कलाकार नम्रताको प्रसव पीडा र खुसी : पहिलो सन्तान छोरी जन्मिँदा म र श्रीमान् बाहेक कोहि पनि खुसी भएनन्
नम्रता खरेल, कलाकार संघको कार्यकारी सदस्य हुन्। संघमा सदस्य भएर उनले काम गर्न थालेको एक वर्ष भइसक्यो।
सानैदेखि कलाकारितामा लागेकी उनले बीचमा केहि समय ब्रेक पनि लिइन्। अहिले भने फेरि यसै क्षेत्रमा सक्रिय भएकी छन्। भारतको असममा जन्मिएकी उनले चार वर्षको उमेरमा त्यहिँको महोत्सवमा नाचेर प्रथम नै भइन्।
त्यहि बेलादेखि विभिन्न सडक नाटक, मेलामहोत्सवमा आफ्नो प्रस्तुति दिँदै उनी कला क्षेत्रमा सक्रिय छिन्। जन्म असममा भए पनि उनी नेपालमै हुर्किइन्। आधा बाल्यकाल चितवनमा बिताइन्।
तीन दिदीबहिनीमा कान्छी उनले कलाकारितामा रम्दै गर्दा फरक क्षेत्रमा काम गरिरहेका युवकसँग विवाह गरे। प्रेम विवाह भए पनि घरको सबै परिवारको सहमतिमा उनीहरूले विवाह गरे।
विवाहपछि पनि दुवैले आफ्नो कामलाई निरन्तरता दिइ नै रहे। तर, समाज र परिवारको सन्तान जन्माउने दबाबका बावजुद उनीहरूले कामलाई नै ध्यानमा दिए। तर पाँच वर्षपछि भने उनीहरू आफैँले सन्तानको योजना बनाए।
अहिले नम्रता दुई सन्तानकी आमा हुन्। उनै नम्रताले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्ः
०००
चितवनमा आएपछि मलाई लामो समयसम्म भाषाको समस्या भयो। कलाकारितासँगै खेलकुदमा पनि मेरो रुचि थियो। तर, खेलुकदलाई त्यति माथि लान सकिनँ। मेला महोत्सव र सडक नाटकहरू त मैले कहिल्यै पनि छोडिन। नौ कक्षा पढ्दै गर्दा गौरी दिदी(गौरी मल्ल) र सरोज दाइ(सरोज खनाल)को गीतमा पछाडि नाच्ने मौका पाएँ। त्यस्तैमा रमाइरहेकी थिएँ।
स्टेज, सडक वा क्यामेरा सबैमा मैले आफ्नो कला देखाउन पाएँ। विवाहपछि अलि ठूलो प्रोजेक्टमा काम पाएँ। चेलिबेटी बेचबिखन सम्बन्धी फिल्म ‘चमेली’ फिल्ममा अभिनय गरेँ। विवाहपछि कामलाई निरन्तरता दिन गाह्रो भए पनि मैले म्यानेज गरिरहेको थिएँ।
श्रीमान्को पनि काम चलिरहेकाले हामीले सन्तानको बारेमा पछि सोचेर योजना बनाउँला भनेर बसेका थियौं। विवाहको लगभग पाँच वर्षपछि हामीले पहिलो सन्तानको तयारी गरेका हौँ।
त्यसबीचमा मैले धेरै कुरा सुन्नुपर्यो। श्रीमान् र मबीच समझदारी हुँदा पनि सन्तान जन्माउनको लागि परिवारका अन्य सदस्य र समाजका कुराले पनि धेरै विषय निर्धारण गर्दोरहेछ।
बाहिरको मान्छेले नबुझे केही थिएन तर घरकै मान्छेले समेत कुरा बुझ्नुभएन। मेरो दाजुभाइ छैनन्। त्यसले गर्दा ‘छोरा नभएको जातको बच्चा नहुन के बेर’, ‘चिना हेराउनुपर्यो, अब त बच्चा हुँदैन होला’ भन्ने जस्ता तीखो वचन समेत सन्नुपर्यो।
हामीले बनाएका योजनाहरू उहाँहरूलाई भन्ने कुरा पनि भएन। ती योजनाहरूको बारेमा उहाँहरूले थाहा नपाउँदा पनि होला त्यस्तो बचन लगाउनुभएको। हाम्रो समाजमा विवाहपछि बच्चा जन्माइहाल्नुपर्छ भन्ने सोच गढेर बसेको रहेछ भन्ने कुरा त्यहि बेला थाहा पाएँ। ‘बिहे गरेकै बच्चा जन्माउनलाई त हो नि!’ भन्ने मानसिकताले साह्रै पिरल्यो।
