२० वर्षकै उमेरमा श्रीमान् गुमाएकी कल्पनाको प्रसव पीडा र खुसी : पहिलो पटक छोरीलाई काखमा लिँदा त ओ हो कस्तो अनौठो !
पत्रपत्रिकामा लेखेको लेखको सकारात्मक प्रतिक्रिया पाएपछि लेखक कल्पना खरेलले किताब नै लेख्ने आँटिन्। अनि गीति सङ्ग्रह, निबन्ध हुँदै उपन्यास समेत लेखिन्। अहिले उनी नयाँ उपन्यास सक्काउने तयारीमा छिन्। ‘रानी तलाउ’, ‘लभ इन जेरुसलम’ लगायतका उनको आधा दर्जन भन्दा बढी किताब उनले लेखिन्।
सानै उमेरमा विवाह, बच्चा अनि श्रीमान् गुमाउनुको पीडालाई उनले कलमको मध्यमबाट बह पोखिन्। साहित्य क्षेत्रमा हात हाल्नु अघि उनी बर्दियामा कस्मेटिक पसल चलाएर बसेकी छिन्। द्वन्द्वकालमा पसलमा हमला भएपछि उनी विस्थापित भइन्। अनि दुवै छोरीलाई घरमै छोडेर इजरायलमा काम गर्न पुगिन्।
नयाँ देश, नयाँ परिवेशमा उनले आफ्नो कलमलाई रोकिनन्। उतैबाट किताब प्रकाशित गर्न थालिन्। अहिले इजरायलबाट नेपाल फर्किएको पनि १२ वर्ष हुन लागिसक्यो। ठुलो परिवारमा जन्मिएको उनी चितवनबाट बाढी पीडित भएर बर्दिया पस्न पर्यो। त्यहिनै उनको बाल्यकाल बित्यो । पढाइमा राम्रो हुँदै गर्दा घरमा बिहेको कुरा पनि चल्यो, अनि बिहे पनि भइनै हाल्यो।
उनै लेखक कल्पनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
000
म जन्मिने बित्तिकै चितवनमा बाढी आएर हामी विस्थापित हुनुपरेको रहेछ। अनि हामी बर्दियाको जङ्गल पसेका रहेछौँ। त्यही नै मेरो बाल्यकाल बित्यो। पढ्दै थिएँ, घरमा बिहेको कुरा चल्यो। त्यसबेला नाइँ भन्न सक्ने अवस्था पनि थिएन। १५ वर्षकी हुँदा नै मेरो विवाह भयो। त्यसबेला सम्म म गृहिणी मात्र थिएँ।
पछि श्रीमानले नै काम गर्ने माहौल सिर्जना गरिदिनु भयो। पहिलो सन्तान तुरुन्तै भयो। त्यसबेला आफै पनि बच्चा थिएँ, केही थाहा थिएन। जिम्मेवारीहरू एकै पटक थपिएको जस्तो महसुस भयो आमा बन्दा। परिवारमा त सबैजना खुसी हुनुभएको थियो तर मलाई मेरो पढाइ र ‘करिअर’ अब सक्यो भन्ने लागिसकेको थियो।
त्यो नौ महिना मलाई निकै गाह्रो भयो। उमेरले गर्दा पनि हो कि ! जन्मदिने बेलामा त झन् म सहन सक्ने अवस्थामै थिइन। चार/पाँच दिन त प्रसव व्यथाले निकै गाह्रो बनायो। त्यसमाथि नानी पनि सात महिनामै जन्मिएको हो।
म धेरै कमजोर भएकी थिएँ। पानी समेत पचाउन सकेको थिइन। मेरो तौल नानी जन्माउने बेलासम्म ४० केजी भन्दा बढी भएन। राम्रोसँग खाना नखाए पछि दुब्लाइहाल्ने रहेछ।
त्यसबेला फेरी बुहारी हुनु भनेको घरको काम गर्नको लागि हो भन्ने सोच हाबी थियो। अहिले यसो सम्झिँदा त्यसबेला म एकदम अबोध थिएँ, जस्तो लाग्छ।
