सब-इन्स्पेक्टर फूलकुमारीको प्रसव पीडा र खुसी : गर्भवती हुँदा श्रीमान खुब खुसी हुनुभएको बाहेक खासै याद छैन

सब-इन्स्पेक्टर फूलकुमारीको प्रसव पीडा र खुसी : गर्भवती हुँदा श्रीमान खुब खुसी हुनुभएको बाहेक खासै याद छैन

फूलकुमारी पौडेल प्रहरी सेवामा लागेको २८ वर्ष बित्यो। २० वर्ष सामुदायिक प्रहरी साझेदारीमा बिताएकी फूलकुमारी अहिले भने समुदाय स्तरमा साइबर क्राइम र लागूऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सक्रिय छिन्। मुलत : सम्पूर्ण प्रहरीको काम शान्तिसुरक्षा तथा अमनचैन कायम गर्नुनै हो। तर, उनी भने अहिले समुदाय स्तरमा अपराध हुनुपूर्व कसरी सुरक्षित हुने भनेर शिक्षा दिन पाउँदा उनी निकै खुसी छिन्।

सिन्धुली जिल्लामा जन्मिएकी उनलाई सानैदेखि प्रहरीमा सेवा गर्ने इच्छा थियो। हुनलाई त उनका बुवा इन्डियन आर्मी थिए। तर, त्यसबखत छोरी पनि प्रहरी हुन्छन् भनेर कसैले सोच्दैनथे। समयक्रमसँगै काठमाडौँमा पढ्न आउँदा सडकमा चिटिक्क परेको पोशाकमा ट्राफिक प्रहरी देखेपछि प्रहरीप्रति फूलकुमारीको आकर्षण जाग्यो। त्यस्तै पोशाक लगाएर काम गर्ने उनलाई रहर जाग्यो।

त्यही उत्कट चाहनाको कारण १९ वर्षकै उमेरमा उनी प्रहरीमा भर्ती भइन्। घरमा जानकारी नगराएको कारण उनको बुवाले १९ दिनपछि फर्काउनै आएका थिए। तर, कपाल काटेर तालिममा एकमग्न भएर लागिसकेकी छोरीलाई उनका बुवाले फर्काउन सकेनन्। त्यस समयदेखि उनको प्रहरी यात्रामा कुनै रोकावट आएको छैन।  कुनै बेला छोरी भएर पनि प्रहरी बनेको भन्दै नाक खुम्च्याउने आफन्तहरू देखेकी फूलकुमारीले अहिले भने सबै जनाले गर्व गरेको देख्न पाएकी छिन्। फूलकुमारीका दुवै दिदी बहिनीमा पनि अहिले प्रहरीमा छन् ।

उनले प्रहरीमा भर्ती भएको केही वर्षपछि प्रहरीसँगै विवाह गरिन्। अहिले उनी दुई सन्तानको आमा समेत हुन्। उनै फूलकुमारीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :

000

प्रहरीमा भर्ती भएपछि मेरो काम पूर्वी नेपालतिर भयो। केही समय तराईमा पनि काम गर्ने मौका पाएँ। काठमाडौँ त ६० सालमा मात्र आएको हुँ। त्यसपछि उपत्यका वरपरै काम भइरहेको छ।

घरमा पनि जेठी छोरी भएको कारण सबैजसो घर सल्लाहमा सहभागी हुन पाउँथे। यता काममा पनि सुरुमै राजेन्द्रसिंह भण्डारी जस्तो सरहरूसँग काम गर्न पाउँदा धेरै जान्न पाएँ। अहिलेसम्म पनि मलाई उहाँहरूले त्यहीँबेला सिकाएका कुराहरू काम लागिरहेको छ।

जागिर खाएको पाँच वर्षपछि मेरो यही संगठनको व्यक्तिसँग विवाह भयो। हाम्रो विवाहलाई प्रेम नै पनि भन्न मिल्दैन अनि फेरि मागी पनि कसरी पो भन्नु ! त्यसबेला हामी दुवै जना जनकपुरमा थियौँ। सरहरुले तिमीहरूको सबै कुरा मिल्छ, बिहे गर्दा उपयुक्त होला भन्दिनु भयो। अनि हामीले बिहे गर्यौँ। त्यही भएर हाम्रो बिहेलाई सन्जोगले जुरेको बिहे भन्न रुचाउँछु। परिवारको उपस्थिति बिना हामीले उतै बिहे गर्यौँ।

उहाँले चैं परिवारमा जानकारी गराउनु भएको रहेछ। मैले त लगभग २० दिनपछि पो घरमा थाहा दिएँ। परिवारको अनुमतिबिना बिहे गरेको भए पनि घरमा त्यतिधेरै अप्ठ्यारो परेन। बिहेपछि मलाई झन् बढी सहयोग भएको महसुस गरेँ।

