कांग्रेस मन्त्रीको राजीनामा नआउँदा मन्त्रालय तोक्न सकस, नयाँ गठबन्धनबाट तीन विना विभागीय मन्त्री, मन्त्रालय बाँड्न कार्यदल

कांग्रेस मन्त्रीको राजीनामा नआउँदा मन्त्रालय तोक्न सकस, नयाँ गठबन्धनबाट तीन विना विभागीय मन्त्री, मन्त्रालय बाँड्न कार्यदल

काठमाडौँ : आइतबार रातभरको राजनीतिक चलखेलकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुस १० गतेको गठबन्धनमा फर्किँदै एमालेसहितको गठबन्धनमा गए पनि कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिँदा नयाँ गठबन्धनका मन्त्रीहरूलाई मन्त्रालय तोक्न सकेनन्।

राष्ट्रपतिको निर्वाचनलाई बहाना बनाएर प्रचण्डले पुस १० को सहमति तोड्दै फागुन १२ मा कांग्रेससहितको गठबन्धनमा गएका थिए। राष्ट्रिय सभा अध्यक्षलाई बहाना उनले फागुन २१ मा पुन पुस १० कै गठबन्धनमा फर्किए।

एकाएक माओवादीबाट धोका भएपछि बसेको कांग्रेसको बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीहरूले राजीनामा नदिने भन्दै प्रधानमन्त्रीलाई कांग्रेसबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गर्ने चुनौती दियो।

प्रधानमन्त्री प्रचण्ड सोमबारै मन्त्रालयसमेत तोकेर नयाँ गठबन्धनका दलहरूबाट मन्त्री बनाउने रणनीतिमा थिए। तर तत्काल मन्त्रालय तोक्न सम्भव नभएपछि गठबन्धनमा सहभागी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डिपी अर्यालसँगै माओवादीबाट हितबहादुर तामाङलाई विना विभागीय मन्त्री बनाउने भएका छन्।

नयाँ मन्त्रीहरूबारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराइसकेका छन्। एमालेका गिरी पुस १० को सहमतिमा बनेको सरकारमा स्वास्थ्य मन्त्री थिए। अर्याल श्रममन्त्री थिए। माओवादीबाट मन्त्री बन्न लागेका हितबहादुर तामाङ यस अगाडि १३ दिनका लागि खेलकुदमन्त्री भएका थिए।

मन्त्री परिषद् विस्तारमा गृह मन्त्रालयमा एमाले र रास्वपा दुवै दलको दाबीले समेत प्रधानमन्त्री सकसमा देखिएका छन्। रास्वपाले पुस १० कै निरन्तरताका रूपमा उपप्रधान तथा गृहसहित श्रम,शिक्षा र स्वास्थ्य राज्यमन्त्री मागेको छ।

पुस १० मा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्रीहुँदा उनको नागरिकताबारे प्रहरी अनुसन्धानमा थियो। संयोग अहिले रविकारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सहकारी ठगीको अनुसन्धानमा छ।

रास्वपामा स्वर्णिम वाग्लेको नेतृत्वमा सरकारमा जानेबारे समेत छलफल जारी रहेकै बेलामा पार्टी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने अधिकार पाए लगत्तै रविले आफ्ना निकट तथा यस अगाडि मन्त्री बन्दा नै विवादमा तानिएका डिपीलाई पहिलो चरणमै सरकारमा पठाउने निर्णय गरे। रास्वपाबाट विराजभक्त श्रेष्ठ र सोविता गौतम समेत मन्त्रीको आकाङ्क्षी देखिएका छन्।

प्रधानमन्त्री प्रचण्ड अनुभवी सांसदबाट एमाले सरकारमा आओस् भन्ने पक्षमा थिए। तर एमाले अध्यक्ष ओलीले गिरीको नेतृत्वमा सरकारमा जाने निर्णय गरे। उनी पहिलो सांसद भएका हुन् भने प्रतिनिधि सभाको प्रमुख सचेतक थिए। गिरीले नेतृत्व गर्ने निर्णय नबदलिएसम्म एमालेबाट मन्त्री बन्नेहरू नयाँ अनुहार हुने देखिन्छ।

माओवादीबाट सरकारमा सहभागी कुन-कुन मन्त्री बदलिन्छन् एकिन भइसकेको छैन। कांग्रेससहितको गठबन्धनमा वर्षमान पुनलाई प्रचण्डले अर्थमन्त्री बनाउन चाहन्थे। देवेन्द्र पौडेल समेत मन्त्रीको आकाङ्क्षी देखिएका छन्।

जसपाबाट अहिले सरकारमा शिक्षामा अशोक राई र बनमा वीरेन्द्र महतो छन्। एकीकृत समाजवादी सरकारमा जाने/नजाने निश्चित भइसकेको छैन। सरकारमा एकीकृत समाजवादीबाट भौतिक मन्त्री प्रकाश ज्वाला,कृषिमा बेदुराम भुसाल छन्।

नागरिक उन्मुक्ति सरकारमा सहभागी हुने बताइसकेको छ। सरकारमा नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ मन्त्री छिन्। जनमतबाट अनिता देवी मन्त्री छिन्। दलहरूको मन्त्रालय फेरबदल हुन्छ या निरन्तरता हुन्छ भन्ने एकिन भइसकेको छैन।

मन्त्रालय भागबन्डा मिलाउन चार सदस्यीय समिति

सत्ता गठबन्धन बदलिएसँगै मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन ४ सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन्। उनीहरूलाई सिट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ।

सत्ता चलखेल श्रृ‌ंखला

 ​​​​​​​​​​​​​​​​​​​​​राप्रपा सरकारमा नजाने

फागुन २१, २०८० सोमबार १५:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।