प्रिन्सिपल रिताको प्रसव पीडा र खुसी : नानीलाई त बेडमै जन्माएँ, डेलिभरी कक्षमा जानै परेन

प्रिन्सिपल रिताको प्रसव पीडा र खुसी : नानीलाई त बेडमै जन्माएँ, डेलिभरी कक्षमा जानै परेन

रिता नेमकुल श्रेष्ठ ३० वर्षदेखि ललितपुरको ’नेसनल चिल्ड्रेन स्कुल’को प्रिन्सिपलका रूपमा नेतृत्व गरिरहेकी छिन्। उनी यस स्कुलको संस्थापक सदस्य समेत हुन्। 

तीन कक्षा सम्मको अनुमति लिएर सञ्चालन गरेको स्कुलमा अहिले १० कक्षासम्म पढाइ हुन्छ। उनले यहाँ अहिले ’अकाउन्ट’ पढाउँछिन्। ललितपुरकै स्थानीय उनी पाँच दिदी बहिनीमध्ये कान्छी हुन्। उनको दुई दाजुभाइ पनि छन्। 

घरमा सबै भन्दा कान्छी भएको कारण उनले पढाइको लागि धेरै सङ्घर्ष गर्नु परेन। पढाइसँगै काम पनि गरिन्। विवाह भयो अनि स्कुल सम्हालिन्। दुई सन्तानकी आमा उनै रिताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :

000

मैले विवाह भन्दा अगाडि नै काम सुरु गरिसकेको थिएँ। त्यही भएर होला ’लभ म्यारिज’ गर्न आँट आयो। अहिले त लभ म्यारिज र अरेन्ज म्यारिजमा त्यति भिन्नता छैन। तर ३० वर्ष अगाडि आफैले रोजेको व्यक्तिसँग विवाह गर्नु भनेको ठुलै कुरा थियो। धन्न मेरो घरको सबैले यसलाई सहज रूपमा लिएकाले सङ्घर्ष गर्नु परेन। 

बिहेपछि स्वतः थप जिम्मेवारी आउने रहेछ। बाहिरको काम, घरको काम सबै गर्नैपर्यो। 

मेरो दुई जना छोरी छन्। बिहे भएको चार वर्षपछि पहिलो र त्यसको चार वर्षपछि दोस्रो सन्तान जन्माएको हुँ। अहिले दुवै जना आ–आफ्नै काममा व्यस्त भइसके। 

लामो समय भएकाले धेरै कुरा त बिर्सिए पनि सकेँ। बिहेपछि घरबाट सन्तानको लागि दबाब भने भोग्न परेन। त्यही भएर पनि होला, आरामले चार वर्षमा सन्तानको चाह राख्यौँ। 

गर्भवती भएको भनेर पहिला त थाहा पनि भएन। रजस्वला ढिलोचाँडो त सधैँ हुन्थ्यो। त्यसबेला चैँ मलाई कुनै पनि गन्ध फिटिक्कै मन परेको थिएन। झन्डै दुई महिनासम्म रजस्वला नभए पछि जँचाउन गएँ। अनि मात्र गर्भवती भएको थाहा पाएँ। 

गर्भमा सन्तान छ भनेपछि सबैजना खुसी हुनुभयो। म पनि खुसी त भएँ नै, आफ्नो ज्यान भित्र अर्को ज्यान छ भनेपछि थप उत्सुक पनि भएँ। के हुने हो, कसो हुने हो भनेर अन्तिमसम्म मनमा खुल्दुली भइनै रह्यो। 

त्यसबेला खाना खान साह्रै दुख पाइयो गन्धका कारण। गन्ध यति साह्रो आउँथ्यो कि तीन महिनासम्म त मैले खाना पनि राम्रोसँग खाइन। 

किचेनमा समेत जान सक्दिन थिएँ। पछि फेरी बिस्तारै नर्मल हुँदै जाने रहेछ। त्यसबाहेक बान्ता हुने, कमजोरी हुने चैँ भएन। मेरो पेट त्यति धेरै बढेको पनि होइन। त्यसबेला पनि म काममै गइरहन्थे। हातगोडा सुन्निने पनि भएन। 

डाक्टरसँग सम्पर्कमै भइरहेको भएर पनि होला मलाई धेरै गाह्रो भएन। पाँच-छ महिना भएपछि नानी चल्ने रहेछ। अगाडि त त्यो पनि मैले अनुभव गरिन। तर जब याद गरेँ, सुरुमा त ब एक किसिमको डर लाग्यो। के भएको होला भन्ने लाग्थ्यो। पछिपछि त झन् बुरुक्क उठेको जस्तो भएको थियो। रमाइलो लाग्ने रहेछ त्यो बेलामा। खुब रमाएँ।