घरमा खासै बस्दिनँ थिएँ, अनि जब घर जान्थेँ थाकेर आएको भनेर बुझ्नुहुन्थ्यो। त्यही भएर पनि मैले समाजले निर्धारण गरेको 'नमूना बुहारी' भएर बसिराख्नु परेन। यी सब कुराहरूले गर्दा पनि मैले अरूले जस्तो त्यति धेरै दुख पाउनु परेन।

बरु बच्चा जन्मिएपछि चैं अलि बढी जिम्मेवारी बोध गर्न परेको महसुस गरेँ। अहिले मेरा बाबु र नानी छन्। दुवै हुर्किसके। कसरत गरेको शरीर भएर होला शारीरिक र मानसिक रुपमा मैले गर्भवतीको समयमा त्यस्तो अप्ठ्यारो भएको महसुस गरिँन। बरु काममा आउँदा सबैले गर्भवती भनेर सहयोग गरिदिनु हुन्थ्यो। कतै जान लागे पनि जानुपर्दैन आराम गर्नु भनेर सजिलो काम दिनुहुन्थ्यो । गर्भवती भएको बेला त सबैको साथ पाएँ।

तर, त्यही साथ फेरि बच्चाहरू भइसकेपछि चैं पाउन सकिँन। सायद, बच्चाहरू भएपछि त शरीरमा नदेखिने भएकाले होला। सुत्केरी भएको दुई महिनापछि अफिस जान थालेँ। त्यसबेला चैं एकछिन आराम गर्दा पनि अफिसबाट अलिअलि  वचनहरू सुन्न परेको थियो। अनि अलि दुख पनि लाग्यो। उहाँहरूको गल्ती पनि होइन खासमा, म त प्रहरी हुँ नि त। महिला प्रहरी वा आमा प्रहरी भनेर मलाई छुट्टै व्यवहार गर्ने कुरा पनि त भएन। कामको बेला म सिर्फ प्रहरी मात्र हुँ।

बाबु र नानीको समयमा जाडोमा त त्यति फरक परेन। तर गर्मी महिनामा चैं शर्ट मात्र लगाउँदा पुरै कपडा दूधले भिज्थ्यो। दूध खुवाउने समय भएपछि खुवाएन भने आफैं बगेर जाने रहेछ। गर्मीमा त्यस्तो हुँदा झन् आफैंलाई नराम्रो लाग्थ्यो। ड्युटीको  समयमा अरु आमाहरूले आफ्नो बच्चालाई तातो तातो खाना खुवाएको देख्दा आफ्ना बच्चाहरू भोकै होलान्, मेरो यहाँ दूध बगिरहेको छ भनेर मनै कटक्क खान्थ्यो। त्यसबेला चैं आमाले गर्नुपर्ने स्याहार गर्न पाइँन कि भन्ने लाग्थ्यो।

बाबुनानीलाई बिहानै छोडेर आएको बेलुका कति बजे भेट्न जान्छु पनि ठेगान थिएन। त्यति हुँदा पनि मैले उनीहरूलाई अफिसमा चैं कहिल्यै ल्याइँन। अफिसमा ल्याउने कुरा पनि भएन। हामी त कहाँ कति खेर कुद्नु पर्ने हुन्थ्यो। मेरो बच्चा छ, म जान्न, भन्न पनि भएन। काममा कसरी वचन नखाने भन्नेमा म पुरा सतर्क भइराखेँ। आमा भन्दा बढी प्रहरी भएको कारण पनि यस्तो महसुस भएको हुनुपर्छ।

भुकम्पको बेला मलाई याद अहिले पनि आउँछ। मेरो तालिम महाराजगन्जमा थियो। शनिबारको दिन थियो, मेरो ड्युटी। भुकम्प आउने बित्तिकै हतार हतार अब मेरो खोजी हुन्छ भनेर म त त्यतै निस्किएँ। गाडी नचल्ने भइसकेको थियो । काँडाघारीबाट हिँड्दै हिँड्दै कति खेर त्यहाँ पुगे थाहै भएन। भूकम्प आइनैरहेको थियो। भवनहरूबाट ट्यांकीहरू झरेको देखेँ, आफैं पनि बचेँ। त्यसबेलासम्म पनि मैले मेरो बच्चाहरूलाई पहिला सुरक्षित ठाउँमा राख्नु पर्छ भन्ने नै बिर्सिसकेको रहेछु।

यता बच्चाहरूले मलाई खोज्छन् भन्दा पनि मेरो उता आवश्यक पर्छ भनेर दिमागमा आएछ। जिम्मेवारी भनेको त्यस्तो हुँदो रहे । त्यहाँ पुगेर सबै टोलीको छिनोफानो भएपछि पो मलाई मेरो बच्चाहरूको याद आयो । धन्न केही भएको थिएन। पछि नानीलाई गाउँमा पठाएँ। बाबु त अलि ठुलै भएको कारण सँगै राखेँ।