तर, श्रीमान्ले मलाई पूरै साथ दिनुभयो। उहाँकै साथले त आजसम्म हाम्रो सम्बन्ध टिकेको छ। बाल्यकालमा मैले जे अभाव महसुस गरे, त्यो मेरो बच्चालाई नहोस् भन्ने मलाई लागेको थियो। त्यै भएर तयारीका साथ, योजना बनाउएर नै सन्तानको योजना गर्नेमा हामी दृढ थियौँ।
मेरो पहिलो सन्तान छोरी जन्मियो। थापाथली हस्पिटलमा जन्मिएको उसलाई तीन महिनाको हुँदा चितवन लिएर गयौंँ। ससुराबुवा र मेरो आमाहरू पनि त्यहि हुनुहुन्थ्यो। सबैलाई भेटौँ भनेर गएको, त्यसबेला पनि ‘छोरो पाउने को जात भए पो छोरो जन्माउथे’ भन्ने सुन्नुपर्यो।
त्यतिबेला मन कटक्क खायो। त्यसबेला मेरो शरीरको प्रत्येक अंगबाट आँशु आउने ठाउँ भएको भए सबैबाट आँशु खस्थ्यो होला। ०५२ सालमा बिहे गरेको हाम्रो ०५६ सालमा छोरी भयो। गर्भवती हुँदा म याक एण्ड यति होटलको क्यासिनोमा पनि काम गरिरहेको थिएँ।
आठ महिनाको गर्भवती भएपछि मैले राजीनामा दिएँ। बेलुका उभिरहनु परेको भएर बिहानको सिफ्ट गर्दै थिएँ। नछोडेको भए पनि ५२ दिनको बिदा त पाउँथे। तर, श्रीमान्ले पनि नगर भन्ने सल्लाह दिएपछि मैले जागिर छाडेँ।
दिदिबहिनी भएको परिवारमा हुर्किएकाले पहिलो सन्तान छोरी नै होस् भन्ने मेरो चाहना थियो। श्रीमान्ले पनि छोरीकै चाहना राख्नुभएको थियो। एउटै परिवारको मान्छेमा कति फरक पाएँ मैले। सकरात्मक सोचका लागि वातावरण होइन, व्यक्तिले फरक पर्दो रहेछ।
गर्भवतीको अवधिभर म आफ्नो शरीरलाई लिएर अलि बढी सजग भएँ। त्यो समयमा एकदम मोट्टाउँछ भन्ने सुनेको थिएँ। तर, म जम्मा ५५ केजी मात्र थिएँ। डाक्टरले बच्चा सानो भएकाले एकदम धेरै आराम गर्नु भन्नुभएको थियो। ‘प्रेसर लो’ भएकाले रिंगटा पनि लाग्थ्यो अनि पिँडुला पनि खुब फर्किन्थ्यो। त्यहिबेला मलाई एकपटक खाएको खाना हेर्नै मन लाग्दैनथ्यो।
डेलिभरीको समयमा मलाई बिहानै देखि पेट दुख्यो। श्रीमान् र म काठमाडौंमै बस्थ्यौँ। उहाँले खाना पकाएर खाएर जानुभएको थियो। मैले पनि नुहाइधुहाइ गरेँ, खान खाएँ, घरको सरसफाई गरेँ।
पेट दुखिरहेकै थियो। किन दुख्यो भन्ने लागिरह्यो। व्यथा लागेको भनेर त सोच्दै सोचिनँ। त्यसबेला धेरै पिसाब आउला जस्तो पनि हुने रहेछ। श्रीमान् आएर मलाई स्याहार्नुपर्छ भनेर उहाँको कपडा समेत सफा गरेर राखेको थिएँ।
घरबेटी हाम्रो मेडिकल क्षेत्रमै हुनुहुन्थ्यो। उहाँलाई भनेँ। उहाँले ‘अहिले बेला भएको छैन। आत्तिनु त पर्दैन। तर घरमै बस्यो भने झ्याउ हुन्छ, हस्पिटल नै जाँदा राम्रो’ भन्नुभयो।
श्रीमान् आउने बित्तिकै हामी प्रसुति गृह गयौँ। बेला नै भएको छैन भनेर डाक्टरले भन्नु भएपछि म चाहिँ बसेँ। श्रीमान् फर्कनुभयो। हस्पिटलमा म एक्लै थिएँ। त्यसबेला मैले आफैँले नदेखेको सासुलाई धेरै सम्झेँ।
जे जस्तो भए पनि सासुले बुहारीलाई माया नगरे पनि त्यो जन्मिएको बच्चालाई चैँ माया गर्छन् भन्ने लाग्यो। सन्तान बुहारीले जन्माए पनि सन्तान त छोराको पनि हुन्छ।
