सुर्यदर्शन सहकारीको बचतकर्ताको पैसाबाट जीवीसहितको नाममा घर-घडेरी, साढे आठ करोड पचाउन महेन्द्र भोटेको नाममा सहकारीको घर

सुर्यदर्शन सहकारीको बचतकर्ताको पैसाबाट जीवीसहितको नाममा घर-घडेरी, साढे आठ करोड पचाउन महेन्द्र भोटेको नाममा सहकारीको घर

काठमाडौँ : सातभन्दा बढी सहकारीका बचतकर्ताको १६ अर्ब बढी रकम हिनामिनामा संलग्न देखिएका गितेन्द्रबाबु राई(जीवी) सहितको समूहले विभिन्न आकर्षक ठाउँहरूमा व्यक्तिगत जग्गा किनेको प्रमाण फेला परेको छ। उकेरालाई प्राप्त विवरणमा जीवी, उनको परिवारका सदस्य, कुमार रम्तेल, महेन्द्र भोटे लगायतकाको नाममा विभिन्न स्थानहरूमा जग्गा रहेको खुलेको हो।

पोखराको सुर्यदर्शशन र वीरगन्जको सानो पाइला सहकारीको मुद्दा अदालतसम्म पुगिसकेको छ भने जीवी भने फरार छन्। सुर्यदर्शनको मुद्दामा कुमार रम्तेलसहित तीन जना पुर्पक्षका लागि थुनामा छन्। चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी लगायतका सहकारीमा रहेको बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छैनन्।

उकेराले प्राप्त गरेको विवरणमा जीवीको एकलौटी भोगाधिकारसहित काठमाडौँको महँगो क्षेत्र डिल्लीबजारमा तीन कित्ता जग्गा रहेको देखिन्छ। कित्ता नम्बर १८३, ३०२ र ३४ मा तीन आना एक पैसा, एक रोपनी ३ आना दुई पैसा अनि २ आना एक पैसा, एक दाम जग्गा रहेको देखिन्छ।

तीन वटै जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा रहेको छ भने सो जग्गा २०७४ सालमा किनेको देखिन्छ।

जीवी राइले काठमाडौँमा किनेको जग्गाको लालपुर्जा।जीवीले गोर्खा मिडिया प्राली दर्ता गरेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेका थिए नै। त्यस अगाडि नै उनले नेचर नेस्ट प्राली लगायतका कम्पनीहरू दर्ता गरेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएका थिए। यो बिचमा उनले इम्पोर्ट/एक्सपोर्टको काम गर्नेगरी २०७७ मा जीवी ग्रुप अफ कम्पनिज् प्राली समेत दर्ता गरेका थिए। ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना राखिएको कम्पनीको अधिकृत पूजीँ एक करोड राखिएको छ। कम्पनीको उद्देश्य समुन्द्रपार आयात/निर्यात गर्ने उल्लेख छ।

सहकारीको घरको नाममा साढे आठ करोड अपचलन

सुर्यदर्शनका पूर्व अध्यक्ष भूपेन्द्र राइको नाममा देवौली चितवनमा तीन पैसा, जीवीको दाइ देवेन्द्र बाबु राइको नाममा भक्तपुरको ताथलीमा पाँच रोपनी २ आना, गोदावरीमा ६ रोपनी २ आना जग्गा रहेको छ।

जीवीले आफ्नो नाममा स्प्रिङउड रियल स्टेट प्राली दर्ता गरेर रुपन्देहीको आनन्दबन र मकवानपुरको ठिगनमा जग्गा किनेका छन्। रुपन्देहीमा तीन कित्तामा एक रोपनी बढी जग्गा रहेको देखिन्छ। उता मकवानपुरमा भने प्रालीको नाममा ५० रोपनी बढी जग्गा रहेको छ।

पक्राउ परेका सुर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेलको बयान, सहकारीको कारोबारबारे पोखरा महानगरपालिकाले गरेको अध्ययन प्रतिवेदनको विवरणले सहकारीको लागि भन्दै व्यक्तिको नाममा जग्गा किनेर घर बनाएको खुल्छ। त्यसका लागि उनीहरूले सहकारीको आठ करोड ५० लाख अपचलन गरेको देखिन्छ।

