शिक्षिका सविताको प्रसव पीडा र खुसी : सँगैको महिलाले मृत शिशु जन्माउँदा डाक्टरले ‘त्यस्तै होला, बल गर्नु है’ भनेर तर्साए

शिक्षिका सविताको प्रसव पीडा र खुसी : सँगैको महिलाले मृत शिशु जन्माउँदा डाक्टरले ‘त्यस्तै होला, बल गर्नु है’ भनेर तर्साए
शिक्षिका सविता प्रधान र उनको छोरा

करिब तीन दशकदेखि शिक्षण पेशामा सक्रिय छिन् सविता प्रधान। विद्यालयमा स्वास्थ्य तथा जनसंख्या विषय पढाउन पाउँदा आफ्नो अनुभव पनि सुनाउने गर्थिन्। माध्यमिक तहमा राखिएको प्रजनन स्वास्थ्यमा कसरी संवेदनशील हुने र त्यसलाई कसरी सहज रूपमा बुझ्ने भनेर पढाउन पाउँदा उनी हौसिएर पढाउँथिन्।

तर, केहि वर्ष यता पाठ्यक्रमबाट त्यो विषय नै हटाइयो  स्वास्थ्यको कुरा आउँदा महिनावारी बाहेक अन्य कुराहरू नराखेकोमा उनको केहि हदसम्म असन्तुष्टि पनि छ। सतुङ्गलमा रहेको जेसिस इन्टरनेशनल स्कुलमा अहिले उनी माध्यमिक स्तर इन्चार्जको रूपमा समेत काम गरिरहेकी छन्।

माध्यमिक तहको परीक्षा सकिने बित्तिकै आफैँले पढेको स्कुलमा पढाउने अवसर पाइन् उनले। त्यो बेलादेखि उनी शिक्षण पेशामा सक्रिय छिन्। कीर्तिपुरको नेवार परिवारमा जन्मिएकी उनले पढाइमा भने कुनै अभाव महसुस गरिनन्।

स्नातक हुँदै स्नातकोत्तर गर्न मन थियो उनलाई। तर, स्नातकको अन्तिम परीक्षा नसकिँदै घरमा विवाहको गाइँगुइँ चल्यो। नाइँ भन्ने विकल्पै पाइनन्। परीक्षा अगाडि नै उनको विवाह भयो। विवाहपछि घरमा पढ्ने वातावरण पाइन् र स्नातकोत्तर गरिन्।

विवाहपछि बसेको पहिलो गर्भ खेर गयो। पहिलो गर्भ खेर गएपछि ‘अर्को बच्चा हुँदैन’ भन्ने कुरा घरबाटै सुनिरहिन् उनले। मानसिक रूपमा विक्षिप्त उनमा सन्तान जन्माइहाल्न पर्ने एक हिसाबले दबाब समेत भयो। उनै सविताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरि साटिन्।

०००

मेरो बिहे ‘लगन जुरेपछि जसरि पनि हुन्छ’ भन्या जस्तै भयो। ठ्याक्कै जाँच भन्दा अगाडि बिहे भयो। केहि महिनापछि म गर्भवती भएछु। त्यसबेला एकदम नौलो अनुभूति थियो। के गर्ने, के नगर्ने केहि पनि पत्तो नै भएन। गर्भवती भएको थाहा पाएदेखि नै अलि-अलि रगत बगेको देखिएको त हो! तर मलाई के गर्नुपर्छ भन्ने नै थाहा भएन।

हामी गाउँमा गएका थियौँ। त्यहाँ जापानिज डाक्टरहरू आएका थिएँ  उनीहरू सँग जचाउँदा ‘तपाईंको गर्भपात हुन सक्ने सम्भावना धेरै छ। तुरुन्तै काठमाडौं गएर जचाउनुस्’ पो भने। घरमा फेरि सासुआमा अलि संकुचित स्वभावकै हुनुहुन्छ। उहाँलाई भन्दा ‘अहिले किन जचाउनुपर्यो’ भन्ने जस्तो कुरा गर्नुभयो।

१०/१५ दिन पछि मात्र काठमाडौं आयौँ। भिडियो एक्स रे गर्न पेट खाली हुनुपर्छ भनेर समेत मलाई थाहा थिएन। अस्पतालमा जाँदा अब भोली खाली पेटमा आउनु भनेर फर्काइदियो।फर्किएर घर मात्र के पुगेको थिएँ। एकदमै रक्तस्राब भयो। किन गर्भपात भयो, के कारणले भयो भन्ने नै थाहा भएन। हल्का-हल्का पेट र कम्मर दुखेको हो अनि कहिलेकाहिँ रगत पनि गएको चाहिँ हो।

