पूर्व कुमारी रश्मिलाको प्रसव पीडा र खुसी : कुमारीसँग बिहे गरे मरिन्छ भनेर धेरैले अस्वीकार गरे, धन्न बिहे भयो, सन्तान पनि पाएँ

पूर्व कुमारी रश्मिलाको प्रसव पीडा र खुसी : कुमारीसँग बिहे गरे मरिन्छ भनेर धेरैले अस्वीकार गरे, धन्न बिहे भयो, सन्तान पनि पाएँ

२०३४ सालमा निर्माण भएको पहिलो रङ्गिन चलचित्र कुमारी धेरैले रुचाए। चलचित्रको इतिहासमा यसको अलग महत्त्व छ। सामाजिक कथामाथि बनेको यो फिल्मले सिङ्गो 'कुमारी' सभ्यतामा 'कुमारीको बिहे जोसँग हुन्छ उसको मृत्यु हुन्छ' भन्ने एउटा अन्धविश्वासको सिर्जना गरिदियो।

त्यसयता कुमारीबारेका सामग्रीमा यो पक्ष छुटेन। अहिलेसम्म पनि कुमारीको बिहे हुँदैन भन्ने मान्यताको जरो उखेलिएको छैन। यसले कुमारी र उनको परिवारले मूल्य चुकाइरहेकी छन्।  तीनै मध्येकी एक हुन् काठमाडौंकी पूर्व कुमारी रश्मिला शाक्य।

उनी चार वर्षकी मात्र थिइन्, जब कुमारी छानिइन्। १२ वर्षको उमेरमा कुमारी घरबाट बाहिरिइन् उनी। तर, त्यही 'तिम्रो बिहे हुँदैन रे हो ?' भन्ने प्रश्नबाट भने टाढा हुनै सकिनन्। एउटै घरमा सधैं एकनासको दैनिकी बिताएकी उनको बाल मष्तिष्कलाई बाहिरी दुनियाँको अनेकौं अन्धविश्वासको प्रश्नले अनेकौँपटक प्रहार गर्यो।

१२ वर्षको उमेरमा २  कक्षामा भर्ना हुनुपर्यो। तै पनि स्नातकोत्तरसम्म अध्ययन गरेर उनी सफ्टवेयर इन्जिनियर भइन्। तर, घरमा विवाहको कुरा गर्न आउने केटाहरूले ‘ए कुमारी पो’ भन्दै 'रिजेक्ट' गर्न थाले। 'समाज' बारे उनले झन् गहिरो रूपमा बुझ्न थालिन्।

उनले त कुमारी चलचित्रको निर्देशकसँग पनि कुरा गरिन्। तर, 'त्यो बेला त्यस्तै लाग्यो' भन्ने मात्र जवाफ पाइन्।कुमारीकै कथामा आधारित 'गाजलु' चलचित्रका टिमले उनलाई भेट्ने भनेका रहेछन्, तर भेटेनन्। पछि गाजलुले पनि त्यस्तै गलत सन्देश फैलायो।

रश्मिलाको विवाह भयो। परिवार सुखी छ। उनी एक सन्तानकी आमा समेत भइन्न। उनले उकेराको नियमित स्तम्भ प्रसव पिडा र खुसीमा त्यही अन्धविश्वासका कारण ढिला विवाह भएकोदेखि एउटा सुन्दर जीवनलाई जन्म दिएसम्मको आफ्नो अनुभव यसरी साटिन् :
 

000

म कुमारीको लागि छानिँदा जम्मा चार वर्षको थिएँ। कुमारी हुनलाई ३२ लक्षणको हुनुपर्छ भनिन्छ। जबदेखि मैले सम्झिन सक्ने भए, त्यस बेलादेखि म कुमारी घरमै हुर्किएँ। त्यहाँको दैनिकी नै मेरो संसार भयो। पढाउन नजिकैको विद्यालयबाट शिक्षक आउनुहुन्थ्यो। अरू भन्दा मलाई अङ्ग्रेजीमा अलि सकस भयो।

