सांसद ईश्वरीको प्रसव पीडा र खुसी : दिदीले पेट देखेर ‘लौ यो त बच्चा पाउने भई कि क्या हो’ भनेपछि डरले ग्वाँग्वाँ रोएँ

सांसद ईश्वरीको प्रसव पीडा र खुसी : दिदीले पेट देखेर ‘लौ यो त बच्चा पाउने भई कि क्या हो’ भनेपछि डरले ग्वाँग्वाँ रोएँ

शिक्षक, रेडियोकर्मी र पत्रकार समेत भइसकेकी सांसद ईश्वरी घर्ती मगर अहिले भने अलि खुसी देखिन्छिन्। कारण-अहिले दुई छोरीलाई तुलनात्मक रूपमा बढी समय दिन थालेकी छन्। प्रायजसो जिल्लाको काममा सक्रिय हुँदै आएकी उनी अहिले भने संसदीय गतिविधिमा बढी संलग्न छिन्।

सांसद भएको केही महिना उनलाई संसद् र सांसदको भूमिका बुझ्नै लाग्यो रे। अहिले भने सदन, सांसदमा कसरी कुरा राख्ने? कस्तो विषय उठाउने भनेर पहिलाको भन्दा परिपक्व भएको उनको अनुभव छ।

दक्षिण रोल्पामा पर्ने नुवागाउँ क्षेत्रमा बाल्यकालसँगै राजनीति यात्रा अगाडि बढाएकी उनले द्वन्दको त्रासदीमा आफ्नो पढाइलाई निरन्तरता दिइन्। पहाडी क्षेत्र त्यसमाथि राजनीति रापले गर्दा उनको बाल्यकाल कष्टकर रह्यो।

बम बारुदको माहौलमा पढ्दा मानसिक हिसाबले हठी स्वभावको बन्दै गइन् उनी। सँगैको साथीहरूले पढाइ छोडेर घरमा सीमित हुनुपर्यो। उनी भने लुकिछिपी पार्टीको बैठकमा सहभागी हुन थालिन्।

छ/सात कक्षा पढ्दा नै विद्यार्थी राजनीतिमा जोडिसकेकी उनी शान्ति प्रक्रिया भन्दा अगाडि आफ्नो विद्यालयको प्रारम्भिक समितिको उपाध्यक्ष समेत भइन्। त्यसपछि भने उनी राजनीतिमा झन् बढी सक्रिय हुन थालिन्। अहिले फर्केर हेर्दा आफ्नो बाल्यकालदेखि अहिलेसम्म पूरै जिन्दगी राजनीतिमै बितेको अनुभव हुन्छ उनलाई।

दुई सन्तानकी आमा समेत रहेकी उनलाई असल आमा हुन श्रीमानले पनि निकै साथ दिए। उनै ईश्वरीले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:

000

मेरो त बाल्यकालै राजनीतिमय भयो। त्यही भएर होला म अलि आक्रोशित र हठी स्वभावकी थिएँ। अहिले पनि रोल्पा भनेपछि साथीहरूले माओवादी हो भनेर सोध्ने गर्छन्। परिस्थितिले पनि ममा त्यस्तो स्वभाव ल्याइदिएछ भन्ने लाग्छ।

म सामान्य परिवारकी कान्छी छोरी। दाइ र दिदीले भन्दा केही बढी पढ्न पाएँ। आमा त पूरै निरक्षरै हुनुहुन्थ्यो। बाबाले भने अक्षरसम्म चिन्नुहुन्थ्यो।

त्यसबेला केटाकेटीलाई पढ्न दिनु पनि हिम्मतकै कुरा थियो। धेरै विद्यार्थीहरू विद्यालयबाट कहिल्यै पनि फर्केनन्। त्यसैले सन्तानलाई विद्यालय पढाउनै अभिभावक डराउँथे। त्यसैको प्रभावले होला मेरो घरमा पनि एसएलसीसम्म पास गरे राम्रो हुन्छ भन्ने भएछ।