गर्भवती भएको सातौँ महिनामा मलाई अलग्गै खालको पेट दुख्यो। हस्पिटलमा जँचाउन जाँदा त अहिले नै जन्मिन्छ भन्नुभयो। चार/पाँच दिनपछि जन्मिएको नानी एकदम सानी थिइन्। त्यसबेला मैले दोस्रो जीवन पाएको अनुभव गरेँ।
यति गाह्रो भएको थियो कि ! मैले त अब अर्को सन्तान कुनै हालतमा पनि जन्माउँदिन भन्ने भएको थियो। तर पछि घरपरिवार र समाजको दबाबले दोस्रो सन्तान त जन्माउनु पर्यो।
मेरो दुवै छोरी हो। पहिलो पटक छोरीलाई काखमा लिँदा त ओ हो ! त्यो वात्सल्य, माया, ममता कस्तो अनौठो हुने रहेछ। एकदम राम्रो , सानी, पुतली जस्ती थिइन् मेरो नानी। तर उनले सुरुमा स्तनपान गर्न मानेकी थिइनन्। दुई/तीन दिन पछि मात्र उनले राम्रोसँग स्तनपान गरेकी हुन्।
सानी छोरीले चैँ जन्मिने बित्तिकै खान खोजेकी थिइन्। औँला चुसिरहन्थिन्। दुवै छोरीबिच साढे तीन वर्षको उमेर अन्तर छ। सानी पनि समय भन्दा एक महिना अघि नै जन्मिएको हो। तर उनको बेलामा धेरै गाह्रो भएन। व्यथा लागेको साढे दुई घण्टा पछि नै जन्म दिइसकेकी थिएँ। उनको पालोमा पनि मलाई हल्का पेट दुखेको जस्तो भएको थियो। नेपालगन्जको हस्पिटलमा जँचाउन पनि गएको हो । तर डाक्टरले सामान्य नै हो भन्नुभयो।
पछि घर फर्किए, अनि रोटी पकाउन थालेँ। पेट झन् बेस्कन दुख्न थाल्यो। श्रीमानले उहाँको मेडिकल फिल्डकै साथीलाई बोलाउनु भएछ। संयोगवश उहाँले प्रसवको पनि सबै हेर्नु हुँदो रहेछ। अनि केही बेरमा घरमै मैले दोस्रो छोरीलाई जन्म दिएँ।
पहिलो पटक आमा बन्दा भन्दा अलि सहज भएको मैले त्यसबेला अनुभव गरेँ। त्यति धेरै समय पनि लागेन। त्यसबेला जाडो मौसम पनि थियो। गर्भावस्थामा जाडो महिना राम्रो हुने रहेछ जस्तो लाग्यो।
शरीर पनि आलस्य नहुने, जे खाए पनि रुच्ने हुने रहेछ। सानीको बेला अलि उमेर पनि पुगेको भएर पनि मलाई सहज भएको हुन सक्छ। उनको पालोमा पनि म त्यति धेरै मोटो होइन। पेट मात्र ठुलो देखिएको थियो। तौल त सानै थियो।
नानी पनि धेरै ठुलो त थिइनन्। सुत्केरी स्याहार भनेर मैले त्यस्तो रमाउन भने पाइन। सुत्केरी भए पछि पत्थरी भएको थियो। घिउ खायो कि पेट दुख्ने भयो। खाना बार्न परेपछि शरीर त तगडा हुने कुरै भएन। त्यस बेलासम्म पनि म गृहिणी नै हो। घरको काम गर्नु नै मेरो काम भयो। मैले सुत्केरीको समयमा पनि सबै घरको काम गरेँ।
हाम्रोमा फेरी सासूले बिदाइ नगरेसम्म सुत्केरी माइती जान मिल्दैन। त्यही भएर धेरै बुहारीहरू सुत्केरी पनि घरमै बसेर बिताउँछन्। म घरमै त बसिनँ। तर अलि ढिला माइती गएको थिएँ।
