पुराना सबैकुरा भुलेर एमालेसँग मिल्न तयार माधव नेपाल !

पुराना सबैकुरा भुलेर एमालेसँग मिल्न तयार माधव नेपाल !

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आव्हान गरेका छन्। 

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमालेसँगको पुरानो कुरालाई भुलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताए। 

‘अहिले पुरानो कुरा नगरौँ भनेपनि ठिकै छ। कति पुराना कुरा मात्रै गर्ने? नयाँ कुरा गरौं। नयाँ ढंगले जाऔं। हातेमालो गरौं। देश र जनतालाई केन्द्रविन्दुमा राखौं। यो सबै कुराहरूको सन्दर्भमा नै हामीले सोच्नुपर्ने आवश्यकता छ,’ नेपालले भने। 

केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले कम्युनिष्टले ठूलो सरकार र पार्टी समेत राम्ररी चलाउन नसकेको बताए। 

उनले त्यसको समीक्षा गर्न अहिलेसम्म जाँगर आफूहरूमा नभएको उल्लेख गर्दै भने,‘गल्ती महसुस गर्न पर्छ कि, आत्मालोचना गर्न पर्छ कि भनेर हामीलाई त्राहिमाम भएको छ। गल्ती हुनसक्छ। कुन ठूलो कुरो भो? स्वीकार गर्ने र नदोहोर्याउने हो नि। अहिले पनि विघटन (संसद) गरेको ठिक गरियो भनिदिने, संविधान मिचेर ठिक काम गरियो भनिदिने?’

उनले आफ्नो ध्यान कसरी कम्युनिष्ट पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने भन्नेमा रहेको भन्दै कम्युनिष्ट पार्टी र आन्दोलनले नै देश र जनताको भलो गर्न सक्ने विश्वास आम जनतामा कसरी पुर्याउने भन्ने कुरामा कम्युनिष्टहरूको ध्यान केन्द्रित हुनुपर्नेमा नेता नेपालले जोड दिए।

उनले आफ्नो पार्टी सरकारमा पद ओगट्नका लागि नगएको भन्दै आफ्ना मन्त्रीले सरकारमा हुँदा राम्रो काम गरेको जिकिर गरे। 

१७ बैशाख, २०८१, १४:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।