शिक्षिका सर्निमाको प्रसव पीडा र खुसी : बच्चा जन्मिएपछि त एकछिन उसलाई नदेख्दा पनि रुन पो आउने रहेछ !
भक्तपुरकी सर्निमा कायस्थ लामो समयदेखि शिक्षण पेसामा रमाइरहेकी छिन्। त्यसअघि उनी गैर सरकारी संस्थामा जागिरे थिइन्। तर, अलि बढी ‘एक्सपोजर’ भइने अनि बोल्ने कौशलमासमेत परिवर्तन हुने अपेक्षामा उनी शिक्षणतिर लागिन्। भक्तपुरको कोर नेवारी बस्तीमा जन्मिएकी उनलाई पढाइमा कुनै पनि रोकटोक नभएकाले पनि यसमा सहज भएको बताउँछिन्।
बिहेको कुरा त धेरै पहिलादेखि नै आइरहेको थियो तर, कुरा मिल्न भने समय लाग्यो। उमेर ढल्किँदै गरेको कारण पनि उनलाई बिहेको दबाब महसुस भएको थियो। त्यै भएर बिहेको लागि आएका प्रस्तावमध्ये एक ठाउँमा कुरा मिल्यो अनि त उनले बिहेको लागि मन्जुरी पनि दिइहालिन्। मागी विवाह राम्रैसँग भयो।
तर, बिहेको केही समय बित्न नपाउँदै सन्तान जन्माउन पर्ने कुरासमेत उनले सुन्नु पर्यो। त्यही अनुसार आफू मानसिक रुपमा तयार भएर पहिलो सन्तान जन्माउनको लागि तयार भइन्। पहिलो सन्तानको रूपमा छोरी जन्मियो। अहिले उनले पढाउने विद्यालयमै उनकी छोरी पनि पढ्दै छिन्।
उनै सर्निमाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसी आफ्नो अनुभव यसरी सुनाइन् :
000
बिहेको अर्को वर्ष नै हाम्रो छोरी जन्मिइन्। मेरो उमेर धेरै भइसकेको भएर ममी र मा (सासु ममी)ले बच्चा गरिहाल भन्नुभयो। पहिलो सन्तान समयमै पायो भने अर्को जहिले पाए पनि हुन्छ भन्ने उहाँहरूको कुरा थियो। हामीले पनि त्यही अनुसार सल्लाह गरेर सन्तान जन्मायौँ।
गर्भवती भएको थाहा पाउँदा खुसी लागेको थियो। त्यसपछि के गर्ने होला भन्ने एउटा बेचैन पनि हुने रहेछ। बान्ता त आउँथ्यो तर, त्यतिधेरै कमजोरी भएको महसुस चाहिँ गरिँन। पहिलो तीन महिना त आरामले बित्यो भन्दा पनि हुन्छ। अझ भन्नु पर्दा ६ महिनासम्म पनि मलाई खासै अप्ठ्यारो भएको थिएन।
तर, त्यसपछि चै ढाड दुख्ने, एलर्जी आउने भएको थियो। डाक्टरसँग परामर्श गर्दा त्यसलाई साधारण रुपमै लिंदा हुन्छ भन्नुभयो। त्यसबेला म एनजीओमा काम गर्ने भएकाले धेरै गाडीमा यात्रा गर्नुपर्थ्यो। त्यही भएर अलि असहज भयो। सुरुवात देखिनै मलाई त जे देखे पनि खाउँ-खाउँ लाग्थ्यो। अझ जेरी, केरा, चिज त खुब खाएको पनि हो। साग चै सुरुमा मन परेको थिएन, पछि त्यो पनि मजाले खाएँ।
त्यसैले पनि हुनुपर्छ, मेरो तौल त मज्जाले बढेको थियो। ५० केजीको मान्छे म डेलिभरीको समय सम्ममा त ७९ केजीको भएकी थिएँ। बच्चा भइसकेपछि ८० नै कट्छ कि क्या हो भन्ने लागेको थियो। तर, पछि घट्दै गयो। खुट्टाहरू पनि खुब सुन्निएका थिए। किड्नीको तलपट्टि पनि बेस्सरी दुखेको थियो। डाक्टरसँग कुरा गर्दा बच्चाको टाउको तल आइसकेको भएर दुखेको भन्नुभयो। तर, मलाई त नानी जन्माएको तीन महिनासम्म पनि दुखिरह्यो।
किड्नीको तल दुखेपछि केही जोखिम होला कि भन्ने लागेको थियो। तर, केही भएन। मेरो अनुहार भरि दाग आएको थियो। जिउ पनि त्यत्तिकै चिलाएर फोका-फोका आउँथ्यो। पछि थाहा पाएँ, त्यस्तो भएको पनि गर्भवती भएकै कारण रहेछ। प्रसवको समयमा पनि त्यसको असर रहिनैरह्यो। गर्भवतीको समयमा त्यति धेरै खुसी भएको याद छैन। तर, बच्चा चलेको महसुस गर्दा चैं अर्कै खालको आनन्द लाग्थ्यो। कस्तो बेग्लै खालको अनुभूति हुने रहेछ क्या!
