खुमबहादुरको आडमा गुप्तचरबाट प्रहरी भएकालाई आइजिपीको प्रतिष्पर्धी हुन दिएनन् गृहमन्त्रीले

खुमबहादुरको आडमा गुप्तचरबाट प्रहरी भएकालाई आइजिपीको प्रतिष्पर्धी हुन दिएनन् गृहमन्त्रीले

काठमाडौँ : डिआइजीको रिक्त तीन पदमा बढुवाका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरको ब्याचीसँगै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा समायोजन भएका र सिधै प्रहरी सङ्गठनमा भर्ना भएकाहरू प्रतिस्पर्धामा थिए।

आइजिपी कुँवर आफ्ना ब्याचीहरुलाई बढुवा गर्ने रणनीतिमा थिए। कुँवरसँगै प्रहरी सङ्गठनमा प्रवेश गरेकाहरू अहिले पनि एसएसपी मै थिए।

उता २०५८ मा राजनीतिक प्रभावको आधारमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका ४६ जनामध्ये डिआइजी बढुवाको चरणसम्म पुगेका तीन जना प्रतिस्पर्धामा थिए। सँगै प्रहरीकै फ्रेस समूह हुने भइहाल्यो।

आइजिपीका ब्याची अवकाश अगाडि डिआइजी हुने दाउमा थिए भने असहज रूपमा प्रहरी सङ्गठनमा आएका पूर्व राअबीका सङ्गठनको नेतृत्व गर्ने लाइन सुरक्षित गर्ने प्रयासमा थिए।

तर बढुवा समितिले आइजिपीका ब्याचलाई डिआइजी हुने बाटो रोक्यो। सँगै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएकाहरूलाई सङ्गठनको नेतृत्वको प्रतिस्पर्धी हुनबाट रोक्दै सङ्गठनको भावी नेतृत्वका लागि प्रहरी सङ्गठनमै भर्ना भएकाहरूलाई अगाडि बढायो।

प्रहरी सङ्गठनको हुर्मत लिने निर्णय

राष्ट्रिय अनुसन्धान विभागमा भर्नाको उद्देश्य सूचना सङ्कलन र विश्लेषण नै हो। तर प्रहरी सङ्गठनमा अपराध अनुसन्धान, भिड नियन्त्रण लगायतका विविध जिम्मेवारी हुन्छन्।

अनुसन्धान विभागमा भर्ना भएकाहरू प्रहरी सङ्गठनमा समायोजन गर्ने कानुनी बाटो समेत नभए पनि तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर विभागमा भर्ना भएका ४६ जनालाई प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्ममा समायोजन गराएका थिए।

यसरी समायोजन भएका अधिकांश कांग्रेस पृष्ठभूमिका थिए। प्रहरी सङ्गठनमा समायोजन भएका ४६ मध्ये अधिकांश पटक-पटक कारबाहीमा परे। उनीहरूको कार्यक्षमता कमजोर देखिए पनि कांग्रेसको नेतृत्वको सरकारमा उनीहरूले सहजै बढुवा पाउँदै गएर एसएसपी तहसम्म पुग्न सफल भएका थिए।

डिआइजीको रिक्त तीन दरबन्दीमा विभागबाट प्रहरीमा समायोजन भएका सिद्धी विक्रम शाह, सुशील सिंह राठौर र उमा प्रसाद चतुर्वेदी बढुवाको प्रतिस्पर्धामा थिए। उनीहरू २०७९ साउन १ मा एससपीबाट एसएसपीमा बढुवा भएका थिए। 

को-को आएका थिए विभागबाट प्रहरीमा

२०५८ सालको पुस २५ को मन्त्रीपरिषद्को निर्णयको आधारमा योगबहादुर पाल, श्यामकृष्ण अधिकारी, हिमालय श्रेष्ठ, माधवप्रसाद श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, डम्बरबहादुर विक, वसन्त लम्साल प्रहरी निरीक्षकमा समायोजन भएका थिए।

सुरेन्द्र गुरुङ, सिद्धिविक्रम शाह, दिलीपसिंह देउवा, मनोजकुमार यादव, सञ्जीव शर्मा दास, प्रकाशराज शर्मा, राजेन्द्रसिंह खड्का, विश्वराज खड्का, माधवप्रसाद बुढाथोकी, जयराम सापकोटा, विनोद घिमिरे, दीपककुमार बस्नेत, बहादुरजंग मल्ल, रामप्रकाश साह, टीकाबहादुर केसी, विमल बस्नेत, रामेश्वरप्रसाद यादव, ओमबहादुर राना, सुशीलसिंह राठौर, केदार खनाल, वामदेव गौतम, दीपेन्द्र जिसी र शारदाप्रसाद चौधरी समेत विभागबाट प्रहरीमा समायोजित भएका प्रहरी हुन्।

सइमा दामोदर केसी, विश्वजित गौतम, सुशील कुमार खरेल र आवेश गौतम समायोजित भए। उमेश यादव, मनोज पौडेल, नरेशजंग कार्की, हरिबहादुर बस्नेत पुनम कुमार चौधरी, रवीन्द्रराज पाण्डे र हरिबहादुर ओली असइमा आए।

