पोखरामा खोया खुवाउने रवि-जीवीको सम्बन्ध, सुर्यदर्शन ठगीमा जोडिएको छ रविको 'ड्रिम प्रोजेक्ट' ग्यालेक्सी

पोखरामा खोया खुवाउने रवि-जीवीको सम्बन्ध, सुर्यदर्शन ठगीमा जोडिएको छ रविको 'ड्रिम प्रोजेक्ट' ग्यालेक्सी
ग्यालेक्सी टेलिभिजनमा रविलाई स्वागत गर्दै जीवी।

काठमाडौँ : पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा पार्टीको कार्यक्रममा भाषण गरिरहेकोबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक जनाले मकैको खोयाले हानेका छन्।

*रानाभाटले उनलाई खोयाले हानेका थिए। रानाभाटले प्रहरीसँग आफू सूर्यदर्शन सहकारीको बचतकर्ता भएको दाबी  गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाका अनुसार रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

सहकारी विवादमा रविको पटक-पटक आलोचना हुने गरेको छ। तीनकुनेमा सहकारी पीडितहरूले गरेको प्रदर्शन अनि चितवनमा भएको प्रदर्शनमा समेत सहकारीका वचनकर्तामाझ रविको आलोचना भएको थियो।

सहकारी ठगीसँग रविको साइनो पुरानै हो। त्यसमा पनि शुर्यदर्शन सहकारीको अपचलनमा रवि प्रतिवादी त हैनन् तर अछुतो भने छैनन्। एक हजार ३६ जना बचतकर्ताको रकम हिनामिनामा जोडिएका छन् गितेन्द्रबाबु(जीवी) राई।

जीवी त्यही व्यक्ति हुन् जसलाई लिएर रविले ग्यालेक्सी टेलिभिजन खोलेका थिए। रविकै सक्रियतामा ग्यालेक्सी टेलिभिजन खुलेको तथ्य लुकेको विषय हैन। यो उनले पनि स्वीकार गरेकै पक्ष हो।

ग्यालेक्सी टेलिभिजन खुल्नेक्रममा नै जीवी राईको सक्कली धन्दा सार्वजनिक भइसकेको थियो। उनी अवैध नेटवर्किङको व्यवसायमा सक्रिय रहेको र शङ्कास्पद आर्थिक कारोबारमा संलग्न रहेको सार्वजनिक हुँदा पनि त्यसले रविलाई कुनै फरक परेन। उनले टिम बनाएर टेलिभिजनलाई चर्चामा ल्याउन सक्रिय भइराखे।

ग्यालेक्सी टेलिभिजनको माउ संस्था हो गोरखा मिडिया नेटवर्क। यो कम्पनीसँग पोखराको शुर्यदर्शन सहकारीको बचतकर्ताको बचत ठगीमा जोडिएको छ।

अनुसन्धानमा एक अर्ब बढीको अपचलनमा गोर्खा मिडिया नेटवर्कको नाममा धितो नै नराखी सहकारीबाट दुई करोड ३० लाख ८९ हजार ऋण गएको खुलिसकेको छ। सो रकम ग्यालेक्सी टेलिभिजन सञ्चालनमा खर्च भएको देखिन्छ।

जीवी एक मात्र हैन आधा दर्जन बढी सहकारीमा संलग्न छन्। त्यसमध्ये दुई सहकारीको अनुसन्धान सकिएर मुद्दा अदालत पुगेता पनि उनी फरार छन्। जिल्ला अदालत पर्सामा दायर भएको मुद्दा सानो पाइला बचत तथा सहकारी संस्थाको हो। यो सहकारी पनि जीवी समूहकै हो। यो सहकारीको बचतकर्ताको बचत जोखिममा पर्नुमा पनि ग्यालेक्सी टेलिभिजन जोडिएको छ नै।

ग्यालेक्सी आर्थिक सङ्कटमा फस्दै गयो। यता स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र र नयाँ दलको पक्षमा माहौल बन्न सक्ने देखेपछि रवि राजनीतिमा आए। प्रतिनिधि सभाको निर्वाचनमा चौथो राजनीतिक शक्तिको रूपमा उदाए पनि। तर उनले अन्य विषयमा जसरी चर्को बहस गर्छन् सहकारी ठगीको विषयमा सकेसम्म बोल्दैनन्। बोल्नै परे पनि नरम बोल्छन्।

ठगहरूबारे चर्को आलोचना गर्ने उनको स्वभावकै हो। तर सात सहकारीमा रहेको लाखौँ बचतकर्ताहरूको १६ अर्ब हाराहारीको बचत रकम ठगीमा संलग्न जीवी राईबारे उनी अहिलेसम्म बोलेका छैनन्।

कास्कीमा जीवी राईसँगै उनकै दाइ भूपेन्द्र राई, कोषाध्यक्ष कुमार रम्तेल, थानबहादुर बुढा, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), कैलाश दर्लामी, धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङविरुद्ध मुद्दा दर्ता भएको छ। यीमध्ये रम्तेल पक्राउ परेर पुर्पक्षका लागि कारागार गएका छन्। उनलाई पनि उच्चबाट धरौटीमा निकाल्ने चलखेल जारी छ।

उता सानोपाइला सहकारी ठगीमा जिल्ला अदालत पर्सामा जीवी सहित उनकै भाइ अनन्तबाबु राई, उपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्रबाबु राई, पूर्व सचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्य थान बहादुर बुढा मगर, धिरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अली सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध मुद्दा दायर भएको छ। यो मुद्दामा पनि जिबीसहित अधिकांश फरार छन्।

जीवी समूह यी दुई सहकारीसँगै काठमाडौँमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समानता बचत तथा ऋण सहकारी संस्था र चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था समेत छ।

चितवनमा रहेको सहारा सहकारीका बचतकर्ताहरू समेत ठगिएका छन्। त्यहाँका बचतकर्ताहरूले पटक पटक विरोध प्रदर्शन गर्दा समेत उनीहरूको सांसद रविबाट साथ पाएका छैनन्। सहकारी ठगीबारे नबोलेको भन्दै सहारा सहकारीका बचतकर्ताहरूले रविको आलोचना समेत गरेका थिए।

तर जति आलोचना भए पनि सहकारी ठगीमा अप्रत्यक्ष रूपमा आफूसमेत जोडिएकाले उनी मौन नै बस्छन्। बोल्दैनन्। त्यसको परिणाम शनिवार पोखरामा खोयाको झट्टी खाए उनले।

रवि राजनीतितिर लागे। सहकारी ठगीमा मुद्दा अदालत पुगेपछि जीवी राई फरार भएपछि ग्यालेक्सी टेलिभिजनका कर्मचारीले सात महिनादेखिको पारिश्रमिक पाएका छैनन्। लामो समय पारिश्रमिक नपाएको भन्दै सञ्चारकर्मीहरुले काम रोकेपछि अहिले नाम मात्रको प्रशारण भइरहेको ग्यालेक्सीको। 

*सहकारीबारे भाषणको क्रममा खोया नहानी पहिला नै हानेको देखिएकाले सो प्रसङ्ग संशोधन गरिएको छ।

७ पुस, २०८०, १८:३६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।