सारिका महतोको प्रसव पीडा र खुसी : अर्कै खालको पीडा थियो त्यो, खै कस्तो कस्तो !
घरमा सबैले छोराको आश गरिरहेको बेला छोरी जन्मिएपछि सारिका महतोको बाबाले उनी र उनको आमालाई छोडेर गए। त्यसपछि उनी एकल आमाको स्याहारमा हुर्किइन्। आमाले उनलाई चितवनकै माडीमा ‘ब्युटी पार्लर’ खोलेर घर खर्च चलाइन्। उनलाई पढाइन्।
तर, उनले प्लसटुभन्दा माथि पढ्न सकिनन्। किनकी उनको सानै उमेरमा विवाह भयो। विवाहपछि उनी शिक्षण पेशातिर लागिन्। केही समय चितवनमै शिक्षण पेशा अंगालेकी उनी दुई वर्षअघि काठमाडौं आइन्। उनी अहिले यतैको एक संस्थागत विद्यालयमा पढाउँछिन्।
भर्खरै सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस हिमालयन’मा उनी फर्स्ट रनरअप भइन्। अहिले उनी एक सन्तानकी आमा पनि हुन्। आफूले पढाउने विद्यालयमै उनले आफ्नो सन्तानलाई पनि पढाइरहेकी छिन्। उनै सारिकाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
चितवन माडीमा सामान्य परिवारमा मेरो जन्म भयो। मैले त मेरो ड्याडीलाई देखेको पनि छैन। म पेटमा हुँदा मेरो ड्याडी छोरा हुन्छ भनेर निकै खुसी हुनुभएको थियो रे! छोरा हुन्छ भनेर लड्डु पनि बाँढ्दै हिँड्नु भएको रहेछ। तर, मेरो जन्म भएको थाहा पाएपछि हस्पिटल बाहिरबाटै फर्किनु भएको रे! त्यसपछि उहाँ हाम्रो जीवनमा कहिले पनि आउनु भएन।
एकल आमा भए पनि मेरो ममीले मलाई हुर्काउन कुनै कमी राख्नु भएन। मलाई राम्रै विद्यालयमा पढाउनु भयो। राम्रोसँग पढ्नुपर्छ भन्दैमा मेरो बाल्यकाल बित्यो। ११ कक्षा पढ्दै गर्दा मैले विवाह पनि गरें। हामी दुवै जना एउटै कलेजमा पढ्थ्यौ। एक अर्कालाई मन पराएपछि घरमा भन्यौँ। उहाँहरूले पनि सहजै स्विकार्नु भयो।
मैले प्लसटु पूरा गरेको पनि विवाह पछि नै हो। पढाइलाई त्यो भन्दा माथि लान सकिँन। त्यसपछि गाउँमै पढाएर बसेँ। गाउँमा शिक्षक एकदम सम्मानित पेसा हो। तर, बुहारी भएपछि चाहिँ धेरै जिम्मेवारीमा बाँधिए। त्यसमाथि सन्तान भएपछि त आफू, आफू भएर हिँड्नै कठिन हुने रहेछ।
हामीले परिवार योजना बनाएर तयारी गरेका पनि थिएनौँ। तर, विवाहको चार वर्षपछि मेरो गर्भ रह्यो। मैले अलि चाँडो भयो कि भन्ने पनि सोचें। आफैं त बच्चा छु अनि थप जिम्मेवारी कसरी निभाउनु भन्ने लाग्यो।
तर, गर्भ रहेपछि घरमा सबै जना खुसी हुनुभयो। हामी भन्दा घरमा परिवारहरू उत्साहित हुनुभएको थियो। हामीले चाहिँ अलि आर्थिक रूपमा सबल भएपछि मात्र तयारी गर्ने कि भन्ने सोचेका थियौं। तर, सबै जना खुसी भएको देखेर हामीले अगाडि बढ्ने सोच्यौँ।
कोभिडको कारणले लकडाउन थियो। त्यो बेला घरमै बसेर काम गरें। आफू र बच्चालाई पनि ध्यान दिन पाएँ। घरमा एकदम सहज भयो। कमजोरी हुने, गाह्रो हुने भएन। त्यसैले पनि होला, मैले बच्चा जन्माएको सुनाउँदा साथीहरू कसैले पत्याउनु भएन।
लकडाउनको समय भएकाले पनि म पनि युट्युबमा खाना पकाएको भिडियोहरू हेरेर बस्थेँ। मलाई पनि त्यस्तै विभिन्न परिकार बनाउन मन पर्थ्यो। युट्युब हेर्दै खानाको परिकार बनाएर घरमा सबैलाई खुवाउने गर्थेँ। खानेकुराहरूको गन्ध पनि मैले खासै महसुस गरिँन।
म धेरै सक्रिय भएको देखेर घरमा सबै खुसी हुनुभएको थियो। त्यै भएर पनि हो कि, मेरो तौल खासै बढेन। एक त म पहिल्यैदेखि सानो शरीरकै मान्छे हुँ। साधारणतया ४५ केजी भइराख्ने मेरो शरीर गर्भवतीको नौ महिनासम्म ५० केजी पुगेको थियो। तौल कम भएकाले पनि मलाई त्यति गाह्रो भएन।
गर्भावस्थाको अन्तिम महिना मेरो पेटले गर्दा सुत्न गाह्रो हुन्थ्यो। देब्रे साइडमा सुत्दा राम्रो हुन्छ भनेर म देब्रे साइड मात्र सुत्न खोज्थेँ। जन्म दिने समय भएपछि मलाई कस्तो अर्कै दुखाइ हुन थालेको थियो। अब समय पनि भयो।अनि दुख्न पनि थाल्यो भनेपछि प्रसव व्यथा नै होला भनेर हामी हस्पिटल गयौँ।
