समाजसेवी भावनाको प्रसव पीडा र खुसी : सातौं महिनामा बाथरुममा लडेपछि बच्चाको हलचल नै महसुस गरिनँ

समाजसेवी भावनाको प्रसव पीडा र खुसी : सातौं महिनामा बाथरुममा लडेपछि बच्चाको हलचल नै महसुस गरिनँ

समाजसेवी भावना ऐर नेम्वाङ गैर सरकारी संस्थामा आवद्ध छिन्। विशेषगरी महिला तथा बालबालिकाको हक र सुरक्षा सम्बन्धी काममा उनी कोषाध्यक्ष भएको संस्था सक्रिय छ। सुदूरपश्चिमको महेन्द्रनगरमा पितृसत्तासँगै रुढिवादी परम्परा भोगेर आएकी उनलाई सानैदेखि समाजमा महिला र बालबालिकाको लागि काम गर्ने इच्छा जाग्यो।

सानैमा बुवा बितेपछि आमाको साथमा हुर्किइन् उनी। आमाले आफूलाई कसरी हुर्काइन्, उनलाई राम्रोसँग याद छ। नजिकबाट नियालेकी छन् उनले आमाको संघर्षलाई। रातो कपडा लगाउने आमाको इच्छा हुँदा-हुँदै पनि समाजका कारण लगाउन पाइनन्। अभाव र अरूको हेलाँमा हुर्किएकाले भावना भावनात्मक भन्दा बढी  हठी बनिन्।

समाजको व्यवहारले उनलाई हठी बनायो। उच्च शिक्षाको लागि काठमाडौं आइन्। आमा र बाजे उनलाई आर्मी भएको हेर्न चाहन्थे।  तर उनले मानविकी पढ्ने अठोट गरिन्। आफैँ कमाएर पढ्ने सोच पलाएपछि पढाइसँगै काम पनि गरिन्। तर, कामले पढाइमा असर गर्यो अनि पढाइ खस्किँदै गयो। तर, पढ्न भने छोडिनन्।

बुटिकमा काम गर्दा-गर्दै उनले आफूले पढेको विषय अनुसार काम पनि पाइन्। केहि वर्ष अरूको नेतृत्वमा काम गरेर अनुभव बटुलेपछि आफ्नै संस्था खोलेर चलाइन्। कामकै सिलसिलामा उनको प्रेम बस्यो अनि विवाह भयो त्यो पनि अन्तरजातीय।

विवाहअघि नै ​​​​​​पीसीओएस (पोलिसीस्टिक ओभरी सिन्ड्रोम)बाट प्रभावित थिइन् उनी। त्यसैले बाँझोपन होला कि भन्ने चिन्ता थियो। पीसीओएस भनेको हर्मोनको गढबढीले गर्दा पाठेघरले राम्रोसँग काम गर्न नसक्नु हो। यसले बाँझोपन समेत निम्त्याउन सक्छ।

बाँझोपनकै समस्या  नदेखिए पनि गर्भधारण हुन भने निकै समय लाग्यो। त्यो समयमा उनले हरेशै खाइसकेकी थिइन्। तर, पछि गर्भधारण भयो। अहिले उनको सन्तान स्कूल जाने सम्मको भइसके। भावनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटेकी छन्।

०००

मेरो अन्तरजातीय बिहे भए पनि घरबाट त्यस्तो कुनै अप्ठ्यारो थिएन। मेरो आमाले त झन् आफ्नै जातकोलाई छोरी नै दिन्न भन्नुहुन्थ्यो। उहाँले सानै उमेरमा जे कुरा भोग्नुभयो, त्यो मेरो हकमा पनि होला भन्ने डर थियो उहाँमा। मेरो अफिससँगै उहाँ (श्रीमान्) पनि काम गर्नुहुन्थ्यो। उहाँ लिम्बू हुनुहुन्छ। अफिस नजिक भए जस्तै हामी पनि नजिक भयौँ अनि दुवैको घरबाट सहजै स्वीकार्नुभयो।

भेटेको लगभग आठ महिनामा हामीले स्वयम्बर गर्यौं। तीन वर्षपछि पढाइ र काम सबै अघि बढाएर मात्रै बिहे गर्यौं। घरबाट सहयोग र समर्थन भए पनि समाजले सजिलै सहजै नस्वीकार्ने रहेछ। ‘कोही नपाएर क्षेत्री ल्यायो’ भन्ने जस्तो कुराहरू पछिसम्म सुनेँ मैले। पछि मैले च्याब्रुङ(लिम्बूको संस्कृतिक नाच) पनि सिकेँ।

