डा. विनोदको उपचार अनुभव : डेटिङ जाँदा मध्यरातमा दुर्घटना भएपछि ब्वाइफ्रेण्डले छोडेर भागे, पाँच घण्टापछि प्रहरीले अस्पताल पुर्याएकी गर्लफ्रेण्ड शल्यक्रियापछि बौरिइन्
डा. विनोद राजभण्डारी सरकारीतर्फ ११औं तहका पहिलो न्यूरो सर्जन हुन्। उनी हाल वीर अस्पतालमा कार्यरत छन्। अध्ययनमा अब्बल उनै डा. विनोदले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन् :
000
माया मारेर मृत्युको पर्खाइमा पशुपतिको घाटेवैद्यकहाँ राखिएका बाजे फर्किएर अस्पताल आए, अनि ठिक भएर हिँडेर घर गए
माया मारिएका बाजेलाई बचाएर घर पठाएको एउटा प्रसंग डा. विनोद कहिल्यै भुल्दैनन्। प्रसंग करिब ६ वर्षअघिको हो। जतिबेला डा. विनोद त्रिवि शिक्षण अस्पतालमा न्यूरो सर्जरी विषयमा ‘एमसिएच’ अध्ययन गरिरहेका थिए।
सवारी दुर्घटनामा परेका करिब ६७ वर्षका बाजेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइयो। डा. विनोदको टिमले ती बाजेको स्वास्थ्य अवस्था हेर्यो। अस्पताल पुर्याउँदा बाजे बेहोस अवस्थामा थिए। दुर्घटनामा परी ती बाजेको टाउकोमा चोट लागेर सुन्निएको थियो। त्यसैले ती बाजेको जतिसक्दो चाँडै टाउकाको शल्यक्रिया गर्नुपर्ने थियो।
शल्यक्रियाको सबै तयारीपछि डा. विनोद लगायतको चिकित्सकको टिमले ती बाजेको टाउकाको शल्यक्रिया गर्यो। केही घण्टापछि शल्यक्रिया सफल भयो। त्यसपछि बाजेलाई आइसीयु तथा भेन्टिलेटरमा राखियो। शल्यक्रियापछि चिकित्सकीय जाँच गर्दा ती बाजेको नजानिँदो गरी स्वास्थ्यमा सुधार हुँदै गएको संकेत देखियो। तर, जोखिम भने कायम नै थियो।
सामान्य व्यक्तिले देखिने गरी भने बाजेको स्वास्थ्यमा खासै सुधार भएको थिएन। होस पनि खुलेको थिएन। शल्यक्रिया गरेको करिब एक हप्तासम्म पनि स्वास्थ्यमा सुधार भएको नदेखिएपछि छोराछोरी तथा परिवारले भने ती बाजे बाँच्ने आसै मारे। ती बाजेको पशुपतिमा मर्न पाइयोस् भन्ने इच्छा रहेछ। त्यसैले छोराछोरीलगायत परिवार मृत्युअघि नै पशुपतिको घाट नजिकैको घाटेवैद्यकहाँ लगेर बाजेलाई राख्ने अनि मृत्यु कुर्ने निर्णयमा पुगेछन्।
चिकित्सकको टिमले विस्तारै ती बाजे होसमा आउने अनि बाँच्ने सम्भावना रहेको भन्दै सम्झाई-बुझाई गर्दा समेत बाजेका छोराछोरीले अस्पतालबाट लाने नै निर्णय गरेछन्। नभन्दै, छोराछोरीले अस्पतालबाट लिएर बुवा बाँच्ने आशा मार्दै ती बाजेलाई पशुपतिको घाटेवैधकहाँ पुर्याएर राखेछन्। त्यसपछि घाटेवैद्यकहाँ छोराछोरी तथा परिवार ती बाजेको मृत्यु कुर्न थाले। घाटेवैद्यकहाँ ती बाजेको मृत्यु भएपछि पशुपतिमा शद-गद गरेर घर फर्कने मनस्थितिमा थियो परिवार।
