गीता श्रेष्ठको प्रसव पीडा र खुसी : बच्चा जन्माउने आफू, माइतीलाई किन दुख दिनु भनेर सुत्केरी हुँदा धेरै बसिन

गीता श्रेष्ठको प्रसव पीडा र खुसी : बच्चा जन्माउने आफू, माइतीलाई किन दुख दिनु भनेर सुत्केरी हुँदा धेरै बसिन

दुई पटकसम्म अमृत साइन्स क्याम्पसको सहायक क्याम्पस प्रमुख भएकी गीता श्रेष्ठ तीन दशक देखि शिक्षण पेसामा आबद्ध छिन्। अहिले पनि उनी 'बिएससी' लाई गणित पढाउने गर्छिन्। यहाँसम्म आइपुग्दा उनले धेरै निजी स्कुलहरूमा पढाइ सकेकी छिन् । 

काठमाडौँमा जन्मिएकी उनको बुवा भूमि प्रशासनमा काम गर्थे । बुवाको सरुवा जहाँ हुन्थ्यो, त्यही नै उनको पढ्ने ठाउँ पनि हुन्थ्यो। गाउँमा घुमी घुमी पढे पनि उनको पढाइमा भने सानैदेखि निखारपन देखिन थाल्यो। बाल्यकाल जलेश्वर र सर्लाहीमै बित्यो उनको। त्यहाँ पढ्दा पढ्दै उनको गणितमा विशेष रुचि भइसकेको थियो। 

विद्यालयको शिक्षा भन्दा पनि घरमा उनले सिकेको शिक्षाले उनलाई विशेष सहयोग गर्यो। एसएलसी पछि पढ्नको लागि उनले पद्मकन्या स्कुलमा नाम निकालेकी थिइन्। तर उनको साथीले 'साइन्स' पढ्ने भनेर अस्कलमा जान थालेको थाहा पाएसँगै उनले पनि त्यहीँ नाम निकाले। 

आइएससी सकिएपछि उनको ती साथी पढ्नको लागि कलकत्ता गइन्। उनले भने त्यही बिएससी हुँदै गणित विषयमै एमएससी गरिन्। 

एमएससी सकिदैगर्दा उनले पढाउने अवसरहरू पाउन थालिन्। त्यसबेला शहीद शुक्र स्कुलमा उनले गणित पढाइन्। अनि अस्कलमा पनि करारमा पढाउन पाइन्। २०४६ सालमा एक वर्ष काम गर्नेले स्वतः स्थायी हुने भनियो। त्यही अनुसार त्यहाँको स्थायी शिक्षक भइन्। यसरी पढ्दै पढाउँदै गर्दा उनको विवाह पनि भयो। उनले तीन जना सन्तानलाई जन्माइन्। 

सन्तानको पढाइ अब्बल हुनुमा पनि उनको भूमिका हुने नै भयो। २०६४ सालमा उनी राष्ट्रिय खेलकुद परिषद्को पहिलो महिला सदस्य सचिव समेत बनिन्। उनै गीताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :

000

मलाई सानैदेखि आफ्नो लागि आफैले केही गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यही भएर पनि पढाउने भए राम्रो सँग पढाउने भनेर मैले यही विषय पनि पढेँ, काममा पनि लागेँ । पढ्ने र पढाउने नै मेरो काम भयो। ०४८ सालमा मेरो मागी विवाह भएको हो। विवाह भन्दा अगाडि देखिनै मैले कमाउन थालिसकेको थिएँ। 

घरमा पनि सबैजना काठमाडौँकै, सबै जागिरे हुनुहुन्थ्यो। त्यसले कामलाई निरन्तरता दिन त्यति धेरै अप्ठ्यारो भएन। स्कुल, घर, क्याम्पस हुँदै ट्युसनसम्म भ्याउँथे। 

त्यसपछि हाम्रो सन्तान भयो। मेरो तीन जना सन्तान छन्। सबै जना हुर्किसकेको भएर होला अहिले त गर्भावस्थाको कुराहरू पनि बिर्सिसके। 

बिहे भएको दुई वर्षपछि हाम्रो पहिलो सन्तानको रूपमा छोरीको जन्म भयो। त्यसबेला मेरो सासू साथमा हुनुहुन्थ्यो। सासू त्यसबेला नै ७७ वर्षको हुनुहुन्थ्यो। त्यो उमेर समूहको मान्छेसँग मेरो सङ्गत नै थिएन। त्यही भएर होला, सुरुवाती दिनमा केही गाह्रो भएको थियो। पछि मेरो बुहारी एकदम मिहिनेती छ भन्ने कुरा पनि आएको थियो। ठूली छोरी जन्मिए पछि सासू बित्नुभयो। 