एसएलसी पास गरेपछि अनेरास्ववियुमा आबद्ध हुँदा नै मेरो जिम्मेवारी सदरमुकाममा पारियो। त्यस बेलासम्म सदरमुकाममा एमालेको विद्यार्थी सङ्गठन थिएन। पछि म गएर उमाविको प्रारम्भिक कमिटीको संस्थापक अध्यक्ष भएर काम गरेँ।

शान्ति प्रक्रियामा आएको एक वर्षपछि घरमा बिहेको कुरा चल्यो। त्यतिबेला म कक्षा ११ मा पढ्दै थिएँ भने पार्टीको जिम्मेवारी पनि बढेको थियो। १२ कक्षा पढ्दै गर्दा पारिवारिक माहौलमा विवाह भयो। मेरो श्रीमान् पनि विद्यार्थी नेता नै। तर, उहाँले पछि राजनीति त्याग्नुभयो।

विवाह गर्दा म जम्मा १८ वर्षकी मात्र थिएँ। तर मेरो साथीहरू सबैको बिहे भएर बच्चा समेत भइसकेकाले गाउँमा मेरो पनि बिहे गर्ने उमेर भएको मानियो। त्यसमाथि पढ्ने हो भने बिहे गर्नुपर्छ भन्ने कुरा भयो।

अनेरास्ववियुको प्रारम्भिक कमिटीको माविसम्मको उपाध्यक्ष, सदरमुकाम गएपछि अध्यक्ष, जिल्ला कमिटीको सदस्य र महिला विभागको प्रमुख हुँदै अञ्चल कमिटी सदस्यसम्म भइसकेको थिएँ। तर बिहेपछि केही समय राजनीतिबाट टाढा हुनुपर्यो। त्यति धेरै सक्रिय हुन पाइन। अनि नजिकैको ‘बोर्डिङ स्कुल’मा १५ महिनाजित पढाएँ।

अहिले त श्रीमती वा बुहारीलाई झोला बोकेर राजनीति गर्न पठाउने माहौल बनिसकेको छैन। त्यसबेला घरबाट राजनीति गर्नुपर्छ भन्ने कुरा आएन। त्यसको लागि मनाउन दुई वर्ष लाग्यो।

विद्यार्थी राजनीति छोडे पनि म इलाका कमिटीमा जोडिएको थिएँ। त्यहिबेला हो मैले सञ्चार माध्यमहरूमा पनि काम गरेको। लेखनको पनि काम गरेको।

बिहे गरेको दुई वर्षपछि मेरो छोरी जन्मियो। मलाई चैँ अलि पछि भइदिएको भए हुन्थ्यो कि! पढ्न पाइदिए हुन्थ्यो भन्ने लागेको थियो। तर, श्रीमान् जेठो छोरो। घरमा कम्तीमा एउटा नातिनातिना जे भए पनि हुन्थ्यो भन्ने भयो।

अनि मलाई पनि ठिकै छ, एक न एक दिन जन्माउनै पर्छ भन्ने भयो। बरु यो ‘ग्याप’ भइरहेको बेला जन्माइहालौँ न भन्ने भयो। अनि हाम्रो छोरी जन्मियो।

छोरी जन्मिएको ७, ८ महिना सम्म म छोरी च्यापेर पढाउन जान्थे। पहिला १६ सयमा कुरा भएको थियो, पछि दुई हजार तलब सम्ममा मैले काम गरेँ।

अहिले सामाजिक सञ्जालमा गर्भ बसेको एक महिना, दुई महिना भन्दै खुसीयाली मनाएको देख्छु। तर मैले त त्यो खुसीको समय हो भन्ने समेत पनि थाहा पाइन।

गर्भवती भएको ५-६ महिनापछि पेट निस्कन थाल्यो। अनि घरका सबैले म गर्भवती भएको थाहा पाएका हुन्। पहिला त सकभर आफू गर्भवती भएको कसैलाई थाहा नहोस् भन्ने लाग्थ्यो नि!