कसको कहाँ जग्गा छ भन्नेबारे रम्तेलले खुलाएको बयान र पोखराको घरबारे महेन्द्रले दिएको बयान। बयान अनुसार पोखरामा रहेको सहकारी भवनसहितको जग्गा प्रारम्भमा सहकारीकै पैसामा लगानी भएको थियो। बयान अनुसार सहकारीको नाममा लिएमा बढी कर लाग्छ भनेर तत्कालीन अध्यक्ष जीवी राइको नाममा जग्गा किनिएको थियो। पछि सहकारीबाट ऋण निकाल्ने प्रयोजनका लागि सो घर शिवबहादुर गुरुङको नाममा नामसारी गरेको उनले बयान दिएका छन्।

महानगरले गरेको अध्ययनमा महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङको नाममा पोखरामा एक सय ६० वर्ग मिटरमा घरसहितको जग्गा रहेको उल्लेख छ। रम्तेलले सहकारीको घर-जग्गा भनेको गुरुङकै नाममा रहेको घरजग्गा हो। महानगरको अध्ययन प्रतिवेदन अनुसार सहकारीका लागि भवन बनाउने भन्दै आठ करोड ५० लाख निकालिएको देखिन्छ।

तर अदालतमा मुद्दा दायर भएपछि केही समय फरार रहेर आफैँ अदालतमा सरेन्डर गरेका गुरुङले भने सो घर-जग्गा आफ्नो भएको दाबी गरेका छन्। उनले बयानमा पोखरामा ‌ओजन डिस्को,  ट्रेडज लाउन्ज बार, ओजन एक्सपिडिसन ट्राभल्स, नेक्सस म्युजिक बार सञ्चालन गर्ने गरेको बयान दिएका छन्। उनले सहकारीको कार्यालय रहेको भवन आफ्नो भएको र सो भवन जीवीसँग किनेको दाबी गरेका छन्।

फसिने भएपछि जग्गा नामसारीको खेल

उकेराले प्राप्त गरेको एक पत्रले जीवी अनि गुरुङसहितको मिलेमतोमा सहकारीबाट जग्गा र भवनका लागि भन्दै रकम निकालेर घर भने व्यक्तिको नाममा पास गरेको पुष्टि हुन्छ। सहकारीका बचतकर्ताहरूले पैसा फिर्ता नपाएको भन्दै सम्बन्धित निकायमा उजुरी दिन थालेपछि उनीहरूले सो घर सहकारीकै नाममा लैजाने प्रयास गरेको देखिन्छ।

त्यसका लागी पोखरा महानगरपालिकाले सहजिकरण समेत गरेको पत्रले नै पुष्टि गर्छ। महानगरपालिकाले २०८० भदौ १५ मा कास्कीको मालपोत कार्यालयलाई पठाएको पत्रमा सो घर-जग्गा राष्ट्रिय सहकारी बैंकबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ऋण भएर घरजग्गा धितो बन्धन रहेको र २०८० वैशाख १० को महानगरको पत्रबाट रोक्का रहेकोमा राष्ट्रिय सहकारी बैंकबाट धितो बन्धक फुकुवा भएर आएको बखत सुर्यदर्शनको नाममा गुरुङबाट पास पारित गर्ने प्रयोजनका लागि फुकुवा गर्न’ भनिएको छ।

सुर्यदर्शन सहकारीको घर र सो घरको रोक्का फुकुवा गर्न महानगरपालिकाले लेखेको पत्र।पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेका छन्।

श्रीमान् जेलमा, श्रीमती फरार

सुर्यदर्शन ठगी प्रकरणमा प्रहरीको सिफारिस अनुसार १९ जना प्रतिवादी बनेका छन्। त्यसमध्ये कोषाध्यक्ष कुमार रम्तेलसहित तीन जना अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् भने अन्य फरार छन्।

जीवी राईसहित १६ जना फरारको सूचीमा कविता तामाङको पनि नाम छ। सहकारी सञ्चालक समितिकी सदस्य रहेकी तामाङ कुमार रम्तेलको श्रीमती हुन्।

सम्बन्धित समाचार

२६ पुस, २०८०, १८:२५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।