७० वर्षीया फोटोग्राफर मैयाँको प्रसव पीडा र खुसी : ३० वर्षको हुँदा चार सन्तानको आमा, जन्माउन भन्दा हुर्काउन गाह्रो

७० वर्षीया फोटोग्राफर मैयाँको प्रसव पीडा र खुसी : ३० वर्षको हुँदा चार सन्तानको आमा, जन्माउन भन्दा हुर्काउन गाह्रो

फोटोग्राफर मैयाँ श्रेष्ठ क्यामरासँग परिचित भएको ४० वर्ष भइसक्यो। उमेरले ७० वर्ष पार गरिसक्दा पनि उनको सक्रियता र कामप्रतिको माया कम भएको छैन। बिहानै उठेर, घरधन्दा सकेर नयाँ सडकमा भएको आफ्नो स्टुडियोमा आइपुग्छिन् उनी। दिनभर फोटो खिच्ने, मिलाउने र धुलाउने गर्छिन्। ३-४ बजे फेरि घरको काम गर्न थाल्छिन्।

नयाँ सडकको पार्किङ हटाएपछि उनको स्टुडियोमा अहिले ग्राहकको खासै चहलपहल छैन। तर, पनि ४० वर्षदेखि फोटो खिच्ने रहरलाई उनले मर्न दिएकी छैनन्। कुनै समय घरमा उनको श्रीमानले मात्र फोटो खिच्थे। त्यो बेलामा पूर्व राजपरिवारले दशैंमा टीका लगाएको र विभिन्न व्यक्तित्वहरूलाई तक्मा लगाइदिएको फोटो खिचिन्थ्यो। अहिले भने छोरासँगै उनले पूरै स्टुडियो सम्हालिरहेकी छिन्।

उनले कम्प्युटरको न कुनै तालिम लिएकी छिन्, न फोटोग्राफी औपचारिक रूपमा सिकेकी छिन्। छोराले जति सिकाए, उनले त्यति नै जानिन्। पछिल्लो समय त फोटो सम्पादन समेत उनी आफैँले गर्न सक्ने भएकी छिन्। 

पाटनमा जन्मिएकी मैयाँ शिक्षिका हुँदै राष्ट्रिय वाणिज्य बैंकमा जागिरे पनि भइन्। सन्तान भएपछि भने सबै काम छोडेर आफ्नै स्टुडियो र घरमै सीमित भइन्। चार सन्तानलाई राम्रोसँग पढाएर, आ-आफ्नो ठाउँमा अब्बल हुनेसम्म बनाइन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्।

000

मेरो बा राणाहरूकोमा काम गर्नुहुन्थ्यो। छोरीहरू मध्येमा म तीन नम्बरमा पर्छु। हाम्रो बाआमाको आठजना सन्तान।  सबैलाई राम्रोसँग पढाउनुभयो। इन्जिनियर, डाक्टर भए। कान्छी बहिनिले त पिएचडी पनि गरिन्। मैले स्नातकसम्म पढेकी छु। त्यतिबेला १८ वर्षमै मेरो स्नातक सकिसकेको थियो। त्यसपछि बिहेको कुरा चलिहाल्यो। स्नातकपछि बिहे गरिदिने चलन थियो। २० वर्षमा मेरो बिहे भयो।

आमाबाले राम्रो छ भने पछि नाइँ भन्ने कुरा भएन। बिहे भएको पनि अहिले ठ्याक्कै ५० वर्ष भइसकेछ। फागुनमा बिहे भएको, अर्को माघमा त मैले छोरी नै जन्माएँ।

चार सन्तान भयो हाम्रो। दुइटा छोरा,दुइटा छोरी। पहिलो छोरी, अनि छोरा, छोरी फेरी छोरा। पहिलो सन्तान हुँदा मेरो उमेर पनि धेरै भएको थिएन। त्यै भएर पहिलोमा अलि गाह्रो भएको महसुस गरेँ।

त्यसबेला काम पनि गर्थेँ। घरमा पनि काम हुन्थ्यो। सासुससुराले घरको काम गरेन भनिरहनुहुन्थ्यो। संयुक्त परिवारमा बस्दा सबैको मन बुझाउन गाह्रो नै हुने रहेछ। चारजना सन्तान मैले संयुक्त परिवार हुँदा नै जन्माएको र हुर्काएको हुँ। पछि त सहज हुँदै गयो। पहिलो पटक गर्भवती हुँदा मलाई थाहा पनि भएन। पछि पेट दुख्दा पो गर्भवती भएको भन्ने थाहा भयो।

त्यसभन्दा अघि एकदम रक्तस्राव भएको थियो। पछि कान्ति हस्पिटलमा जँचाउँदा गर्भवती भएछु। त्यो बेला कत्ति ढिला बिहे गरेको भन्ने गर्थे। अहिले त २० वर्ष भनेको सानै हो नि। मलाई गर्भवती समयमा विशेष खान मन लागेको, गर्न मन लागेको केही पनि भएन।

