सुर्यदर्शन सहकारी ठगीको पूरक जाहेरीलाई गृहमन्त्री लामिछानेले भने' त्यो दर्ता नभएको सूचना मात्र हो'

सुर्यदर्शन सहकारी ठगीको पूरक जाहेरीलाई गृहमन्त्री लामिछानेले भने' त्यो दर्ता नभएको सूचना मात्र हो'

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारी ठगी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आएको पूरक जाहेरीलाई'सूचना' मात्र भएको दाबी गरेका छन्।

सुर्यदर्शन सहकारी ठगीमा परेमा पीडितहरूले माघ २० मा प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका थिए। जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित लामिछानेको नाम समेत उल्लेख थियो।

पुन पक्राउ परेर अहिले अर्को सहकारी सुप्रिम सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि बुटवलमा लगिएको छ। पुन सुर्यदर्शन सहकारीमा समेत जोडिएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफ्नो नाम सहित प्रहरीमा आएको पूरक जाहेरीलाई 'प्रहरीमा आएको सूचना' भन्दै त्यो दर्ता पनि नभएको बताए।

पूरक जाहेरी पुन नयाँ जाहेरीको रूपमा दर्ता नभई पुरानै जाहेरी नम्बरसँग जोडेर अनुसन्धान हुने गरेको छ। प्रहरीले पूरक जाहेरी स्वीकार गरेपछि त्यसलाई कानुनले दर्ता भएको जाहेरीकै अंगका रूपमा लिइने गरिन्छ।

तर लामिछानेले त्यसलाई अनुसन्धानको औपचारिक दायरामै नभएको तर्क गरिरहे। उनले सहकारी ठगीमा जोडिएकोबारे पहिला गर्दै आएकै तर्क गर्दै आफ्नो बचाउ गरेका थिए।

'जुन सहकारीमा मैले ऋण लिएको भनिएको छ त्यहाँ न मेरो हस्ताक्षर छ न निवेदन दिएको छु। मैले सुने अनुसार अदालतमा मुद्दा गइसकेको छ। अदालतमा गएको मुद्दामा म प्रतिवादी छैन। प्रतिवादीहरूको बयानमा म रवि लामिछानेको नाम पनि छैन' उनले भने।

राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसदहरूले प्रारम्भबाटै सहकारी ठगीबारे छलफल गर्न समिति सभापतिले गृहमन्त्रीलाई बोलाएको हो कि भन्नेतिर सङ्केत गर्दै सहकारी ठगीबारे छलफल गर्ने क्षेत्राधिकार राज्य व्यवस्था समितिको नभएको भन्दै सभापतिको ध्यानाकर्षण र आलोचना समेत गरेका थिए।

विशेष गरी एमालेका सांसद पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले राज्य व्यवस्था समिति आफ्नो कार्यक्षेत्र बाहिर गएर छलफल गर्न चाहेको भन्दै कुनै निर्देशन दिने भए गोजीबाट चिट निकालेर नभई छलफल गरेर मात्र निर्देशन दिन ध्यानाकर्षण गराएका थिए।

गृहमन्त्री लामिछानेले बोल्नुभन्दा अगाडि समितिमा बोलेका प्रहरी महानिरीक्षक वसन्त कुँवरले 'सुर्यदर्शन सहकारी ठगी सम्बन्धमा रवि लामिछानेबारे तथ्य-प्रमाण नभेटिएको' दाबी गरेका थिए।

समितिको बैठकमा सहकारी ठगी सम्बन्धमा गृहमन्त्री बोल्नेक्रममा समिति सभापति रामहरि खतिवडाले 'आज यो छलफलको विषय हैन' भने पनि लामिछानेले'बात निकलेगी त दूर तलक जायेगी' भन्दै प्रश्न आएपछि मैले यति जवाफ दिए, क्षेत्राधिकार भन्दा बाहिरको प्रश्न भए पनि प्रश्न उठेपछि जवाफ दिनुपर्छ' भनेका थिए।

सहकारी ठगीबारे लामिछानेले भने 'अनुसन्धान प्रहरीले गर्ने हो। अनुसन्धान मन्त्रीले गर्ने हैन, मन्त्रीले निर्देशन दिने हैन।'

पूर्वाग्रही रूपमा समितिले नहेर्ने, यो कुनै पार्टीको समिति हैन संसद्को समिति हो भन्दै अन्त्यमा समितिका सभापति खतिवडाले सरकारले पनि पूर्वाग्रही भनेर काम नगर्न आग्रह गरेका थिए।

राज्य व्यवस्थाको बैठक सम्बन्धी समाचार

१४ चैत, २०८०, १४:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।