पछि पो थाहा भयो, गर्भवती भएको सुरुको तीन महिनामा चै निकै होसियारी हुनु पर्ने रहेछ। नत्र भने गर्भपातको जोखिम भइहाल्ने रहेछ। अहिले यसो सोच्दा आफैँलाई केहि थाहा नभएर पनि त्यसबेला गर्भपात भएको जस्तो लाग्छ। त्यतिखेर मलाई परिवारले गर्दा पनि गाह्रो भएको थियो मलाई। परीक्षा भएको कारण म माइतीमा गको थिएँ। आमाले सुत्केरी जसरी नै मलाई स्याहार गर्नुभएको थियो।

तर, घरमा गर्भपात भएपछि ‘अब बच्चा हुँदैन’ भन्नेसम्मको कुरा सुन्नुपर्यो। त्यसकारण झन् छिटो बच्चा पाउने दबाबा भयो मलाई। त्यै भएर हामीले लामो समय ग्याप पनि राखेनौँ।गर्भपात भएको अर्को वर्ष मेरो फेरि गर्भ रह्यो।

मलाई त गर्भवतीको अवधिभर अमिलो पिरो खाने, गन्ध आउने, हात गोडा सुन्निने जस्तो कुनै पनि लक्षण देखिएन। त्यसले गर्दा सासुले त गर्भवती होइन, कि भन्ने शंका गर्नुभएको थियो। त्यति धेरै तौल पनि बढेन। पाँच/सात महिना पछि दाहिने खुट्टामा चैँ अलि गाह्रो भएको थियो। अगाडि एउटा गर्भ खेर गएपछि अर्कोमा स्वतः सतर्क हुने रहेछ।

तीन महिनापछि त बसेर कपडा धुने, गाग्रीमा पानी बोक्ने सब गरेँ। साँझ जस्तोमा सन्तान जन्मने थियो, तर दिउँसोसम्म मैले आफूलाई सक्रिय नै राखिरहेँ। ४२ हप्तापछि चैँ सेतो पानी बग्न थाल्यो। अब के-के हुन्छ? भनेर त्यसबेला सम्म पनि थाहा नै भएन। प्याड लगाएर बस्थेँ। पछि थापाथलीमा जचाउन जाँदा ‘यस्तो पानी बगिसक्यो, घरमा बस्ने? चेकअप गर्न आउनुपर्दैन?’ भनेर झापार्नुभयो।

गर्भावस्थादेखि सुत्केरीसम्मको कुरा गर्ने हाम्रोमा चलन नै छैन। अनुभवीहरूले सुनाउन नखोज्ने अनि नयाँ आमाहरूलाई पनि अनुभवीका कुरा सुन्नपर्छ भन्ने समझ नै भएन। खुलेर कुरा त अहिले पनि कसैले गरेको देखेको छैन। त्यो समयमा कहिलेकाहिँ गाह्रो हुँदा मैले जेठानी दिदीसँग कुरा गर्थेँ। ढाड दुख्ने, कम्मर दुख्ने जस्तो गाह्रो हुन्थ्यो। ‘यो भन्दा बढी गाह्रो भयो भने फोन गर्छु आउनु है’भन्थे मैले।

उहाँले सुत्केरी व्यथा लाग्ने बेलामा मिश्री काडा खाएपछि छिटो-छिटो दुख्छ बेला भएको छैन भने मन्द दुख्छ भन्नुभएको थियो। तिहारमा बाँकी भएको मिस्री मैले राखिरहेको थिएँ। दुई/तीन वटा मिश्री पानीमा राखेर, पकाएर खाइदिएँ। मलाई छिटो-छिटो दुख्न थाल्यो।

सासुलाई ‘मलाई गाह्रो भयो’ भनेँ। उहाँले तालुमा छाम्नुभयो। लगत्तै अब बेला भएछ भन्नुभयो। अनि श्रीमानलाई पनि फोन गरेर बोलाएर तुरुन्तै अस्पताल गयौँ। अस्पतालमा धेरै महिलाहरू हुनहुन्थ्यो। त्यसबेला प्रत्यक्ष बच्चा जन्माएको देख्दा एकछिन त अचम्ममा परे। प्रसव कक्षमा सबैजना चिच्याइरहनु भएको थियो। जेठानी दिदी मेरो साथमै हुनुहुन्थ्यो।

