सहकारीको विषयमा गृहमन्त्री रविलाई बोलाएको भन्दै एमाले सांसद राज्य व्यवस्था समिति सभापति रामहरिसँग झोक्किए

सहकारीको विषयमा गृहमन्त्री रविलाई बोलाएको भन्दै एमाले सांसद राज्य व्यवस्था समिति सभापति रामहरिसँग झोक्किए

काठमाडौँ : राज्य व्यवस्था समितिमा सहकारीबारे छलफल राखेको भन्दै एमाले सांसद पृथ्वी सुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाए। 

बैठकको  विषय विशेष गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक छलफल भनेर बैठक बोलाएकोमा आपत्ति जनाउँदै दुबैले विषय तोकेर बैठक राख्न समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएका थिए।

सहकारीसँग जोडिएको विषय सहकारी मन्त्रालय जोडिएको समितिले हेर्ने भन्दै गुरुङले आफ्नो रिस जहाँ छ त्यो पोख्ने ठाउँ समिति हैन भन्दै समितिको क्षेत्राधिकारभित्रको विषयमा मात्र छलफल राख्न भनेका थिए।

उत्तरमा खतिवडाले गृह मन्त्रालयसँग सम्बन्धित विषय भनेकै छु त भन्दा पनि गुरुङ रोकिएनन्। उनले प्रश्न गरे' सहकारी गृहको विषय हो?'

उनले समिति सभापति खतिवडालाई जे पायो त्यही विषयमा छलफल नगर्न चेतावनी दिएका थिए। उनले राज्य व्यवस्था समितिले प्रधानमन्त्री कार्यालय, गृह लगायतकाहरुकोबारेमा छलफल गर्नुपर्ने भन्दै त्यसैमा केन्द्रित हुन आग्रह गरेका थिए।

जीवी राई किन नसमातिएको भनेर यस अगाडिको गृहमन्त्रीलाई सोध्दा मलेसियामा रहेको र इन्टरपोलबाट पक्राउको प्रक्रिया अगाडि बढाएको जवाफ आएको भन्दै नयाँ गृहमन्त्रीलाई पनि सोधे'जीवी राई कता छन्?'

अर्का एमाले सांसद कृष्णगोपाल श्रेष्ठले पनि समितीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएको भन्दै असहमती जनाएका थिए। उनले बैठकमा पटक-पटक 'आज समितीको बैठकमा रमाइलो छ' भनिरहेका थिए। 

उनले समितीको आफ्नो कार्यक्षेत्र रहेको र त्यो भन्दा बाहिर जाँदा एउटाले बिगार्ने शाखाले पिराउने हुने भन्दै समिती सभापती खतिवडालाई छेड हानेका थिए। गृहमन्त्री तथा रक्षामन्त्रीलाई यस्तो निर्देशन दिएका छौँ भनेर गोजीबाट निकालेर निर्देशन दिए स्विकार नहुने भन्दै चेतावनी दिएका थिए।

१४ चैत, २०८०, १२:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।