पहिलो पटक गर्भवती हुँदा श्रीमान खुब खुसी हुनुभएको बाहेक खासै याद छैन। तौल पनि धेरै बढेन मेरो। माछामासु जन्मदेखिनै खान्न, त्यसले गर्दा चैं गर्भवतीको समयमा कमजोर भएकी थिएँ। एकपटक त हनुमान ढोकामा हुँदा कमजोरीले गर्दा ढलेछु। त्यसबाहेक पुरै नौ महिनानै मैले काम गरेँ। अझ नानीको समयमा त अफिस गएर आएर घरमा बस्दा पछि व्यथा लागेको थियो।

मेरो दुवै सन्तान नर्मलनै जन्मिएको हो। तालिमले गर्दा पनि होला म प्रसव व्यथा लाग्दा रुने, कराउने गरिँन। अस्पतालमा त कसैले श्रीमानसँग कराइरहेको, रोइरहेको, चिच्याइरहेको देखेँ। एकछिन त झिंझो लागेर म त कराउन पो पुगेछु। ’ह्या चुप लाग, किन कराएको, किन रोएको’ भन्दिए, पछि त उनीहरुलाई पनि रिस उठेछ मलाई नै त ’तै चुप लाग’ भने। अहिले सम्झिँदा हाँसो लागेर आउँछ।

मैले सन्तान जन्माउने बेलासम्म श्रीमान्लाई प्रसूति कक्षमा जान दिँदैन थियो। त्यही भएर मेरो श्रीमान त यता उता घुमिराख्नु भएको रहेछ। घरी झ्यालबाट हेर्न खोज्नु भएछ। पछि भन्नुहुन्थ्यो, ’सब जना चिच्याइरहेको थियो, तिमी त हाँसी पो रहेकी थियौं।’

म आफैंलाई पनि त्यति धेरै गाह्रो भएको याद छैन। डेट भन्दा २१ दिन अगाडि नै व्यथा लागे पनि हल्का रगत देखिएको थियो। घरी घरी पिसाब आएको हो कि जस्तो हुन्थ्यो। रगत देखिएको भएर हामी तुरुन्तै अस्पताल गएका थियौं। खासमा व्यथा नै लागेको रहेछ, मलाई चैं थाहा नभएको रहेछ। अस्पताल गएको केही समयमै मैले बाबु जन्माइहाले। उसलाई जन्माउने बेलामा भन्दा बढी टाँका लगाउने बेला मलाई समस्या भएको थियो।

नानी र बाबुकोमा सात वर्षको अन्तर छ। नानीको समयमा पनि टाँका लगाइदिन्छ भनेर मलाई अस्पताल जानै मन थिएन। म त सकेसम्म घरमै नानी जन्माउँछु भनेर अड्डी कस्सेर बसेको थिएँ। नाभी काट्न भनेर ब्लेट समेत तयार गरेको थिएँ। तर घरमा कसैले पनि जोखिम लिन मान्नु भएन। अस्पताल लाग्ने बित्तिकै मैले नानीलाई जन्म दिएको थिएँ, त्यही भएर केही समय घरमै बसेको भए मैले त्यही जन्म दिने रहेछु भन्ने लाग्छ।  

जाडो महिनामा बाबु जन्मिएको, अलि अलि पानी पनि परिरहेको थियो। विद्यार्थी आन्दोलन भर्खर भर्खर सुरु भइरहेको थियो। म रामेछाप गएँ। त्यहाँ दही, दूध, घिउको कुनै कमी भएन। मेरो ससुराबाबा पनि त्यसबेला हेड मास्टर हुनुहुन्थ्यो। सबै मिलाएर खाऊँ भन्नुहुन्थ्यो। सुत्केरी स्याहार त्यहाँ एकदम राम्रो पाएँ।

नानीको समयमा चैं म गाउँ गइँन। यतै बसेर हामी आमाछोरीलाई स्याहारिइयो। आफू आमा भएपछि आफैंलाई बिर्सेर हाम्रो आमाले हामीलाई हुर्काउनु भएको रहेछ भन्ने मनमा आउने रहेछ। दुवै सन्तानको समयमा म दुई महिना भन्दा बढी छुट्टीमा बसिँन। त्यसबेला अहिले जस्तो तीन महिनाको छुट्टी दिने चलन थिएन। अझ सुत्केरीमा त चाह्यो भने छ महिना सम्म छुट्टीमा बस्न मिल्छ अहिले। अहिले राम्रो व्यवस्था छ।