अनमीलाई पनि डाक्टर मान्नुपर्ने अवस्था थियो। म कसैले देख्छ कि भनेर सुटुक्क जँचाउन जान्थेँ। त्यसले आफूलाई गाह्रो भएको हो कि, अप्ठ्यारो भएको हो भन्ने समेत महसुसै हुन पाएन।

श्रीमान् एनजीओको सामान्य काम गर्नुहुन्थ्यो। जागिर गयो भने के गर्ने भन्नेमै मेरो ध्यान हुन्थ्यो।

पेट निस्किएपछि मलाई हेर्दै दिदीले ‘होइन यो त पाउने भयो कि क्या हो!’ भन्नुभएको थियो। म त अब सबले थाहा पाउने भयो भनेर ग्वाँग्वाँ रोएकी थिएँ। त्यसपछि पो घिउ, मह, भाले सब तयार पार्न थालियो।

त्यो बेला गाह्रो भएको थियो। तर गाह्रो भएको देखाउन हुन्न भन्ने थियो। त्यसैले गाह्रो भएको पनि कसैलाई भनिन। लुकाइयो। बान्ता गर्न पर्यो भने पनि पर गएर कसैले नदेख्ने ठाउँमा गर्थेँ। आफ्नो दुख लुकाउनाले छोरी जन्मिएपछि उसलाई कुपोषण समेत भयो। एकदमै कष्टकर रूपमा ठुलो छोरीलाई जन्माइयो, हुर्काइयो।

म बिहानदेखि साँझसम्म बच्चा पिठ्युँमा बोकेर पढाउँथे। त्यसले गर्दा कलिलो बच्चा चल्न पाएन। मेरो र उसको शरीरको तापले गर्दा पुरै बाफिएर खुम्चिने भएछ। छोरी बामे सर्ने, हिँड्ने उमेरसम्म पनि हिँड्न सकिनन्। उनलाई धेरै सकस भएको रहेछ।

उनी निकै ढिला हिँड्न थालिन्। सुत्केरी हुँदा बोर्डिङले २८ दिन बिदा त दिएको थियो। तर बिदा सकिएपछि त छोरी सधैँ मेरो पिठ्युँमा हुन्थिन्।

सबैले गाउँमा तेरो छोरीलाई ‘सामे’ लाग्यो, धामीकोमा लान पर्छ भने। म जँचाउन गएपछि कुपोषणको लक्षण देखियो। म अत्तालिएर पार्टीमा कुरा राख्न पुगेँ। यस्तै भयो भने त मेरो छोरी मर्ने भयो भने। अनि पार्टीले नै त्यहाँको एउटा सरकारी कार्यालयमा कम्प्युटर अपरेटरको पद खालि रहेको भनेर काम लगाइदियो। त्यहिबेला संयोगवश मैले रेडियोमा पनि काम गर्न पाएँ। सदरमुकामबाट टाढा हुनु परेन।

त्यसपछि श्रीमान् र मैले सन्तान नै छैन भने हामीले कमाएर के गर्ने भनेर कुरा गर्यौँ। अनि दुईमध्ये एकले पूर्ण रूपमा समय दिने भनेर श्रीमानले छोरीलाई पूर्ण रूपमा स्याहारसुसार गर्नुभयो। म धमाधम आफ्नो काममा सक्रिय भएँ।

जति पोषण नपुगेको हो, त्यति पुगेपछि छोरी दुई वर्षपछि तङ्ग्रिइन्। म आफैँ पनि कमजोर थिएँ। छोरीलाई जन्म दिएपछि म जम्मा ४२ केजीको मात्र थिएँ। गाउँघरको हिसाबले त ओ हो ! १८ वर्षमा परिपक्व भइसकेको भने पनि अहिले हेर्दा म त्यसबेला बच्चा नै रहेछु नि। बच्चाले बच्चा जन्माए जस्तो भएको रहेछ।