हिरा अवस्थी, बालकुमार बस्नेत, हिरालाल बस्नेत प्रहरी हवल्दार र प्रदीपप्रसाद चौधरी प्रहरी जवानका रूपमा विभागबाट प्रहरी सङ्गठनमा आएका थिए।

ब्याचबाट आइजीहुँदा एसएसपीमै अवकाश

डिआइजी हुने प्रतिस्पर्धामा रहेका भोला बहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द वर्तमान प्रहरी महानिरीक्षक कुँवरकै ब्याचका हुन्। उनीहरू २०५१ चैत ५ मा प्रहरी निरीक्षकको रूपमा प्रहरी सङ्गठनमा प्रवेश गरेका थिए। ब्याचबाट आइजीहुँदा पनि उनीहरू भने बढुवामा छुट्दै तलै रहे।

आइजिपी कुँवरले छोटो समयका लागि भए पनि आफ्ना ब्याचकाहरुलाई डिआइजी बढुवाको सिफारिसमा पार्न प्रयास गरेका थिए। जानकारस्रोतका अनुसार' उनीहरूको कार्यक्षमता बलियो भएको भए तपाई आइजिपीहुँदा उनीहरू कसरी एसएसपी मात्र भए भनेर गृहमन्त्री रवि लामिछानेले प्रश्न गर्दा कुँवर नाजवाफ भएका थिए।

प्रहरी सङ्गठनमा २०५२ मा भर्ना भएका कृष्णहरि शर्मा पोखरेल पनि बढुवाको प्रतिस्पर्धामा थिए। उनका ब्याचका पनि अधिकांशको बढुवा भइसकेको थियो।

सङ्गठनमा लो प्रोफाइलको कार्यक्षमता देखिएका उनी बढुवामा छुट्दै गए। यो पटक भने उनी बढुवा सिफारिसमा पर्न सफल भए। पोखरेल २०७७ माघ ९ मा एसएसपीमा बढुवा भएका थिए।

डिआइजीका लागि सिफारिसमा परेका एसएसपी दानबहादुर कार्की प्रहरी सङ्गठनमा परिचित प्रहरी अधिकृत हुन्। डिएसपीको कार्यकाल होस् या एसपी र एसएसपी उनी चर्चामै रहे।

एसएसपीको रूपमा उनले जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको घटनाको अनुसन्धानको नेतृत्व गरेका थिए।

उनीसँगै बढुवा सिफारिसमा परेका एसएसपी डा मनोज केसी सङ्गठनमा लोप्रोफाइलमा बसेर काम गर्ने अधिकारीको रूपमा परिचित छन्। एसएसपी तहसम्म पुग्दा उनी विवादमा परेनन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखका रूपमा उनले नक्कली भुटानी शरणार्थीको अनुसन्धान ब्युँताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। डिआइजीको रिक्त पद सङ्ख्या तीन मात्र हो। तर चौथो नम्बरमा राजन अधिकारी बढुवाका सिफारिसमा परे।

जेठ १० गते डिआइजी सुरेन्द्र मैनालीले उमेर हदका कारण अवकाश पाउने भएपछि पद रिक्त हुनु अगाडि नै बढुवा समितिले थप एक जनाको नाम बढुवाका लागि सिफारिस गर्यो।

भावी आइजिपीको प्रतिस्पर्धाबाट विभागका आउट

यो पटक बढुवामा परेको भए करिब डेढ वर्षपछि रिक्त हुने प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा अनुसन्धान विभागबाट आएकाहरू पर्ने पक्का थियो।

उनीहरू बढुवामा छुटे लगत्तै अब कार्की, केसी र अधिकारी प्रतिस्पर्धी बनेका छन्। यी तीनै जना २०५४ को टोलीका हुन्।

प्रहरी सङ्गठनमा अवकाश सम्बन्धी वर्तमान प्रावधान संशोधन नभए वर्तमान आइजिपी कुँवरले २०८१ चैत ५ मा अवकाश पाउनेछन्। त्यसपछिको बिचको अवधिमा अहिले एआइजी हेकामध्येबाट छोटो कार्यकालका लागि आइजिपी नियुक्त हुनसक्ने छन्।

बढुवाको प्रक्रियामा नछुटेमा त्यसपछि प्रहरी सङ्गठनको नेतृत्वको प्रतिस्पर्धामा बढुवा सिफारिसमा परेका चारमध्ये कार्की, केसी र अधिकारी नै रहने देखिन्छ।

१५ दिने उजुरी अवधि

शुक्रवार सार्वजनिक भएको बढुवा सिफारिस नै अन्त्य हैन। बढुवामा भुटेकामध्येले चाहेमा १५ दिनभित्रमा कारण खुलाएर सिफारिस समितिको सिफारिस विरुद्ध उजुरी दिन सक्ने कानुनी प्रावधान छन्।

समितिमा दिएको उजुरीको निर्णय आफ्नो विपक्षमा आएको अवस्थामा सर्वोच्च अदालत जाने कानुनी बाटो समेत खुल्ला नै हुन्छ।

जेठ ५, २०८१ शनिबार २२:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।