बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक : गृहमा एमाले र रास्वपाको दाबी, रविलाई गृह दिन प्रचण्ड अनिच्छुक

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक : गृहमा एमाले र रास्वपाको दाबी, रविलाई गृह दिन प्रचण्ड अनिच्छुक

काठमाडौं : माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति भयो।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिए।

रविलाई गृह दिन प्रचण्ड अनिच्छुक
नयाँ मन्त्री मण्डलमा माओवादीका वर्षमान पुनलाई अर्थ र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ।

यस्तै एमालेका पदम गिरीलाई प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिन चाहेको भए पनि एमालेले मानेको छैन।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि गृह मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन्। विश्वस्थ सूत्रका अनुसार एमालेले पनि गृह मन्त्रालयमा दाबी गरेको छ।

प्रधानमन्त्री प्रचण्ड रवि लामिछानेलाई गृह मन्त्रालय दिन अनिच्छुक देखिएका छन्। गतवर्ष पुस १० गते गठन भएको मन्त्रीमण्डलमा पनि रवि गृहमन्त्री नै थिए। त्यो समयमा पनि लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्ड अनिच्छुक थिए। तर केपी शर्मा ओलीले ग्रिन सिग्नल दिएपछि उनी बाध्य भएका थिए।

गृहमन्त्री भएको एक महिनामै नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रकिया नमिलेको भन्दै अदालतले उनले निर्वाचनमा पेश गरेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने पदमुक्त भएका थिए। पछि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गरेपछि उनले निर्वाचन लडेर पुन: उनी प्रतिनिधि सभामा आएका थिए।

प्रतिनिधि सभा सदस्य बनिसकेपछि पनि उनी सरकारमा सहभागी हुन नखोजेका हैनन्। तर प्रचण्डले ‘गृह मन्त्रालय चैँ दिन्न’ भनेपछि उनी प्रतिपक्षमा रहँदै आएका थिए।

नयाँ सत्ता गठबन्धनको बैठकमा माओवादीबाट प्रधानमन्त्री दाहाल र नेता पुन सहभागी हुँदा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए। त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए।

राष्ट्रपतिदेखि राष्ट्रिय सभा अध्यक्ष निर्वाचनसम्म
राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै माओवादी केन्द्रले पुस १० एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितको दलसँग मिलेर सरकारको नेतृत्व गरे पनि पछि राष्ट्रपति एमालेलाई दिन नसक्ने भन्दै गठबन्धन बदलेर फागुन १२ कांग्रेससहितको सरकार बनाएको थियो।

राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति गर्दै गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी केन्द्र, राष्ट्रिय सभा अध्यक्ष अरूलाई दिन नसकिने भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग छलफलमा जुटेपछि नयाँ सत्ता गठबन्धनको समझदारी बनेको हो।

प्रधानमन्त्री प्रचण्डले आइतबार पुस १० गते एमालेको पहलमा बनेको गठबन्धन प्रमुख दलहरू एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेतृत्वसँग तीन घण्टा बढी छलफल गरेका थिए।

आइतबार एमाले अध्यक्ष केपी ‌ओलीसँग प्रचण्डले बिहान छलफल गरेर पुन बेलुका बालुवाटार बोलाएका थिए। ‌ओलीपछि उनले रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका थिए। लगत्तै उनले जसपा अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल गरेका थिए।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेर दिउँसो पार्टीका मन्त्रीहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेकाले मन्त्रीहरूको कार्यसम्पादनबारे देउवाले छलफल गरेको दाबी गरिए पनि छलफल सत्ता गठबन्धनमा बढ्दो सङ्कट केन्द्रित थियो। सोमबार जे पनि हुनसक्ने भन्दै देउवाले मन्त्रीहरूलाई उस्तै परे राजीनामा लागि तयार रहन निर्देशन दिएका थिए।

कांग्रेसको महासमिति बैठकमा माओवादी सशस्त्र द्धन्द्धबारे पार्टी उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनमा उल्लेख गरिएका शब्द र आगामी निर्वाचन पूर्व नै कुनै दलसँग गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रतिवेदनपछि माओवादी केन्द्र कांग्रेससँग रिसाएको थियो।

त्यसपछि माओवादीको स्थायी समितिको बैठकले कांग्रेसलाई दिएको वचन तोड्दै राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी उठाउने निर्णय गरेको थियो। यसबीचमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सघन छलफलमा बसेका थिए।

यता माओवादी केन्द्र र कांग्रेसबीचको खटपट घट्नुको साटो बढ्दै जाँदा आइतबार राजनीतिक तहमा उच्चस्तरीय अलग-अलग भेटघाट र छलफलहरू बढ्दै गयो। संकटकाबीच सोमबार बिहान ८ बजे बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक राखिए पनि बस्न सकेन।

२१ फागुन, २०८०, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।