प्राज्ञ हंसावतीको प्रसव पीडा र खुसी : सबैले माछा-मासु खान कर गरे, तर शाकाहारी खाना खाँदा पनि दुवै बच्चा निकै स्वस्थ जन्मिए
प्राज्ञ हंसावती कुर्मी दुई वर्षदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद साहित्य विभागको नेतृत्वमा छिन्। विभागीय प्रमुखको नाताले समन्वयकारी भूमिका गर्ने, विभागबाट निस्किने पत्रिकाको प्रधान सम्पादकको भूमिका निभाउने र विभिन्न अनुवाद योजनाहरू दिने उनको जिम्मेवारी हो।
नेपालमा बोलिने सम्पूर्ण भाषासँगै भारतीय, चिनियाँ, अंग्रेजी, रसियन लगायतका विश्वका अन्य भाषाहरूमा समेत अनुवादको लागि योजना बनाउने उनको काम हो। यस वर्ष नेपाल सरकार र चीन सरकारको सम्झौता अनुसार १३ वटा नेपाली पुस्तक चिनियाँ भाषामा र चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद भइरहेको छ।
शिक्षण पेसासँगै सञ्चार क्षेत्रमा पनि विशेष गरी रेडियो नाटकको अनुभव बोकेकी उनले अहिले अंग्रेजीमा ‘एमफिल’ पनि गरिरहेकी छिन्। मानविकी सङ्काय अन्तर्गतको अंग्रेजीमा उनको मानविकी र सामाजिक विज्ञान समेत समावेश भएको उनी बताउँछिन्।
कपिलवस्तुको किसान परिवारमा जन्मिएकी उनी घरको जेठी छोरी हुन्। उनको बुबा शिक्षक भएकाले उनलाई पढाइको समस्या भएन। एसएलसीपछि नै बिहेको कुरा आए पनि उनको आमाले पढाइ नसकी विवाह नगर्न भनेकाले उनको पढाइ रोकिएन।
स्नातकोत्तर सकेपछि भने उनको विवाह भयो। अहिले उनी दुई सन्तानकी आमा समेत हुन्। उनै हंसावतीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
सानो हुँदा उदाउँदो सूर्य र अस्ताउँदो सूर्य हेरेर म घण्टौँ बिताउँथे। त्यसले गर्दा हो कि म धैर्य गर्न सक्छु। मेरो बाबा पनि शिक्षक हुनुहुन्थ्यो, अनि आमाले पढाइमा सधैँ प्रोत्साहन गर्नु भयो। त्यसले मेरो पढाइमा कुनै अवरोध आएन। मेरो वैचारिक स्वतन्त्रतामा पनि उहाँहरूले कहिल्यै हस्तक्षेप गर्नु भएन।
एसएलसीपछि नै घरमा विवाहको कुरा नचलेको होइन, तर घरमा आमा बलियो भएपछि सबै बलियो हुन्छ भने जस्तै भयो। मेरो आमाले पढाई नसकेसम्म विवाह गर्नु हुन्न, पहिला सक्षम हुनुपर्छ भन्नु हुन्थ्यो। त्यही भएर मैले विभिन्न कामहरू पनि गरेँ। अनि स्नातकोत्तर सहज रूपमा सकाएँ।
स्नातकोत्तरपछि घरमा बिहेको कुरा चल्यो। मैले उहाँ(श्रीमान्)को नम्बर पत्ता लगाएर आफै कुरा गरेँ पहिला। अनि यत्तिको केटा जीवनसाथी हुन्छ भन्ने लागेपछि बिहे गर्न राजी भएँ।
म २६ वर्षकी भइसकेको थिएँ। अनि ३५ वर्ष भन्दा अगाडिसम्म मात्र सन्तान जन्माउनु उचित हुन्छ भनेर पढ्ने गरेको, दिमागमा त्यही छाप बसेछ। त्यै भएर तयारीका साथ हामीले परिवारको योजना बनायौँ।