बिहे अगाडि बाहिरको काम गरिरहेकाले बिहेपछि घरभित्रको काममा सहज हुन अलि समय लाग्यो। म पहिलादेखि नै एकदम घरेलु स्वभावकी होइन। त्यसो भएपछि घरमा पनि मलाई घरेलु नै भएर बस्नपर्ने दबाब दिनुभएन। बिहे अघिसम्म पनि बच्चा मन पराउने वा बच्चासँग झ्याम्मिने स्वभाव थिएन मेरो। तर, बिहे भएको केहि समयपछि आफैँलाई आमा हुन मन लाग्यो, बच्चा जन्माउनुपर्छ भन्ने सोच आयो।

कोसिस गरिराख्दा पनि गर्भधारण भइरहेको थिएन। त्यसबेला महिनावारी ढिला भयो भने परीक्षण गरिहाल्थेँ। सधैँ नेगेटिभ आइरहेको थियो। एकपटक त पोजेटिभ देखाएको पनि हो, तर एक हप्तापछि फेरि परीक्षण गर्दा नेगेटिभ देखायो। डाक्टरले औषधिको प्रभावले त्यस्तो भएको होला भन्नुभयो। सबै खुसी एकै छिनमा निराशामा बदलियो। केहि समय त काम गर्नै मन लागेन।

त्यहि बेला धेरै साथीहरू बाँझोपनको सिकार समेत भएका थिएँ। पीसीओएसले गर्दा म पनि आमा नबन्ने हो कि भन्ने लागेको थियो। मलाई पीसीओएस देखा परेको छ भनेर घरमा श्रीमान् बाहेक कसैलाई पनि थाहा थिएन। उहाँहरूले हामीले अहिले नै नचाहेको भन्ने नै भयो होला। बारम्बार कोसिस गर्दा पनि गर्भधारण नभएपछि जबरजस्ती गर्न पनि हुँदैन भनेर हामीले कोसिस गर्नै छाडिसकेका थियौँ।

तर, भित्र-भित्र केही आशा राखेर उपचार पनि गरिराखेका थियौँ। मेरो मम्मी पनि अब सन्तान नहुने भयो भनेर निकै चिन्तामा हुनुहुन्थ्यो। उहाँले त ज्योतिषकोमा समेत देखाउनुभएको थियो। मलाई पीसीओएस देखिएको हाम्रो स्वयम्बर हुँदा नै हो।

मेरो अनुहारमा डन्डिफरोरको दागसँगै अनावश्यक रौंहरूसमेत आएको थियो। महिनावारी त गढबढ भएको धेरै भइसकेको थियो। त्यसबेला मेरो अण्डहरू निकै कम उत्पादन भइरहेको थियो। उपचार भने नियमित गरिरहेकै थिएँ।

गर्भधारणका लागि बेला-बेलामा प्रयास गरिरहेकै थियौं। पछि फेरि एकपटक पोजेटिभ देखायो। तर, त्यति धेरै खुसी भएनौँ, अगाडिको जस्तै हुने हो कि भन्ने लागेको थियो। डाक्टरले पनि धड्कन नआएसम्म केहि भन्न सकिँदैन भन्नुभयो।

हरेक दिन धड्कन चलोस् भनेर म प्राथना गर्थेँ। दुई हप्तापछि धड्कन पनि चल्यो। पक्का भएपछि घरमा पनि भन्यौँ। उहाँहरूले त खुसी हुनुभयो र सामान्य नै प्रतिक्रिया जनाउनुभयो। श्रीमान् र मलाई मात्र थाहा थियो, त्यो पोजेटिभ हामीले कतिसम्म चाहेका थियौं भन्ने।

म त्यस्तो ज्योतिष शास्त्रमा विश्वास गर्ने व्यक्ति होइन। तर बच्चा र आमामा एकजना चैँ जान्छ नै भन्नुभएको रहेछ ममीलाई। मेरो बाबु उल्टो पोजिसनमा रहेको थियो। तीन चोटी त म गर्भवती हुँदा लडेकै पनि हो।

गर्भवती अवधिभर मेरो प्रेसर धेरै बढेको थियो। आँखाको दृष्टिसमेत मधुरो भएको थियो। त्यसैले गर्दा सात महिनाको गर्भवती हुँदा म बाथरुममा एकपटक लडेको थिएँ। ससुरा घरमै हुनुहुन्थ्यो। उहाँले हत्त न पत्त मलाई अस्पताल लानुभयो। त्यसबेला बच्चाको हलचल रोकिएको थियो।