दुवै सन्तानलाई धेरै स्तनपान गराउन नसके पनि दुई वर्षसम्म त पूरै आफ्नै दूध खुवाएँ। उनीहरूबाट दिनभर टाढा हुँदा पनि के गर्दै होलान्, भोकाएका होलान् भन्ने चैं लाग्दैन थियो । तर हाम्रो घर नजिक ढलको लागि सडक खनेको थियो। कतै त्यता लडेर पो बसेको छ कि भन्ने चैं हुन्थ्यो।

बाबु जन्माउँदा मलाई तंग्रिन गाह्रो भएन। तर नानीको समयमा ३३ वर्ष पुगेकोले होला, तंग्रिन गाह्रो भएको हो कि जस्तो लाग्छ। बरु दुई वर्ष मात्र अन्तर राखेर जन्माउने तर बच्चा चैं उमेर छँदा नै जन्माउन पर्ने रहेछ जस्तो लाग्छ। धेरै साथीहरूलाई पनि म त यही सुझाव दिने गर्छु। उमेर गएपछि आमालाई नै गाह्रो हुने रहेछ।

सुरुसुरुमा बाबु-नानी स्कूल जाने बेला रुँदा मननै चिसो हुन्थ्यो। पछि त बानी हुने रहेछ। घर सँगै बाहिर काम गर्ने आमाहरूलाई गाह्रो हुने रहेछ। डबल लोड हुने भयो नि त। बरु घरमै मात्र काम गरेर बस्यो भने पैसा भनेको जति चलाउन नपाए पनि एकोहोरो हुन्थ्यो कि! घर बाहिर काम गर्यो भन्दैमा घरको काम नगर्ने, पाहुना नहेर्ने भन्ने हामीलाई छुट हुँदैन। सबैलाई व्यवस्थापन गर्नैपर्छ। जेहोस्, अरूलाई हेरेर मलाई त्यति सार्हो गाह्रो भएन भन्ने लाग्छ।

अहिले बाबु सीए पढ्दै छ। नानी नौ कक्षामा पढ्छे। बाबु विदेश जान्न यही केही गर्छु भन्छ । पढाइमा दुवैजना राम्रै छन्। नानी अलि चन्चले स्वभावकी छे। नानी भएको कारण घर नै रमाइलो हुन्छ। उसलाई बोल्न पनि धेरै पर्छ। बाबु चैं खासै बोल्न रुचाउँदैन। छोरा वा छोरी जे भए पनि दुइटा सन्तान चैं हुनु पर्ने रहेछ भन्ने लाग्छ। उनीहरुले पनि मेरो कामलाई बुझेका छन्। अहिलेसम्म समय नदिएको भनेर गुनासो गरेका छैनन ।

मैले सामुदायिक स्तरमा गरेको कामहरूबारे आफ्नो सामाजिक संजालमा हेर्दा दुवैजना दङ्ग पर्छन्। अहिले त बरु यसरी गर्न सकिन्छ, यसरी गर्दा राम्रो हुन्छ भनेर समेत मलाई हौसला दिने गर्छन्। दुवै जना दयालु स्वभावका पनि छन्। त्यै भएर यिनिहरूको लागि यस्तो गर्छु, उस्तो गर्छु भनेर पनि मैले सोचेको छैन। उनीहरुलाई सक्षम बनाउने हो, त्यसपछि भनेको आफ्नो लागि आफैं गर्छन्।

दुईपटक दुर्घटनाबाट बचेको कारण मेरो बाँकी समय समाज सेवामा दिन्छु भनेर सोचेकी छु। अब ३२ महिनापछि मेरो कार्यकाल सक्किँदै छ। त्यसपछि ६ महिना आफन्तसँग भेटघाट गरेर बिताउँछु। बाँकी जीवन महिलाहरू जो अदालत जान सक्नुहुन्न, कानूनी कुराहरू बुझ्नु भएको छैन, उहाँहरूलाई सेवा दिन चाहन्छु। सामुदायिक प्रहरी भएर काम गर्दा मैले समुदायलाई केही हदसम्म बुझेको छु जस्तो लाग्छ। अहिले जसरी महिलालाई कानून बढी भयो भन्ने सुनिन्छ, त्यो एकदम गलत हो।

मैले धेरै महिलाहरू कानून बारे थाहा नपाउँदा, कानूनको पहुँचमा नहुँदा दुख पाएको देखेकी छु। कम्तीमा वर्षमा १५ जना दिदी बहिनीहरूलाई कानुनबारे जानकार गराउँदै सेवा दिन चाहन्छु। कमसेकम आफ्नो अधिकार बारे त उहाँहरू जानकार हुनुपर्छ भन्ने लागेर म गाउँगाउँमा गएर मेरो नम्बर दिने गर्छु। बाबु-नानी पनि मेरो मेरो यस काममा सहयोग गर्न तयार भएको देख्दा मलाई झन् आँट आएको छ। 

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

६ जेठ, २०८१, १५:१८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।