दृष्टिविहीन शिक्षक सुष्माको प्रसव पीडा र खुसी : ‘आँखा नदेख्नेलाई पनि सन्तान जन्माउनु पर्ने’ भन्लान् भनेर डर लागिरह्यो
१०/११ वर्षको थिइन् सुष्मा थापामगर। बिस्तारै उनको आँखाको दृष्टि कम हुँदै गयो। टुकी बालेर पढ्थिन्। किताबको अक्षर हल्लीन थाल्यो। बाग्लुंगको पहाडमा उफ्रिउफ्री हिँड्ने उनले बिस्तारै साथीहरूसँग हिँड्न सकिनन्। समूहमा हिँड्दा उनी सधैँ पछि पर्न थालिन्। उनलाई बिस्तारै स्कुल जान मन लाग्न छोड्यो।
उनले आफ्नो आँखाको दृष्टि कम हुँदै गएको कुरा घरमा भन्न सकिनन्। तर उनको बजैले भने उनलाई अप्ठ्यारो भइरहेको याद गरिरहेकी थिइन्। बजैले नै ‘यसले आँखा देख्दैन रहेछ, त्यै भएर स्कुल जान आनाकानी गरेको हो कि !’ भनिन्। त्यसपछि उनलाई जँचाउन लगियो। नेपालमा केही पत्ता नलागेपछि भारतको दिल्ली लगियो।
त्यहाँका चिकित्सकले उनको आँखाको नशा सुकेको र उनले बिस्तारै पुरै देख्न नसक्ने बताए। भारतबाट फर्किएपछि पनि केही समय हल्का देखेकी सुमनको आँखामा अहिले पुरै अन्धोपना छ। बाग्लुंगमै उनले ब्रेल सिकिन्। ब्रेल पढ्न जाँदासम्म उनले हल्का आँखा देख्थिन्। त्यस विद्यालयमा पढ्न जाँदा त्यहाँको साथीहरू देखेर उनलाई डर समेत लाग्यो रे।
उनले स्नातकोत्तर समेत ब्रेलबाटै गरिन्। अहिले उनी पोखराको अमरसिंह माध्यमिक विद्यालयमा पढाउँछिन्। यहाँ उनी ब्रेल लिपी सिकाउँछिन्। ब्रेल सिक्ने धेरै विद्यार्थीहरू बहु अपाङ्गता समेत हुने भएर पढाउन धेरै चुनौती हुन्छ रे।
स्नातक पढ्दै गर्दा उनले कलेजकै साथीसँग प्रेम विवाह गरिन्, त्यो पनि अन्तर्जातीय। अहिले उनी दुई सन्तानकी आमा समेत हुन्। उनै सुष्माले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
मेरो माइती बाग्लुङ, घर म्याग्दी। अहिले चैं पोखरामा बसेर अध्यापन गरिरहेकी छु। मेरो बाबाले धेरै पढ्नु भएको छैन। अनि हाम्रो बजैले मेरो पढाइ नछुटोस् भनेर अनेक गर्नुभयो। आँखा नदेख्ने भएपछि ब्रेलमै पढाउन थाल्नु भयो। पढाइको राम्रो वातावरण भएकोमा म आफूलाई भाग्यमानी सम्झिन्छु।
२०६४ सालमा भागेर विवाह गरेँ। मागी विवाह भएको भए पक्कै मेरो विवाहमा समस्या आउँथ्यो होला। लभ म्यारिज गरेको कारण विवाह भयो। हामी स्नातकमा सँगै पढेको साथी हौँ। उहाँ बाहुन, म मगर। उहाँ पनि पहिला ‘लो भिजन’ हुनुहुन्थ्यो। अहिले हामी दुवै जना ‘ब्ल्याईन्ड’ छौँ।
विवाह पछि हामी पोखरा बस्न थालेको हो। भागेर विवाह गरेको मैले घरमा थाहा दिएको थिइन। थाहा नदिएपछि पहिलो सन्तान हुन लाग्दा समेत घरमा भन्न सकिन।
डेलिभरीको समयमा पनि मैले भनेको थिइन। पछि मेरो आमाले कसरी हो थाहा पाउनु भएछ। तर मैले मेरो सन्तान भयो भनेर भन्न समेत सकिन।
बजैले सधैँ ‘हामी आँखा देख्नेलाई त बिहे गर्दा यति गाह्रो छ। यसलाई झन् धेरै गाह्रो हुन्छ। आँखा नदेख्ने मान्छेलाई किन बिहे गर्नु पर्यो ?’ भन्नुहुन्थ्यो। मेरो घरबाट मैले बिहे गरेँ भने दुख पाउँछ भनिराख्नु भएकाले मैले घरमा विवाह गरेको खबर गरिन। उहाँहरूले सकेसम्म बिहे नगरोस् भन्ने नै चाहनुहुन्थ्यो।