तर, सोचेभन्दा परिस्थिति फरक भयो। घाटेवैद्यकहाँ राखिएका ती बाजेको मृत्यु भएन। बरू बाजेको त बिस्तारै हातखुट्टा चल्न पो थाले। बाजेको होस नै पो खुल्न थाल्यो। हातखुट्टा चल्ने अनि होस पनि खुल्न थालेपछि छोराछोरी तथा परिवारले मृत्युको पर्खाइमा घाटेवजैद्यकहाँ राखिएका बाजेलाई पुनः फर्काएर शिक्षण अस्पताल नै पुर्याए।
चार दिनपछि पुनः अस्पताल फर्काइएका ती बाजेको औषधि उपचार सुरू भयो। बिस्तारै बाजेको स्वास्थ्य सामान्य अवस्थामा फर्कँदै गयो। बाजे आफैँ उठेर बस्ने अनि खान सक्ने हुँदै गए। दिनदिनै बाजे विस्तारै अन्य व्यक्तिको सहयोगमा हिँडडुल गर्न सक्ने समेत भए। अनि अस्पतालले बाजेको मृत्यु घोषणा हैन, डिस्चार्ज गरेर घर पठाउने तयारी पो गर्यो।
मृत्युको पर्खाइमा पशुपतिको घाट नजिकैको घाटेवैद्यकहाँ पुर्याइएका बाजे बाँचेर अस्पतालबाट घर फर्कने तयारी गर्दा बाजेका परिवार पनि चकित भए नै। ती बाजेलाई ठिक बनाएर अस्पतालले डिस्चार्ज गर्यो। बाजे त ठिक भएर आफन्तको सहयोगमा हिँड्दै अस्पतालबाट मुस्कुराउँदै निस्किए। छोराछोरी तथा परिवारले माया नै मारेर मृत्युअघि बुवाको इच्छा पूरा गर्न भन्दै घाटेवैद्यकहाँ पुर्याएका ती बाजे बाँचेर अस्पतालबाट घर फर्कँदाको त्यो मुस्कान सम्झँदा डा. विनोदलाई अझै आनन्द लाग्छ।
त्यसैले अन्तिम अवस्थासम्म पनि उपचार गर्न छोड्न नहुने बिरामीका आफन्तलाई डा. विनोदको सुझाव छ।
डेटिङ जाँदा मध्यरातमा दुर्घटनामा परेपछि ब्वाइफ्रेण्डले छोडेर भागे, पाँच घण्टापछि प्रहरीले अस्पताल पुर्याएकी गर्लफ्रेण्ड शल्यक्रियापछि बौरिइन्
प्रसंग तीन वर्षअघिको हो। करिब २२ वर्षकी युवती ब्वाइफ्रेण्डसँग मोटरसाइकलमा डेटिङ गएकी रहिछन्। तर, ती जोडी चढेको मोटरसाइकल जोरपाटीको पुलमा मध्यराति १२ बजेतिर दुर्घटनामा परेछ। दुर्घटनामा परेपछि युवती बेहोस भइछन्। मोटरसाइकल दुर्घटनामा परेर गर्लफ्रेण्ड बेहोस भएपछि ब्वाइफ्रेण्ड भने गर्लफ्रेण्डलाई त्यहीँ छोडेर भागेछन्।
चिसो मौसमको रातभर ती युवती पुलमै ढलिछन्। ती युवती पुलमा बेहोस अवस्थामा रहेकोबारे बिहान पाँच बजेतिर कसैले प्रहरीलाई खबर गरिदिएछन्।
त्यसपछि करिब पाँच घण्टादेखि बेहोस भएकी ती युवतीलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएछ। तर, ती युवतीलाई २/३ वटा अस्पतालमा पुर्याउँदा समेत भर्ना लिन मानेनछन्। ती युवतीको परिचय पनि खुलेकै थिएन। त्यसपछि प्रहरीले ती युवतीलाई उपचारका लागि अर्को एक निजी अस्पताल पुर्याएछ। ती युवतीलाई त्यहाँ पुर्याइएपछि अस्पतालले डा. विनोदलाई खबर गर्यो। विनोद गएर ती युवतीको स्वास्थ्य अवस्था हेरे। ती युवतीको मस्तिष्कको मृत्यु भइनसकेको उनले थाहा पाए। सिटी स्क्यान गरेर हेर्दा ती युवतीको टाउकोमा रगत जमेको देखियो।
