शिक्षिका शोभाको प्रसव पीडा र खुसी : सुत्केरी हुँदा भेट्न आउनेहरूले बाबुको आँखै च्यातेर 'देख्छ कि देख्दैन' भन्दै हेर्थे

शिक्षिका शोभाको प्रसव पीडा र खुसी : सुत्केरी हुँदा भेट्न आउनेहरूले बाबुको आँखै च्यातेर 'देख्छ कि देख्दैन' भन्दै हेर्थे

शोभा पौडेल जन्मिएको छ महिनाको हुँदा उनका आमा-बाले ‘छोरीको आँखामा केही समस्या भएको हो कि’ भनेर अस्पताल लगे। नभन्दै उनको आँखामा समस्या  देखियो। तत्काल आँखाको अप्रेशन गरियो तर, उनको आँखाको समस्या कम हुनुको सट्टा झन् बल्झियो। 

त्यसपछि उनलाई लामो समय अस्पताल लगिएन। फेरि अर्को आँखामा पनि समस्या आएपछि चाहिँ अर्कै अस्पताल लगियो। त्यहाँ उनको दोस्रो आँखाको पनि अप्रेशन भयो। तर, अप्रेशनपछि पनि उनले अँध्यारो र उज्यालो छुट्याउन सकिनन्। अर्थात् केही देख्नै सकिनन्। 

दिदीहरूसँग पढ्न जाँदा साथीहरूको बहिष्कारले उनलाई आफैंमा हीनताबोध हुन थाल्यो। पढ्न मन लागे पनि दश वर्षको उमेर भएपछि मात्र उनले विद्यालय जान पाइन्। प्रविधिमैत्री नभएको विद्यालयमा उनले निकै मिहिनेतका साथ पढिन् अनि एसएलसीमा राम्रो नम्बर ल्याउन सफल भइन्।
 
एसएलसी सकेपछि बिहेको कुरा आयो। बिहे भयो पनि। अनि त्यसपछि घर गृहस्थीसँगै पढाइलाई पनि निरन्तरता दिँदै उनले पढाउने काम पनि गर्न थालिन्। २०६५ देखि विद्यालयमा पढाउन थालेकी उनले २०७९ देखि भने दरबन्दीमा नाम निकालिन्। 

उनी अहिले दुई सन्तानकी आमासमेत हुन्। उनै शोभाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन् :

000

म अहिले पोखराको एक सामुदायिक विद्यालयमा पढाउने काम गर्छु। यसअघि कास्कीको मादी गाउँपालिकाको एक विद्यालयमा पढाउँथे। पछिल्लो समय कम्मर मुनिको नशामा समस्या आएपछि धेरै हिँड्न नमिल्न भयो।  

मेरो बाबा सानैमा बित्नु भयो। आमा खेतिपाती गर्नु हुन्थ्यो। हामी धेरै दाजुभाइ-दिदीबहिनी छौं। ढिला पढे पनि मैले पढाइलाई भने निरन्तरता दिइरहन सकेँ। एसएलसी सकिनेबित्तिकै मेरो विवाह भयो। हामी एकअर्कालाई पहिल्यैदेखि चिन्थ्यौ। 

मेरो श्रीमान् त्यसबेला रेडियो कार्यक्रम चलाउनु हुन्थ्यो। उहाँले ब्रेल लिपीबाट पढ्न सक्नु हुन्छ। तर, म त त्यति पनि सक्दिनँ। उहाँ पनि मादी गाउँपालिकाकै हुनुहुन्छ। गाउँ जान अप्ठ्यारो भएपछि हामी पोखरामै बस्दै आएका छौं। 

पहिला होस्टेलमा बसेर पढेको, बिहेपछि सबै जिम्मेवारी लिनु पर्दा निकै गाह्रो भएको थियो। सुरुमा आर्थिक समस्या झेल्नु पर्यो। कसरी, के व्यवस्थापन गर्ने भन्ने नै थाहा थिएन। अहिले पनि देख्ने मान्छेलाई भन्दा त गाह्रै छ। तर प्रविधिले गर्दा पहिलाको भन्दा धेरै सहज भएको जस्तो लाग्छ। 