बैङ्कको काम अफिस र घर गर्दै घरको काम गर्न भ्याइँदैनथ्यो। तर पनि बुहारी भएपछि, सबै बुहारीले नै गर्नपर्छ भन्ने समाजमा सबै भ्याउनुको विकल्प थिएन।

गर्भवती भएको बेलामा पुरै समय काम गर्नुपर्यो। त्यो बेला गर्भवती अवस्थामा के गर्ने, कस्तो हुन्छ भनेर थाहै थिएन। आमालाई सोध्न पनि लाज लाग्थ्यो, लजाउनु पर्थ्यो।

छोरी जन्मिने दिनमा समेत म अफिस गइरहेको थिएँ। प्रसव व्यथा कस्तो हुन्छ भनेर पनि थाहा थिएन। आफ्नो शरीरमा भइरहेको, विभिन्न सोचहरूको बारेमा कुरा गर्न मन लाग्थ्यो। तर लाज लागेर खुरुखुरु अफिस नै गएर बसेँ।

अफिसमा गर्भावस्थामा पनि काम गर्न आएको भनेर साथीहरूले कराउँथे। दिउँसो म अफिसबाट घर फर्किएँ, खाना बनाएर, सबैलाई दिएर बसेको थिएँ। व्यथा लाग्यो। अनि हस्पिटल लागे। हस्पिटल लगेको छोटो समयमै छोरी जन्माइहालेँ।

कार्यालयमा अलिअलि गाह्रो त भइरहेको नै थियो। तर त्यो व्यथा होला भन्ने नै लागेको थिएन। घर आएपछि पो व्यथाले बेस्सरी च्याप्यो। त्यसपछि त केही याद नै छैन।

छोरी नर्मल नै भयो। ब्युँझँदा छोरी काखमा थिइन्। एकदम सानी, गोरी। सानो भएको कारण मलाई त समाउनै डर लाग्यो। एकछिन त अकबक्क परेर बसेँ। पछि आमाले समात भनेपछि पो समाएको। स्तनपान अस्पतालमा गराएको। गाह्रो भएन।

चारै जना छोराछोरीलाई मैले आफ्नै दूध राम्रोसँग खुवाएँ। कान्छी छोरी त झन् पुरै दूध मात्र खुवाएर हुर्किएको। कान्छो छोरालाई उ ठुलो भएको कारण दूध पुग्न गाह्रो भएको थियो। 

पहिलो छोरी भएको दुई वर्ष पछि छोरा भयो। अनि तीन वर्ष पछि फेरी छोरी, फेरी चार वर्षपछि अर्को छोरा भयो। दश वर्षमा चारजना सन्तान भयो। ३० वर्ष हुँदा त म चार सन्तानको आमा भइसकेको थिएँ। जन्माउने बेला धेरै दुख पाएँ, भन्ने लागेको थियो। तर हुर्काउन पनि त्यति नै गाह्रो हुने रहेछ। चार सन्तानलाई हुर्काउनु सानो कुरा होइन। सबै कामहरू त गर्नुपर्ने थियो नै। पछि जेठानीले पनि मलाई सहयोग गर्नुभयो।

दोस्रो सन्तान भएपछि त मैले काम नै छोड्नुपर्यो। दुई जना हुँदा नै बच्चा कसले हेर्छ भन्ने कुरा आइसकेको थियो। चार सन्तान जन्माउने भनेर योजना बनाएको पनि होइन। चार जना भएपछि अब पुग्यो, भनेर नपाउने योजना बनाएको हो।

पहिलो सन्तान हुँदा आफै पनि सानै थिएँ। केही थाहा थिएन। पछि अर्को सन्तान हुने बेलामा त्यही अनुभव काम लाग्यो।

केही भयो भने, किन भइरहेको छ भन्ने अनुमान गर्न सकिन्थ्यो। अनि सजग भएर काम पनि गरेँ। कान्छो  पेटमै ठुलो तौलको भएछ। नर्मल पाउन सकिँदैन कि भनेर अप्रेसन गर्ने कुरा पनि भएको थियो। तर परेन।

त्यसबेला कति गाह्रो भयो भनेर भन्न म सँग शब्द छैन। डाक्टरले नै दुख पायौँ है, भनेका थिए।

सुत्केरी स्याहार घरमा सबै जेठानी दिदी र सासूले गरिदिनुभयो। पछि माइती पनि दुई, तीन महिना बसेँ । हामी नेवारहरूको घिउ र चाकु खाने गर्छ। मलाई फेरी त्यो असाध्यै मन पर्ने। मैले पनि खुब खाएँ। अनि तातो, झोलिलो खाने त भई नै हाल्यो। किमा बनाएर पनि खुब खाएको थिएँ।