टाउकाको शल्यक्रिया गरी जमेको रगत निकालेर फाल्ने लगायतको औषधि उपचार गर्दा ती युवती बाँच्न सक्ने केही संकेत देखियो। अनि अस्पताल प्रशासन तथा चिकित्सकको टिमले प्रहरीलाई नै जमानी राखेर ती युवतीको टाउकाको शल्यक्रिया गर्ने निर्णय गर्यो। शल्यक्रिया गरेर पनि ती युवतीको स्वास्थ्य सामान्य अवस्थामा फर्काउन निक्कै कठिन देखिएको थियो।
तर जोखिम मोलेरै भएपनि डा. विनोदको टिमले ती युवतीको टाउकाको शल्यक्रिया थाल्यो। करिब दुई घण्टाको मेहनतपछि शल्यक्रिया सकियो। शल्यक्रिया सफल पनि भयो। त्यसपछि उनलाई आइसीयुमा राखियो। शल्यक्रिया गरेको करिब तीन दिनमा ती युवतीको अलिअलि होस खुल्यो। अनि उनले अलिअलि आँखा पनि खोल्न थालिन्। बिस्तारै ती युवतीका हातखुट्टा चल्न थाले। तर, होस भने आएको थिएन।
ती युवतीको शल्यक्रियापछि प्रहरी ती घाइते युवतीको परिवार पत्ता लगाएछ। डा. विनोदलाई सम्झना भएसम्म अस्पतालमा भर्ना भएको केही दिनपछि प्रहरीले ती युवतीकी आमालाई खोजेर ल्याउन सफल भएको थियो।
त्यसपछि भने उपचारमा ती युवतीकी आमा तथा परिवारले हेरचाह गर्यो। २/३ दिनपछि मात्रै प्रहरीले ती युवती ब्वाइफ्रेण्डसँग डेटिङ गएको र पुलमा मोटरसाइकल दुर्घटनामा परेपछि गलफ्रेण्डलाई दुर्घटना स्थलमा नै छोडेर ब्वाइफ्रेण्ड भागेको पत्ता लगाएछ। अनि प्रहरीले ती युवतीका निर्दयी ब्वाइफ्रेण्डलाई समाउन सफल समेत भएछ।
यता, विस्तारै ती युवतीको स्वास्थ्यमा सुधार हुँदै गयो। करिब तीन हप्ता आइसीयुमा राखेर उपचार गरेपछि ती युवतीलाई वार्डमा सारियो।
करिब डेढ महिना उपचार गरेपछि स्वास्थ्य सामान्य अवस्थामा फर्किँदै गएकाले ती युवतीलाई अस्पतालबाट डिस्चार्ज गरियो। अनि फिजियो थेरापी उपचारका लागि पठाइयो। अस्पतालबाट डिस्चार्ज भएको करिब एक महिनामा ती युवती फलोअपका लागि अस्पताल पुगिन्।
फलोअपमा पुग्दा ती युवती हिँड्ने, बोल्ने लगायत स्वास्थ्य सामान्य अवस्थामा फर्किइसकेको देख्दा डा. विनोदलाई आनन्द लाग्यो नै। पछिसम्म पनि ती युवती फलोअपमा अस्पताल पुगेकी थिइन्। स्वास्थ्य सामान्य अवस्थामा फर्किसकेको थियो।
तर, मृत्युको मुखमा पुगेकी बेबारिसे अवस्थाकी ती युवतीलाई औषधि उपचारपछि बचाउन सफल भएको त्यो घटना सम्झँदा डा. विनोद अझै छक्क पर्छन्। बेवारिसे भनेर ती युवतीको उपचार नगरेको भए ती युवतीको मृत्यु हुने नै अवस्था थियो। त्यसैले बेवारिसे अवस्थामा अस्पताल पुर्याइएका कुनै पनि बिरामीलाई उपचार नै नगरी छोड्न हुँदैन भन्ने कुरामा उनी जहिल्यै सचेत छन्।
आइडेन्टी कार्डको डोरी घाँटीमा बेरिएर बालिका बेहोस भएपछि...
