एमाले र माओवादीबीच नयाँ समीकरण बनाएर अघि बढ्ने समझदारी

एमाले र माओवादीबीच नयाँ समीकरण बनाएर अघि बढ्ने समझदारी

काठमाडौ : एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण बनाएर अघि बढ्ने समझदारी भएको छ।

आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच समझदारी भएको माओवादीका एक पदाधिकारीले जानकारी दिए।

उनका अनुसार प्रचण्डलाई नै प्रधानमन्त्री मानेर नयाँ समीकरण बनाएर अघि बढ्ने समझदारी भएको हो। त्यसलाई औपचारिकता दिन सोमबार पुनः बैठक बस्नेछ। एमालेसँग समझदारी बनिसकेपछि सोमबार विहान आठ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक पनि स्थगित भएको हो।

आइतबार राति भएको समझदारीमा एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीसमेत सहभागी थिए।

नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरूसँग मिलेर नयाँ समीकरण बनाउन लागेको हो।

विहानैदेखि एमाले र माओवादी केन्द्रका नेताहरू बैठकमा छन्। एमालेले विहानै केन्द्रीय सचिवालयले बैठक   बसिरहँदा माओवादी केन्द्र पनि सचिवालय बैठकमा छन्।

माओवादी र एमालेका नेताहरूसहितको गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ।

२१ फागुन, २०८०, ०८:५६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।