समाजसेवी नम्रताको प्रसव पीडा र खुसी : गर्भ बसेको सात महिनामा अनुहारको आधा भागै पक्षघात भयो

समाजसेवी नम्रताको प्रसव पीडा र खुसी : गर्भ बसेको सात महिनामा अनुहारको आधा भागै पक्षघात भयो

शिक्षण पेसा हुँदै समाजसेवामा लागेकी नम्रता लामा अहिले विभिन्न सङ्घसंस्थामा आबद्ध भएर महिला तथा बालबालिकाहरूको हितमा काम गरिरहेकी छिन्। दुई दशक देखि यसै क्षेत्रमा सक्रिय उनले अनेकौँ मुद्दाहरू देखिन्। पछिल्लो समय मानसिक स्वास्थ्यको बारेमा खुलेर बोलिरहेको देख्दा उनलाई खुसी लाग्छ।

मानसिक स्वास्थ्य र मनोसामाजिक विषयको विद्यार्थी समेत रहेकी उनी विश्व स्वास्थ्य सङ्गठन मार्फत दिने परामर्शमा सक्रिय छिन्। हेटौडामा जन्मिएकी उनको बाल्यकाल र पढाई राम्रोसँग अगाडि बढ्यो।

उच्च शिक्षाको लागि काठमाडौँ आएकी उनले परिवारको सहमतिमा विवाह गरिन्। बिहे लगत्तै उनलाई थाईराइडको समस्या भए पनि उनले धेरै ढिला थाहा पाइन् ।  त्यसले गर्दा उनको गर्भ समेत रहन गाह्रो भयो। त्यसले गर्दा आफू कहिले पनि आमा नबन्ने हो कि ! भन्ने सम्मको शङ्का समेत उनलाई लागेको थियो।

उनै नम्रताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा गर्भधारण हुँदा भएको समस्या र सातौँ महिनामा भएको पक्षघात सहितको मातृत्व अनुभव यसरी सुनाइन् :

०००

हाम्रो अन्तर्जातीय विवाह थियो। परिवारको सहमतिमा एकदम कम खर्चमा साधारण तरिकाले बिहे गर्यौँ।

बिहे भएपछि बच्चा भइहाल्न पर्ने भन्ने समाजको सोचाई नै रहेछ। संस्कार अनुसार कतै अभिवादन गर्दा पनि ’छिट्टै बच्चा होस्’ भन्ने धेरै सुनियो।

आफूलाई भने थाईराइडको समस्या उच्च भएको रहेछ। पछि मात्र थाहा भयो। त्यसलेगर्दा बच्चा हुँदैन भन्नेसम्म पनि रहेछ। मेरोमा पनि त्यही भयो कि! अब कहिल्यै पनि हुँदैन कि भन्नेसम्म भएको थियो। 

अगाडि पनि जँचाइरहेको नै हो तर थाईराइड नै भनेर चैँ जँचाएको थिइन। त्यै भएर थाहै भएन। नत्र अगाडि नै उपचार गर्न मिल्ने रहेछ। मानसिक रूपमा पनि म निकै तनावमा थिएँ त्यो बेलामा।

घर र समाजको ’बच्चा हुनुपर्छ’ भन्ने दबाब त अलग्गै भय । एक मनले त बिहे भनेको नगर्नु पर्ने रहेछ भन्नेसम्म लाग्यो। अब बिहे भइसक्यो। अब त्यसै अनुसारले आफू तयार हुनुपर्छ भनेर म मानसिक रूपमा आफूलाई तयार पार्दै थिएँ।

एक वर्ष पुरै उपचारमा बसेँ। थाईराइडको औषधी खाइ रहेको थिएँ। २०७२ को भूकम्प गएको बेला मलाई निकै गर्मी भएको महसुस भयो। त्यसबेला भूकम्पले गर्दा जलवायु परिवर्तनको कुराहरू पनि निकै आइरहेको थियो। त्यसैको असर भएर गर्मी भएको होला भन्ने सोचेँ। केही समयपछि शारीरिक रूपमा पनि मलाई निकै गाह्रो भएको थियो। पछि जँचाउन जाँदा त गर्भवती भएको थाहा भयो।