घटना दुई महिनाअघिको हो। करिब पाँच वर्षकी बालिका विद्यालयमा खेल्ने क्रममा परिचयपत्र (आइडेन्टी कार्ड) चिप्लेटी खेल्ने ठाउँमा अल्झिँदा घाँटीमा बेरिएर पासो लागेछ। कसो कसो गरेर घाँटीमा बेरिएको परिचयपत्रको डोरी खुस्काएर वा चुँडाएर ती बालिकालाई अस्पताल पुर्याइएछ। अस्पताल पुर्याउँदा त ती बालिका बेहोस अवस्थामा थिइन्। बालिकाको मस्तिष्कमा अक्सिजनको मात्रा नै कम भइसकेको थियो। त्यसैले ती बालिकालाई आइसीयु तथा भेन्टिलेरटमा राखेर उपचार गरिएको डा. विनोदले सुनाए।
त्यसैगरी उपचारकै क्रममा करिब चार दिनसम्म ती बालिकालाई छारेरोगजस्तो काप्ने समस्या भयो। उनलाई काप्न कम गर्ने औषधि नै चलाउनुपर्यो।
केही दिनको औषधि उपचारपछि बिस्तारै ती बालिकाले हातखुट्टा चलाउन थालिन। तर, बालिकाको पूरा होस आइसकेकै थिएन। आवश्यक औषधि उपचारपछि ती बालिकालाई फिजियो थेरापी उपचारका लागि अस्पतालबाट पठाइयो। ती बालिका अहिले पनि न्यूरोलोजिष्ट चिकित्सककहाँ फलोअपमा रहेको र बिस्तारै ती बालिकाको स्वास्थ्यमा सुधार भइरहेको जानकारी पाएको डा. विनोदले सुनाए।
त्यसैले बालबालिकालाई दुर्घटनाबाट जोगाउन विद्यालयले साना-साना विषयहरूमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ। घाँटीमा लगाएको टाई, आइडी कार्ड अल्झिएर बालबालिका दुर्घटनामा पर्न सक्ने भएकाले यस्ता विषयमा विद्यालयले ध्यान दिनुपर्ने डा. विनोदको सुझाव छ।
मानसिक समस्या भनेर उपचार गरिएका युवामा ब्रेन ट्युमर भएको थाहा पाएपछि...
प्रसंग केही वर्षअघिको हो। करिब ३५ वर्षका युवालाई बिर्सने, रिसाउने, झर्कने, जथाभावी बोल्ने लगायतका मानसिक समस्याको लक्षण देखिएको थियो। त्यसैले ती युवाको मनोचिकित्सकीय उपचार भइरहेको थियो।
तर, कसो कसो गर्दा ती युवालाई करिब पाँच वर्षअघि त्रिवि शिक्षण अस्पतालमा पुर्याइयो। जतिबेला डा. विनोद न्यूरो सर्जरी विषयमा ‘एमसिएच’ अध्ययन गरिरहेका थिए। डा. विनोदले नै ती युवाको स्वास्थ्य परीक्षण गरे। उनले ती युवाको सिटी स्क्यान गरेर हेर्दा त उनको टाउको अगाडीको भागमा ठूलो ट्युमर (ब्रेन ट्युमर) पो भएको थाहा भयो। टाउकोमा भएको त्यही ट्युमरका कारण ती युवामा मानसिक समस्याको लक्षण देखिएको रहेछ।
त्यसैले डा. विनोद लगायत चिकित्सकको टिमले ती युवाको टाउकाको शल्यक्रिया गरेर ब्रेन ट्युमर निकाल्यो। केही दिनको औषधि उपचारपछि ती युवालाई अस्पतालबाट डिस्चार्ज गरियो। शल्यक्रियापछि ती युवा ठिक हुँदै गए।
अब्बल अध्ययन, छात्रवृत्तिमा एमबीबीएस अध्ययन
विनोद राजभण्डारी काठमाडौंको गोकर्णेश्वरमा २०४२ मा जन्मिएका हुन्। उनले काठमाडौंकै भृकुटी सेकेण्डरी स्कुलबाट २०५७ मा एसएलसी गरे। उनी क्यापिटल कलेज (सिसिआरसी)मा प्लसटु अध्ययनका लागि भर्ना भए। अध्ययनमा अब्बल उनी ११ कक्षामा बोर्ड चौथो हुन सफल भए।
प्लस टु अध्ययनपछि विनोदले के पढ्ने भन्दाभन्दै एमबीबीएस अध्ययनका लागि छनोट परीक्षाको तयारी गरे। उनी एमबीबीएस अध्ययनका लागि छनोट परीक्षामा छनोट मात्रै भएनन् सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययन गर्ने मौकासमेत पाए। अनि सन् २००४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि विनोद भर्ना भए।
सन् २००९ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेवापत दुई वर्षे छात्रवृत्ति करारमा काम गर्नका लागि डा. विनोद काभ्रेको भकुण्डेबेँसीस्थित स्वास्थ्य केन्द्र पुगे। त्यहाँ उनले दुई वर्ष काम गरे। एमबीबीएस अध्ययन गर्ने क्रममा नै उनलाई सर्जरीतर्फ रुची बढ्दै गयो।