छिनछिनमा ट्वाइलेट आउँला जस्तो हुने रहेछ। बाबुको टाउको ठुलो भयो भनेर अलिकति सिजरिंग पनि गर्नुपर्यो। फेरि त्यहि बेला मेरो आडमै भएकी अर्की एक महिलाको मरिसकेको बच्चा जन्मिएको रहेछ। डाक्टरले त मलाई ‘तपाईं बल गर्नु है, फेरि त्यस्तो हुन्छ’ भनेर तर्साइदिनुभो। त्यसपछि झन् डर लाग्यो अनि हल्का सिजर गरेर बाबुको टाउको तानेर निकालिदिनु भयो।

बाबु जन्मिसके पछि त एकदम हल्का महसुस गरे नि! उसलाई देखेपछि त सबै दुखाइ नै हट्यो। यस्तो हल्का भयो कि मलाई त अब उठेर काम गर्न सक्छु जस्तो आँट आएको थियो। डाक्टरले बाबुलाई देखाएर एकछिन पेटमा राखेर सफा गर्न लाग्नुभयो । उसले त पुलुक्क आँखा हेरिरहेको थियो। त्यो त गजबकै नौलो अनुभूति थियो।

बाबु तीन केजीको स्वस्थ थियो। राति बाबु रोयो। दूध खुवाउनुपर्छ भन्ने थाहा थियो। तर एक-पटक तातो पानीले सफा गर्नुपर्छ भन्ने चैँ थाहा भएन। एक पटक तातो पानीले सफा नगरी खुवाउँदा दुख्ने रहेछ। त्यसबाहेक स्तनपानमा मलाई खासै समस्या भएन। घरमा आएपछि जेठानी दिदीले ज्वानोमा के-के हालेर सुप दिनु भएपछि दूध मजाले आयो।

श्रीमानले एक हप्ता छुट्टी लिनुभएको थियो। मलाई र बाबुलाई तेल लगाउनेदेखि सबै स्याहार्ने नै उहाँले हो। श्रीमान र जेठानी दिदी नै अफिस जानु भएपछि त मलाई घरमा स्याहार्ने मान्छे नै भएन। अनि म त छिट्टै माइती गएँ। त्यहाँ पनि पहिलो बच्चा भन्ने भयो। त्यसमाथि आमा, भाइबहिनीले हेर्दा त मलाई त केहि गर्नैपरेन। सुत्केरी समयमा कोहि न कोहि साथमा हुनुपर्छ भन्ने कुरा मैले त्यसबेला बुझेँ।

मेरो विद्यार्थीहरूलाई पनि यस्तो कुरा भनिरहेको हुन्छु। त्यसबेला मेरो खासै काम थिएन। त्यै भएर पूरै समय बाबुलाई दिन पाएँ। एकपटक त खुब रिसालु स्वभावको भएको थियो बाबु। पछि आफैँ शान्त हुँदै गयो। बाबु भएपछि अर्को सन्तानको बारेमा मैले सोच्ने बनाउन सकिनँ। घर र श्रीमानले पनि अर्को सन्तानको इच्छा राख्नुभएको त थियो। तर मलाई पुग्यो भन्ने भयो।

सबैले एउटा छोरी भए ठिक हुन्थ्यो भन्नुभएको थियो। त्यो बेलामा बलात्कारको कुरा यस्तो ठूलो रुपमा आइरहेको थियो कि हामीलाई छोरी जन्माउनुपर्छ भन्ने नै लागेन।

एउटा मात्र सन्तान भएपछि मलाई घर र बाहिरको काममा व्यवस्थापन गर्न पनि धेरै गाह्रो भएन। अहिले बाबु १२ सक्काएर अष्ट्रेलिया गएको दुई वर्ष भइसक्यो। अहिले त उसले आफ्नो जिम्मेवारी आफैँ लिनसक्ने भइसक्यो। सानैदेखि आफूसँग भएको कारण मैले धेरै कुरा, काम  उसलाई सिकाउन पाएँ। उसले घरको काम पनि सबै जानेको छ।

अहिले टाढा भए पनि यतै छ जस्तो लाग्छ। कहिलेकाहिँ मिठो मसिनो, खाँदा र चाडवाड आउँदा चाहिँ सँगै भएको भए हुन्थ्यो जस्तो लाग्छ। जति ठूलो भए पनि आफ्नो बच्चा सानै लाग्छ भनेको यहि त होला।

म मेरो मातृत्व अनुभवबाट निकै खुसी छु। आमा बनेपछि झन् बढी संयम, धैर्यता म मा आएको जस्तो लाग्छ। जसले गर्दा थप जिम्मेवारीहरू लिन सक्ने भएँ। गर्भवती अवस्था, प्रसव हुँदै सुत्केरीदेखि अहिले सम्मको मेरो मातृत्व अनुभवले गर्दा नै आफू पूर्ण भएको महसुस पनि हुन्छ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

जेठ १३, २०८१ आइतबार १४:४०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।