नानी नजन्मिएसम्म एक किसिमको बेचैन भइनैराख्यो। नानीलाई केही भयो कि, केही हुने हो कि भनेर सचेत हुन्थेँ। कसैले केही भन्यो कि रिस उठ्थ्यो। बच्चा पेटमा छ, मैले केही गरेको कारण उसलाई असर होला कि भनेर त्यसबेला तनाव चाहिँ लिइँन। तर, बेलाबेला त त्यत्तिकै रुन मन लाग्ने पनि लाग्थ्यो।
नर्मलनै जन्माउँछु भनेर तयार भएर बसेकी थिएँ। तर, डाक्टरले दिनुभएको समयमा मलाई केही पनि भएन। अनि एकदिन नुहाएर बाहिर निस्किने बित्तिकै मैले रगत देखेँ। अनि त हामी हस्पिटल गइहाल्यौँ। त्यहाँ पुग्दा घर खुलेको छैन रहेनछ भन्ने थाहा पाइयो। पछि गाह्रो हुन्छ भनेर मलाई त व्यथा लाग्ने औषधि दिनुभयो।
त्यो रात भर पेट दुख्यो। तर घरनै खुलेन। भोलिपल्ट पनि दिनभर नमज्जासँग पेट दुखेको हो। अझै जति खुल्न पर्ने हो, त्यति घर खुलेकै थिएन। त्यस्तो पेट दुखेको त मलाई अहिलेसम्म थाहा थिएन। कस्तो अर्कै खालको दुखाई। घरी पिसाब आउला जस्तो, घरी आची आउला जस्तो हुने। अनि फेरि तुरुन्तै ठिक हुने, दुखिहाल्ने भइरह्यो। माले पेटलाई खुकुलो बनाउनु भन्नुभएको थियो। पेट दुख्दा त मलाई अरु केही होस् नै हुन्न थियो।
औषधि दिएको २४ घण्टा बितिसक्दा पनि घर खुल्न गाह्रो भएपछि अप्रेशनको तयारी गर्नुपर्यो। अप्रेशन गर्ने भन्दा त मलाई अलिअलि डर पनि लाग्यो। व्यथा लागिरहेको बेला त म हल्लिन पनि सकेकी थिएन। डाक्टरले 'छिटो तयार हुनु, तपाईँको बच्चालाई गाह्रो भइसक्यो' भन्नुभएको सुनेजस्तो लाग्छ। तर, मैले ठ्याक्कै चाहिँ केही चालै पाइरहेको थिइँन।
'एनेस्थेसिया' लगाएपछि त शरीरको आधा चाल पनि पत्तै पाइँन। डाक्टरले नहल्लिनु भनेको सुनिरहेकी थिएँ। मेरो त नाक पो चिलायो। इन्फेक्सन हुन्छ भनेर डाक्टरले कराउनु भएको थियो। पछि त एकैछिनमा नानी भयो भन्ने सुनेँ। तर, नानी रोइन। पछि उहाँहरूले के गर्नुभयो कुन्नि, नानी बेस्कन रोई। अनि मलाई देखाउनु भयो। मैले खुसी भएर हेरेँ। हस्पिटलमा सबै आफन्त आउनु भएको थियो। सबैजना खुसी नहुने कुरै भएन।
मेरो खुट्टा त झमझम भएको थियो, पुरै जाम भएको जस्तो। त्यसबेला एनेस्थेसियाले काम गरेर पनि होला, घाउ चै दुखेको थिएन। साउनको समय बाहिर बेस्सरी पानी परिरहेको थियो। मलाई त गर्मी भएर खलखल पसिना आइरहेको थियो। म त फ्यान खोलेर कपडा पनि नओडी बसिदिएँ। पछि पो थाहा भयो, त्यसरी बस्न नहुने रहेछ।
नानीलाई श्वास फेर्न गाह्रो भएको छ भनेर मलाई त्यसदिन दिँदै दिइएन। म त रातभर सुत्न सकिँन। एउटा कस्तो खालको कनेक्शन हुने रहेछ। त्यति छिटो अनुभव गरेँ। प्राय आमाहरूलाई सन्तान जन्माइसके पछि मीठो निन्द्रा लाग्छ रे। मलाई त फिटिक्कै निन्द्रा परेको थिएन। भोलिपल्ट पनि दिउँसो १२ बजेपछि मात्र छोरी ल्याइदिनु भयो। उ त आँखा पुलुक-पुलुक हेरिरहेकी थिई। मेरो छेउमा राखिदिनु भयो। स्तनपान गराउनु भन्नुभयो। त्यो बेला चै धेरै गाह्रो भएको थियो।
जति हिँड्यो त्यति राम्रो हुन्छ भनेर हिँड्न लगाउनु भयो अनि म हिँडे। त्यसबेलासम्म त म बलियो नै थिएँ। स्तनपान गराउन गाह्रो भएको कारण मलाई र छोरीलाई नै ज्वरो आएको थियो। राम्रोसँग दूध नखुवाउँदा त्यस्तो हुन्छ भनेर थाहै भएन नि। उसले छोडेपछि पुग्यो होला भन्ने भयो, तर दूध त पुरै नसक्किए सम्म खुवाउन पर्ने रहेछ।