बिहे भन्दा अगाडि नै मैले पढाउने काम गर्थेँ। पछि करार हुँदै मैले त्यहीँ दरबन्दीमा आफ्नो नाम निकालेँ। ०६५ सालमा हाम्रो पहिलो सन्तान भयो।
पहिलो सन्तान हाम्रो ‘अन्प्लान’ नै थियो। मेरो रजस्वला पनि भइरहेको थिएन। अनि खान मन नलाग्ने, जे कुराको पनि गन्ध आउने, कमजोरी भएको जस्तो हुने भएपछि गर्भवती भएँ कि भन्ने शङ्का लाग्यो।
टेस्ट गर्दा पोजेटिभ देखियो। तीन/चार महिना त एकदम गाह्रो भयो। त्यस समयमा फेरि हामी श्रीमान् श्रीमती मात्र थियौँ। बिस्तारै दूध रोटी खान थालेँ। श्रीमान् त मलाई त्यसबेला फिटिक्कै मन पर्थेन। उहाँ नजिक आए कि वाक्कै आउला जस्तो इरिटेड हुन्थेँ। बोका गन्हाएको जस्तै गन्हाएको लाग्थ्यो।
गर्भवतीको समयमा मैले उहाँलाई धेरै रिस पोख्थेँ। तर उहाँ केही नभनी मेरो साथमा बस्नुहुन्थ्यो। सुरुमा शारीरिक परिवर्तन केही नभए पनि पछि त म उठ्न, बस्न, हिँड्न समेत नसक्ने भएकी थिएँ।
५२/५५ केजीको मान्छे, नौ महिनासम्म ६५ केजी भएकी थिएँ। गर्भावस्थामा मलाई पिसाब पोल्ने पनि भएको थियो। त्यो पानी कम भएर रहेछ। त्यसले निकै गाह्रो बनाएको थियो।
डाक्टरले डेट दिएको एक हप्तासम्म पनि मलाई प्रसव व्यथा लागिरहेको थिएन। अनि भर्ना गर्न पर्छ, पछि धेरै ढिला हुन्छ भन्नुभयो। भर्ना भएको पाँच दिनसम्म पनि मलाई केही भएन। त्यो पाँच दिन मेरो जिन्दगीको सबै भन्दा वैराग्य दिनहरू भयो।
डाक्टरले सुत्केरी हुन लागेको महिलालाई कराएको देखेर इरिटेड भएकी थिएँ। मलाई पनि त्यसरी नै गाली गर्छन् कि ! छिटो छिटो जन्माएर यहाँबाट निस्किन पाए हुन्थ्यो भन्ने लागिरह्यो। मेरो त मनोबल नै घटेको थियो। पाठेघरको पानी कम भएको छ, अप्रेसन गर्नुपर्छ भनेर थाहा पाउँदा त मलाई डर भन्दा बढी खुसी लागेको थियो।
सुत्केरी हुन लाग्दा हाम्रो मन एकदम सानो हुने रहेछ। कसैले माया गरे हुन्थ्यो भन्ने लाग्ने बेलामा डाक्टरहरूको मुखबाट अरूलाई ‘तेरो श्रीमानसँग मोज गर्दा मजा भयो अहिले कराउँछ भनेको सुन्दा त त्यो मैले सुन्न पर्यो भने कसरी सहने होला भन्ने लागेको थियो।
तर अप्रेसन गर्ने भएपछि त्यो सुन्नु परेन। अप्रेसन कक्षमा गएपछि मलाई सुई लगाइदिए। पुरै बेहोस नभए पनि मैले सबै कुरा महसुस गरिरहेँ। त्यहाँ त डाक्टरहरू पनि धेरै बोलिरहनु भएको थिएन। प्रेसर नाप्ने सिस्टर चैं म सँग बोलिरहनु भएको रहेछ। त्यो म बेहोस नहोस् भनेर रहेछ।
कहिबेर पछि डाक्टरले तपाईँको छोरा जन्मिएको छ, ठुलो छ भन्नुभयो। बाबु पौने चार केजीको थियो। बाबुलाई समात्दा गम्म हातमा अट्ने थियो। अहिले पनि उ ठुलो नै छ। सबैले तीन/चार महिना भएको जस्तो छ बच्चा त भन्थे। सुरुमा त मलाई आफ्नो बच्चा समात्न समेत आएन।
बाबुलाई लिएर स्पर्श गर्दा खुसी लागे पनि मैले खुसी व्यक्त गर्न सकिरहेकी थिइन। मलाई त लाज पो लागि रहेको थियो। स्तनपान पनि मैले हस्पिटलमै गराएको हो उसलाई। एक महिना सम्म त मलाई गाह्रो नै भयो। सुरुमा गाह्रो र अप्ठ्यारो भए पनि पछि बानी पर्दै जाने रहेछ।