बिहे भएकै अर्को वर्ष बाबु पेटमा रहिहाल्यो। गर्भ रहँदा म त निकै डराएकी थिएँ। आफू आमा बन्न लागेकोमा खुसी भन्दा बढी अरूले ‘नदेख्ने भएपछि किन बच्चा जन्माउनु पर्यो, यस्ताको बच्चा कस्तो हुन्छ होला!’ भन्छन् भनेर बेचैन हुन्थेँ। अहिले जस्तो दृष्टि विहीन साथीहरूले त्यसबेला बिहे गर्नु र बच्चा जन्माउनु सामान्य मानिँदैन थियो। त्यै भएर पनि होला, त्यसबेला ममा सामाजिक र मानसिक रुपमा त्यसको निकै असर परेको रहेछ भन्ने लाग्छ अहिले। 

म गर्भवती भएको अरूलाई थाहा नहोस् भनेर निकै सतर्क हुन्थेँ। मानसिक भन्दा पनि सामाजिक चिन्ता बढी थियो। अरूले देख्छ कि भनेर म त ट्वाइलेट पनि अरूको अगाडि जाँदिनथेँ। कसैसँग घुलमिल गर्न मन लाग्दैनथ्यो। मैले त आफ्नो खुसी व्यक्त गर्न नै सकिँन नि!

त्यसबेला मलाई मात्र होइन, मेरो श्रीमानलाई पनि त्यही डर लागेको रहेछ। अझ केहीले ‘बच्चा पनि अन्धोपन भएकै जन्मिछ’ समेत भनेका थिए। हामीले यस बारेमा डाक्टरसँग परामर्श पनि गर्यौँ। डाक्टरले हामी दुवै जनाको आँखामा पछि समस्या भएको र जेनेटिक समस्या नभएको कारण बच्चामा कुनै असर नहुने भनिसकेका थिए।

तर, अरूले हामीलाई डर देखाई रहे। त्यति मात्र हो र, सुत्केरी हुँदासमेत मलाई हेर्न आउनेहरूले बाबुको आँखै च्यातेर 'देख्छ कि देख्दैन' भन्दै हेर्ने गर्थे, मैले अझै बिर्सेको छैन। 

गर्भवतीको समयमा मलाई निकै आइसक्रिम खान मन लागेको थियो। तर, त्यसबेला आइसक्रिमको १५ रूपैयाँ पर्थ्यो। फेरि बिहे भएदेखि नै हामी श्रीमान श्रीमती मात्र थियौं, त्यसैले धेरैखाले अभावहरू थिए। म निकै एक्लो महसुस गर्थेँ। आमालाई खूब सम्झें त्यो बेलामा। 

त्यस्तो बेलामा कसैले कर गरेर खुवाइदियोस्, कोहि आफ्नो नजिक भइरहोस् भन्ने लाग्ने रहेछ। गन्ध आएको कारण खाना बनाउन पनि सक्दिन थिएँ। त्यसो त म आफैं त्यसबेला १९ वर्षकी मात्र थिएँ। श्रीमानलाई पनि केही थाहा नभएको अनि के गर्ने/नगर्ने भन्नेमा हामी अन्योलमा हुन्थ्यौँ।
 
त्यो बेलामा हाम्रो खासै काम नभएको कारण एकअर्कालाई समय चाहिँ दिन्थ्यौँ। शुरूको महिनामा त मेरो तौल घटेको थियो। अन्तिम महिनामा पनि त्यति धेरै बढेको थिएन। नौ महिनासम्म आइपुग्दा पनि म जम्मा ४८ केजीको मात्र थिएँ। 

त्यस दिन श्रीमान् कार्यक्रमको लागि बाहिर जानु भएको थियो। अहिलेको जस्तो हातमा मोबाइल थिएन। मलाई त रातभर निकै पेट दुख्यो। डेलिभरीको समय अझै बाँकी थियो। त्यै भएर मैले त अलिअलि दुखेको मात्र होला भन्ने सोचें। पखाला लागेको जस्तो पनि हुन्थ्यो। 

