संगीता अछामीको प्रसव पीडा र खुसी : पीडा सम्झिँदा बाबुको वास्तै लागेन, हस्पिटलको माहोल त झन् डरलाग्दो थियो

संगीता अछामीको प्रसव पीडा र खुसी : पीडा सम्झिँदा बाबुको वास्तै लागेन, हस्पिटलको माहोल त झन् डरलाग्दो थियो

ललितपुर महानगरपालिका वडा नम्बर १४ कि  'दलित महिला सदस्य'बाट निर्वाचित वडा सदस्य हुन्, संगीता अछामी। ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा दुवै पटक वडा सदस्यमा जितेकी उनले यसबीचमा थुप्रै उतारचढाव अनुभव गरिन्। उनी अघिल्लो कार्यकालमा कार्यपालिका सदस्यसमेत निर्वाचित भएकी थिइन्। त्यसबेला आफूले भोग्नुपरेको 'सकारात्मक विभेद’ उनले अहिलेसम्म बिर्सिन सकेकी छैनन्। विभिन्न बैठकहरूमा सहभागी भइरहेकी उनी अहिले भने समाज र वडामै भिजिरहेकी छिन्। 

कार्यविधि अनुसार बाल अधिकारको संयोजन बनिरहँदा उनले आफ्नो बाल्यकालमा भने धेरै कुरा छुटाएको मनन गरिरहेकी छिन्। संविधानले नै 'दलित महिला सदस्य'को कोटा नछुट्टाएको भए यस तहमा पुग्न नसकिने उनलाई अहिले पनि लागिरहन्छ।

जनप्रतिनिधिका रूपमा दुई कार्यकाल बिताइरहेकी उनले अहिलेसम्म संविधानप्रद्वत्त समानुपातिक सहभागिताको अर्थ राम्रैसँग बुझिसकिन्। त्यसैले पनि पाएको अवसरलाई उनले हातबाट फुत्कन दिइनन्।

यही क्षेत्रको 'लोहा टोल’मा जन्मिएकी उनले घरदेखि समाजसम्मको विभेद भोगेकी छन्। त्यही भएर सानै देखि उनमा एउटा 'क्रान्तिकारी’ भावना आयो।

कक्षा आठमा पढ्दा गर्दै विद्यार्थी संगठनसँग नजिक हुन थालिन्। उनी उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय सदस्यसमेत भइन्। उनकी आमाले गरेको संघर्षको कारण पनि उनलाई राजनीतिमा थप चासो भइरह्यो। उनकी आमा अहिले बागमती प्रदेशको सचिवालय सदस्य छिन्।  

दुईजना दाइ पछि जन्मिएको भए पनि घरभित्रको लैङ्गिक विभेद र समाजले गरेको जातीय विभेदबाट उनी पनि अछुतो रहिनन्।

'छोरी भएर ठुलो स्वरले बोल्न हुँदैन’, 'हाँस्न हुँदैन’, 'सार्की भएर पनि पढ्न गएको?' भन्ने जस्ता थुप्रै विभेदले भरिपूर्ण शब्दहरूले उनका कानहरूलाई बारम्बार हिर्काइरह्यो। पार्टीको कार्यक्रममा सहभागिता जनाउँदै गर्दा पनि उनका कुरा काट्नेहरू थुप्रै भेटिए। त्यसैले पनि एउटा मोडमा पुगेपछि उनलाई लाग्यो- 'मेरो राजनीतिक यात्रामा कोही एउटा सहयात्री चाहिने रहेछ।'

उनले पार्टीकै कार्यकर्तासँग विवाह गरिन्। उनै संगीताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफू आमा बन्दै गर्दाको अनुभव यसरी सुनाइन् :

000

विवाह पहिला देखिनै मेरो प्राथमिकतामा परेन। मलाई सधैँ केही गर्नुपर्छ,आफू केही बन्नुपर्छ भन्ने नै लाग्थ्यो। तर 'छोरीलाई सकेसम्म छिटो बिहे गराइदिनु पर्छ’ भन्ने सामाजिक मानसिकता मेरो परिवारमा पनि लागु भयो। युवा संघमा हुँदा धेरै सक्रिय हुनुपर्थ्यो। उमेर पनि त्यस्तै थियो। त्यो बेलामा कोही केटा मान्छेसँग बोल्यो मात्र भने पनि अनेकथरी कुरा काटिन्थ्यो। 

तर, म र मेरो श्रीमान्बीच बिहे अघि नै एउटा सम्झौता (जस्तो) भएको थियो- जे जति चुनौती आउँछ, हामी मिलेर सामना गर्नेछौँ।

उहाँ अर्घाखाँचीको हुनुहुन्थ्यो अनि हामी पुस्तौँदेखि ललितपुरको बासिन्दा। 

म सहकारी संस्थामा मार्केटिङको काम गर्थेँ। हामी श्रीमान-श्रीमती मात्र यहाँ थियौँ। जसोतसो जीवन चलाइरहेकै थियौँ।त्यहीबीचमा मेरो महिनावारी रोकिएको पनि तीन महिना भइसकेको थियो।