आफू आँखा नदेख्ने, स्तनपान गराउँदा अरूको सहारा लिनुपर्दा ‘अड फिल’ पनि भयो। म आफैंलाई ‘आँखा नदेख्ने भएर पनि बच्चा पाउन पर्ने, यस्तो गर्न पर्ने’ भनेर अरूले सोच्छन् होला भन्ने लाग्यो। प्रत्यक्ष त त्यस्तो भनेको याद छैन। तर दूध खुवाउँदा यसरी गर, उसरी गर भनी राख्दा आफैंलाई आफ्नो कारणले अरूलाई दुख भयो भन्ने भयो। त्यसमाथि मेरो दूध पनि धेरै बग्थ्यो। कहिले बच्चाको आँखा, कान, नाक सबैमा जान्थ्यो।
अनि म देख्ने भएको भए यति गाह्रो हुन्थेन होला भन्ने लागिरह्यो। त्यसबेला हो मलाई पहिलो पटक आफू आँखा नदेख्ने भएपछि नराम्रो लागेको।
बिहे गरेको समेत नभनेकाले सुत्केरी बस्न माइत जान सकिन। बच्चा लिएर बाबाको अगाडि कसरी जाने होला भन्ने लाग्थ्यो। बाबाको अगाडि त अहिले पनि अड लाग्छ।
बाबु भएपछि सासुआमा र नन्द आउनु भएको थियो मलाई स्याहार्न। म र श्रीमान् पूर्ण रूपले अन्धोपनमा भए पनि बाबुले प्रस्ट देख्छ। अहिले उ ११ कक्षामा पढ्दै छ। हरेक काममा हामीलाई सहयोग गर्छ। बाबुलाई गर्मी महिनामा जन्माएको। लसुन, प्याज खान नहुने भनेर हामीलाई थाहा भएन।
श्रीमानले डाक्टरलाई सोध्नु त भएको रहेछ। तर केही हुँदैन जे खाए पनि हुन्छ भन्ने जवाफ पाएपछि उहाँले खसीको खुट्टा पिरोपिरो बनाएर खुवाउनु भयो। मैले त अझ खान खोजेकी थिइन। पछि पानी हालेर खाँदा पनि भोलिपल्टै घाउ चिलाउन थाल्यो। पछि त घाउ पाकिहाल्यो नि। घाउले टाँका छोड्दै गएपछि फेरी टाँका लगाउन पर्यो।
बाबु भएको आठ वर्ष पछि हाम्री नानी भयो। उसको बेलामा बाबुको जस्तो गाह्रो भएन। तुलनात्मक रूपमा दोस्रो सन्तानमा आफैंलाई पनि सहज भएको अनुभव गरेँ। दूध खुवाउन देखि सबै स्याहार्न जानेको, आफै पनि अलि परिपक्व भएको अनि आर्थिक हिसाबमा पनि केही हदसम्म राम्रो भएपछि सहज हुने रहेछ।
अगाडिको पीडाहरू सम्झेर त बाबु भए पुग्छ भन्ने लागेको थियो। तर पछि बाबुलाई नै साथी चाहिन्छ कि भन्ने महसुस गरेर हामीले दोस्रो सन्तानको योजना बनायौँ। योजना बनाएर, सबै व्यवस्थित भएर पनि हो कि मैले राम्रोसँग मातृत्व अनुभव गरेको पल पनि त्यही नै हो। त्यसबेला पनि नन्दले मलाई खूब सहयोग गर्नुभयो।
बाबु पनि हुर्किसकेको कारण मलाई गाह्रो भएन। अगाडि नै दुई पटक टाँका लगाएको हुँदा दोस्रो पनि स्वाभाविक रूपमा अप्रेसनै गर्नुपर्यो। त्यसबेला म स्कुलमा पढाउन जान्थेँ। दिउँसो स्कुल पढाएर अनि नन्द र म सार्वजनिक यातायातमा उभिएर डेलिभरीको लागि हस्पिटल भर्ना हुन गएको म कहिले पनि सम्झन्छु।
अगाडि जँचाउँदा मैले ‘के छ ?’ भनेर सोध्दा डाक्टरले भन्नुभएको थिएन। छोरी भएको थाहा पाउँदा त मेरो खुसीको ठेगान नै थिएन त्यसबेला। तर नानी जन्मिएको छ महिनामा म सडक दुर्घटनामा परेँ। त्यतिखेर डाक्टरले ‘सानो बच्चालाई हस्पिटल नल्याउनु, इन्फेक्सन हुन सक्छ। सक्नु हुन्छ भने तपाईँको दूध पनि अहिले नखुवाउनु’ भने।
मैले नानीलाई दिदीकोमा छोडेँ। त्यसबेला फेरी ठ्याक्कै बच्चाहरूले मान्छे चिन्ने समय रहेछ। पछि त म सँग आउनै मानेन नि। मेरो दूध पनि खान मानिन। मेरो पनि खुट्टाको नशामै समस्या भएको कारण पुरै ठिक हुन लगभग एक वर्ष लाग्यो। त्यति बेलासम्म त लगभग मेरी छोरीले मेरो काख नै बिर्सिई!
