सह-सम्पादक पवित्राको प्रसव पीडा र खुसी : …त्यसबेला त म पोस्टपार्टम डिप्रेसनमा पो गएकी रहेछु !
२०६४ सालदेखि राष्ट्रिय समाचार समिति (रासस)को अंग्रेजी सम्पादन शाखामा कार्यरत पवित्रा गुरागाईं त्यहाँकी सह-सम्पादक हुन्। डेस्कदेखि रिपोर्टिङमा पनि निकै चासो राख्छिन् उनी। अंग्रेजी विषयमा बलियो भएको कारण उनी लेखनमा होमिइन्। विभिन्न स्कुलमा पढाउँदै आएकी उनी राससमा दरबन्दी खोलेसँगै पत्रकारितामा रमिइरहेकी छिन्।
राससमा जागिर पक्का भएपछि 'नेपाल प्रेस इन्स्टिच्युट' बाट उनले दश महिनाको तालिम पनि गरिन्। २०७२ सालदेखि उनी स्थायी भएसँगै अहिले उनी सातौं तहमा कार्यरत छिन्। सुरूसुरूमा अप्ठ्यारो भएको भएपनि अहिले भने रिपोर्टरहरूसँगको समन्वय र राम्रो टीमको कारण आफू अझै यसमा स्थापित हुन सक्नेमा उनी ढुक्क छिन्।
तुलनात्मक रूपमा अंग्रेजीमा भन्दा नेपालीमा पाठक बढी देखेकी उनले अहिले भने अंग्रेजीमा पनि पाठक धेरै आकर्षित भइरहेको अनुभव गरेकी रहिछन्। त्यसमाथि राससमा औपचारिक समाचार बढी जाने हुँदा नेपालीमा जति पनि अंग्रेजीमा कभरेज हुन नसकेको उनी बताउँछिन्।
उनै पवित्रा दुई सन्तानको आमा पनि हुन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :
000
स्नातकोत्तर सक्काए पछि मैले विवाहको लागि हुन्छ नभनी बस्ने सकिँन। त्योबेला म विवाह गर्ने पक्षमा नभएपनि एउटा उमेर पुगेपछि छोरी मान्छेलाई घरबाटै पनि निकै दबाव हुने रहेछ। अनि त्यसपछि आफैं पनि मानसिक द्वन्द्वमा परेर विवाहको लागि नाइँ भन्नै नसकिने रहेछ। त्यसमाथि पनि मेरो भन्दा अगाडि बहिनीको बिहे भएपछि त ममा के-कति दबाव भयो भनेर भन्नै परेन।
त्यसपछि म पनि पढेलेखेको केटा भनेर विवाहको लागि तयार भएँ। विवाहपछि कामलाई अगाडि बढाउने अनि बच्चा भएपछि करिअरलाई अगाडि बढाउने भन्ने कुरा त निकै चुनौतीपूर्ण हुने रहेछ। राससमा जोडिनुभन्दा ठ्याक्कै एक दिनअघि मैले म गर्भवती भएको थाहा पाएँ त्योबेला मेरो स्वास्थ्यमा पनि समस्या भएको थियो। माइक्रोमा साँघुरिएर काममा जाने गर्थें।
त्यसबेला मलाई फेरि गर्भवती छु भनेर भन्नै लाज लाग्थ्यो। सन्तान भएपछिको संघर्ष त कल्पनाभन्दा माथि रह्यो। अल्छी मान्न नपाइने, ढाड दुख्यो भन्न नपाइने, त्यसमाथि अफिसमा मासिक ज्यालादारीमा बसेको। राजनीतिक फेरबदल हुनेबित्तिकै हाम्रो काममासमेत असर पर्थ्यो।
डेलिभरीको समयमा पानी नपुगेपछि अगाडि नै हस्पिटल भर्ना हुनुपर्यो। तौल एकदम बढेको कारण हिँडडुल गर्दा खुट्टाहरू सुन्निएका थिए। पहिलो सन्तान भएको कारण निकै नर्भस भएकी थिएँ। कसैले केही भन्ला कि, केही गर्ला कि भनेर आफैं संकोच मान्थें। अहिले सामाजिक संजालमा महिलाहरूले गर्भवतीको हरेक चरणलाई कस्तो रमाइलो गरेको देख्छु। मलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो। तर, मैले त्यो मेरो दोस्रो सन्तानको पालोमा पनि गर्न सकिँन। प्राय: पेटलाई सलले छोपेर हिँड्थें।