घरको काममा पनि सक्रिय नै भइराखेँ। डाक्टरले समय तोकेको भन्दा अलि अगाडि नै पेट दुख्न थालेपछि हस्पिटल गएँ। श्रीमान् होटल चलाउनु हुन्थ्यो। त्यसबेला श्रीमान् पनि साथमै जानु भएको थियो। अल्ट्रा साउन्ड गर्दा अझै दुई हप्ता लाग्छ होला भन्नुभएपछि म घर फर्किए, श्रीमान् काममा जानुभयो।

घरमा दिदीहरू आउनु भएको रहेछ। सबैजना सँगै बस्यौँ। खाजा खायौँ। गफ गर्यौँ। माहौल नै अर्को भइरहेको थियो। एकाएक मलाई पेट दुखेको जस्तो भयो। अब डक्टरले नै दुई हप्ता बाँकी छ भनेकाले अस्पताल गइन। पछि त रातभर नै दुख्यो। सहनै सकिन। 

तर सबैले ’किन हतार गरेको, अहिले बेला भएको छैन’ भन्नुभयो। अजि(सुँडिनी) दिदीलाई पनि बोलाइयो। उहाँले मेरो तालु छाम्नु भयो। तातिएको छैन भनेर अझै हुँदैन भन्नुभयो। तर मलाई निकै गाह्रो पो भइरहेको थियो। 

म पाँच महिनाको गर्भवती हुँदा मेरो आमा बित्नु भयो। उहाँले मलाई त्यसबेला नै डराउनु पर्दैन, आमा जस्तै दिदीबहिनीहरू छन् भन्नुभएको थियो। 

त्यसबेला आमालाई खुब सम्झिएँ। उहाँको अभाव महसुस भयो। धेरै नै गाह्रो भएपछि हामी हस्पिटल गयौँ। त्यहाँ पुगेपछि सलाइन पानी दिनुभयो। पेट दुखी नै रह्यो। अरू लक्षण देखिएकै थिएन। लगभग दुई दिन व्यथा लागेपछि मैले नर्मल नै नानी जन्माएँ। तीन किलो अलि पुगेको थिएन उसको तौल। बाँकी सबै स्वस्थ नै।

नानी पाएपछि के पायो भनेर सोधेको याद छ। उहाँहरूले टाढैबाट देखाउनु भयो। त्यसबेला बच्चालाई तत्काल आमाले पनि समाउन मिल्दैनथ्यो। 

अहिले धेरै आमाहरूले एउटा मात्र सन्तान जन्माउने भन्ने गरेको देख्छु। तर त्यसो होइन रहेछ। सकेसम्म दुइवटा त जन्माउनु पर्ने रहेछ। उनीहरूलाई एक अर्काको साथ हुन्छ। एक्लो अनुभव हुन्न।

टाढैबाट हेर्दा नानी त एकदम राम्री थिइन्। म भन्दा राम्री ! उसको बाउ राम्रो भएर पनि उ राम्रो भएको होला। पछि झन् जापनिज गुडिया जस्तो  देखिएको थियो। अनि बाहिर ल्याएपछि नानीलाई समात्न पाएँ। स्तनपान पनि तुरुन्तै गराएँ। सबै राम्रोसँग भयो। 

आमा बितेको भएर हाम्रो ठाउँ फेर्नुपर्ने भन्ने भयो। लगभग १५ दिन म माइतमा बसेँ। सुत्केरी स्याहार त सबै दिदीहरूले नै गरिदिनु भएको हो।  

अनि फेरी चार वर्षपछि हाम्रो छोरी भयो। दोस्रो नानीको समयमा पनि मलाई त्यस्तो धेरै गाह्रो भएको याद छैन। अझ मलाई त ठुलीको भन्दा पनि उसकोमा सहज पो भयो। सायद अनुभव पनि भएर होला। 

त्यसबेला श्रीमानले बालाजुमा अर्को होटल खोल्नु भएको थियो। उहाँले मलाई लाने, पुर्याउने सबै गर्नुहुन्थ्यो। प्राय नानीहरूलाई घरमै छोडेर काममा गएँ। सानी छोरी जन्मिएको दुई महिनापछि मैले स्कुल जोइन गरिसकेको थिएँ। 

दुवै गर्भवतीमा त्यति धेरै फरकपन महसुस गरिन। दोस्रो सन्तान जन्माउने बेलामा पनि मलाई व्यथा लाग्दा रजस्वला भएको बेला दुखेको जस्तै पेट दुखेको थियो। 