राति लगभग १० बजे पुगेको थिएँ, भोलिपल्ट दिउँसो १२ बजे तिर मात्र मैले छोरीलाई जन्म दिएँ। माया र ममता पनि मिसिएको भएर होला, प्रसव पीडामा जति दुखाइ भए पनि आँशु चाहिँ नआउने रहेछ। प्रसव पीडाको समयमा बल लगाएर दायाँबायाँ समातेका कारण एक वर्षसम्म पनि मेरो पाखुराहरू दुखेको थियो।
त्यतिखेर मेरो मनमा एउटा मात्र कुरा खेल्यो। मेरो निधारमा जन्मदाग छ। सबैले यस्तो भएको आमाको सन्तानमा पनि अनुहारमा दाग आउँछ भन्थे। मैले मेरो सन्तानको चाहिँ अनुहारमा दाग नआओस् भन्ने चाहेको थिएँ। छोरी जन्मिँदा पनि सबैभन्दा पहिला उसको अनुहारमा दाग छ कि छैन पो हेरेँ।
सफा अनुहार देखेर आनन्द महसुस गरेँ। उसलाई हेर्दा त आफ्नै छायाँ देखेको जस्तो लाग्यो। मैले जे-जे कुरा भोगेँ, उसले त्यो भोग्न नपरोस भन्ने लाग्यो। खासमा हामीले त्यो चार/पाँच वर्ष समयपछि सन्तान जन्माउने योजना बनेको पनि त्यहि अभाव पूरा गर्न सकियोस् भनेर नै हो। मैले गर्न नपाएका र गर्न नसकेका काम उसले गरेको देख्दा पनि आफैँले गरेको जस्तो लाग्दो रहेछ।
मेरो दुवै सन्तानको जन्म नर्मल डेलिभरीबाटै भयो। सक्दिन कि जस्तो पनि लागेको थियो। दुखाइ सहन नसकेर डाक्टरलाई सिजर गरिदिनु पनि भनेको थिएँ। तर गर्न चाहिँ परेन। कस्तो अचम्मको दुखाइ हुने रहेछ त्यो। बटारेको जस्तो, अर्कै खालको।
स्तनपान मैले राम्रो सँग गराएँ। तर, धेरै गाह्रो हुने रहेछ। बच्चाले राम्रोसँग तान्न नसक्दासम्म दुखिरह्यो। दुख्न छोडे पछि चाहिँ फेरि स्तनपानमा जस्तो रमाइलो मलाई कुनै पनि लागेन।
श्रीमान्ले नै मेरो सुत्केरी स्याहार गर्नुभयो। दुवै सन्तान उहाँकै काखमा हुर्किए। उहाँले आमा, सासु वा अरु कसैको कमी महसुस हुन दिनुभएन। छोरी जन्मिएको दुई वर्षपछि फेरि हाम्रो अर्को सन्तान भयो।
भर्खर भर्खर आमा बनेको भएर पनि होला, कसैले पनि मेरो बच्चा नसमाए पनि हुन्थयो जस्तो लाग्थ्यो। दोस्रो सन्तान छोरा जन्मियो। उसलाई पनि श्रीमान् र मैले नै भएर हुर्कायौँ।
छोरीको समयमा जस्तो छोराको समयमा मलाई धेरै व्यथा लागेन। अलि अनुभवी भएर पनि होला। छोरी जन्मिँदा सानु थिई। छोरा त जन्मिदै ठूलो थियो। उसलाई त दिदीलाई जस्तो स्तनपान गराउन पाइनँ। ठुलो भएको कारण मेरो दूधले नपुग्ने रहेछ। त्यसमाथि दूध पनि कम आइदियो।
दुई जनालाई हुर्काउन मलाई धेरै गाह्रो भयो। छोरीलाई नै स्याहार्ने बेला अर्को जन्माएँ भन्ने पनि लाग्यो। छोरीलाई न्यास्रो लाग्ला भनेर धेरै सचेत भएकी थिएँ। आमाको मनले जेठो सन्तानलाई ठूलो अनि कान्छोलाई जहिल्यै सानो देख्ने रहेछ।
त्यहि भएर होला छोरी सानैदेखि अलि परिपक्व छिन्। अहिले नानीले सीए पढ्दैछिन् भने बाबुले पनि बीआईटी गरिसक्यो। दुवैजना मेरो साथमै छन्। निकै खुसी लाग्छ।
अर्को कुरा भनेको उनीहरू आफ्नो आमाबाबा सँगसँगै हिँड्न हिच्किचाउँदैनन्। बच्चाहरु सँग सकेसम्म साथी नै भएर बस्न पर्ने रहेछ। हेर्दा हेर्दा समय कति चाँडै बितिजाने रहेछ। अब उनीहरू दुवैले असल र बुझ्ने जीवन साथी पाओस् भन्ने चाहन्छु, त्यत्ति हो।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असार ३०, २०८१ आइतबार १४:३६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।