कहिलेकहीँ गडबड भइराखेकै हुने भएकाले मैले त मेरो गर्भ रह्यो भनेर सोच्दा पनि सोचिन। तेस्रो महिना पनि महिनावारी नभएपछि जँचाउन जान्छु भनेर गएको, त्यही दिन चैँ महिनावारी भयो। पछि पो डाक्टरले गर्भ भएर पनि खेर गएको जानकारी दिनुभयो। 

अगाडि नै गर्भवती छु भनेर थाहा भएको भए नराम्रो पनि लाग्थ्यो होला। थाहै नभए पछि त्यति चिन्ता भएन। पछि घर फर्किने बेला थोरै नराम्रो त लाग्यो नै।

अनि बिहेपछि एक्लो महसुस गरेँ। कोही अभिभावक भइदिए हुन्थ्यो भन्ने लागिरह्यो। श्रीमान् र म समकालीन नै भएकाले दुबैलाई केही थाहै थिएन। हामी त्यसबेला परिपक्व भइसकेको रहेनछौँ क्यारे। त्यसबेला अलिपछि बिहे गरेको भए पनि हुन्थ्यो भन्ने लाग्यो। 

हामीले सन्तान जन्माउने, यस्तो गर्ने, उस्तो गर्ने भनेर केही योजना/तयारी नै गरेको होइन। बिहे भएको दुई वर्षपछि हाम्रो सन्तान भयो। धेरै धरपकड भएर पनि हो कि, मलाई त गाह्रो भएको पनि महसुस भएन। बेलुकाको खाना पकाउँदा चैँ खानाको असाध्यै गन्ध मन नपरेकाले पकाउँदिन थिएँ। अरू त्यति धेरै असहज भएन। त्यसबेलामा पनि अब यस्तो गर्नुपर्छ, यस्तो हुन्छ भनिदिने मान्छे नै भएनन्। 

श्रीमान् र मलाई त सन्तान भए पनि ठिकै छ, नभए पनि ठिकै छ भन्ने जस्तो हुन्थ्यो। त्यसबेला संविधान बनेकै थिएन। संविधानको लागि भनेर सक्रिय हुनुपर्ने थियो। पार्टीको काम सँगसँगै सहकारीको काम पनि सकेसम्म भ्याएँ।

आठ महिनाको गर्भ हुँदासम्म म बानेश्वरदेखि लगनखेलसम्म घाममा हिँड्दै मार्केटिङको पैसा उठाउने काम गर्थेँ। त्यसपछि चैँ म हिँड्न पनि सकिन। 

मेरो तौल निकै बढेको थियो। खुट्टाहरू पनि सुन्निएका थिए। राती सुत्न सक्दिथेँ। अनि मानसिक रूपमा पनि बेचैन हुन्थेँ। के हुने हो, कस्तो हुने हो भनेर सोचेर बस्थेँ। डाक्टरले साउन १ गतेको डेलिभरी समय दिनुभएको थियो। 'पेट दुख्न सक्छ, पानी बग्न सक्छ, नआत्तिईकन हस्पिटल आउनु’ भन्नुभएको थियो। १ गतेसम्म मलाई त्यस्तो केही भएको थिएन। 

पछि आमालाई यो कुरा सुनाएँ। उहाँले तुरुन्तै गइहाल्न भन्नुभएको पनि हो। तर, म १० गते मात्र गएँ। त्यसबेला डाक्टरले खुब कराउनु भएको थियो। पानी नै नभएको कारण अप्रेसन गर्नुपर्छ पो भन्नुभयो। म त आत्तिएँ। मलाई त अब म बाँच्दिनँ होला भन्नेसम्म लाग्यो। म डराएको देखेर आमाले 'अप्रेसन गर्ने भएपछि नर्मल जन्माएको जस्तो गाह्रो हुँदैन’ भन्नुभयो। 

अनि मलाई तत्काल अप्रेसन कक्षमा लगियो। तयार भएपछि ढाडमा लठ्ठिने सुई हाल्दिनु भयो। नदुखे पनि पेट चिरेको, सिलाएको सब थाहा भइरहेको थियो। अप्रेसन गर्दा म हल्लिन्छु कि भन्ने डर लागेको थियो। दिमागमा चैँ म हल्लिए भने फेरि अप्रेसनमा असर होला भन्ने लागेको थियो। हस्पिटलको माहौल त झन् डर लाग्दो थियो। 

बाबुको आँखा त ठुलो ठुलो थियो। निधारमा पनि थुप्रै कपालहरू थिए। उसलाई पहिलो पटक हेर्दा मलाई त कस्तो बुढो मान्छे जस्तो लागेको थियो। अप्रेसन गरेर बेडमा बसेपछि लास जस्तै भएछु।

केही समयपछि बाबुलाई देखाउँदै  'नानी हो कि बाबु’ भनेर डाक्टरले सोध्नुभयो। होस् मा छ कि छैन भनेर चेक गर्नु भएको होला ! आमाले त अप्रेसनमा गाह्रो हुँदैन भन्नुभएको थियो। तर मलाई त निकै गाह्रो भयो।