अस्पताल जान सबै सामान पहिल्यै तयार गरिसकेको भएर मलाई सहज भयो। भोलिपल्ट डेरामा बस्ने दिदीहरूले प्रसव व्यथा नै होला भनेर ट्याक्सीमा हालेर अस्पताल पठाउनु भयो। त्यहाँ जानुअघि तातोपानी खाएको थिएँ। अस्पताल पुग्नेबित्तिकै बान्ता भयो। बान्ता भएको देखेर मलाई तुरुन्तै भर्ना गर्ने कुरा भयो।
 

सानो बाबु भन्दा अगाडि पनि मेरो गर्भ रहेको थियो। तर, त्यो बेला बच्चा पाठेघरको पिँधमा बसेको भएर गर्भपत गर्नुपर्यो। त्यसले गर्दा मलाई निकै गाह्रो भएको थियो। त्यसपछि हामीले त अर्को बच्चाको बारेमा सोचेका थिएनौँ। 

त्यही बेला मैले त बाबुलाई जन्म दिइहालें। सुत्केरी कक्षमा सबै जना कराइरहेका थिए, चिच्याइरहेका थिए। मेरो त छिट्टै जन्मिएको कारण उनीहरू चिच्याएको सुन्दा झिंझो लाग्यो। बाबु जन्मिएपछि शारीरिक र मानसिक रुपमा एकदम हल्का महसुस गरेकी थिएँ। बरु कान्छोलाई जन्म दिने बेला चाहिँ उसको टाउको ठूलो भएको कारण मलाई निकै गाह्रो भएको थियो। 

स्तनपानमा पनि सुरुमा त निकै गाह्रो भएको थियो। बाबुले दूध तान्न जानेन। अनि केही दिन उसलाई त ल्याक्टोजन पनि खुवाएको हो। ल्याक्टोजन पनि कति धेरै महँगो, यो सधैं खुवाउन पर्यो भने गाह्रो हुन्छ भनेर पनि त्यसपछि मैले त बाबुलाई आफैं दूध खुवाउन थालें। 

बाबु जन्मिएको तीन दिनपछि मेरो परीक्षा थियो। आमालाई बाबु छोडेर म परीक्षा दिन गएँ। दूध नबगोस् भनेर बाक्लो सुतीको साडीको टालोहरू कपडा छातीमा राखेर गए पनि पुरै भिजेर गाह्रो भएको थियो। त्यसरी परीक्षा दिए पनि पास त गरें। सुत्केरी स्याहार पनि राम्रै भयो। सानो बाबु हुँदा त आर्थिक रुपमा अलि सबल थियौं।
 
सानो बाबु भन्दा अगाडि पनि मेरो गर्भ रहेको थियो। तर, त्यो बेला बच्चा पाठेघरको पिँधमा बसेको भएर गर्भपत गर्नुपर्यो। त्यसले गर्दा मलाई निकै गाह्रो भएको थियो। त्यसपछि हामीले त अर्को बच्चाको बारेमा सोचेका थिएनौँ। 

तर, फेरि गर्भ रहिहालेछ। त्यस बेलासम्म सबैले दुइटा त चाहिन्छ भन्नुभएको थियो। हामीले पनि एउटा चाहिँ छोरी होस् भन्ने सोचेका थियौं। पहिलो भन्दा दोस्रो गर्भावस्थामा एकदम फरकपन पाएको भएर मलाई त छोरी नै छ होला भन्ने लागेको थियो। 