म सँग नमानेपछि दिदीले नै हुर्काउनु भएको। अहिलेसम्म पनि मेरो नानी दिदी सँगै छे। म उसको आमा भनेर पोहोर साल मात्र थाहा दिएको। अहिले दिदीलाई नै नानीले ममी भन्छे। मलाई त वास्ता गर्दिन।
उसको बाल्यकालमा म सरिक हुन नसकेकोमा निकै दुख लाग्छ। सुरुको केही वर्ष त मलाई असह्य भयो नि। उसलाई दूध खुवाउन नपाएपछि सब निचोरेर फाल्नु पर्यो। शारीरिक पीडा सँगै उ टाढिएको कारण मलाई मानसिक पीडा पनि भएको थियो। अहिले त बानी नै परिसक्यो। उसको पढाइ पनि राम्रो छ। मान्छे पनि निकै टाठी छे।
अहिले नौ वर्षकी भइन्। उसलाई अँगालो हालौँ, माया गरौँ भन्ने त अहिले पनि लाग्छ नै। तर कहिलेकहीँ रिस उठ्दा ‘तेरो छोरी होइन, म तिमीहरूको घरमा आउँदिन’ भन्छे। चाडमा भेट भए पनि अपरिचित मान्छे भेटेको जस्तै गर्छे। अहिले हामी पोखरामा बाबु म र श्रीमान् मात्र छौँ।
श्रीमान् पनि अहिले त कामको लागि काठमाडौँमै बस्नु भएको छ। बाबु अलि अन्तर्मुखी स्वभावको छ। १२ सकिएपछि केही वर्ष विदेश जाने भनिरहेको छ। अब हाम्रो पछिको योजना भने कै यी दुई सन्तानलाई सक्षम बनाउन सहयोग गर्नु नै हो। हाम्रो त के छ र, उमेर ढल्किहाल्यो।
हाम्रो सन्तानले हामीलाई हेरोस् भन्ने चाहना हामीले राखेका छैनौँ। आँखा नदेख्ने भए पनि यिनीहरूले छोराछोरीलाई राम्रो बनाओस् भन्ने हाम्रो इच्छा छ। उनीहरूले आफ्नो लागि आफै गर्नुपर्छ भन्ने सोच दिन पाए हामीलाई केही चाहिँदैन।
हामीले जानेको, गर्न सकेको सबै उनीहरूको लागि गरियो भन्ने लाग्छ। कम्तीमा ‘बाउआमा’ नै दृष्टिविहीन भए पनि उनीहरूलाई हामीले त्यसले गर्दा केही अभाव हुन दिएको छैन जस्तो लाग्छ।
बाबु सानो हुँदा स्कुलमा उसको साथीहरूले ‘अन्धोको छोरा’ भनेपछि स्कुल जान मन गरेको थिएन। त्यसबाहेक हाम्रो सन्तानले आफ्नो आमाबाबुप्रति हीनताबोध गरेको जस्तो पनि लाग्दैन।
अब दुबैलाई राम्रोसँग पढाउने र सक्षम बनाउने नै मेरो र श्रीमानको योजना हो।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
कात्तिक ११, २०८१ आइतबार १५:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।