१२ वर्षको उमेरमा म कुमारी घरबाट बाहिरिएँ। त्यो भन्दा अगाडि फाट्टफुट्ट 'बिहे हुँदैन, गर्नु हुँदैन' भन्ने कुरा सुन्थेँ। तर, किशोरावस्थामा पुग्नै बाँकी थियो। मलाई त्यसबारे वास्तै भएन। आफ्नै घरमा बस्न थालेपछि भने सबै नौलो लाग्यो, बाटो हिँड्न पनि अप्ठ्यारो भयो।

भित्र सधैं मखमलको कपडाको चप्पल लगाई राखेको, बाहिर स्कुल जाँदा छालाको जुत्ता लगाउन असहज भयो। पढाइमा बहिनी र भाइ भन्दा म पछि परेँ।

जति जति ठूली हुँदै गएँ, त्यसपछि अन्य सङ्घर्षभन्दा बिहेको कुरा खतरनाक पो लाग्यो। जीवितमध्येमा म पाँचौँ कुमारी हुँ। प्राय सबै कुमारीले बिहे गरेका छन्। सबैको वैवाहिक जीवन सामान्य रूपमै चलेकै छ। तै पनि कुमारीसँग विवाह गर्यो भने त मरिन्छ भन्ने भ्रम फैलिएको देख्दा अचम्म लाग्छ।

त्यसबेला कुमारी जीवनबाट बाहिरिँदा दुख पनि लाग्यो। बरु कुमारीहुँदा त एक किसिमको सम्मान त गर्थे। बाहिरिएपछि त अन्धविश्वासको प्रश्नले निकै गाह्रो बनायो।

मेरो पालोसम्म कुमारी पद छोड्दा तीन सय अनि २१ वर्षको उमेरमा बिहे गर्न भनेर बिहे खर्च दस हजार दिइन्थ्यो। यदि कुमारीले बिहे गर्न नहुने भए गुठीले नै बिहे खर्च भनेर किन छुट्याउँथ्यो र!

ढिलै पढाई सुरु भए पनि पढ्ने रहर थियो। सङ्घर्ष गर्नुपर्यो। तै पनि पढाइलाई निरन्तरता दिन सकेँ। स्नातकोत्तरसम्म पढेर इन्जिनियरसम्म भएँ। आफ्नो खुट्टामा आफै उभिन सक्ने भएँ।

उमेर अनुसार विवाहको कुरा चल्ने नै भयो। परम्परागत रूपमा विवाहका लागि घरमा हेर्न पनि आउँथे। तर 'रिजेक्ट' गरिरहे। बिहेका लागि ३२ गुणको केटी खोजिन्छ भन्ने सुनेको थिएँ। म त्यही ३२ गुणका कारण कुमारी भएको थिएँ। म चैं त्यही ३२ गुण भएकाले विवाहका लागि योग्य भइरहेको थिइन।

धेरै पटक विवाह अस्वीकृत भएको देख्दा साँच्चिकै कुमारीको बिहे हुँदैन कि क्या हो!' भन्ने लाग्न थालिसकेको थियो। तर, म भन्दा पछिको कुमारीहरूले सायद यस्तो भोग्न नपर्ला। नयाँ पिढीले अन्धविश्वास नमान्लान्। यसबारे उनीहरूले प्रश्न नै सुन्न नपरोस् भन्ने लाग्छ अहिले त।

कुमारी भएकै कारण जसले विवाह गर्छ उसको मृत्यु हुन्छ भन्ने अन्धविश्वासका कारण पटक पटक अस्वीकृत भइरहेको थिएँ। अचानक एक जनाले भने सहजै बिहे गर्न मान्नुभयो। खासमा अहिले जो मेरो श्रीमान् हुनुहुन्छ उहाँको मामाको छोरी म पछिको कुमारी हुनुहुँदो रहेछ। सायद त्यै भएर हो कि! उहाँले विवाह गर्न मान्नुभयो।

सामान्यतः नेपाली महिलाले बिहे गर्ने भन्दा बढी उमेरमा मेरो बिहे भयो। बिहेपछि जिन्दगी 'त्यति' गाह्रो भएन। चार वर्ष पछि हाम्रो बाबु पनि भयो।