शारीरिक र मानसिक रूपमा बच्चा स्वस्थ हुन आमा नै शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु पर्छ भन्ने मलाई थाहा थियो। त्यही अनुसार म तयारीमा थिएँ। त्यसैले विवाह भएको पहिलो वर्षमै म आमा भएँ। तयार भएर सन्तान जन्माउँदा धेरै सकारात्मक प्रभाव देखिने रहेछ। त्यो अनुभव भयो।
मैले लामो समय परिवार स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाएकी थिएँ। त्यसमा आमासँगै विभिन्न डाक्टर र विशेषज्ञहरूको अन्तर्वार्ता समेत गर्ने गर्थेँ। त्यसैले गर्दा म सचेत भएको रहेछु। त्यो कार्यक्रम चलाउँदाको अनुभव म आमा बन्दा धेरै काम लाग्यो।
मैले मेरो दुवै सन्तानको समयमा आफू मानसिक रूपमा सचेत र तयार भएर काम गरेँ। त्यै भएर आफ्नो गर्भवतीको विभिन्न चरणसँगै मातृत्व अनुभव लिन सकेँ। म रमाउन सकेँ।
पहिलो सन्तान हुने बेलामा म पार्ट टाइम मात्र काम गर्थेँ। अनुवादको कामहरू त्यही बेलामा सुरु गरेको हो। त्यसले गर्दा आर्थिक अवस्था पनि सुधारिँदै गयो।
जस्तो परिस्थिति आए पनि म पहिला मानसिक रूपमा तयार हुन पर्छ भनेर नै अगाडि बढेँ। मेरो बच्चा हो, यो मेरो जिम्मेवारी हो। उ प्रतिको सम्पूर्ण जिम्मेवारी मैले गर्नुपर्छ भनेर आफू एकदम बलियो भएँ। त्यै भएर हो कि मेरो तौल पनि गर्भावस्थामा एकदम राम्रो भएको थियो। गर्भमै पनि सन्तान निकै स्वस्थ भयो।
साधारणतया ५३ केजी भइराख्ने मेरो तौल गर्भावस्थाको अन्तिम तिर ८३ पुगेको थियो। त्यसबेला म हिँडी नै राख्थेँ। काम पनि गरी नै राखेको भएर निकै सक्रिय थिएँ। त्यै भएर होला गर्भावस्थामा धेरै गाह्रो महसुस गरिन।
बच्चाको तौल पनि धेरै भएर २० दिन अगाडि नै जन्म दिनु पर्यो। साढे चार सय ग्रामको मेरो बाबुलाई मैले नर्मल नै जन्म दिएँ।
पहिलो र दोस्रो सन्तानबीचमा पाँच वर्षको उमेर अन्तर छ। सानो पनि चार केजी दुई सय ग्रामको जन्मेको थियो। गर्भ रहेको बेलामा सबैले माछामासु खानु पर्छ भनेका थिए। तर म त शाकाहारी भोजन नै खाने हो भनेर खाइन।
बाबु जन्मिएपछि भने एकदमै धेरै रक्तस्राव भयो। डाक्टरहरूले कमजोरीको कारण बेहोस हुन सक्ला भन्नु भएको थियो। तर मलाई भने निकै हलुङ्गो अनुभव भएको थियो।
भोलि आफ्नो बच्चा आफै बोकेर म बाहिर घर जान्छु भन्न समेत भ्याएँ। नभन्दै त्यसरी नै भोलिपल्ट म अस्पतालबाट घर गएँ। सुत्केरी स्याहार पनि राम्रो भयो।
सबै राम्रोसँग भइरहेको थियो। तर बाबु आठ वर्ष पुरा भएर नौ वर्ष लाग्न थालेपछि घाउहरु आउन थाल्यो। उसको हड्डी सुन्निएको थियो। श्रीमान् धेरै आत्तिनु भएको थियो।
तर त्यो उमेरको कुनै बच्चालाई त्यस्तो देखिने स्वाभाविक नै हो भनेर मैले थाहा पाएपछि श्रीमानलाई आत्तिन पर्दैन भने। पछि घाउ आफै ठिक हुँदै गयो। कुनै पनि परिस्थितिमा नआत्तिनु चैँ सबैभन्दा उत्तम रहेछ।