एकपटक आफन्तकोमा जाँदा 'छोरानै होस्' भनेर आशीर्वाद दिनुहुँदा मलाई निकै नराम्रो लागेको थियो। हाम्रो समाज कस्तो छोरावादमा विश्वास गर्छ भन्नुको ज्वलन्त उदाहरण थियो त्यो। सासुले पनि नातिको आश गर्नु भएको थियो होला। तर, मलाई कहिले पनि सिधै भन्नु भएन। अनि श्रीमानले पनि त्यो महसुस गर्न दिनु भएन।
पहिलो सन्तानको रूपमा हाम्रो छोरी हुँदा श्रीमान झन् खुसी हुनुभएको मलाई झल्झल्ती याद छ। २७ गतेसम्म मैले काम गरेको। २८ गते शनिबार थियो। २९ गते हस्पिटल जाँदा घर खुलिसक्यो भर्ना भएर बस्नुपर्छ भन्नु भयो। १२ घण्टा व्यथा लागे पनि मैले नर्मल रूपमा सन्तानलाई जन्म दिन सकिँन। आपतकालीन अप्रेशन गरेर जन्माउनु पर्यो। म सात महिनामै डेलिभरी भएकी थिएँ।
आपतकालीन अप्रेशन नगरेको भए बच्चाले फोहोर खाने रहेछ भन्ने कुरा आएको थियो। पहिलो सन्तान भएर पनि हो कि मलाई त डाक्टरहरू पनि अहिले जसो सहज लागेको थिएन। मलाई स्ट्रेचरमा लानेक्रममा डाक्टरहरूको सबै कुरा सुनिरहें। यस्तो गर्ने, उस्तो गर्ने भन्नु हुँदो रहेछ। मलाई यति धेरै दुखाइ भएको थियो नि, एनेस्थेसिया सुई गरिसके पछिको पल म त जिन्दगीभर बिर्सन सक्दिनँ। किनभने त्यसपछि दुखाई गायब भएको जो थियो।
नानी एकदम स्वस्थ थिई। उसको तौल पनि निकै राम्रो। तर, जन्मेको केही समयपछि हामी आमाबच्चा दुवैलाई निकै गाह्रो भएको थियो। मलाई त निमोनियाँ र इन्फेक्सनसमेत भयो। नानीलाई पनि ज्वरो आयो। सोचेको भन्दा बढी उसको तौल घट्यो। हामी ११ दिन हस्पिटल बस्दा मेरो प्रेसर पनि मेरो खूब बढेको थियो। त्यसबेला मलाई एकदम धेरै झिँजो लाग्थ्यो। डेलिभरीको समयपछि पहिलाको म नै त्यो होइन भन्ने जस्तो हुन्थ्यो।
त्यसमाथि नानीलाई दूध खुवाउन पनि निकै सकस भएको थियो। डाक्टरले फेरि आमामा उत्साह देखिएन भनिदिनु भयो। नानीले दूधनै नखाने। त्यसले गर्दा मनोविज्ञानसमेत एकदम नराम्रोसँग बिग्रियो। अनि मैले डाक्टरलाई घर पठाइदिनु म आफैं कन्ट्रोल गर्छु भनें। अहिले पो महसुस हुन्छ, त्यसबेला म प्रसवोत्तर अवसाद (पोस्टपार्टम डिप्रेसन) मा गएकी रहेछु।
त्यसपछि सकेसम्म सम्पूर्ण बल लगाएर नानीलाई दूध खुवाउने कोसिस गरें। सुत्केरी स्याहार पनि मैले सोचेको जस्तो हुन सकेन। घरमा पनि पाको सासु अनि हाम्रै पनि पहिलोपटक भएकाले केही पनि थाहा भएन। कसैसँग पनि कुरा मिल्दैन थियो। एकदम धेरै टेन्सन हुन्थ्यो। मैले पछिसम्म श्रीमानसँग गुनासो गर्नुको कारण सुत्केरी राम्रो भएन भन्ने पनि हो। म माइती पनि गइँन। हजुरआमाको स्याहारमा आमा व्यस्त हुनुहुन्थ्यो। त्यसमाथि म व्यक्तिगत रूपमा सुत्केरी स्याहार्न माइती जानुपर्छ भन्नेको विपक्षमा हो।