चार वर्ष पछि जन्माउने भनेर योजना त बनाएको होइन, तर भुकम्पपछि हाम्रो पनि घर बनाउनु पर्यो। घर बनाउने तनावमा बच्चाको ख्याल नै भएन। बरु त्यही मौकामा हामीले एक अर्कालाई झन् बढी बुझ्न भने पायौँ।

गर्भवती भएको थाहा पाउँदा त सबैभन्दा अगाडि आफैँ धेरै खुसी भएँ।  घरमा पनि सबैजना खुसी हुनुभयो। गर्भवतीको नौ महिनासम्म खासै केही परिवर्तन, नौलो महसुस नै गरिँन। त्यै भएर मैले कामलाई सजिलोसँग निरन्तरता दिएँ।

धेरैलाई त चरणवद्दरुपमा गाह्रो भएको भन्ने सुनेको थिएँ। तर, अरूलाई जस्तो गाह्रो भएन मलाई। न गन्ध आयो, न कमजोरी भयो, न बान्ता नै भयो। खाना पनि सधैंझैँ राम्रैसँग रुचिरह्यो। भोलि डेलिभरी गर्ने मिति, आजसम्म मज्जाले काम गरिरहेको थिएँ।

कोडिङ गर्दैगर्दा कहिलेकहीँ पेट भित्र केही चलेको जस्तो चैं अनुभूति गरेँ। अरू बेला त्यस्तो याद पनि भएन। तर, एकसुरले केही गर्दा अर्कै खालको अनुभूति भइराख्ने रहेछ।

एक चोटि त त्यो अनुभूति नै भएन। त्यसबेला डर पनि लाग्यो। बच्चालाई केही भयो कि भनेर अल्ट्रासाउन्ड  गर्न गएँ। बच्चा कहिले चल्ने, कहिले नचल्ने हुनु सामान्य नै रहेछ। फेरी काममा लागिहालेँ।

नौ महिना भर शरीर पनि फरक भएन। मानसिक रूपमा पनि खुसी थिएँ। सामान्य रूपमै नौ महिना बित्यो। त्यो बेला बरु धेरैले तिमीले त छोरा नै पाउँछौ भन्थे। त्यही नै भयो।

शनिबारको दिन थियो। दिउँसो लुगा धोएँ। घरको सबै काम गरेँ। राति चैं हल्का गाह्रो भएको जस्तो भयो। अनि पानी पनि फुट्यो। समय पनि भएको भएर त्यहीबेला अस्पताल गइहाल्यौँ। त्यो बेला पनि त्यति धेरै दुखेको त थिएन।

कुमारीहुँदाकी रश्मिला अनि अहिले आमाहुँदाकी रश्मिला।तर, व्यथा चैं लागि नै रह्यो। दिनभर पानी मात्र गइरह्यो। आइतबार साँझ चैं दुखाइ महसुस गर्न थालेँ। अनि राति नौ बजेतिर त बाबु जन्माएँ।

त्यो बेलासम्म बरु अस्पतालको माहौलले चैं आत्तिएको थिएँ। लामो समय भएकाले व्यथा लाग्ने औषधी पनि दिएका थिए। त्यै पनि खै किन हो व्यथा नै लागेन। अनि अप्रेशन गर्ने तयारी भएको थियो। त्यहीबेला मलाइ बान्ता भयो। बान्ता भयो भने राम्रो हुने रहेछ।

त्यसपछि त घर खुल्यो भने। बाबु जन्माई हाले। जन्माइसकेपछि त आनन्द भयो। रातभर नसुतेको भएर होला मलाई त निन्द्रा पो लाग्यो। बच्चा परिवारलाई दिएर सुतेँ। नत्र त ट्वाइलेट आउला जस्तो, कस्तो कस्तो भइरह्यो।

बाबु भए पछि 'के भयो?' भनेर सोधे। छातीमा राख्दिनु भएको त थियो। तर, पनि सोधे। 'पख्नु न पख्नु' भन्नुभयो। अनि सफा गरेर 'आफै हेर्नु' भनेर देखाउनुभयो।

उसलाई पहिलो पटक समात्दा त त्यस्तो लामो व्यथा लागेको दुखाइ सबै बिर्से नि! सबै हरायो। स्तनपान पनि त्यतै गराउन सिकाउने रहेछन्। तर, मेरो त दूध नै आएन। बाबुलाई दूध नै पुगेन। राति डेलिभरी भएको कारण त्यो रात बस्यौँ। भोलिपल्ट घर फर्कियौँ।