सानी छोरी एक/दुई वर्षको हुँदा उनीहरूको बाबाको दुर्घटनामा मृत्यु भयो। म आफैँ त्यसबेला २० वर्षकी मात्र थिएँ। हाम्रो परिवार र समाजले श्रीमान् बितेको एकल महिलालाई हेर्ने नजर कस्तो रहेछ भनेर त्यसबेला बुझेँ।
मलाई कसैको पनि सपोर्ट भएन। त्यसमाथि हामी क्षेत्री-बाहुनको कुरा नै केके हो, हो । म घरमा बस्ने वातावरण पनि भएन। अनि दुवै छोरी लगेर डेरामा बसेँ। आफ्नै घर बनाउन गाउँमा दुई/तीन वर्ष लाग्यो।
घर परिवारका लागि बुहारी हुनु भनेको छोरासँग जोडिएको विषय मात्र रहेछ भन्ने लाग्यो। अनि छोरा नै नभए पछि बुहारीको त के नै महत्त्व हुने भयो र ! सम्पत्तिको कुरा आए पछि कुरा झन् बिग्रिँदै जाने रहेछ।
त्यसबेला ‘छोरी दुइटा त हो, छोरीलाई किन सम्पत्ति चाहियो’ भन्ने जस्तो कुरा पनि नसुनेको होइन। २० वर्षकी फुच्ची जसले भर्खरै श्रीमान् गुमाइन्, अनि दुइटा सानी सानी छोरीलाई लिएर सङ्घर्ष गर्नु त धेरै गाह्रो रहेछ नि।
छोरीहरूसँग त पछि फेरी परिवार जोड्न समय लागेन। तर म एक्लो भएकी थिएँ। अनि राम्रो चलिरहेको पसलबाट विस्थापित हुन परेपछि मैले बिदेसिने सोचेँ। ठुलीलाई उसकै हजुरआमासँग र सानीलाई माइतीमा छोडेर म बिदेसिए।
सानी छोरी १० वर्षकी मात्र थिइन्, त्यसबेला । एउटा आमालाई आफ्नो बच्चा जतिको मायालु कोही पनि नलाग्ने रहेछ। बच्चाको माया भनेको अर्कै किसिमको हुने रहेछ। आफ्नो बच्चाको जति माया त एउटी महिलाले आफ्नो श्रीमानलाई पनि गरेको हुँदैन होला।
मैले गरेको माया र सङ्घर्ष अनुसार दुवै छोरीले राम्रै गरे। पढे पनि। त्यही भएर खुसी लाग्छ। ठुलीले नर्सिङ गरिन्। अनि सानीले पनि स्वास्थ्यमै स्नातकोत्तर सकाइसकिन्। दुवै जनाको राम्रोसँग विवाह पनि गराइसकेँ।
अहिले म उनीहरूसँगै बसिरहेको छु । ज्वाइँहरू पनि राम्रो गरिरहनु भएको छ । कामले गर्दा बाहिर नै हुने भएकाले छोरीहरूसँग समय बिताउन अप्ठ्यारो छैन।
अहिले त मलाई यति लामो यात्रा गरेर आएछु, जस्तो लाग्छ। मेरो युवावस्था त्यत्तिकै बितिगए। समय त त्यत्तिकै पनि ढल्किने रहेछ। बिचका दिनहरूमा निकै एक्लो महसुस नगरेको होइन तर, अहिले त बानी परिसकेछ। कहिलेकहीँ गाउँ पनि जान्छु। तर धेरैजसो काठमाडौँमै हुन्छु। अब पढाइ र लेखाई मानै समय दिनेछु।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
साउन २०, २०८१ आइतबार १५:१०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।