त्यो बेलाको जीवन नै अर्कै थियो। हाम्रो पहिलो छोरी हुँदा सासुले भ्याउनु भएसम्म मलाई सहयोग गर्नु भयो। मेरो अनुपस्थितिमा पनि छोरीलाई तेल लगाइदिने, उ सँग खेल्ने गर्नुहुन्थ्यो। त्यसबेला मैले त्यो महसुस गरिन। तर अर्को छोरीको समयमा उहाँको कमी महसुस भयो। 

हजुरआमाको अनुहार पनि नदेखेको छोरीले केरा खाँदा ठ्याक्कै उसको हजुरआमाले जस्तै खाएको देख्दा म त ट्वा परेको थिएँ। सानी छोरी जन्मिँदा ठूली छोरी बिरामी भइन्। धेरैले रुन्चे लागेको हो भन्थे। पछि दुवैलाई टाढा राखेको त साँच्ची नै उसको ज्वरो हरायो। 

ठूली छोरी पाँच वर्षको भए पछि सासू बित्नुभयो। अनि अर्को वर्ष त हाम्रो अर्को छोरी भयो। पहिलो र दोस्रो सन्तानमा ६ वर्षको उमेर अन्तर छ। अनि छोरा त १६ महिनाको मात्र फरक हो। 

पहिलो सन्तान हुँदा गाह्रो नै भएको थियो। तर जे जसो गरे पनि यो एउटालाई राम्रोसँग हुर्काउने भन्ने भयो। जहाँ जाँदा पनि उसलाई सँगै लैजान्थेँ। 

तीन वटै सन्तान पेटमा हुँदा म काममा गइराखेको थिएँ। पहिलो पटकमा त आफूलाई गाह्रो हुँदा सन्तान जन्मिएपछि त पढाउँदिन बा ! भन्ने लागेको थियो। पछि उसलाई स्कुल पठाउने भनेर स्कुल खोज्ने बेला एउटा सरले त्यो याद गर्नु भएको रहेछ। मलाई त हाँसो पनि उठेको थ्यो। गाह्रो हुँदा खेरि मान्छेले के-के भन्ने रहेछ। 

डेलिभरी हुनुभन्दा २,३ दिन अघिसम्म म पढाउन गएको थिएँ। गर्भवती भएको सुरुको तीन महिना चैं मासुको गन्ध पटक्कै मन परेन। पहिलो तीन महिना अलि संवेदनशील हुन्छ भन्छन् नि, सायद त्यस्तै भएको होला। 

त्यसकै असरले होला ठूली छोरीले नुन भएन भने खाना नै खाँदैनथिन्। आँप खायो भने पनि माल्दो बाहेक अरू फुत्त फुत्त निकाल्ने। सानो देखि एकदम स्वाद थाहा पाउने उसको स्वभाव भयो। 

दोस्रो सन्तान सासुको वर्ष दिनको कामपछि जन्मिनु पर्ने, त्यो भन्दा अगाडि नै जन्मियो। उसको न्वारनपछि मात्र सासुको वर्ष दिनको काम गरेको हो। गर्भवती आमाले जे जस्तो काम गर्छन्, पछि बच्चा पनि त्यस्तै हुन्छ भन्ने गर्छ रे। त्यो त मैले पनि अनुभव गरेँ। 

हजुरआमाको अनुहार पनि नदेखेको छोरीले केरा खाँदा ठ्याक्कै उसको हजुरआमाले जस्तै खाएको देख्दा म त ट्वा परेको थिएँ। सानी छोरी जन्मिँदा ठूली छोरी बिरामी भइन्। धेरैले रुन्चे लागेको हो भन्थे। पछि दुवैलाई टाढा राखेको त साँच्ची नै उसको ज्वरो हरायो। 

सानी छोरी दुई वर्ष नहुँदै छोरा जन्मिएको भएर उसलाई त केयर सेन्टरमा राखियो। सबैलाई मैले घरमा पढाउनेमै फोकस गरेँ। त्यसको प्रतिफल उनीहरू सबै पढाइमा निकै अब्बल भए। 

छोरा पेटमा हुँदा त मैले झन् सेवा आयोगको तयारी गरिरहेको थिएँ। त्यहीबेला लिखितमा नाम निकाल्नेदेखि अन्तर्वार्ता दिनेसम्म काम गरेँ। त्यही भएर पनि हो कि बाबुलाई पनि एक पटक पढाएको कुरा सबै याद हुन्थ्यो। उसको पनि गणित एकदम राम्रो छ। घरको काम, बच्चाहरू अनि फेरी अफिसको काम गर्न परेको भएर मैले मानसिक रूपमा चैं त्यस्तो तनाव भएको महसुस गरिन। 

