रूक्मिणी घिमिरेको प्रसव पीडा र खुसी : आफैं यति सानो छु, मेरो बच्चा कसरी जन्मिन्छ होला भन्ने लागिरहन्थ्यो

रूक्मिणी घिमिरेको प्रसव पीडा र खुसी : आफैं यति सानो छु, मेरो बच्चा कसरी जन्मिन्छ होला भन्ने लागिरहन्थ्यो

झन्डै १७ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनमा आवद्द रूक्मिणी घिमिरेलाई यसपालि अलि धेरै दशैं लाग्यो। दशैंको बेला स्पेशल स्टल लाग्ने हुँदा उनी त्यहीं व्यस्त हुन्छिन्। उनी यहाँको प्रमुख सहायक हुन्। यहाँको एउटा पसलको स्टल उनैले सम्हाल्ने गर्छन्।
 
यसअघि केही विद्यालयमा पढाएकोसमेत अनुभव संगालेकी छन् उनले। तर, गर्भवती भएको समयमा विद्यालयले छुट्टी दिन नमिल्ने भएको कारण उनले त्यो कामनै छोड्न परेको रहेछ। काठमाडौंमै जन्मिएकी उनको बाबाको सानैमा देहान्त भएपछि 'एकल आमा'को हेरचाहमा हुर्किएकी हुन्।
 
एसएलसी सक्किनेबित्तिकै विवाह अनि बच्चा भएपछि उनको जीवननै परिवर्तन भयो। उनी अहिले दुई सन्तानकी आमा हुन्। अझै पनि परिवार र कामलाई सँगै अगाडि लागिरहेकी छिन्। 

उनै रूक्मिणीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी सुनाइन् :

000

माघमा हाम्रो एसएलसीको परीक्षा थियो। फागुनमा त मेरो बिहे भइनैहाल्यो। अनि म बिहेपछि सर्लाही पुगें। सानै त थिएँ, त्यसबेला केही पनि थाहै नहुने। बिहेपछिनै काम गर्न थालेकी हुँ। दुई वर्षपछि त सन्तान पनि भइहाल्यो। 

मेरो पहिलो सन्तान चाँडै भयो। सानैमा बच्चा भयो। बच्चा पनि हुर्किँदै गयो। घर अनि बच्चा हेर्ने र आफू पनि पढ्नै पर्ने, यसैगरी बित्यो त्यो एक समय। 

विवाहपछि अब के हुन्छ, कसरी काम गर्ने भनेर त सोच्न पनि सकेकी थिइँन। पछि स्वास्थ्य परीक्षणपश्चात् गर्भवती भएको थाहा पाएँ। पहिला ममीलाई भनें अनि घरमा सबैलाई सुनाएँ। 

तुलनात्मक रूपमा ठुलो परिवारमा अलि बढी अप्ठ्यारो थियो नै। सबै काम गर्नै पर्थ्यो। अहिलेको जस्तो आराम गर्ने, यस्तो खाने, गर्न हुने/नहुने भन्नेनै केही भएन। गर्भवतीको समयमा जसरी हामीभन्दा अगाडीको आमाहरूले गर्दै आउनु भयो मैले पनि त्यहिनै गरेकी हुँ।
 
गर्भावस्थामा कमजोरी त हुन्थ्यो नै। कम उमेरले गर्दा पनि हो कि जस्तो लाग्छ अहिले। त्यसबेला जम्मा १७ वर्षकी थिएँ कि, अहिले हेर्दा त ओहो त्योबेला त म धेरै सानो रहेछु भन्ने लाग्छ नि!

अहिले त बीस/पच्चीस वर्षसम्मको मान्छेलाई पनि हामी सानै देख्छौं। त्यसबेला त एउटा महिलाको बिहे भएपछि घरको सम्पूर्ण जिम्मेवारीनै उसको हुन्थ्यो। सबै एक्लै गर्नुपर्ने। अहिलेको पुस्ताले त्यति साह्रो त गर्न पर्दैन। आफ्नो बालापन त त्यत्तिकै गएछ भन्ने पनि लाग्छ कहिलेकाहीँ। अहिले सम्झिँदा त यो समयमा चैं जन्मिनु पर्ने रहेछ भन्ने पो ख्याल आउँछ!

गर्भवतीको समयको मनोविज्ञान अलि अनौठो हुने रहेछ। त्यस्तो बेला घरको मान्छेले केही भने कि चित्त दुखिहाल्ने। अलि बढी संवेदनशील हुने रहेछ। संयुक्त परिवारमा भएकाले धेरै मान्छेका धेरै भावनाहरू हुने नै भए, त्यसबाट पनि आजित हुन्थें बेला-बेला। 

त्यसबेला अहिलेजस्तो फुत्त गएर केही लिएर खाउँ भन्नेनै हुन्थेन। त्यै भएर मैले गर्भवतीको समयमा विशेष त्यस्तो केही खानेकुरा खाएको जस्तो पनि लाग्दैन। साधारण दिनमा घरमा जे हुन्थ्यो त्यहिनै खानुपर्यो। 

मनमा चाहिँ सधैं म यति सानो छु, मेरो बच्चा कसरी जन्मिन्छ होला, उसलाई कसरी हुर्काउने होला भन्ने लागिरहन्थ्यो। नौ महिनाको गर्भवती हुँदासम्म पनि म जम्मा ५० किलोको मात्र थिएँ। तर, बाबु तीन केजी भन्दा बढी तौलको जन्मियो।