मैले त म आमा बन्छु भनेर सोच्नै छोडिसकेको थिएँ। त्यो खबर सुन्दा त अवाक् भएँ। पत्याउनै सकिन। के प्रतिक्रिया दिऊँ भन्ने भयो। घरमा सुनाए। घरमा पनि सबैजना ’सर्प्राइज’ हुनुभयो।

बिहे भएको छ वर्षपछि गर्भवती भएको खबर पाउँदा खुसी नहुने त कुरै थिएन। तर मेरो थाईराइड नै कम भएको थिएन। त्यसले गर्दा सन्तानलाई पनि थाईराइड हुने हो कि भन्ने भयो। त्यो बेला औषधी खाने कुरा पनि भएन। सुरुको महिनाहरूमा खासै केही अप्ठ्यारो भएको थिएन। तौल पनि राम्रैसँग बढिरहेको थियो। गर्भावस्था भनेको सुरुमा एकदम उत्सुकताले भरिपूर्ण हुने रहेछ। पछि त्यही उत्सुकता बढ्दै जाँदा डरमा परिणत हुने रहेछ।

त्यसबेला परिवार र श्रीमानको धेरै साथ, सपोर्ट चाहिएको महसुस गरेँ मैले। त्यसबेला एकदम संवेदनशील मानसिक अवस्था हुने हुँदा सानो-सानो कुराबाट पनि चित्त दुख्ने रहेछ। त्यै भएर त्यसबेला कसैले चित्त दुखायो भने जिन्दगीभर भुल्दैन भन्छन् नि, त्यस्तै हुने रहेछ।

त्यसबेला मलाई गोरखाको सुन्तला र कालो अङ्गुर खुब खान मन लागेको थियो। सुन्तला त मगाएर खाएँ। कालो अङ्गुरको चैँ सिजन नभएको कारण बेस्सरी खोज्नु परेको थियो।

तर सातौँ महिनामा पुगेपछि मलाई एकदम गाह्रो भयो। देब्रे आँखाबाट आँसु बग्थ्यो। अनि कान पछाडि पनि बेस्सरी दुख्थ्यो। अझै पनि याद छ, तिहारको समयमा बिहान मैले ब्रस गरेर थुक्न खोज्दा थुक नै गएन। पछि यसो ऐना हेर्दा त एउटा आँखा पनि झिमिक्क नभइरहेको रहेछ। मेरो अनुहारको देब्रे पट्टिको आधा भाग नै पक्षघात भएछ।

गर्भावस्थामा आमालाई जे भयो, सन्तानलाई पनि त्यही हुन्छ भन्ने गर्छन्। मलाई पनि ’ला! मेरो सन्तानलाई पो केही हुने हो कि, उसलाई पनि थाईराइड हुने हो कि भन्ने भयो।

त्यति देखिसक्दा पनि चाडबाडको समयमा हस्पिटल खुल्दैन भने घरमै बस्यौँ। त्यहिबेला जान पर्ने रहेछ। हस्पिटल त सधैँ खुल्ला हुन्छ नि।

तिहार सकिएपछि आकस्मिक सेवामा गएँ। औषधि खाने कुरा भएन।त्यै भएर थेरापी गराउने कुरा भयो। अगाडि नै थाईराइडको असर देखेको हुनाले पुरै निको नहुन पनि सक्छ भनेर डाक्टरले भनेका थिएँ।

एक महिनासम्म मेरो थेरापी चल्यो। आँखा त राति टेप लगाएर सुत्नु परेको थियो। यस्तो अवस्थामा बच्चालाई जोखिम हुने हो कि, भन्ने पनि लाग्यो।