छोरी १८ दिनको हुँदा मेरो स्नातक पहिलो वर्षको परीक्षा थियो। छोरी लागेरै परीक्षा हलमा गएकी थिएँ। छोरी रोइरहेको छ अनि म लेखेकै छु।

गर्भवती हुँदा पोषणयुक्त खाना भनेर गाउँघरमा चलनै छैन। सबैले जे खाने हो गर्भवतीले पनि त्यही खाने हो। आफ्नै हिसाबले पोषणको लागि भाले वा खसी काटेर खायो भने खायो, नत्र त कहाँ पाउनु।  पहाडमा फलफूल पनि सधैँ कहाँ हुन्छ र।

नियमित जँचाउन पनि गइन। अरू पनि जान्थेनन्। त्यही देखेर म पनि गइन। बच्चा जन्मिए पछि के खाला, कसरी हुर्कला भन्ने नै भएन। वातावरण नै त्यस्तो थियो। बच्चा सबैले जन्माउँछन्, बिरामी हुन्छ, त्यस्तै अवस्था आयो भने मर्छन् पनि भन्ने पो थियो।

मलाई मङ्सिरमा जन्मिन्छ होला भन्ने लागेको थियो। तर कार्तिक २३ मै मलाई निकै गाह्रो भयो। व्यथा लागेको होला भनेर सोच्दा पनि सोचिन। किन गाह्रो भयो ? भनेर अस्पतालमा सोध्छु भनेर गएँ। त्यहाँ फेरी श्रीमान् र श्रीमती जाँच्न बस्नुहुन्थ्यो। सर रहेछ भने फर्किन्छु, म्याडम भए सोधेर आउँछु भनेर पो गएको। यसो चियाएर हेरेको म्याडम नै हुनुहुदों रहेछ।

उहाँले ‘तपाई त हस्पिटल नियमित पनि हुनुहुन्न नि है’ भन्नुभयो। मैले छैन भने। उहाँले चार वटा घर खुलिसकेको भन्नुभयो। ‘अब त बच्चा जन्मिने बेला भइसक्यो भन्नुभयो।

उस्तै परे दुई-तीन घण्टामै बच्चा जन्मिन्छ, खै तपाईँको घर परिवार कहाँ छ’ भनेर भन्नुभयो। कहाँ छ कहाँ अब। फोन थिएन। उहाँले जँचाउन त नआउने, यहाँबाट गयो भने फर्किँदैन भने त्यहीँ राख्नुभयो।

केही बेरमा छोरी जन्माए। व्यथा लागेको समेत थाहा भएन। पहिलो पटक भएर होला व्यथा लाग्दा कस्तो हुन्छ भनेर थाहा पनि पाइन। मलाई त यति धेरै धपेडी भएको रहेछ कि दुखाइ समेत थाहा भएन।

छोरी जन्माइसकेपछि उसलाई हेर्ने खुल्दुली भयो। पछि तपाइकी छोरी गुडिया जस्तै छे भनेर हातमा दिनुभयो। जम्मा सवा दुई केजीकी सानी थिई। तत्काल स्तनपान गराउनु भनेको थियो। सबैको अगाडि स्तनपान गराउन अप्ठ्यारो लागिरहेको थियो।

सुरुमा त धेरै सानी भएर मलाई समाउन समेत आएको थिएन। साढे तीन वर्ष पछि हाम्रो दोस्रो छोरी जन्मियो। सदरमुकाममै श्रीमानले होटेल पनि सञ्चालन गर्नुभयो। होटेल सञ्चालनमा आए पछि मैले जागिर छोडेँ।

त्यसबेला धेरै सामाजिक सङ्घसंस्थामा जोडिएर काम गरेँ। त्यै भएर पनि अर्को सन्तान जन्माइहालौँ साथी पनि हुन्छ, सँगै पनि हुर्किन्छ भन्ने भयो।