न्यूरो सर्जन बन्ने इच्छा
डा. विनोदलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले नेपाल मेडिकल कलेजमा नै चिकित्सा शास्त्रको स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा एमएस (मास्टर्स इन सर्जरी) अध्ययन सुरू गरे। सन् २०१५ मा उनको तीन वर्षे एमएस अध्ययन पूरा भयो। त्यसपछि केही महिना सर्जनका रुपमा निजी अस्पतालमा काम गरे।
त्यसपछि उनले न्यूरो सर्जरी विषयको थप अध्ययन गर्ने निर्णय लिए। अनि सन् २०१६ मा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा न्यूरो सर्जरी विषयमा ‘एमसिएच’ अध्ययन थाले। यो विद्यावारिधि सरहको विशिष्ठिकृत (सुपरस्पेशलाईजेशन) तहको अध्ययन हो। सन् २०१९ मा उनको एमसीएच अध्ययन पूरा भयो।
उनले एमसिएच पनि सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरेका हुन्। त्यसैले उनले छात्रवृत्तिमा एमसिएच अध्ययन गरेवापत त्रिवि शिक्षण अस्पतालमा नै दुई वर्ष छात्रवृत्ति करारमा काम गरे। त्यसपछि पनि उनी महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै एसिस्टेण्ट प्रोफेसरका रुपमा करार जागिरे भएर काम गर्न थाले। त्यहाँ उनले करिब एक वर्ष काम गरे।
११औँ तहको पहिलो न्यूरो सर्जन बन्न सफल
महाराजगञ्ज चिकित्सा क्याम्पसमा काम गर्दा नै डा. विनोदले सरकारी स्थायी जागिरका लागि चिकित्सा तर्फको नऔं तहमा लोकसेवा परीक्षा दिएका थिए। केही महिनापछि नतिजा आयो। अनि लोकसेवा परीक्षामार्फत उनी २०७८ माघमा खुलातर्फबाट नै पहिलो नम्बरमा नऔं तहको सरकारी जागिरमा प्रवेश गर्न सफल भए। स्थायी सरकारी जागिरे भएपछि डा. विनोद पहिलो पोष्टिङ भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर काम गर्न थाले।
डा. विनोदले नऔँ तहको परीक्षापछि ११औं तहको स्थायी सरकारी जागिरका पनि लोकसेवा परीक्षा दिएका थिए। अध्ययनमा अब्बल उनलाई करिब दुई महिनाको अन्तरालमा नै अर्को सफलता मिलिहाल्यो। डा. विनोद २०७९ चैतमै ११औं तहमा पनि खुलातर्फ पहिलो नम्बरमा नाम निकालेर स्थायी सरकारी जागिरे हुन सफल भए। लोकसेवामार्फत खुलातर्फबाट सिधै एघारौं तहमा सरकारी स्थायी जागिरमा प्रवेश गर्ने आफू पहिलो न्यूरो सर्जन चिकित्सक भएको डा. विनोदले सुनाए।
त्यति मात्रै हैन, उनी सरकारीतर्फ एघारौं तहको पहिलो न्यूरो सर्जन चिकित्सक बन्नसमेत सफल भए। त्यसैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब तीन महिना नऔं तहमा काम गरेपछि ११औं तहको न्यूरो सर्जन भएर सरकारी जागिरेका रुपमा पोष्टिङ भएर डा. विनोद वीर अस्पताल आए। अध्ययनमा लगाव अनि विषयवस्तुको सूक्ष्म ज्ञानकै कारणले डा. विनोदलाई एकपछि अर्को सफलता मिल्यो।
उनी हाल वीर अस्पतालको न्यूरो सर्जरी विभागमा नै कार्यरत छन्। डा. विनोदले ११औं तहमा आफू पहिलो र सिनियर न्यूरो सर्जन भएको सुनाए।
विभिन्न कारणले टाउकोमा चोट लागेका, टाउकोमा ट्युमर भएका, टाउकाको रगतको नसा फुटेका, छारे रोगको समस्या भएका, मेरुदण्डको ट्युमर तथा नसा च्यापिएका, हातखुट्टाको नसा च्यापिएको तथा नसा दबिएका जस्ता न्यूरोसँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रिया गरी निको बनाउनु डा. विनोदको दैनिकी हो।
असोज ११, २०८१ शनिबार २१:३९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।