अल्ट्रा साउण्ड अगाडि नै गरेको भएर एक दिनपछि मात्र गर्न मिल्ने भनियो। त्यो बेलासम्म म निकै आत्तिएको थिएँ। तर केहि बेरमा मैले हलचल भएको महसुस गरेँ। श्रीमान् नजिकै हुनुहुन्थ्यो, भनिहालेँ।

श्रीमान् पनि निकै खुसी हुनुभयो, नत्र त्यो बेलासम्म मैले उहाँको कुनै पनि किसिमको प्रतिक्रिया देखेको थिइनँ। अनि फेरि आठौं महिनामा म बाइकबाट लडेको थिएँ। त्यसपछि सासुले भुँडी पूजा गर्ने भन्नुभो। त्यसबेला पनि अलि गाह्रो-गाह्रो नै भएको थियो। लिम्बू संस्कृतिमा गर्भ रक्षाका लागि भुँडी पूजा गरिन्छ।

सन्तान नजन्मिएसम्म के होला भन्ने भइ नै रह्यो। भुँडी पूजा भएपछि चाहिँ माङ(देवता)ले बचाउँछ भन्ने भएको थियो। मेरो तौल पनि निकै बढेको थियो। तौल अप्रत्याशित रूपमा बढेपछि मेरो आत्मविश्वास पनि स्वत: घटेको थियो। गुलियो चिज एकदम खान मन लाग्थ्यो। अबेर राति रसबरी खाएको अहिले पनि याद आउँछ। पहिलो तीन महिना त केहि खानै मन लागेको थिएन, कमजोरी पनि महसुस गरिरहेको थिएँ।

पछिको महिना चाहिँ आरामले जे खान मन लाग्छ खाएँ। त्यहि बेला मेरो अर्को साथी पनि गर्भवती थिइन्। हामी दुवै गर्भवती भएको कारण एकअर्कासँग कुरा गरिरहन्थ्यौँ।

हाम्रो समाजमा अझै पनि गर्भवती महिलालाई ‘बच्चा पाउन लागेको त हो नि, जसले नि पाउँछ’ भनेर नजरअन्दाज गर्ने गरेको त्यसबेला महसुस गरेँ मैले। मलाई त गर्भवतीमा एकदम फेन्सी कपडा लगाउन मन थ्यो। तर, कोभिडको समय भएकाले त्यो मिस गरेँ। मलाई मातृत्वको  फोटोसुट पनि गर्न मन थियो। तर परिस्थिति मिलेन।

त्यसबेला मेरो खुट्टाहरू सुन्निएर पूरै फर्किन्थ्यो। राति त बाँधेर सुत्नपर्थ्यो। गर्भवतीको समयमा आफू एकदम संवेदनशील भएको महसुस गरेँ। सानो-सानो कुरामा पनि चित्त दुख्थ्यो। पाँच गते डेलिभरीको डेट थियो। १७ गते हुँदासम्म मलाई केहि नभएपछि अस्पताल गयौँ।

अगाडि अर्कै अस्पतालमा देखाइरहेको भएर त्यस अस्पतालमा सुरूमा भर्ना नै लिन मानेन। त्यहाँ गएपछि मलाई श्वास फेर्न गाह्रो भइसकेको थियो। बच्चा ठाडो भएर बसेको कारण तल आउला भन्दा त माथि पो जाला जस्तो भएको थियो।

व्यथा पनि लागेको हो कि जस्तो भयो। बल्ल-बल्ल डाक्टरले हेर्नुभयो। एनेस्थेसियाको सुई लगाउँदा एउटाले मात्र पुगेन। दोश्रो सुई लगाउन परेको थियो। डाक्टरले त्यसबेला मलाई ‘तपाई ड्रग लिनुहुन्छ कि क्या हो?’ भनेर प्रश्न गर्नुभएको थियो।

अप्रेशन गरेको सबै मैले सिसामा देखिरहेको थिएँ। त्यो देखेर त झन् प्रेसर बढेर म बेहोस हुन लागेछु। डाक्टरले त्यसमा पर्दा लगाउनुभयो। केहि मिनेटपछि त उहाँहरूले तपाईंको छोरा भनेर देखाउनुभयो। बाबु त ठूलो थियो। लगभग पाँच केजीको। एकदम स्वस्थ। तर, स्तनपान नगराएसम्म मलाई ऊप्रति आफ्नोपन नै महसुस नै भएको थिएन।