जेठी छोरीलाई जे भयो, त्यो कान्छी छोरीलाई नहोस् भनेर पुरै सचेत भएँ। कान्छी स्वस्थ पनि जन्मिइन्। उ त जन्मिँदै झन्डै साढे तीन केजीको थियो। दोस्रो छोरी त मैले घरमै जन्माएको हुँ। त्यसबेला पनि खै किन हो मलाई धेरै व्यथा नै लागेन। व्यथा लागेको हो कि ! जस्तो मात्र भएको थियो। श्रीमानले एम्बुलेन्स बोलाउन तयार हुनुभएको पनि हो। तर एम्बुलेन्स आइनपुग्दै मैले अर्को छोरीलाई घरमै जन्माएँ।

पहिलो सन्तान जन्मिदा सुत्केरी स्याहारको अनुभवै भएन। दोस्रोमा पनि भएन। तुलनात्मक रूपमा पहिलोमा भन्दा दोस्रोमा कम गाह्रो हुने रहेछ। सानी जन्मिएको दुई-तीन महिनासम्म पुरै समय दिएँ। पछि त म राजनीतिमा थप सक्रिय हुनपर्यो। दुवै छोरी मसँग भन्दा बढी आफ्नो बाबासँग हुर्किए।

अहिले दुवै जना यतै काठमाडौँ महानगरपालिकाको विश्व निकेतन विद्यालयमा पढ्दै छन्। एउटा अब एसइईको तयारीमा छिन्। अर्को सातमा पढ्छिन्।

मैले त उनीहरूलाई जन्म मात्र दिएको हो, हुर्काउने सबै काम श्रीमानले गर्नुभयो। अहिले पनि बेला बेला समय नदिएकोमा गुनासो गरिरहन्छन्। ’हाम्रो कुरा बुझ्ने, समय दिने बाबा नै हो नि’ भन्छन्। अधिकांशले बच्चा हुर्काउने दायित्व आमाको हो भन्छन्। तर मेरो हकमा चैँ त्यो श्रीमानमा सर्यो।

बच्चा हेर्ने काम ‘आइमाइको काम’ भन्दै मेरो श्रीमानलाई भनेको पनि सुनेको छु। कति सोझो तेरो श्रीमान् त। बिचरा फलानो। त्यसलाई त कस्तो गाह्रो छ भनेको पनि सुनेकै हो। तर उहाँले त्यस्तो सोच्नु भएन।

जे भए पनि दुई जना सन्तान हुनपर्छ भन्ने सल्लाह अनुसारै दुई सन्तान भए। दुइटा भएपछि हामीले अर्को सन्तानको बारेमा सोचेनौ। दाजुभाइको कमी महसुस होला भनेर सानैदेखि भाइटिकामा दुवै दिदीबहिनीलाई मिलेर टिका लगाउने वातावरण बनाएका छौँ।

छोरीहरूलाई जबरजस्ती राजनीतिमा लाग्न भन्दिन। उनीहरूको इच्छा अनुसार जे मन लाग्छ गर्छन्। तर सामान्य ज्ञान राख्नपर्छ भनेर पार्टी र राजनीतिको विषयमा कुरा भने गरिरहन्छु।

सांसद भएर पनि छोरीहरूलाई सरकारी स्कुलमा पढाएको पनि भन्छन्। अनि बच्चाहरूलाई भने ‘सांसद नेता भनेको त चोर, भ्रष्टाचारी हुन्छन्’ भन्ने रहेछन्। मलाई सुनाउँछन्। चित्त दुखाउँछन्। अब के भन्ने, अहिलेको परिवेश नै त्यस्तै बनाइरहेका छन्। राजनीति र राजनीतिकर्मी नराम्रो हो भन्छन्।

प्रसव पीडाका यसअघिका सामग्री 

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

भदौ १५, २०८१ आइतबार २२:२९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।