हस्पिटल जानेबित्तिकै फेरि दुखाइ त हराइहाल्यो। तर हस्पिटलको माहोल एकदम डरलाग्दो थियो। सबै जना रोइरहेको र कराइरहेको मात्र देखेँ। केहीले त आउने बित्तिकै बच्चा जन्माउनु भएको थियो अनि कोहि भने एक हप्तादेखि बसिरहनु भएको रहेछ। मेरो चाहिँ हस्पिटल गएको अर्को दिन मात्र बच्चा जन्मियो।
अप्रेशन गर्नुपर्छ कि भनेर डर लागेको थियो। तर, नर्मल नै जन्म दिएँ। त्यो बेलाको पल सम्झिँदा अहिले पनि मेरो त आङ सिरिङ्ग हुन्छ। अर्कै खालको पीडा थियो त्यो। कस्तो कस्तो! बाबुलाई जन्म दिएपछि चाहिँ फेरि एकदम हलुङ्गो महसुस गरेकी थिएँ। श्रीमान र आमाहरू त डेलिभरी कक्ष बाहिरै हुनुहुन्थ्यो।
यति छिटो आमा बन्छु भनेर मैले त सोचेको पनि थिइँन। पहिलो पटक बाबुलाई हातमा लिंदा त संसारै रोकिएको जस्तो भएको थियो। बाबु एकदम सानो र क्युट थियो। उ त रोएको पनि थिएन। जन्मिनेबित्तिकै बच्चा रोएन भने पिटेर भए पनि रूवाउनै पर्ने रे! त्यही गरियो पनि।
आफैं पनि एकल आमाको स्याहारमा हुर्केको भएर मैले त्यसबेला अर्कै महसुस गरें। आफ्नो आमालाई माया गर्नु र आफ्नो बच्चालाई माया गर्नु अलग्गै कुरा रहेछ। बच्चा जन्मेपछि स्वास्थ्यकर्मीले उसलाई एकछिन मेरो छातीमा राखिदिनुभयो। एकदम आनन्द महसुस गरें।
बाबु जन्मँदा जम्मा साढे दुई केजीको थियो। हामी दुईको तौलको सन्तुलन मिलेको भए पनि मैले कमजोरी महसुस गर्नु नपरेको होला जस्तो लाग्छ। लगत्तै उसलाई स्तनपान गराइयो। सुरुमा उसले तान्न मानेको थिएन। पछि राम्रोसँग स्तनपान गर्यो। स्तनपानको सुरुमा त घाउ नै होला जस्तो दुखेको थियो। तर, मेरो ममी र सासु ममीले सिकाउनु भएकाले अलि सहज भयो।
बाबुलाई जन्म दिएको भोलिपल्टै म डिस्चार्ज भएँ। टाँकाहरू फुस्किन्छ कि भनेर एक हप्ता जति चितवनमै राख्नु भयो। सुत्केरी स्याहारमा मेरो ममीहरूले कुनै पनि कमी राख्नु भएन। तीन महिनासम्म मैले घरमा निकै आराम गरें।
मेरो धेरै सुत्ने बानी छ। त्यसमा पनि मलाई सासु ममीले पनि रोक्नु भएन। मैले भन्दा उहाँले नै बाबुलाई स्याहार्नु भएको हो। अहिले बाबु चार वर्षको भयो। उसले हजुरआमाहरूको माया निकै पाएको छ। ऊ मसँगै स्कुल जान्छ। अलि चन्चले र छुच्चो स्वभावको छ।
मैले सुत्केरी भएको तीन महिनापछि फेरि काम गर्न थालेकी हुँ। अहिले मैले पढाउने स्कुलमै पढ्छ बाबु पनि। त्यै भएर अलग-अलग भए पनि नजिकै हुन्छौं। बाबुले नृत्य र खेल मन पराउँछ। अहिले सानै भएको कारणले हामीले उसको भविष्यको बारेमा त्यति धेरै सोचेका छैनौं। अहिले त हामी उसको वर्तमानमै रमाउने हो।
उसले बिस्तारै पढाइमा रमाउन थाल्यो भने हामी पहिला त उसको पढाइ पुरा गर्दिनमै लाग्ने छौं। सन्तान भएपछि हामी श्रीमान श्रीमतीमा पनि झन् बढी परिपक्वता आएको हामीले अनुभव गरेका छौं। त्यै भएर हो कि, हाम्रो सम्बन्ध पनि झन् बलियो भएको महसुस हुन्छ हामीलाई।
आमा हुनु भनेको आफू बलियो हुनु रहेछ जस्तो लाग्छ। एकदम खुसी लाग्छ। श्रीमान्-श्रीमती मात्र हुँदा र आफ्नो अरू कोहि हुँदा फरक हुने रहेछ। त्यसैले म पहिलाको भन्दा झन् खुसी भएको जस्तो लाग्छ। अहिले तत्काल हामीले दोस्रो सन्तानको बारेमा पनि सोचेका छैनौं।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
प्रविनाको प्रसव पीडा र खुसी : अल्ट्रासाउन्ड गर्दा बच्चा जीवित देखिएन, दोस्रो सन्तानबारे सोच्नै सकिन
पुष २१, २०८१ आइतबार १६:१४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।