तीन वटै सन्तान नर्मल नै जन्माएँ। तर सानी छोरीको पालोमा उल्टो भएकाले अलि गाह्रो भयो। अरू सन्तान जन्माउँदा त्यहाँको सिस्टरहरू मात्रको उपस्थितिमा जन्माएँ। 

म साहसी छु भनेर पत्तो नपाउँदै म साहसी भएछु भन्ने लागेको थियो। मेरो आधा भन्दा बढी जीवन दौडिँदैमा सकियो। अब डेलिभरी गर्ने समय भयो भनेर चार/पाँच दिनसम्म अस्पताल बसे पनि फर्किनु परेको अनुभव गरेँ। घरमा बसेको अर्को हप्तातिर मात्र सन्तान जन्माएँ। 

अहिले ठूली छोरी र ज्वाइँसँगै छोरा पनि क्यानडामा छ। अनि सानी छोरी बोस्टनमा पढ्दै छिन्। टाढा गएर बसेपछि उनीहरूले बाआमाको महत्त्व बुझेछन्। मातृत्व अनुभव भनेको त सर्वस्व रहेछ नि!  जसले जे गरे नि नगरे नि आमाले सबै थोक गर्नुपर्ने रहेछ। 

सुत्केरी स्याहारमा ठूली छोरीको समयमा माइत गएँ। पछि धेरै जसो घरमै बसेँ। जन्माउने म, माइतीलाई दुख किन दिने भन्ने सोच आयो। माइती त गएँ, तर धेरै बसिन। घरमै जसोतसो आफैले गरेँ। 

स्तनपानको समयमा पनि मलाई गाह्रो भएको थियो। छोरीले दूध तान्न पनि सकिरहेको थिइनन्। पम्प गर्दै, निकालेर समेत खुवाएको छु। बिदा पनि दुई सन्तानको समयमा मात्र पाइने रहेछ। मेरो त तीन जना भयो नि। 

तेस्रो सन्तानको समयमा दुई महिना बिदा पाएको थिइन। तर चाडबाडको समय भएर मलाई बिदा पुग्यो। दुई महिना पछि काममा फर्किन केही गाह्रो त हुने नै भयो। तर काममा फर्किएपछि चैं फेरी म पुरै काममा मात्र फोकस हुन्थेँ। बच्चा नहुँदा बिस्तारै घर पुग्थेँ, बच्चा भएपछि त अलि छिटो जानुपर्छ भन्ने हुने रहेछ। 

तीन वटा सन्तान हुर्काउन गाह्रो नै भयो। तर एक समयपछि उनीहरूले नै आफूलाई हेर्ने रहेछन्। उनीहरू दिदी-बहिनी र भाइ खूब मिलेर हुर्किए। ठुलोको बहिनी र भाइ पनि भएको कारणले होला उसले नै हेरिन्। हजुरआमासँग पनि समय बिताउन पाएको उ त सानैदेखि निकै परिपक्व भएकी थिइन्।  

अहिले ठूली छोरी र ज्वाइँसँगै छोरा पनि क्यानडामा छ। अनि सानी छोरी बोस्टनमा पढ्दै छिन्। टाढा गएर बसेपछि उनीहरूले बाआमाको महत्त्व बुझेछन्। मातृत्व अनुभव भनेको त सर्वस्व रहेछ नि!  जसले जे गरे नि नगरे नि आमाले सबै थोक गर्नुपर्ने रहेछ। 

मैले जीवनमा धेरै कुरा छोडे। आफूलाई चाहेको कुरा पनि गरिँन। अब छोराछोरीले छोडेर गए भनेर म रोएर बस्नेवाला पनि छैन। मैले उनीहरूलाई पनि यो कुरा भनेको छु। 

अब मलाई सङ्गीत सिक्न मन छ। कति किताबहरू घरमा छ, पढ्न पाएको छैन। अब पढेर बस्छु। अरूको निम्ति धेरै बाँचियो। धेरै गरियो। अब आफ्नो लागि गर्ने हो। आफ्नो लागि बाँच्ने। 

रिटायर हुन दुई वर्ष बाँकी छ। त्यसपछिको सबै समय म आफैंमा खर्च गर्छु। आमा भए पछि आफ्नो वृक्षलाई फैलिन दिन सक्नु नै पर्ने रहेछ। केही कमीकमजोरी पक्कै छ, तर मैले सक्ने जति गरेँ।

प्रसव पीडाका यसअघिका सामग्री 

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

असार २३, २०८१ आइतबार २२:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।