मलाई माइती जानुनै थिएन। तर, आमालाई चैं मिस गरिँदो रहेछ। त्यसबेला माइती जाने भन्दा बच्चा घरलाई चाहिने अनि माइतीमा स्याहार्न पठाउने भन्ने लाग्थ्यो। सुत्केरीकै समयमा आएर मैले १३ वर्षपछि मासु पनि खाएँ।
मेरो पहिलो र दोस्रो सन्तानबीच झन्डै साढे १२ वर्षको उमेर अन्तर छ। पहिलो सन्तान भएपछि मेरो सबै इच्छा मर्यो। तर, नानीलाई चैं 'यसले त भाइ बोलाउँछे, यस्तो गर्छे, उस्तो गर्छे' भन्ने कुराहरू सुनाउन थालेछन्। त्यो सुनेर निकै रिस उठ्थ्यो।
पहिलो अप्रेशन गर्दानै मलाई गाह्रो भएको देखेर नर्सहरूले 'दिदी तपाईंलाई यति गाह्रो भयो। अब अर्को नपाउनुस् है' भन्ने बिर्सिएको थिइँन। त्यसबेला हामीले फेरी ६० दिनको प्रसूति विदा पाउँदैन थियौं। पुरुषहरूलाई पनि प्रसूति स्याहार विदा भनेर १५ दिन विदा हुन्थ्यो। तर, म ज्यालादारी भएको कारण विदा भएन। दशैं आउन लागेको बेला, भर्खर-भर्खर काम सुरू गरेको बेला, बेतलबी विदा भनेपछि म ४४ दिनको दिनपछि फेरि काममा गएँ।
अलि पछि त अफिसमा पनि 'अब दोस्रो बच्चा कहिले पाउने सोधिँदा, जुन दिन बिदा दिनुहुन्छ त्यही बेला पाउने' भनिदिन्थें। यी विविध कारणले गर्दा पनि मैले दोस्रो सन्तानको बारेमा दिमागमा आउन दिएको थिइँन। त्यसमाथि दम, उच्च रक्तचाप सबै भइदियो त्यहीबेला।
तर, अप्रत्याशित रूपमा म गर्भवती भइसकेछु। 'स्वास्थ्यले मिल्छ भने म राख्छु नत्र तपाईंहरूले भने अनुसार गर्छु' भनेर डाक्टरलाई भनेको पनि हुँ। केही जटिल नहुने भएपछि दोस्रो सन्तान जन्माउने मनस्थितिमा पुगें।
त्यसबेला मलाई थाइरोइड पनि भएको थियो। पाटनको डाक्टरहरूले खूब राम्रो जँचाइदिनु भयो, औषधिहरु दिनुभयो, स्याहार गरिदिनु भयो अनि म ठिक हुँदै गएँ। तर, चौथो महिना चलिरहँदा कोरोनाकालको महामारी चल्यो। त्यस्तो बेलामा भक्तपुरकै एक हस्पिटलमा जँचाउने वातावरण मिल्यो। त्यहाँ पनि एकदम राम्रो स्याहार पाएँ। अनि दोस्रो सन्तानलाई त्यही जन्म दिएकी हुँ।
दोस्रो सन्तान हुँदै गर्दा म ३५ वर्ष काटिसकेकी थिएँ। डाक्टरले प्रश्न गर्नुहुन्छ कि जस्तो लागे पनि केही भन्नुभएन। पहिलो र दोस्रो गर्भवती र डेलिभरीको समयमा मैले धेरै फरक अनुभव गरें। पहिलोमा सोचेको भन्दा धेरै गाह्रो भयो अनि दोस्रोमा चैं सोचेको भन्दा सहज भयो। दोस्रोमा चैं आफूलाई सच्याउन पनि मौका पाउने रहेछ।
