन्छ भन्ने लाग्यो।

 हाम्रो मृत्युपछि यिनीहरुनै एक अर्कालाई हुन्छ भनेर अर्को सन्तानको बारेमा सोच्नु पर्यो।

अब चैँ डाक्टरले बिचमै बोलायो भने भर्ना नगर्ने भनेर म त अडानमा बसेको थिएँ। कान्छीको समयमा पनि सुगर देखाएको भएर अलि अगाडि नै भर्ना गर्नुपर्छ भन्नुभएको थियो।

पहिलो पटक गर्भवती हुँदा जस्तो अनुभव हुन्छ, त्यस्तो अरू बेला नहुने रहेछ। सानीको समयमा तेल पनि म आफैले लगाएँ। अस्पताल धेरै बस्ने भन्यो कि डर लाग्छ मलाई।

सानी भईकन अहिले सम्म काममा जान थालेको छैन। सानी ६ महिना कि भई। ठुली ६ वर्षकी भई, उ त स्कुल पनि जान थालिसकी। सास ससुरा सबै नवलपरासीमै हुनुहुन्छ। ठुलीलाई स्कुल पठाए पछि दिनभर सानी सँग एक्लो हुन्छु। अहिले एकल भन्दा संयुक्त परिवार नै राम्रो रहेछ जस्तो लाग्छ। यदि सासू यहाँ हुनुभएको भने मलाई न्यास्रो त लाग्ने थिएन होला!

श्रीमानसँग  बेलुका मात्र हो भेट हुने। यसो भ्याउने बेला सहयोग गर्नुहुन्छ। त्यही भएर कहिलेकाहीँ एक्लो महसुस हुन्छ।

दुवै छोरीलाई अब राम्रोसँग हुर्काउनु छ। धेरै पढाउनु छ। उनीहरूको भविष्यको बारेमा धेरै सोचेको छैन। यत्ति हो उनीहरूले एक अर्काको साथ पाइराखुन्।

वैशाख २, २०८१ आइतबार २२:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।