उसलाई मैले घरमै जन्म दिएको हुँ। हाम्रो घरबाट हस्पिटल पनि टाढा थियो। पछि डाक्टर घरमै आउनु भएको थियो। तर, डाक्टर आउनुभन्दा ठ्याक्कै अगाडि मैले बाबुलाई जन्म दिइसकेकी थिएँ। दिउँसो दुई बजेदेखि ढाड, पेट दुख्न थाकेको थियो। राति दश बजे त बाबु जन्मियो।
 
मेरो प्रसवको समयमा बुढीसासू, सासू अनि दुईजना जेठानी त हुनुहुन्थ्यो तर, श्रीमान चैं कामले बाहिर जानु भएको थियो। उहाँलाई त्यसबेला मैले खूब 'मिस' गरें। 
 
स्तनपान सुरूमा केही अप्ठ्यारो भएको त थियो। तर, बिस्तारै सहज हुँदै गयो। सुत्केरी स्याहार पनि राम्रो पाएँ। २०/२२ दिनपछि यहाँ आएको अनि पाँच/छ महिनानै बसें। पछि बिस्तारै हामी काठमाडौं नै बस्न थालेका हौँ।
 
आमा भएपछि आफू झन् धेरै भावुक भएको जस्तो लाग्छ। उनीहरूलाई बढी समय दिनुपर्ने, आफ्नो त केही मतलब नै नहुने रहेछ। समय गएकै थाहा नहुने। सबैलाई सन्तुलनमा राखेर अघि बढ्नु निकै चुनौतीपूर्ण रहेछ नि! 

अनि बाबु पाँच/छ वर्ष भएपछि मैले काम पनि गर्न थालेकी हुँ। एउटा मात्र सन्तान हुँदा फेरि समाजमा सबैले 'एउटा मात्र' भयो भन्न थाले। सुरूमा मलाई अर्को पनि जन्माउनु पर्छ भन्ने त लागेको होइन। तर, बाबु दश वर्ष भएपछि फेरि गर्भ रह्यो। 

दोस्रोपटकको त्यो बेलामा उमेर, अनुभव अनि जिम्मेवारीसँगै शारीरिक र मानसिक हिसाबले म निकै परिपक्व भएछु। त्यै भएर हो कि, मलाई दोस्रो पटकको गर्भावस्थामा पहिलोको जति गाह्रो भएन। अनि दोस्रोमा त यहीं भएको कारण डेलिभरीको समयमा हस्पिटलनै गयौं।
 
त्यसबेला चैं साँझ प्रसव व्यथा लाग्यो। अनि बिहान त मैले उसलाई जन्म दिइसकेकी थिएँ। घरमा भन्दा बढी मलाई हस्पिटलमा सहज पनि लागेको हो। हामी संयुक्त परिवारबाट एकल भइसकेको कारण पनि मलाई त्यति अप्ठ्यारो भएन। 

मलाई अलि बढी चिसो लाग्छ। त्यै भएर खुट्टा पनि एकदम दुख्थ्यो। खुट्टा दुखेकै कारण मैले दोस्रोपटक गर्भवती हुँदा काम छोड्नु परेको हो। अनि पुरै रेस्ट पनि गरें। पहिलोमा जेजेको अभाव महसुस थियो, त्यो सबै मैले दोस्रोमा पुरा गरें। दुवै सन्तानलाई राम्रोसँग समय दिएँ। आफूले पनि कमाउन थालेपछि झन् सहज हुनेनै भयो। 

आफ्नो मातृत्व अनुभव सम्झिँदा आफैंलाई एकदम रमाइलो राम्रो लाग्छ। पहिलो पटक उनीहरुलाई देख्दा, उनीहरुको स्पर्श गर्दाको पल त म वर्णन पनि गर्न सक्दिनँ। दोस्रोपटक आमा बन्दा त मलाई 'अब चैं पक्का आमा बने है' भन्ने लागेको थियो। नत्र पहिलोपटक आमा हुँदा त म आमानै भएको छैन, मैले बच्चा पाएकै होइन भन्ने लाग्थ्यो नि!  
 
एउटा मात्र सन्तान हुँदा उसले पनि एक्लो महसुस गरेको हो कि जस्तो लागेको थियो। दुईजना भएपछि उनीहरुको आफ्नै कोहि छ भन्ने भयो।

उनीहरू हुर्किँदै जाँदा ठुलो चैं ठुलो अनि सानो चैं अझै सानै छ भन्ने जस्तो पनि लाग्ने रहेछ। मेरा दुवै बाबु एकदम ज्ञानी छन्। उमेर अन्तरको कारणले पनि होला, उनीहरुको कुराहरू मिल्दैन थ्यो पहिला। अब त दुवै हुर्किसके। आफैं-आफैं मिल्छन्। 

सानो १२ कक्षामा पढ्दै छ। ठुलो स्नातकोत्तर सक्काएर बसेको छ। अब त उनीहरू आ-आफ्नो काम गर्न सक्छन्। हामी घरमा भएन भने पनि उनीहरुले पकाएर खान सक्छन्, त्यत्तिमै खुसी छु। 

दुइटा छोरा भएपछि एउटा छोरी भन्ने कुरा आए पनि अब अहिलेको जमानामा दुइटा भन्दा बढी सन्तान ठिक हो जस्तो लाग्दैन। उनीहरुलाई शिक्षा दिन पनि त जरुरी छ। त्यै भएर मैले त अर्को पाउनुपर्छ भनेर सोच्दै सोचिँन। अहिले त उनीहरू मेरा साथी जस्तै छन्। हामी एकअर्काका कुराहरू शेयर गर्छौं। कत्ति कुरा त् उनीहरूले हामीलाई नै सिकाइरहेका हुन्छन्।

प्रसव पीडाका यसअघिका सामग्री 
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
 

 

असोज १९, २०८१ आइतबार १८:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।