अप्रेसन कक्षबाट नर्मल कक्षमा लाग्दा त त्यो दुखाइ झनै पीडादायी थियो। सिधा बस्नसमेत गाह्रो। गाह्रो भएको कारण मैले बाबुलाई छिट्टै स्तनपान गराउन सकिन्न। दूध पनि आइरहेको थिएन। 

त्यसबेला पनि फेरि बेकारमा बिहे गरेछु, बिहे गरिहाले पनि छिट्टै बच्चा नजन्माउन पर्ने रहेछ भन्ने लाग्यो। एक हप्तासम्म त मलाई बाबु समात्न धेरै गाह्रो भएको थियो। ट्वाइलेट जान पनि साथी चाहिन्थ्यो।

त्यसबेलाको दुख सम्झेर मलाई त अलि पछिसम्म पनि बाबुको माया लागेको थिएन। बाबु रोइराखेको हुन्थ्यो, उसलाई उठाएर दुधे खुवाउन सक्ने क्षमता समेत ममा थिएन। अप्रेसनपछि बेडमा बस्दा त शव जस्तै भएको थिएँ। 

बाबुको आँखा त ठुलो ठुलो थियो। निधारमा पनि थुप्रै कपालहरू थिए। उसलाई पहिलो पटक हेर्दा मलाई त कस्तो बुढो मान्छे जस्तो लागेको थियो। अप्रेसन गरेर बेडमा बसेपछि लास जस्तै भएछु।

दूध नआएपछि औषधि नै खानु परेको थियो। पछि ल्याक्टोजनसँगै बाबुलाई आफ्नै दूध खुवाए। त्यसपछि चैँ उ माथि आत्मीयता बढ्दै गयो। २२ दिनमा त मैले उसलाई लिटो नै खुवाएको हो। त्यसबेला भौगोलिक कारणले हाम्रो खानपिनमा भएको फरकपन अनुभूति गर्नुपर्यो। निकै गाह्रो भएको थियो। त्यसबेला कोही न कोही साथमा हुन पर्ने रहेछ जस्तो लाग्यो। 

तीन महिना माइतीमा सुत्केरी बसेँ। सबैकुरा राम्रै भए पनि आफ्नो लागि आफैले गर्नुपर्ने रहेछ भन्ने भएको थियो। त्यो बेलामा पनि मलाई अलि बढी 'अटेन्सन’ चाहिएको महसुस भएको थियो।

बाबु भएपछि मैले काम छोडे पनि पार्टीको कार्यक्रमहरूमा सहभागी भइनैरहेँ। राजनीति सधैँ मेरो प्राथमिकतामा परिरह्यो। बाबु सात महिनाको हुँदा हामी अर्घाखाँची गयौँ। दुधे बालकलाई लिएर त्यति लामो यात्रा गर्नु पर्दा मलाई निकै गाह्रो भएको थियो। 

बाबु भएको केही समयपछि मलाई बेस्कन पेट दुखेको थियो। मरौंलाझैं भएको थियो। एपेण्डिक्स भयो कि भन्ने भयो लाग्यो। तत्काल अप्रेसन गरेपछि पो थाहा भयो- त्यो त अर्को बच्चा पाठेघर भन्दा बाहिर बसेको कारण गर्भपतन गरेको रहेछ। दुईपटक अप्रेसन भएपछि हामीले अर्को जोखिम उठाउन चाहेनौँ। अनि अर्को सन्तानको बारेमा पनि सोचेनौँ। 

हाम्रो बाबु अहिले १२ वर्षको भयो। सात कक्षामा पढ्दै छ। मैले जुन विभेद भोगे त्यो उसले भोग्नु नपरोस् भनेर पुरा कोसिस गरिरहेको हुन्छु। मैले उसलाई पहिलो पटक देख्दा बुढो मान्छे जस्तो लागेको थियो, अहिले कुरा गर्दा उसमा त्यत्तिकै परिपक्वता देख्छु।

मेरो सामाजिक र राजनीतिक दुवै कामलाई उसले नजिकबाट देखेको छ। त्यै भएर पनि उसले मलाई बुझ्छ। अनि फेरि मैले कहिल्यै पनि उ बाट दुख लुकाइन पनि। त्यसैले पनि उसमा बढी परिपक्वता देखिएको हो कि जस्तो लाग्छ। 

सकेसम्म हामीले उसलाई समय दिने प्रयास गरिरहेका हुन्छौँ। उसलाई फुटबल खेल्न र खाना बनाउन खुब मन पर्छ। मैले उसको लागि यो गर्छु, यस्तो गर्छु, उसले यस्तो गरोस् भनेर केही पनि सोचेको छैन। उसलाई राम्रो शिक्षा र संस्कार दिएर सक्षम बनाउन सकियो भने त्यही काफी हुन्छ। त्यसपछि उसले जे गरोस् सपोर्ट गर्ने मात्र हो। त्यै भएर उसको लागि घर बनाउने, सम्पत्ति जोड्ने भन्नेसमेत मैले सोचेको छैन। पढाई दिएपछि सबै उसले आफै गरोस् न।  

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२७ जेठ, २०८१, १८:३४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।