दुई जिल्लाबाट पुर्जी जारी हुँदा पनि पक्राउ परेनन् ग्यालेक्सीका जिबी, रम्तेल मात्र थुनामा

दुई जिल्लाबाट पुर्जी जारी हुँदा पनि पक्राउ परेनन् ग्यालेक्सीका जिबी, रम्तेल मात्र थुनामा

पोखरा : सहकारीको आवरणमा बचतकर्ताको रकम ठगी गरेको भन्दै सूर्य दर्शन सहकारीका एक हजार ३५ बचतकर्ताले प्रहरीमा उजुरी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानमा ठगी रकम १ अर्ब ११ करोड देखियो अनि ठगीमा संलग्न १९ जना। तर अदालतमा अभियोग पत्र दर्ता हुँदा १८ जना फरार सूचीमा थिए। पक्राउ परेका एक जना मात्रै।

बिहीबार दर्ता भएको अभियोग पत्रमा सहकारीका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, शिव बहादुर गुरुङ, सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङलाई प्रतिवादी बनाइएको छ।

यीमध्ये कुमार रम्तेल मात्र पक्राउ परेका थिए। शुक्रवार अदालतले उनको बयान लिइसकेको छ। आइतबार रम्तेलबारे थुनछेकको आदेश आउने सम्भावना छ।

ठगीको मुख्य योजनाकार देखिएका गीतेन्द्रबाबु ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन्। पक्राउ परेका रम्तेल उपाध्यक्ष छ।

जो जति ठगीमा फरार उल्लेख गरिएको छ उनीहरूमध्ये अधिकांश नेपालभित्रै छन्। तर कोही पक्राउ परेनन्। सबैलाई फरारकै सूचीमा राखेर प्रहरीले प्रस्तावित राय सुझाव बुझायो। त्यही आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गर्यो।

बिगो कायम गर्दा व्यक्तिले गरेको कसुरको आधारमा भन्दा सगोलमा १९ जनाकै नाममा कायम गरिएको छ। पक्राउ परेका रम्तेल सो सहकारीका कोषाध्यक्ष हुन्। यस्तै प्रकृतिको अधिकांश मुद्दामा प्राय पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएका छन्। तर सुर्यदर्शनको मुद्दा सुरु भएदेखि नै चलखेल देखिएकाले आइतबार आउनसक्ने थुनछेकको आदेश यसै भन्न सकिने अवस्था छैन।

उता जिवी राईविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले समेत पक्राउ आदेश जारी गराएको छ। जिवी समूहकै सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको आरोपमा १३ जना विरुद्ध पक्राउ आदेश जारी भएको छ।

सहकारीकी निवर्तमान उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर, सहकारीका पूर्वकोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्यहरू देवेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, पूर्व उपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलिको नाममा पक्राउ आदेश आइसकेको छ।

पर्सा प्रहरीले कर्जा अधिकृत राधेचन्द्र यादव पक्राउ गरेको छ। रम्तेल कास्कीको हिरासतमा छन्। पर्साले पनि मुख्य नाइके देखिएका जिबी राई लगायतकाहरुलाई पक्राउ गर्न सकेको छैन।

जिबी समूह यी दुई सहकारीमा मात्रै अन्य सात बढी सहकारीको गरी साना बचतकर्ताहरूको १६ अर्ब बढी रकम अपचलन गरेका छन्। उनीहरू संलग्न रहेका सबै सहकारीले अहिले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्। 

१९ असोज, २०८०, ००:३३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।