सुमन वर्षाको प्रसव पीडा र खुसी : हस्पिटलमा चिच्याउने, रूने, श्रीमानलाई गालि गर्ने आवाज आइरहेको थियो, मलाई रिस उठ्यो

सुमन वर्षाको प्रसव पीडा र खुसी : हस्पिटलमा चिच्याउने, रूने, श्रीमानलाई गालि गर्ने आवाज आइरहेको थियो, मलाई रिस उठ्यो

साहित्यमा पनि विशेष रूचि राख्ने सुमन वर्षा घिमिरे क्याम्पस पढाउने गर्छिन्। उनी अहिले चाबहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसको 'बीसीए डिपार्टमेन्ट हेड'  हुन्। पढ्ने र पढाउने काममै व्यस्त उनले विभिन्न पुस्तक समेत लेखेकी छन्।

झापामा जन्मिएको उनी पाँच दिदीबहिनी मध्ये जेठी हुन्। सानैदेखि आमाले 'छोरा नभएको' भनेर अनेक कुरा सुन्न परेको सम्झिँदा उनलाई अहिले पनि नराम्रो लाग्छ। तर पनि उनका बुवाले उनीहरुलाई कुनै कमी महसुस हुन दिएनन्। तै पनि उनी  'जेठी दिदी' भएकाले अलि अगाडि नै परिपक्व हुनुपर्यो।

अहिले उनी दुई सन्तानकी आमा पनि हुन्। अंग्रेजीमा 'एमफील' गरेकी उनले सन्तानपश्चात् पनि पढाइलाई निरन्तरता दिइन्। उनै सुमन वर्षाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :

000

आइए पढ्दै गर्दा झापामै बिहे भयो अनि त म काठमाडौँ आइहालेँ। घरमा केटा माग्न आएको छ भनेपछि 'नाइँ' भन्ने सम्भावनै थिएन। मलाई पहिलेदेखिनै पढाइ चैं निरन्तर हुनुपर्छ भन्ने लाग्थ्यो। बिहेपछि पनि पढ्न दिने सहमती भएपछि मैले नाइँ भनिँन। 

झापामा हुर्किएकी म, ठुलो एरिया, जता हेरे पनि आफ्नै खेत, खुला क्षेत्र मात्रै थाहा थियो। तर, काठमाडौँ त सबै साँघुरो। जता हेर्यो उतै भित्ता मात्र देखेँ। यहाँ र उताको पानी जुधेपछि सन्चो भएन। करिब १५ दिन जति म हस्पिटलमै बस्नु पर्यो। 

बिहेपछि श्रीमानको घरमा आउँदा धेरै कुराको जिम्मेवारी थपियो। कोठामा ग्याँस बालेर पकाउने बेला अर्कै खालको गन्ध आयो। अनि के भयो भनेर जँचाउन जाँदा त गर्भवती भइसकेछु। एमए पास नगरेसम्म म बच्चा पाउने सोचमा थिइँन। गर्भवती भएको थाहा भएसँगै खूब रोएँ। अब मेरो पढाइ छुट्ने भयो भन्ने डर भयो।

ओहो! त्यो बेला कस्तो रोएको भनेर पछि पो महसुस गरें। तर, पढाइलाई टाढा राखिँन। तर गर्भ बसेपछि सामान्य अवस्था जस्तो त कहाँ हुन्छ र! पढाइमा धेरै समय दिन गाह्रो हुन्थ्यो। तैपनि, जसोतसो पढि नै रहेँ।

स्नातक पढ्दै गर्दा मेरी छोरी जन्मिई। मनोवैज्ञानिक हिसाबले कतै मेरो पढाइ रोकिने हो कि, अब बच्चा हेरेरै मेरो जिन्दगी बित्ने हो कि! भन्ने लागेको थियो। तर, बच्चा पेटमा हुर्किँदै गर्दा मातृत्व महसुस हुँदै जाने रहेछ। 

म त त्यसबेला धेरै मोटाएको थिएँ। सुरूमा त खानेकुरा खासै रूचेन। पछि जे खाए पनि रूच्ने भएको थियो। माछामासु खूब मीठो लाग्ने। मेरा खुट्टाहरू पनि सुन्निएका थिए। 

मेरो स्नातकको परीक्षा ठ्याक्क सक्किएको थियो। घरमै पढ्ने, शारीरिक व्यायाम गर्ने गरेरै मेरो नौ महिना बित्यो। डेलिभरीको समय तोकेको एक हप्तासम्म पनि मलाई केही भएको थिएन। व्यथा लागेको छैन भनेर घरमै बसिरहेको थिएँ। व्यथा लाग्ने केही सुर नदेखेपछि हस्पिटल गएको त खूब गालि खाएँ। 