जागिरदेखि लिएर आर्थिक हिसाबमा समेत म बलियो भएको भएर पनि होला। महामारी बाहेक अरु केहीको डर थिएन मनमा। त्यसबेला मैले घरमै बसेर सुती-सुती काम गरेकी थिएँ। श्रीमानले पनि खूब स्याहार्नु भयो।
अगाडि पनि अप्रेशन भएको कारण १५ दिन अघिनै अप्रेशन गर्नुपर्छ भन्नुभएको थियो। बच्चा चल्छ/चल्दैन याद गरेर तुरुन्त हस्पिटल बोलाउनु भएको थियो तर, श्रीमानलाई पर्खिँदा म चुप लागेर बसें। पछि बच्चा नचलेको अनुभव गरेपछि फोन गरेर तुरुन्त हस्पिटल गएँ। त्यसबेला पनि पानीको मात्रा ह्वात्तै घटेको रहेछ। अनि आपतकालीन अप्रेशननै गर्नु पर्यो।
दोस्रो सन्तान हुँदै छ भनेर मैले दिदीलाई बाहेक कसैलाई पनि भनेकी थिइँन। सन्तानलाई दूध चुसाउँदा गाह्रो भएको अनुभव पहिलेनै गरेको भएर दोस्रो सन्तानले दूध मजाले खाई। आफूलाई के हुन्छ थाहा भएन, सन्तानलाई केही नहोस् भन्ने मातृत्वको अनुभव त्यसबेला भइसकेको रहेछ।
त्यसअघि, अर्को सन्तान हुँदै छ भनेर छोरीलाई भन्दा उ पनि निकै खुसी भएकी थिई। पछि बहिनीलाई स्याहार्ने, माया गर्ने उसैले गरि। ऊ उत्साहित भएको देख्दा दोस्रो सन्तानको आइडिया त्यति नराम्रो होइन भन्ने लाग्यो। बहिनी देखेर उ एकदम खुसी भए पछि मेरो पनि मनोबल बढ्दै गयो।
दोस्रो पटक सुत्केरी हुँदा पनि म माइतीमा गइँन। त्यसबेला त झन् कोभिड भएको कारण मैले सबै आफैं सम्हालें। एउटा सन्तान हुँदा र दुइटा सन्तान हुँदा निकै संवेदनशील हुनुपर्ने रहेछ। दोश्रो सन्तान भएपछि पहिलो सन्तानले टाढा भएको महसुस गर्छ भनेर मैले पहिलानै कतै पढेको थिएँ। ठूली नानीले त्यो महसुस नगरोस् भनेर निकै सचेत भएँ। अहिलेसम्म पनि, दुवै छोरीमा बरोबर सन्तुलन मिलाउने कोसिस गर्ने गर्छु।
विवाह गरिसके पछि त आफ्नो जिम्मेवारीबाट टाढा जाने कुरा भएन। हामीले सकेसम्म सकारात्मक वातावरण बनाइदिने गरेका छौं। खुसी लाग्छ, मैले उनीहरुलाई बोल्नसक्ने बनाएकी छु। उनीहरुले कसैलाई अन्याय नगरोस् र उनीहरू पनि अन्यायमा नपरोस् भन्नेमै म बढी ध्यान दिन्छु। म आफ्नो प्राज्ञिकदेखि व्यवसायीक र पारिवारिक जिम्मेवारी उत्तिनै पुरा गर्ने प्रयास गरिरहेको हुन्छु।
ठूली ११ मा पढ्छे अनि अर्की नर्सरीमा। उनीहरू सक्षम भएको हेर्ने बाहेक मैले खासै उनीहरुको बारेमा धेरै सोचेको पनि छैन। बीचमा उनीहरू नरूमल्लिउन्, राम्रो पढेर बलियो करियर बनाउन् भन्ने बाहेक मेरो अरु के नै आश होला र!
आमा भएपछि सन्तान पहिलो प्राथमिकतामा पर्ने रहेछ। मेरो पनि कोहि छ भन्ने लाग्छ दुवैलाई देख्दा। उनीहरू मेरो छोरी भन्दा पनि बढी साथीहरू जस्तै भएका छन्। मातृत्व अनुभव भनेको त एउटा मीठो अनुभव रहेछ!
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असोज २७, २०८१ आइतबार २०:१७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।