परिवारमा पनि आमा र बच्चामध्ये एउटालाई केही ठुलै असर गर्ला कि भन्ने लागेको थियो। एक हप्ता त राम्रोसँग निदाउन पनि सकिन। त्यो पक्षघात थेरापी मार्फत नै ठिक हुँदै गयो। अहिलेसम्म पनि  ’साइड इफेक्ट’ को रूपमा चैँ एउटा आँखा तुलनात्मक रूपमा सानो भएको हो कि जस्तो लाग्छ।

प्रसवको समयमा पनि म एक हप्ता हस्पिटलमा बसेँ। त्यहिबेला फेरी थाईराइड देखियो। त्यतिखेर त तत्काल अप्रेसन गर्नपर्छ भन्ने कुरा आयो। एक हप्ताको प्रसव व्यथापछि अप्रेसन गर्ने भन्दा त डर पो लाग्यो।

परिवारको सबै जना म सँगै भइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। तर त्यस बेलासम्म त्यो व्यवस्था नै थिएन। 

अप्रेसन कक्षमा लाग्दैगर्दा बच्चा जन्माउने बेला आमाकै ज्यान गएको घटनाहरू पनि सम्झिन थालेँ। एनेस्थेसिया लगाएपछि मैले त मेरो कम्मरभन्दा मुनीको कुनै पनि भागको अनुभूति नै गरिन। खुट्टा उठाएको छु, कि सिधा पारेको छु भनेर सोच्थेँ। कोही आयो भने मेरो खुट्टा कस्तो छ भनेर सोध्थेँ। त्यो बेला पनि उत्सुकता र डर दुवै थियो।

केही समयपछि नानी जन्मियो भनेर मलाई देखाए। छातीमा राखिदिए अनि बच्चा सफा गरेको हेरिरहेँ। नानीलाई त्यसरी छातीमा राख्दा, समाउन पाउँदा त मैले भएभरको सबै दुख, पीडा बिर्सिएँ। ’ओहो’ भन्ने भएको थियो । नानी पनि एकदम सानो, गुडिया जस्तै थिइन्। हस्पिटलमा साटिने हो कि भन्ने पनि पिर लागेको थियो।

स्तनपान त्यही बेला गराएँ। चार दिन पछि हामी हस्पिटलबाट घर फर्कियौँ। सुत्केरी भएको सुरुसुरुमा त मेरो निन्द्रा नै परेन। सबै ध्यान नानीमा जाने रहेछ। सानो नानी, निदाइरहेको छ कि छैन भनेर हेरेर बस्थेँ। सुत्केरी स्याहार चैँ मेरो दामी भयो। एक त बिहेको धेरै समय पछि, त्यसमाथि जटिल हुँदाहुँदै पनि राम्रोसँग जन्मिएको नानीलाई सबैले माया गरे।

म छ महिनासम्म माइत बसेँ। आमाले एकदम राम्रोसँग स्याहार्नु भयो। मैले सुत्केरी अवस्था निकै रमाइलो ढङ्गबाट बिताएँ। त्यसबेला मेरो काम पनि थिएन। लगभग तीन वर्ष मैले मेरो नानीलाई पुरै समय दिएँ। नानी अहिले नौ वर्षकी भइन्। तीन कक्षामा पढ्छिन् अहिले। एकदम भावनात्मक सम्बन्ध छ हाम्रो।

सकेसम्म उनलाई समय दिने गर्छु। मेरो हरेक कामबारे उनलाई जानकारी गराउँछु। धेरै तालिमहरूमा पनि म सँगै उनलाई लगिरहेको हुन्छु। त्यै भएर पनि हो कि ! उनी अहिले नै निकै परिपक्व छिन्। मलाई यस्तो गर्नु,उस्तो गर्नु भनेर सुझाव समेत दिन्छिन्। हामी दुईबीच सञ्चार अन्तर नहोस् भनेर एक अर्काको दिनभरको कुरा सुनाउने गर्छौँ। 

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

जेठ २०, २०८१ आइतबार १९:३२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।