छोरी साथमा आएको रात त मज्जाले निदाएँ। यतिसम्म कि छोरी रोएको पनि थाहा भएन। पछि दुवैको ज्वरो निको भएपछि घर फर्कियौँ। अप्रेशन गरेपछि मेरो पेट नराम्रोसँग फुलेको थियो। बच्चा भएपछि आफैं-आफैं रुन आउने रहेछ। झरीको बेला छोरीले धेरै सुसु गर्थ्यो। मलाई र उसलाई माले नै स्याहार्नु भएको हो। माले नानीलाई तेल लगाएर मलाई पनि तेल मालिस गरिदिनु हुन्थ्यो। सधैं माले लगाउँदा गाह्रो भएको देख्दा श्रीमानलाई पनि तेल लगाइदिन भनेँ।
एक महिनापछि म माइती गएँ। त्यहाँ पनि मैले राम्रो स्याहार पाएँ। घरमा बच्चा भएपछि सबैको ध्यान्नै बच्चामा हुने रहेछ। ४५ दिनसम्म मेरो रगत गएको गयै गर्यो। त्यसले गर्दा क्याल्सीयम र आइरनको कमीसमेत भएको थियो। औषधि ल्याएको त थियो फेरि पछि कब्जियतसमेत भइदियो। यो सब प्रसवको समयमा हुने कुरा हो भनेर पनि मलाई थाहा थिएन।
घाउमा असर होला भनेर मैले पटुका हल्का मात्र बाँधेकी थिएँ। पेट निस्केर केही भएन, तर घाउ चै पाक्न भएन भन्ने भयो। मालिस गरेपछि त्यो ठिक हुने रहेछ। छोरी भएपछि त मलाई उसकै मात्र ध्यान भयो। मा र ममीले आफूलाई थाहा भएको सबै भनिदिनु भयो। मैले त्यति धेरै गाह्रो महसुस गर्नु परेन।
तीन महिनासम्म त मैले पुरै आराम गरेँ। कोरोनाको समयमा नानी जन्मिएको भएर धेरै समय दिन पाएँ। त्यसपछि मात्र स्कूलमा पढाउन थालेकी हुँ। आठ/नौ महिनामा पहिलो पटक छोरीलाई छोडेर काममा आएकी थिएँ। त्यसबेला त म पो खुब रोएँ। माले राम्रोसँग हेर्नुहुन्छ भनेर थाहा थियो, तर पनि खै त्यसबेला के हुने रहेछ। दिमागमा छोरी बाहेक केही पनि आउँदैन थियो। त्यो बेला चै मैले आमा भनेको के हो भन्ने थाहा पाएँ। अनि आफ्नै ममीलाई पनि ओहो भन्ने सम्झिएँ।
अहिले छोरी यही पढ्छे। सुरुमा म आफै बेलाबेला हेर्न जान्थेँ। पछि बानी लाग्छ भनेर गइनं। अहिले यसो सोच्दा आमा हुन गाह्रो रहेछ भन्ने लाग्छ। बिहान बेलुका नभनी उसलाई हेर्छु। छिट्टै स्कूल हालिदिएँ। आफ्नो सन्तानसँग आमाको अलग्गै लगाव हुने रहेछ। मलाई मेरो सन्तान सबै भन्दा प्यारो लाग्छ। उ नै मेरो अहिले पहिलो प्राथमिकता हो।
अहिले त धेरै सानी छे। उसलाई आत्मनिर्भर बनाउनु छ। पढाइ महत्वपूर्ण हो, तर म उसलाई कहिल्यै पनि पढाइको लागि दवाव दिन्न। आफ्नो लागि आफै लड्न सक्नेसम्म बनाउनु छ। सानै भएर पनि होला, अलि जिद्दी स्वभाव छ उसको। मातृत्व अनुभव गाह्रो पनि छ, तर रमाइलो पनि छ। कति धेरै कुरा बिर्सेर जाने रहेछ।
अब त मलाई अझै उसँगका धेरै यादहरू बनाउनु छ। घरमा अर्को सन्तानबारे कुरा पनि हुँदै छ। तर मलाई अब अर्को जन्माउनु छैन। दुइटा बच्चा भएपछि उत्तिकै समय दिनुपर्ने हुन्छ। त्यो समय व्यवस्थापन गर्न सकिन्छ कि सकिदिन भन्ने पनि हो। अभिभावक हुन त गाह्रो नै छ नि।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असार २, २०८१ आइतबार १०:४१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।