जन्म दिएपछि मलाई त बेस्सरी भोक पो लागेको थियो। श्रीमान्ले त्यसबेला अचम्म मानेर, ‘बच्चा कस्तो छ भनेर सोध्नु छैन, भोक पो लाग्यो भन्छ त!’ भन्नुभएको थियो।

सात दिनपछि त राम्रोसँग काखमा लिन पाएर स्तनपान गराउन पाएकाले होला मलाई बच्चा देख्नेबित्तिकै माया लागेन। कोभिडको समय, त्यसमाथि गर्मी भएकोले म माइती गइनँ। पछि मम्मी नै यहाँ आउनुएको थियो। धेरै आफन्तहरू सँग त त्यसबेला भेटघाट पनि गरेनौँ।

सुत्केरी स्याहार यतै राम्रोसँग भयो। हाम्रो लिम्बु संस्कृतिमा खानामा कुनै रोकटोक छैन रहेछ। मैले अलि बढी फलफुल र साग खाएँ। माछा मासु धेरै भएर त कब्जियत समेत भएको थियो। त्यै भएर सन्तुलन मिलाएर खाएँ।

बाबुको लागि पनि सबै खानाको सन्तुलन म आफैँले मिलाएको थिएँ। आफू आमा बनेपछि महिला भएकोमा छुट्टै गर्भको महसुस भएको थिएँ, मैले। म पनि जननी भएँ, मैले पनि कसैलाई जन्म दिए भन्ने लागेको थियो।

त्यसपछि मैले मेरो आमालाई हेर्ने दृष्टिकोणमा समेत भिन्नता आएको थियो। आमाले हाम्रो लागि गरेको विभिन्न कुराहरू आँखा वरपर डुल्न थाल्यो। बाबु भएपछि आमा र मेरो सम्बन्ध झन् बलियो भएको छ। अहिले आफ्नो साथमा केही भयो भने आमालाई दिन पाए हुन्थ्यो, बाबुलाई दिन पाए हुन्थ्यो भन्ने लाग्छ। अहिले बाबु स्कूल जाने भैसक्यो। तर पनि ऊसँग बिहान छुट्न पर्दा एकछिन नरमाइलो लाग्छ।

सुरूमा स्कूल पठाउँदा त एकदम मनमा चिसो परेको थियो। अफिसमा ब्रेकको समय हुँदा खुर्रर गएर बाबु हेरेर आउँथे। जन्मँदा नै ठूलो जन्मिएकाले अहिले पनि ऊ उमेरभन्दा ठूलै देखिन्छ। एकदम चल्चले स्वभाव छ उसको अनि जिज्ञासु पनि। एक त उमेरले पनि होला, अनि अन्तर्जातीय भएर पनि हुनसक्छ। बाबु भएको तीन महिनापछि नै मैले काम थालिहालेँ। सुरूमा त अलि हेक्टिक नै भएको थियो।

प्राय काम गर्ने महिलाहरूलाई घर र अफिस सम्हाल्न पर्दा गाह्रो हुने गरेको देखेको छु। धेरै प्रेसर भएर कत्ति आमाहरू त डिप्रेसनमा समेत जानुभएको छ। मलाई पनि स्ट्रेस भएर एञ्जाइटी नै भएको थियो।

अफिसमा हुँदा घरबाट फोन आयो भने बाबुलाई केहि भयो कि भन्ने लाग्थ्यो। आमा बनेपछि आफैँ निकै संयम भएको छु जस्तो लाग्न थालेको छ। फजुल खर्च गर्नसमेत पछि नपर्ने म अहिले भने दुई रुपैयाँ भए पनि जोगाउने भएको छु।

हरेक आमाको सन्तानप्रति सपना त हुन्छ नै। मेरो पनि केहि सपना छ। तर, उसले मेरो सपना पूरा गर्नैपर्छ भन्ने छैन। उसले जे गरे पनि मन लगाएर गरोस्, आफ्नो मनको कुरा सुनोस्। सबैभन्दा ठूलो चाहिँ ऊ कुलतमा नफसोस्, त्यत्ति हो। अनि ऊ स्वस्थ भइरहोस्।

समग्रमा भन्नुपर्दा म अझै पनि आफ्नो मातृत्व अनुभवमा रमाइरहेको छु। आमा भएपछि आफैँमा आएको परिवर्तनहरू समेत मलाई रमाइलो लागिरहेको छ।

३० बैशाख, २०८१, १८:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।