दोस्रो सन्तानको समयमा पनि बच्चा ठुलो भएको कारण प्रेसर बढेको थियो। दोस्रोको समयमा पनि २० दिन अगाडि नै जन्मन्छ भन्नुभयो डाक्टरले। त्यस बेलासम्म म पुरै समय काम गर्थेँ।
कामको चापले हो कि के भयो, मेरो प्रेसर पनि ह्वात्तै बढ्यो। बच्चा ठुलो र स्वस्थ भएको कारण अप्रेसन गरेर निकालिहाल्यो भने आमा र बच्चा दुवैलाई राम्रो हुन्छ भन्नु भएको थियो।
उसलाई जन्म दिएपछि पनि मेरो प्रेसर सन्तुलनमा आइरहेको थिएन। १०/१२ दिन त म अस्पतालमै बसेँ। अनि म आफै कम गर्छु मलाई डिस्चार्ज गरिदिनु भनेपछि कागजी प्रक्रिया पुरा गरेर म घर फर्किएँ। फर्किने बित्तिकै नुहाएर म त गहिरो निन्द्रामा पुगेछु। पछि खानपिनमा कन्ट्रोल गर्दै आराम गरेपछि औषधीको प्रयोग नगरी प्रेसर सन्तुलनमा आयो।
सुत्केरी स्याहार आमाहरूलाई धेरै आवश्यक पर्ने रहेछ। एकल पारिवारिक संरचना भन्दा सबै परिवारमा सहज हुने गरेको मैले पाएँ। तर हाम्री श्रीमान-श्रीमती मात्र यहाँ भएकाले आफैँ व्यवस्थापन गर्नु पर्यो। श्रीमानले नै प्राय मलाई स्याहार्नु भएको हो।
प्रेसर बढ्यो, त्यसमाथि अप्रेसन पनि भयो। श्रीमान् त डराउनु भएको थियो। काम गरिराख्नु पर्ने मान्छे गाह्रो हुन्छ भन्ने भयो। मैले केही समय घरबाटै काम पनि गरिराखेँ। घर परिवारको साथ सहयोग त चाहिने नै भयो। तर बच्चा जन्माउने र हुर्काउने काममा श्रीमान् श्रीमतीबीच समझदारी र सहकार्य हुन एकदम जरुरी रहेछ।
मेरो दुवै सन्तानले पाँच वर्षसम्म स्तनपान गरे। ठुलो बाबु पाँच वर्ष भइसकेको थियो। मेरो साथी भएन भन्थ्यो। भाइ जन्मिए पछि उ धेरै खुसी भयो। उसले भाइ हेरेर पनि मलाई सहज भयो। त्यति धेरै गाह्रो भएको महसुस गर्नु परेन। ठुलो १० कक्षामा र सानो पाँच कक्षामा पढ्दै छन्।
एक अर्कालाई खूब माया पनि गर्छन्, झगडा पनि गरिरहन्छ। दुवैको स्वभाव एकदम फरक छ। ठुलोले हत्तपत्त प्रतिक्रिया जनाउँदैन। सानो अलि चन्चले स्वभावको छ।
आफै पनि शिक्षामा काम गरेको भएर पढाइ नै मात्र गर्नु पर्छ भनेर मैले उनीहरूलाई बाँधेको छैन। जुनसुकै क्षेत्रमा गए पनि राम्रोसँग र निरन्तरता दिइराख्न पर्छ भनेर चैं भन्ने गर्छु।
हामी अहिले पनि राति खाना खानु भन्दा अगाडि एक अर्काको कुरा सुन्छौँ/सुनाउँछौँ। खाना खाएपछि भने भोलि कसको के छ, कसरी जाने, के गर्ने भनेर कुरा गर्छौँ। यसरी घरको सबै सदस्यसँग संवाद गर्नाले पनि एक अर्कालाई नजिक भएको अनुभव हुने रहेछ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
पुष १४, २०८१ आइतबार १८:५१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।