अस्पतालमा जाँदा बेड छैन भनेर हामीलाई त त्यहाँबाट पठाउन लागिएको थियो। तर, घरहरू खुलिसकेको भएर मलाई भर्ना गर्दिहाले। त्यसको केहिबेरमा दोस्रो सन्तानको रूपमा सानो बाबुलाई जन्म दिएँ। डेरामा बसेर सानो बच्चा स्याहार्नु अर्को चुनौती रहेछ। उनीहरुको कपडा धोइराख्नु पर्ने, धोइहाले पनि सुकाउनको लागि अर्को समस्या। अझ दुईजना हुर्काउन त धेरै गाह्रो हुने रहेछ।
 
अहिले ठूलो बाबु १९ वर्षको भइसक्यो। अर्को दश वर्षको भयो। तरपनि मलाई दुवै साना छन् जस्तो लाग्छ। बरू सानो हुँदा उनीहरुलाई आफ्नै हिसाबले खुवाएर, सुताएर काम गर्न पाइन्थ्यो। तर, अहिले उनीहरू आफ्नो हिसाबले चल्छन्। बेला-बेला त उनीहरुको हिसाबमा चल्न पनि निकै गाह्रो हुन्छ।
 
दुवै जनाको स्वभाव एकदम भिन्न छ। ठूलो बाबु धेरै कुरा गर्न खोज्दैन। सानो एकदम खेलप्रेमी छ। हामी नदेख्ने भएपछि सन्तानलाई बाहिरको समाजसँग घुलमिल हुन पनि समस्या हुने रहेछ। 'अरूको ममीले मीठो-मीठो खाना बनाउँछ, बाबाले मोटरसाइकल चलाउँछ, तपाईंहरूले केही गर्नु हुन्न' भनेर पहिला खूब गुनासो गर्थें। 

अहिले मैले यसो भनिरहँदा यति कुरा पनि के भनेको होला भन्ने जस्तो लाग्न सक्छ। तर, सन्तानको सानो-सानो कुराले झन् ठूलो चित्त दुख्ने रहेछ। बाबुहरू स्कुल पढ्दा ‘यसको ममी बाबाले आँखा देख्दैन, लठ्ठि टेकेर हिँड्छ’ भनेर जिस्क्याउने रहेछन्। त्यसले गर्दा बाल मष्तिष्कमा निकै आघात पुग्ने रहेछ। अनि फेरि बाबुहरूले राम्रो नम्बर लिएर जाँचमा उत्तीर्ण गर्यो भने ‘अन्धोको बच्चाहरू ट्यालेन्ट हुन्छ, टाठो हुन्छ’ भनिदिने रहेछन्, त्यो पनि पढेलेखेकै अभिभावकले। 

त्यै भएर पनि हो कि, बाबुहरू बिस्तारै पढाइमा मनै दिन मानेनन्। अहिले त उनीहरुले पनि अलि बुझ्न थालेर होला, खासै केही गुनासो गर्दैनन्। कोभिडपछि उनीहरू पनि निकै प्रविधिमैत्री हुन थालेका छन्। 

अनेक प्रयास गर्दा, आफूले सकेको गर्दा पनि उनीहरुले भनेको/चाहेको जस्तो वातावरण दिन नसकेको छैनौं जस्तै लाग्छ बेलाबेलामा। त्यै भएर पनि म सफल आमा चाहिँ हुन सकिँन कि भन्ने शंका लाग्छ। राम्रो अभिभावक हुन निकै गाह्रो रहेछ। अलिकति पनि चुक्यो भने धेरैको जिन्दगीले अर्कै मोड नि लिनसक्ने! 

आमा भनेको मेरो लागि ठूलो जिम्मेवारीको पद हो। त्यो पद जिन्दगीभरको लागि रहिरहने रहेछ। त्यो पद जोगाइराख्न एउटा आमाले आफू छोरी, दिदीबहिनी र श्रीमती हुँ भन्ने समेत बेलाबेला बिर्साइदिन्छ। यो ठूलो जिम्मेवारी मैले पनि लिन पाएँ। जे जति आफ्नो क्षमता अनुसार गरें, त्यसको लागि अहिलेसम्म खुसी छु।

प्रसव पीडाका यसअघिका सामग्री 
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

पुष २८, २०८१ आइतबार १६:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।