श्रीमान् आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो। तर पनि सुत्केरी हुँदा हस्पिटल लानुभयो। त्यसबेला साथमै हुनुभयो। त्यसपछि भने फेरी व्यस्त। सबै बच्चाहरूलाई म आफैले सम्हालेँ । बच्चाहरूलाई स्टुडियोमै पनि लग्थेँ।

बच्चा भए देखि म एक्लै भएर बस्न पनि पाइन। कोही न कोही एक जना मात्र भए पनि म सँग नै हुन्थे। उनीहरूलाई पनि मेरो बानी नै भएर अरूसँग बस्न मान्दैनथे।

उनीहरू हुर्कँदै गर्दा उनीहरूको शिक्षामा पनि म प्रत्यक्ष सहभागी भएँ। रातभर बसेर उनीहरूलाई पढाउने काम पनि गरेँ । श्रीमानले त 'पढेको बिहे गरेको नै त्यै भएर हो' समेत भन्नुहुन्थ्यो। मैले उनीहरूको पढाई बिग्रन दिइन। उनीहरूले पनि राम्रोसँग पढे। अहिले त कान्छी छोरी नै ४० वर्ष कटिसकेकी छिन्। पाँच जना त नातिनातिनै छन्। आमाबाट अहिले हजुरआमाको अनुभव पो हुँदै छ।

कान्छा छोरा र छोरी दुवै बाहिर छन्। एक जना इन्जिनियर भए, कान्छी त न्युरोसाइन्टिस्ट हुन्। ठुलो छोरा र ठुली छोरी यतै छन्। छोरी आर्किटेक्ट हुन्। अनि ठुलो छोरा फोटोग्राफर। उनैले हो मलाई सबै सिकाइदिएको। अहिले दिनभर म बस्छु स्टुडियोमा। अनि साँझ ठुलो छोरा आएर हेर्छ।

सबै छोराछोरी आ-आफ्नो क्षेत्रमा राम्रो गर्दैछन्। अब हाम्रो काम सक्यो भन्ने लागेको, नातिनातिना झन् बढी माया हुने रहेछ।

उनीहरूलाई पढाउन मलाई निकै गाह्रो भयो। जे भए पनि उनीहरूले पनि राम्रो पढे। सबैले आ-आफै छात्रवृत्तिमा पढेको हो। मलाई असल आमा हुन उनीहरूले पनि साथ दिएका छन्। समय गएको पत्तै नहुने रहेछ। आमा हुन निकै गाह्रो रहेछ। तर, एकदम खुसी छु। सन्तुष्ट छु। ठुलो छोरालाई अझै राम्रोसँग पढाउन सकिन। त्यसमा कहिलेकहीँ चित्त दुख्छ।

उ हुर्कँदै गर्दा उसको बाबालाई सन्चो भएन। दुई तीन पटक त ह्रीदयघात नै भएको थियो। त्यै भएर उसले पनि घरको जिम्मेवारी सम्हाल्नुपर्यो। पढाइमा अरू सन्तान जसरी उसलाई मैले गर्न सकिन।

उसले कमर्स पढेको छ । उसलाई पनि अरूले जसरी पढ्न सकिन भनेर खड्किएको रहेछ। त्यसबेला चैँ मलाई पनि साह्रै नराम्रो लाग्यो। धेरै कुरा राम्रो गर्न खोज्दाखोज्दै पनि केही कतै चुकिने रहेछ।

मैले उसलाई त्यस्तो छुट्टाउन खोजेको त होइन। उसलाई पनि उति नै माया गर्छु। उसले पनि मलाई धेरै माया गर्छ। अहिले पनि यहाँ उनै हाम्रो साथमा छ। मलाई घरको काममा समेत उसले सघाउँछ।

सबले किन पसल गइराखेको, अब त बुढी भइसक्यो भन्छन्। तर मलाई म बुढी भएको जस्तो लाग्दैन। समय त छिट्टै सकिने रहेछ। सानी बोक्न समेत डर लागेको छोरी नै अब केही वर्ष पछि ५० वर्ष हुँदैछ। अहिले बल्ल बुढी भइसकेछु जस्तो लाग्छ। तर पनि मलाई म बुढी भएँ भनेर बस्न मन लाग्दैन। सिक्न मन लाग्छ। फोटो सम्पादन बल्ल सिकेको छु। छोराले पनि दङ्ग भएर सिकाउँछ। आमालाई जे सिकाए पनि सबै आउँछ, भन्छ।

पहिला उसलाई मैले सिकाउँथेँ। अहिले त उसले मलाई सिकाउँछ। छोराले गरेरै मैले काम गरेको हो।

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

चैत ११, २०८० आइतबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।