'यति ढिला आउने हो? बच्चाले फोहोर खान थाल्छ' भन्नुभयो। हामी त व्यथा लाग्छ अनि हस्पिटल जाने भनेर बस्छौं नि। त्यस्तो होइन रहेछ। धेरै कुरा त पहिलोमै केके गर्न नहुने भन्ने रहेछ। त्यै भएर पनि हो कि, गर्भवती महिलालाई देख्यो भने एकदम नाजुक लाग्छ। अनि तुरून्त भर्ना भयौं। त्यही दिन मैले छोरीलाई जन्म दिएँ।

मैले छोरी नर्मलनै जन्माएँ। व्यथा लागिरहेको थिएन। अनि व्यथा लाग्ने औषधि दिनु भएको थियो। हस्पिटलमा त सबैजना चिच्याउने, रूने, श्रीमानलाई गालि गर्ने, विभिन्न आवाज आइरहेको थियो। मलाई त्यो माहोल देखेर रिस उठेको थियो। औषधि दिएपछि दुखाइ त भयो तर, मैले धेरै प्रतिक्रिया जनाइनँ। अनि ममीहरूले 'मैले किन आवाज निकालिँन, किन केही पनि बोलिँन, अलिकति ऐया...आत्था भन्दिएको भए हुन्थ्यो' भन्ने सोच्नु भएको रहेछ। 

बिहान भर्ना भएको, राति मैले छोरीलाई जन्म दिइसकेको थिएँ। छोरीलाई पहिलोपटक देख्दा मैले यस्तो राम्री छोरी जन्माएँ भनेर मख्ख परेकी थिएँ। तत्काल स्तनपान गराए कि गराइन याद छैन। तर, पछि स्तनपान गराउँदा चैं निकै सकस भयो।

डेलिभरीपछि त मलाई एकदम भोक लाग्यो। मैले राति नै खाना मगाएर खाएँ। दुई दिन हस्पिटलमा बसेपछि म घर फर्किएँ।
 
२२ दिनपछि माइती जाने कुरा भयो। आमा लिन आउनु भएको थियो। गएर भद्रपुरमा बसें। आमासँग बसेर टन्न खाँदा त मेरो गालाहरू पनि पुक्क पुक्क फुलेको थियो। आमाले सधैं खाना खाएन भनेर गाली पनि गरिराख्नुहुन्थ्यो। आमालाई त जसरी हुन्छ म मोटी हुनुपर्यो, बलियो हुनुपर्यो भन्ने भयो नि। नभन्दै उहाँले सोचेजस्तै म डेलिभरीपछि धेरै मोटाएँ। 

पहिलो सन्तानको समयमा त बच्चा कसरी हुर्काउने भनेर फिटिक्कै थाहा नहुने भयो। मलाई त त्यसबेला यति धेरै रिस उठ्थ्यो कि, बच्चा देखेरसमेत रिस उठ्यो। पछि बुझ्दै जाँदा त्यो पनि एउटा प्रसवको चरण नै रहेछ। छोरी हुर्काउन एउटा चुनौती नै भयो।
 
दोस्रो सन्तानको समयमा भने त्यस्तो भएन। सबै अगाडि नै अनुभव गरेको भएर के गर्नुपर्ने रहेछ, कसरी गर्नुपर्ने रहेछ भनेर थाहा भयो। स्याहार कसरी गर्ने भनेर पनि थाहा भयो। पहिलोपटकमा त छोरी सुतिरहन्थी, मैले पनि सुतोस् भनेर छोडिदिन्थे। तर, त्यस्तो गर्न नहुने रहेछ। सुतेको बच्चालाई उठाएर भए पनि दूध खुवाउनु पर्ने रहेछ भनेर दोस्रोपटकसम्म आइपुग्दा प्रस्टै थाहा पाइसकेकी थिएँ। 
 
एकपटक छोरीलाई निर्जलीकरण (डिहाइड्रेशन) भएछ। एकदम रून्थी। धेरै नै गाह्रो भयो भनेर हामीले दमकको हस्पिटलमा लग्यौं। त्यहाँ त 'पढे-लेखेको बाउआमा भए पनि यस्तो गल्ती गर्ने?' भनेर हप्काउनु भयो। पढे-लेखेको भए पनि यस्तो व्यवहारिक कुरा त हामीले जानेकै नहुने रहेछौं नि! किताबी कुरा पढ्यौं। त्यसबेला यस्तो पनि जान्नुपर्छ भन्ने नै थाहा भएन। 