घरमा लगेपछि चम्चाले बाहिरको दूध खुवाउन पर्यो। धेरै सानो थियो, उ। कसैले आमा जस्तो छ भन्थे, कोहिले बाबा जस्तो छ भन्थे।

दूध नपुगेर हो कि रातभर सुतेन। हामीलाई थाहा पनि भएन। चम्चाले खुवाएँ, पिच्चपिच्च बाहिर निकाल्थ्यो। त्यसपछि चैं बोतलमै राखेर खुवाएँ। घुटघुट पियो।

सुत्केरी स्याहार एकदम राम्रो भयो। माइतीबाट आमा हेर्न आउनु भयो। गुँदपाक, चाकु, घिउ खानुपर्छ भन्नुहुन्थ्यो। मलाई गुलियो खासै मन पर्दैन। अनि चिकेन म खाँदिन। बरु किमा खूब खाएँ। त्यही पनि दूध राम्रोसँग नै आएन।

राम्रोसँग खुवाउन नपाए पनि नौ महिनासम्म खुवाएँ। त्यसपछि त उसलाई लिटोले खाने बानी परेको जस्तो भयो। धेरै दूध पनि खोजेन। 

जाडो महिनामा सुत्केरी भएको थिएँ। तर, धेरै घाम तापिन। आगो पनि तेल लगाउने सक्केपछि तापिन। धेरै टालो, न्यानो मलाई मन पर्दैन। म घाममा बस्नै सक्दिन।

बाबु पाएको तीन महिनापछि काममा फर्किएँ। सुरु सुरुमा त काममा जाँदा पनि बाबुको याद आइरहन्थ्यो। रोएर बस्यो कि भन्ने लाग्थ्यो। उ फेरी मज्जाले सुत्छ। त्यै भएर पनि मलाई सजिलो भयो। अनि आमा, सासुआमा सबैले हेर्नु भएको भएर चिन्ता पनि धेरै लिइन।

कोभिडले गर्दा बाबुलाई धेरै समय दिन पाएँ। बाबुले पनि म सँग बढी समय बिताउन पायो। दोस्रो लकडाउन पछि चैं मेरो काम रोकियो। उसँग धेरै बोल्न पाएँ। उसले स-सानो क्रियाकलापहरू छिटो देखाउन थाल्यो। एकदम ज्ञानी छ। जोसँग पनि झुम्मिने स्वभावको छ।

भर्खर पाँच वर्षको भयो। बोली चैं अलि ढिलो फुट्यो। त्यै भएर स्कुल पनि ढिला राखेको।

अहिले धेरै सानो भएकाले त्यति धेरै उसको बारेमा सोचिसकेको छैन। अहिलेलाई उसलाई सकेसम्म पढाउने नै इच्छा छ। पढाइमा पनि रमाई रहेको छ। मलाई गाह्रो भएको जस्तो उसलाई नहोस्। उसको पढाइमा कुनै वाधा नपुर्याउन मेरो प्रयास हुनेछ।

त्यसपछि भनेको त उसको इच्छा अनुसार जे गरोस् साथ दिने न हो। अहिले दोस्रो सन्तानबारे सोचेका पनि छैनौ। अहिले यसो आफ्नो बारेमा आफै सोच्दा एकदम फरक र धेरै अनुभव गर्न पाएँ जस्तो लाग्छ।

पढाइदेखि लिएर, विवाहसम्म सङ्घर्ष गर्नैपर्यो। छोरी भएको भएर यति धेरै सङ्घर्ष गर्नुपर्यो भन्ने लाग्छ। बाँकी भनेको ढिला भए पनि खुसी छौँ। सानो परिवार, खुसी परिवार भएका छौँ। अरू के नै चाहियो र! अब बाबु पनि हुर्की सक्यो। फेरी काममै फर्किने इच्छा छ।

अब आइटीको जमानामा सफ्टवेयर इन्जिनियरले काम नपाउने भन्ने पनि हुँदैन नि।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

८ पुस, २०८०, १८:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।