त्यो दिन पनि श्रीमान् बाहिर नै हुनुहुन्थ्यो। पछि सहयोगी र दिदीको छोरी साथमा हुनुहुन्थ्यो। मलाई दुख्यो भनेर उनीहरूले अरूलाई बोलाउनु भयो, छिमेकीहरू पनि आउनुभयो। पछि हस्पिटल गयौँ। 

हस्पिटलमा त्यसबेला मेरो एक जना नन्द नर्स हुनुहुन्थ्यो। व्यथा लाग्ने बेलामा मजाले खाना खानुपर्ने रहेछ। त्यसले बल दिने रहेछ। सबैजना मिलेर मलाई खाना खुवाउनुमै बिताउनुभयो। पछि त कस्तो ट्वाइलेट जान मन लाग्यो। तर ट्वाइलेट जान दिनु भएन। 

अनि त्यही भएको नन्दलाई भने। उनले हेर्छु है त भनेर हेरेको मात्र थियो,  मैले त त्यहीL बेडमा छोरी जन्माइहालेँ। कत्ति पनि बेर लागेन। अनि डेलिभरी कक्षमा नलगी त्यतै सफा गरेर मलाई छोरी दिनुभयो।  

सानो छोरीको समयमा म माइत पनि गइन। स्कुल नजिकै थियो। अलि हिँड्न सक्ने भएपछि काममै गएँ। मेरो दुइटा छोरी भए। खुसी छु। उनीहरूले मलाई धेरै दुख पनि दिएनन्। सानैदेखि उनीहरू एकदम मिलनसार छन्। 

सानो छोरी पाँच कक्षामा पढ्दै गर्दा श्रीमान् बित्नु भयो। त्यतिखेर ठुली छोरी आठ कक्षामा पढ्दै थिइन्। उनीहरू बाउसँग खुब रमाउँथे। बिदा भयो कि उहाँले छोरीहरूलाई घुमाउन लग्नुहुन्थ्यो। 

जापानी इन्सेफलाइटिस लागेको थियो, उहाँलाई। त्यसबेला ललितपुरको पाँच जना यही कारणले बित्नुभएको थियो। जसमध्ये मेरो श्रीमान् पनि एक हुनुहुन्थ्यो। उहाँ नहुनु भएपछि मैले झन् बढी जिम्मेवारी लिन पर्ने भयो। 

गर्न त पहिला पनि काम गरेको हो। तर एक्लै हुँदा गरेको र कसैको साथ हुँदा गर्नुमा फरक त भइहाल्छ। एउटा समय त यस्तो थियो कि, के गरौँ कसो गरौँ भएको थियो, मलाई। पछि होटल पनि घाटामा गयो। दुई महिना बिरामी, दश दिन कोमामा जानुभएपछि उहाँले हामीलाई सधैको लागि छोड्नु भयो। 

मैले नानीहरूलाई हेरेको भन्दा पनि खासमा उनीहरूले मलाई हेरेको हो। त्यै भएर होला, दुवै सानैदेखि परिपक्व छन्। दुवैले राम्रोसँग पढे। ठुलीले एमबिबिएस गरिन्। किष्ट र पाटनमा काम पनि गरिन्। अहिले युकेमा छिन्। सानीले पनि मास्टर्स सकेर यतै काम गरिरहेकी छिन्।

अहिले मसँग साथमा सानी छोरी मात्र छिन्। समाजबाट धेरै कुरा आउने रहेछ। त्यसबेला कहिलेकहीँ जति चित्त बुझाउँदा पनि एक्लो महसुस गरिने रहेछ। त्यस्तो बेलामा छोरीहरूसँग कुरा गर्छु। जे होस्, मेरो पनि कोही छ भन्ने लाग्छ। 

अहिले यसो सोच्दा दुई जना छोरी जन्माएर राम्रो गरेछु जस्तो लाग्छ। मलाई केही भइहाल्यो भने पनि उनीहरूलाई एक अर्काको साथ त हुन्छ नि। 

अहिले धेरै आमाहरूले एउटा मात्र सन्तान जन्माउने भन्ने गरेको देख्छु। तर त्यसो होइन रहेछ। सकेसम्म दुइवटा त जन्माउनु पर्ने रहेछ। उनीहरूलाई एक अर्काको साथ हुन्छ। एक्लो अनुभव हुन्न।

प्रसव पीडाका यसअघिका सामग्री 
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

असार १५, २०८१ आइतबार २१:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।