हाम्रो पहिलो सन्तान भएपछि पढाईलाई थप अगाडि बढाउने सोच बनाएँ। त्यही भएर श्रीमान्लाई भर्ना गरिदिनु भएको थिएँ। तर, परीक्षाको फारम खुल्दा त उहाँले भर्नानै गरिदिनु भएको रहेनछ। त्यसबेला झगडै पर्यो। मैले त अब म कहिले पनि पढ्दिनसमेत भनें। 

तर, उहाँले 'छोरीको माया लाग्यो, तिम्ले पढ्न थालेपछि उसले राम्रो स्याहार नपाउला कि' भन्ने लागेर भर्ना नगरिदिएको भन्ने जबाफ दिनुभयो। र, पछि फेरि आफैं गएर भर्ना गरिदिनु भयो अनि मैले पढ्न पाएँ। त्यसबीचमा छोरीलाई राम्रोसँग समय दिन पाएँ। 

हाम्रो पहिलो र दोस्रो सन्तानबीच सात वर्षको उमेर अन्तर छ। त्यहीबिचमा मैले पढाई सक्काएर पढाउनसमेत थालिसकेकी थिएँ। पशुपति क्याम्पसमा पढाउन थालेकै वर्ष मेरो दोस्रो सन्तान हुनेवाला थियो। घरको काम, बाहिरको काम अनि बच्चा हेर्न पर्दा त निकै झन्झटिलो हुन्थ्यो नि। बच्चालाई खाना खुवाउन सबै भन्दा झर्को हुन्थ्यो। 

छोरी भएको केही समय पछिनै मलाई अब एउटा छोरा चाहिन्छ भन्ने सुन्नुपर्यो। मेरो आफ्नै आमाले पनि छोराको लागि भोगेको विभेद मैले बिर्सिएकी छैन। त्यस्तो अवस्थामा मैले सिधै छोरी छ, अब मलाई केही चाहिँदैन भनेर जवाफ दिन्थे। त्यही भएर दोस्रो सन्तान हामीले योजना बनाएर जन्माएका पनि हेनौं।

गर्भ रह्यो। अब पाउने भनेर पायौं। छोरा नै भयो। त्यसबेला आफैं पनि शारीरिक र मानसिक रुपमा परिपक्क्व अनि अनुभवी भइहाल्यो। त्यै भएर तुलनात्मक रुपमा मलाई दोस्रो सन्तानको समयमा गाह्रो भएन।
  
दोस्रो सन्तान त काठमाडौँमै जन्माएको हुँ। पिँडालु, करेलाको जरा खूब मन पर्ने। एकपटक त्यही पिँडालु बोकेर आउँदा गर्भवती समयमा लडेर मेरो त हात्नै भाँचिएको थियो। धन्न बच्चालाई केहि भएन। डेलिभरी त अप्ठ्यारोमै भयो। त्यसबेला पनि व्यथा नलागेर औषधि दिएपछि मात्र मलाई व्यथा लागेको हो। तर, यसपटकक भने अगाडिको अनुभवले काम गर्यो। 

भाइ जन्मेपछि छोरीलाई मलाई माया कम गर्यो भन्ने  लागेको रहेछ। सानोमा दुई जनामा अलिअलि झगडा हुन्थ्यो। दुइटा बच्चा त पाउनु नहुने रहेछ भन्ने पनि लाग्यो। तर, पछि हुर्किँदै जाँदा उनीहरू खूब मिले। म नै नचाहिने जस्तोसम्म पनि भएको थियो। उनीहरुको गफदेखि लिएर धेरै व्यवहार पनि मिल्छ। अहिले छोरी एमडीको तयारी गर्दै छे। बाबु पनि एमबीबीएस पढ्दै छ।
 
अहिले पनि घरीघरी मैले उनीहरुलाई राम्रो समय दिन सकिन कि भन्ने लाग्छ। साहित्यमा पनि रूचि भएकाले कुन बेला मुड चल्छ अनि लेख्न बस्छु। पढाउने काम भएको कारण पढिरहन त पर्यो नै। 

अहिले यहाँसम्म आइपुग्दा मैले माया गर्ने र मलाई माया गर्ने कोहि छ भन्ने लाग्छ। उनीहरू नै मेरो अभिभावक जस्ता छन्। हामी एक अर्काको साथी भएको त धेरै भइसक्यो।

प्रसव पीडाका यसअघिका सामग्री 

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

असोज ५, २०८१ आइतबार १५:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।